प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ३/८ पृ. ४-८
  • मस्तिष्कघात—यसका कारणहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मस्तिष्कघात—यसका कारणहरू
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसका असरहरू
  • कुराकानी गर्न कठिनाइ
  • भावना र व्यक्‍तित्वमा परिवर्तन
  • परिवारका सदस्यहरू पनि शिकार हुन्छन्‌
  • यसका असरहरू सामना गर्ने
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • मस्तिष्कघात!
    ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ३/८ पृ. ४-८

मस्तिष्कघात—यसका कारणहरू

“मस्तिष्क शरीरको सबैभन्दा नाजुक अंग हो” भनी क्यानाडास्थित लण्डनका पश्‍चिमी ओन्टारियो विश्‍वविद्यालयका स्नायुविशेषज्ञ डा. भालडमिर हाचिन्स्की भन्छन्‌। मस्तिष्कको वजन शरीरको सम्पूर्ण वजनको दुई प्रतिशत मात्र हुन्छ तर यो सानो मस्तिष्कमा दस अरबभन्दा धेरै स्नायु कोषहरू हुन्छन्‌ र हाम्रो प्रत्येक विचार, चाल र चेतना उत्पन्‍न गर्न अनवरत सञ्चार भइरहेको हुन्छ। मस्तिष्कले अक्सिजन तथा ग्लुकोजबाट शक्‍ति पाउँछ र यो धमनीको जटिल प्रणालीबाट नियमित आपूर्ति हुन्छ।

तथापि, मस्तिष्कको कुनै भागमा केही सेकेण्ड मात्रै पनि अक्सिजनको आपूर्ति नहुँदा नाजुक कोषिका प्रणालीलाई बिगार गर्छ। केही मिनेटसम्म पनि आपूर्ति हुन सकेन भने मस्तिष्कमा क्षति हुन्छ। यसरी मस्तिष्कका कोषहरू मर्दै जाँदा यसको नियन्त्रण गर्ने क्षमता पनि ह्रास हुँदै जान्छ। यस्तो अवस्थालाई इस्केमिया भनिन्छ, यो विशेषगरि हृद्‌धमनी बन्द हुँदा अक्सिजनको कमीले हुन्छ। अक्सिजनको कमीले गर्दा घातक रासायनिक प्रतिक्रियाहरू हुने हुँदा मस्तिष्क तन्तुहरू एकपछि अर्को क्षति हुनथाल्छ। यसको नतिजा हो, मस्तिष्कघात। मस्तिष्कमा रगत ओसारपसार गर्ने नलीहरू फुटेर रगत छताछुल्ल हुँदा पनि मस्तिष्कघात हुन्छ। यसले मांशपेशीहरूमा रासायनिक र विद्युतीय प्रवाह रोक्छ जसले गर्दा मस्तिष्क तन्तुहरू बिग्रन्छन्‌।

यसका असरहरू

सबै मस्तिष्कघात एउटै प्रकारको हुँदैन र प्रत्येक व्यक्‍तिविशेषमा यसको नतिजा कस्तो हुन्छ भन्‍नै सकिंदैन। मस्तिष्कघात हुँदा यसका सम्भाव्य सबै नतिजाहरूबाट पीडित नभए तापनि कसै कसैलाई यसका असरहरू अस्पष्ट, आभासै नहुने हुन्छ भने कतिपयले चाहिं गम्भीर तथा अत्यन्तै पीडादायी परिणामहरू भोग्छन्‌। शरीरको कुन कार्यमा क्षति पुगेको छ, त्यही आधारमा मस्तिष्कको कुन भागमा घात भएको छ, भन्‍न सकिन्छ।

यसबाट सामान्यतया हुने कष्ट हातगोडा कमजोर वा पक्षाघात हुनु हो। साधारणतया, यो शरीरको एक भागमा मात्र हुन्छ, त्यो पनि मस्तिष्कघात भएको विपरीत भागमा। तसर्थ, मस्तिष्कको दायाँ भागमा क्षति भएको छ भने शरीरको बायाँ भागमा पक्षाघात हुन्छ र मस्तिष्कको बायाँ भागमा क्षति भएको छ भने शरीरको दायाँ भागमा पक्षाघात हुन्छ। कोही कोही मानिसहरूले आफ्नो हातगोडा चलाउन त सक्छन्‌ तर मांशपेशीमा कुनै नियन्त्रण नै नभएर लत्र्याङलुत्रुङ आफ्नै तालमा हल्लिएको जस्तो महसुस गर्छन्‌। ती बिरामीको हालत भर्खरै स्केटिङ खेल्न सिकिरहेको मानिसले आफ्नो सन्तुलन कायम राख्न संघर्ष गरिरहेको जस्तै हुन्छ। न्यु योर्क विश्‍वविद्यालय चिकित्सा केन्द्रका डा. डेभिड लेभिन यसो भन्छन्‌: “तिनीहरूले आफ्नो हातगोडा चलिरहेको छ या छैन र त्यो ठाउँमा छ कि छैन भनी थाह पाउने चेतना नै गुमाउँछन्‌।”

यसका १५ प्रतिशतभन्दा बढी बिरामीहरूलाई अचानक आक्रमण हुन्छ जसले गर्दा समय समयमा अनियन्त्रित ढंगमा हल्लिने र साधारणतया केही क्षणसम्म बेहोश हुन्छन्‌। अनि पीडा महसुस गर्नुका साथै चेतनामा हेरफेर भइरहनु पनि सामान्य हो। बारम्बार हातखुट्टा लाटो भएको अनुभव गर्ने मस्तिष्कघातका बिरामी यसो भन्छन्‌: “राति कहिलेकाहीं मेरो खुट्टामा केही कुराले छोएजस्तो हुन्छ र म चाहिं खुट्टामा करेन्ट लागेझैं भएर ब्यूँझन्छु।”

मस्तिष्कघात भएपछि दृष्टिभ्रम भएर कुनै पनि कुरा दुई दुइटा देख्ने र निल्न पनि गाह्रो हुनसक्छ। मुख र घाँटीका अनुभूति केन्द्रहरू पनि क्षति भएको छ भने मस्तिष्कघात भएको बिरामीको ऱ्‍याल चुहिरहने समस्या हुनसक्छ। पाँचवटा ज्ञानेन्द्रियमध्ये कुनै पनि प्रभावित हुनसक्छ जसले गर्दा दृष्टि, श्रवण, गन्ध, स्वाद र स्पर्शशक्‍तिमा समस्या हुनसक्छ।

कुराकानी गर्न कठिनाइ

अँध्यारो सडकमा दुई जना बडेमानका अपरिचित व्यक्‍तिहरूले तपाईंलाई पछ्याइरहेको कल्पना गर्नुहोस्‌। पछाडि फर्केर हेर्दा त तिनीहरू तपाईंतिर कुदेर आइरहेका छन्‌। तपाईं गुहार गुहार भन्दै चिच्याउन खोज्नुहुन्छ तर पटक्कै आवाज निस्किंदैन! त्यस्तो परिस्थितिमा तपाईं कस्तो हतोत्साहित हुनुहुन्छ होला, कल्पना गर्न सक्नुहुन्छ? अचानक आफ्नो बोल्ने क्षमता नै गुमाउँदा मस्तिष्कघातका थुप्रै बिरामीहरूले त्यस्तै अनुभव गर्छन्‌।

आफ्नो विचार, भावना, आशा, भय व्यक्‍त गर्न असमर्थ हुँदा ती बिरामीहरू आफ्ना मित्र तथा परिवारहरूसँगै हुँदा पनि एक्लै भएजस्तो हुन्छन्‌। यो मस्तिष्कघातको सबैभन्दा भयंकर असरहरूमध्ये एउटा हो। मस्तिष्कघात भएको एक व्यक्‍तिले यसो भने: “हरेक चोटि केही बताउन खोज्दा मुखबाट वाक्य नै फुटेन। चुप लागेर बस्न बाध्य भएँ र लिखित वा मौखिक कुनै पनि कुरा बुझ्न सकिनँ। आफू वरिपरिका मानिसहरूले विदेशी भाषा . . . बोलेजस्तो लाग्थ्यो। म नता कुरा गर्नसक्थें नता कुरा बुझ्न नै सक्थें।”

तथापि, चार्ल्सले तिनीसित गरेको कुरा सबै बुझ्थे। तर जवाफ फर्काउनुपर्दाको अवस्थाबारे तिनी लेख्छन्‌: “आफूले बताउने सबै कुराको रूपरेखा मनमनै तयार पार्थें तर बोल्दा बोली नै नफुटेर लरबरिएको हुन्थ्यो। त्यतिबेला आफ्नै फन्दामा फसेजस्तो लाग्यो।” मस्तिष्कघात: बिरामीको निम्ति निर्देशन पुस्तिका-का (अंग्रेजी) लेखक आर्थर जोसेफ भन्छन्‌: “कुरा गर्दा एक सयवटा भन्दा बढी प्रकारका माशंपेशीहरूको नियन्त्रण र संयोजन मिलाउनुपर्छ। ती प्रत्येक मांशपेशीहरू सालाखाला एक सयभन्दा बढी मोटर युनिटले नियन्त्रित हुन्छन्‌। . .  अचम्मलाग्दो कुरा के छ भने एक सेकेन्ड मात्र कुरा गर्दा पनि १,४०,००० स्नायविक मांशपेशी क्रियाशील हुन्छन्‌। यी मांशपेशीहरू नियन्त्रण गर्ने मस्तिष्कको त्यस भागमा नै क्षति पुगेपछि त त्यसै पनि बोली लरबरिन्छ नि, होइन र?”

मस्तिष्कघातले गर्दा बोलीमा थुप्रै अचम्मलाग्दा कुराहरू हुनसक्छन्‌। उदाहरणका लागि, बोल्नै नसक्ने व्यक्‍ति गीत गाउनसक्ने हुनसक्छ। कोही चाहिं आफूले केही बोल्न चाहेको बेलामा होइन तर आवेगमा केही बताउने वा अर्कोतर्फ, फतर फतर बोलिरहने पनि हुनसक्छ। अरूले चाहिं त्यही शब्द वा वाक्य दोहऱ्‍याएको दोहऱ्‍याएकै गर्ने वा शब्दहरूको अनुचित प्रयोग गर्ने र हो भन्‍नुपर्दा होइन र होइन भन्‍नुपर्दा हो भन्‍ने हुन्छन्‌। कसैलाई चाहिं आफूले प्रयोग गर्नुपर्ने शब्द थाह हुन्छ तर मस्तिष्कले मुख, ओंठ र जिब्रोलाई ती शब्दहरू भन्‍न लाउनै सक्दैन। वा मांशपेशी कमजोर भएको कारण बोली अस्पष्ट हुनसक्छ। कुरा गर्दागर्दै कोही कोही बीचैमा त्यत्तिकै कान खानेगरि कराउने हुनसक्छन्‌।

मस्तिष्कघात हुँदा भावनात्मक कुराहरू नियन्त्रण गर्ने भागमा पनि क्षति पुग्नसक्छ। फलस्वरूप, बोली नीरस हुनसक्छ। वा सामान्यतया मानिसहरूको हर्षबिस्मात तिनीहरूको स्वरबाटै थाह पाइन्छ तर मस्तिष्कघात भएको बिरामीलाई पत्तै नहुन पनि सक्छ। कुराकानी गर्न माथि बताइएजस्तो समस्या तथा अन्य समस्याहरूले परिवारका सदस्यहरू जस्तै लोग्नेस्वास्नीबीच फाटो उत्पन्‍न गर्नसक्छ। जर्ज भन्छन्‌: “मस्तिष्कघातले मौखिक भावभंगी र इशाराहरू र वास्तवमा भन्‍ने हो भने सम्पूर्ण व्यक्‍तित्वलाई नै अर्कै बनाउनसक्छ। अचानक मेरी पत्नी र मेरो ऱ्‍याङठ्याङै मिल्न छोड्यो। मेरी पत्नी त अर्कै आइमाई जस्ती पो भई, उसलाई मैले फेरि एकचोटि सुरुदेखि चिन्‍नुपऱ्‍यो।”

भावना र व्यक्‍तित्वमा परिवर्तन

बिनसित्ति मूड परिवर्तन हुनु, बिना कारण रुनु वा हाँस्नु, अचाक्ली रिस उठ्‌नु, शंका उपशंका गर्ने बानी हुनु, अत्यन्तै दुःखित हुनुजस्ता कुराहरू बिरामी तथा तिनको परिवारले भोग्नुपर्ने भावनात्मक र व्यक्‍तित्व परिवर्तनका केही पक्ष मात्र हुन्‌।

मस्तिष्कघात भएका गिल्बर्ट यसो भन्छन्‌: “समय समयमा म भावुक हुन्छु र स-सानो कुरामा पनि कहिले रुन्छु त कहिले हाँस्छु। कहिलेकाहीं म हाँसेको देखेर अरूले सोध्ने गर्छन्‌, ‘किन हाँसिरहेको?’ र मसँग त्यस प्रश्‍नको जवाफै हुँदैन।” यस समस्याको अलावा शारीरिक सन्तुलन कायम राख्ने समस्या र अलि खोल्च्याङखोल्च्याङ गर्ने गिल्बर्टले यसो भन्‍नसके: “मेरो आफ्नो शरीरै होइन जस्तो लाग्छ, मस्तिष्कघात हुनुअघिको व्यक्‍ति नै होइन, मानौं आफू अर्कै व्यक्‍ति जस्तो लाग्छ।”

मन अनि शरीरमै यस्तो आघात पुग्दा भावनात्मक तवरमा उथलपुथल नहुने मानिसहरू कमै होलान्‌। मस्तिष्कघातको कारण राम्ररी बोल्न नसक्ने र आंशिक पक्षाघात भएका हिरोयुकी यस्तो टिप्पणी गर्छन्‌: “समय बित्दै गयो तर मेरो अवस्थामा केही सुधार भएन। पहिलाजस्तो काम गर्न नसक्ने कुरा थाह पाएपछि म निराश भएँ। मैले चीजबीज तथा मानिसहरूलाई दोष लाउन थालें र मेरा भावनाहरू कुनै दिन विष्फोट हुन्छ जस्तो लाग्यो। मेरो व्यवहार लोग्नेमान्छेको जस्तो भन्‍नै नसुहाउँदो थियो।”

मस्तिष्कघातका बिरामीहरूलाई डर र चिन्ता हुनु सामान्य कुरा हो। एलेन यस्तो टिप्पणी गर्छिन्‌: “टाउको अलि भारी भएजस्तो लाग्यो कि फेरि पनि मस्तिष्कघात होला भनेर असाध्यै चिन्तित हुन्छु अनि असुरक्षित महसुस गर्न थाल्छु। नकारात्मक कुराहरू सोचिरहँदा मलाई असाध्यै डर लाग्छ।” आफूलाई लाग्ने सुर्ताबारे रन यसो भन्छन्‌: “कहिलेकाहीं सही निष्कर्षमा पुग्नु त असम्भवै हुन्छ। दुई तीनवटा स-साना समस्याहरू एकैचोटि सुल्झाउनुपर्दा अतालिन्छु। कुराहरू यति चाँडो बिर्सन्छु कि कहिलेकाहीं एकछिन अगाडि गरेको निर्णय पनि सम्झिन सक्दिनँ। यसले गर्दा, कहिलेकाहीं साह्रै ठूला गल्तीहरू हुन्छन्‌ र यसले मलाई अनि अरूलाई पनि अप्ठ्यारोमा पार्छ। केही वर्षपछि मेरो हालत कस्तो होला? के मैले ढंग पुऱ्‍याएर कुरा गर्न वा गाडी चलाउनसक्नेछु? के मेरी पत्नीको निम्ति म बोझ बन्‍नेछु?”

परिवारका सदस्यहरू पनि शिकार हुन्छन्‌

अतः यसका भयानक नतिजाहरूसित मस्तिष्कघात भएको व्यक्‍तिले मात्र संघर्ष गर्नुपर्ने होइन भनी स्पष्ट हुन्छ। तिनको परिवारका सदस्यहरूले यससम्बन्धी समस्याहरूसित संघर्ष गर्नुपर्ने हुन्छ। कुनै समय स्पष्ट बोल्ने एक योग्य व्यक्‍ति आफ्नै आँखाअघि अरूमा पूर्णतया निर्भर सानो बच्चाजस्तो हुँदा परिवारका सदस्यहरूलाई नराम्रो झट्‌का लाग्छ। परिवारका सदस्यहरूले आफूले कहिल्यै नचिताएको भूमिका निर्वाह गर्नुपर्दा सम्बन्धहरूमा खटपट हुनसक्छ।

यसका दुःखदायी असरहरूबारे हारुको यसो भन्छिन्‌: “मेरा श्रीमान्‌ले सबै महत्त्वपूर्ण कुराहरू बिर्सनुभएको छ भने पनि हुन्छ। अचानक उहाँले चलाइरहनुभएको कम्पनी छोड्‌नुपऱ्‍यो अनि हाम्रो घर तथा सम्पत्तिहरू पनि बेच्नुपऱ्‍यो। सबैभन्दा चित्त दुखेको कुरा त उहाँसित खुलस्त कुरा गर्न वा सल्लाह माग्न सकिनँ। दिन र रात पनि छुट्याउन नसकेको कारण रातिको निम्ति राखेको थाङ्‌ना पनि हटाउनुहुन्थ्यो। उहाँ यस्तो स्थितिमा पुग्नुहुनेछ भनेर हामीलाई थाह त थियो तर साँच्चै उहाँको यस्तो हालत देख्दा वास्तविकता स्वीकार्न गाह्रो भयो। हाम्रो अवस्था अहिले पहिलेभन्दा ठीक विपरीत भएको छ, अहिले छोरी र म मेरा श्रीमान्‌को अभिभावक भएका छौं।”

मस्तिष्कघात: यसबारे परिवारका सदस्यहरूले के थाह पाउनुपर्छ (अंग्रेजी) नामक पुस्तकमा इलान फान्टल शिमबर्ग यस्तो टिप्पणी गर्छिन्‌: “मस्तिष्कघात भएको व्यक्‍तिलाई जत्ति नै माया गरे तापनि कहिलेकाहीं तिनको हेरचाह गर्दा गर्दा तपाईंको दिमागै ठेगानमा नहुनसक्छ।” “दबाब र जिम्मेवारी कम हुँदैन।” कुनै कुनै अवस्थामा अचाक्ली स्याहारसुसार गर्ने व्यक्‍तिको भावना, स्वास्थ्य र आध्यात्मिकतामा प्रतिकूल असर पर्नसक्छ। आमाको मस्तिष्कघातले आफ्नो जीवनमा साह्रै नराम्रो आघात पुगेको मारिया यसरी बताउँछिन्‌: “म उहाँलाई दिनदिनै भेट्‌न जान्छु र आमालाई आध्यात्मिक रूपमा सुदृढ पार्न उहाँसँगै पढ्‌ने, प्रार्थना गर्ने र अंकमाल गरेर तथा म्वाइँ खाएर उहाँलाई मेरो मायाको सागरमा डुबाउँछु। तर घर फर्किंदा भने भावनात्मक रूपमा लखतरान हुन्छु र कहिलेकाहीं त बान्तासमेत हुन्छ।”

स्याहारसुसार गर्ने केही व्यक्‍तिहरूका निम्ति सबैभन्दा कठिन कुरा बानीबोहोरामा हुने परिवर्तन हो। स्नायु मनोचिकित्सक डा. रोनाल्ड कालभानियो ब्यूँझनुहोस्‌-लाई यसो भन्छन्‌: “मानिसको सोच्ने, व्यवहार गर्ने र उनको भावनात्मक प्रतिक्रिया नियन्त्रण गर्ने भाग नै क्षति हुने रोग लागेको मानिससित व्यवहार गर्नुपर्छ र यस्तो बिरामीको मानसिक तवरमा पनि हानि हुने हुँदा केही खास तरिकाहरूमा तिनी अनि तिनको परिवारको संसारमा नै उथलपुथल आउँछ।” योशिको बताउँछिन्‌: “उहाँको यस बिमारीपछि उहाँमा आमूल परिवर्तन आयो, स-सानो कुरामा पनि रिसले पड्‌कनुहुन्छ। त्यतिबेला मेरो बेहाल हुन्छ।”

अक्सर, बानीबेहोरामा आएको परिवर्तन परिवारबाहिरका मानिसहरूले त्यति थाह पाउँदैनन्‌। तसर्थ, स्याहारसुसार गर्ने केही व्यक्‍तिहरू एक्लो र आफैले मात्र सबै बोझ बोक्नुपरेको महसुस गर्छन्‌। मिडोरी बताउँछिन्‌: “मस्तिष्कघातपछि मेरा श्रीमान्‌को मानसिक र भावनात्मक दुवै शक्‍ति क्षीण भएको छ। उहाँलाई प्रोत्साहनको अत्यन्तै खाँचो परे तापनि उहाँले कसैलाई बताउनुहुन्‍न र आफै मात्र दुःखमा भित्रभित्रै पिल्सिरहनुहुन्छ। त्यसैले आफैले हेरेर उहाँका भावनाहरूअनुसार मैले व्यवहार गर्नुपर्छ। दिनहुँ उहाँको मूड परिवर्तन हुने देखेर म चिन्तित भएकी छु र कहिलेकाहीं त डर पनि लाग्छ।”

मस्तिष्कघातपछि जीवनमा हुने परिवर्तनहरूलाई मस्तिष्कघातका थुप्रै बिरामीहरू तथा परिवारले कसरी झेलेका छन्‌? यसको भयानक असर भोगिरहेकाहरूलाई हामी सबैले कसरी मदत गर्नसक्छौं? अर्को लेखले बताउनेछ।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

चेताउनीमूलक लक्षणहरू

• अकस्मात्‌ मुख, हात वा खुट्टा अर्थात्‌ विशेषगरि शरीरको एउटा भाग कमजोर, चेतनाशून्य वा पक्षाघात हुने

• विशेषगरि एउटा आँखाले धमिलो देख्ने वा स्पष्ट नदेख्ने; कुनै पनि कुरा दुई दुइटा देख्ने

• सरल वाक्यहरूसमेत बोल्न वा बुझ्न कठिन हुने

• अरू लक्षणका साथसाथै रिंगटा लाग्ने वा सन्तुलन गुमाउने वा तालमेल मिलाउन नसक्ने

कम सामान्य लक्षणहरू

• बिना कारण अकस्मात्‌ असाध्यै टाउको दुख्ने—अक्सर “यस्तो टाउको त कहिल्यै दुखेको थिएन” भन्‍ने गरिन्छ

• अचानक वाकवाक लाग्ने र ज्वरो आउने—(केही दिनपछि हुनुको साटो मिनेट वा घण्टा भरमै) जीवाणु संक्रमणको कारण तुरुन्तै बिरामी हुनु

• एकछिन चेतना गुमाउनु वा केही समयसम्म कुनै पनि कुराको अत्तोपत्तो नभएजस्तो हुनु (मूर्छा पर्ने, अलमल्लमा पर्ने, जोरले काँप्ने, बेहोश हुने)

लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्‌

लक्षणहरू देखापर्ने बित्तिकै डा. डेभिड लेभाइन यस्तो आग्रह गर्छन्‌, “तुरुन्तै अस्पतालको आकस्मिक कक्षमा जानुपर्छ। मस्तिष्कघात भएको केही घण्टाभित्रै उपचार गरेमा क्षतिलाई कम गर्नसक्ने प्रमाणहरू छन्‌।”

कहिलेकाहीं लक्षणहरू छोटो समयावधिको लागि मात्र देखा परेर हराइहाल्छन्‌। यस्तो अवस्थालाई अंग्रेजीमा टि आइ ए अर्थात्‌ ट्रान्जिएन्ट इस्केमिया अट्याक भनिन्छ। यस्ता लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्‌ किनभने त्यसले गम्भीर मस्तिष्कघातका खतराहरूलाई संकेत गर्छ र बेवास्ता गरेमा घातक मस्तिष्कघात हुनसक्छ। चिकित्सकले यसको उपचार गर्नसक्छ र पछि अर्को मस्तिष्कघात हुनदेखि जोगाउनसक्छ।

राष्ट्रिय मस्तिष्कघात संघ, इंगलवुड, कोलोराडो, सं.रा.अ.-बाट उपलब्ध निर्देशनहरूअनुसार मिलाइएको

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने