मस्तिष्कघात!
पश्चिमी औद्योगिक राष्ट्रहरूमा मृत्यु र दीर्घकालीन अशक्तताको मुख्य कारण मस्तिष्कघात हो। छिनभरमै मस्तिष्कघात हुनसक्छ। एकछिन अगाडिसम्म तपाईं सद्दे हुनु होला तर क्षणभरमै एकदम ठूलो चट्याङले हानेझैं लाग्नसक्छ। ठूलो मस्तिष्कघातले क्षणभरमै तपाईंको जीवनमा ठूलो हेरफेर ल्याउनसक्छ। यसको क्रूर असरले तपाईं लुलो लंगडो, बोल्न नसक्ने, तपाईंका भावनाहरूमा ठूलो हलचल मच्चाउनसक्छ, तपाईंको व्यक्तित्वमा नै हेरफेर हुनुका साथै तपाईं अनि तपाईंको परिवारले कुनै समय बिताइरहेको जस्तो सामान्य जीवन बिताउन हरेक पल संघर्ष गरिरहनुपर्ने हुनसक्छ।
उदाहरणका लागि, एलेन मर्गनलाईa लिनुहोस्। चौसट्ठी वर्षीया एलेन बुधबारको दिन तन्दुरुस्त अनि चल्तापुर्जा आइमाई थिइन्। बिहीबारको दिन आफ्ना श्रीमान्सित बजार जाँदा अचानक एलेन बोल्न नसक्ने भइन् र तिनको अनुहार पनि बेरूप भयो। तिनको शरीर लत्र्याकलुत्रुक हुनुका साथै रक्सी पिएर मात्तिएको मानिसजस्तै तिनी लरखराउन थालिन्। एलेनलाई ठूलो मस्तिष्कघात भएको थियो!
यो ठूलो मस्तिष्कघातपछि एलेन नुहाउने वा लुगा लगाउने जस्ता सामान्य कुराहरूसमेत गर्न असमर्थ भइन्। लेख्ने, सिलाइबुनाइ केही गर्न नसक्दा तिनी जत्तिखेर पनि रोएको रोइ गर्नुका साथै अत्यन्तै थकित महसुस गर्न थालिन्। यस घटनाको दौडान एलेनको सोच्ने क्षमता भने यथावतै थियो तर अरू मानिसहरूले तिनलाई बुद्धू भन्ठान्ला भन्नेजस्तो लाग्दा तिनी व्याकुल हुन्थिन्। पछि एलेनले यसो भनिन्: “यस्तो अचानक हुने परिवर्तनले मानिसलाई भावनात्मक र मानसिक तवरमा कस्तो असर गर्छ सायद थोरैले मात्र बुझ्छन् होला। मलाई त मेरो अस्तित्वको नै अन्त भएजस्तो लाग्यो।”
के कारणले मस्तिष्कघात हुन्छ? मस्तिष्कघात भएका मानिसहरू सबैको के एउटै हालत हुन्छ? मस्तिष्कघातबाट बचेका मानिसहरूले जीउन कसरी सिकेका छन्? मस्तिष्कघातबाट बचेका मानिसहरूको परिवारले कसरी यसको सामना गरिरहेका छन्? तिनीहरूलाई हामी कसरी सहयोग गर्नसक्छौं? ब्यूँझनुहोस्!-ले यस्ता प्रश्नहरूको छानबिन गर्छ र मस्तिष्कघातका बिरामीहरू तथा तिनीहरूका परिवारको जीवन कसरी प्रभावित हुन्छ, चर्चा गर्छ।
[फुटनोट]
a बिरामी र तिनीहरूका परिवारलाई ध्यानमा राख्दै केही नाउँहरू परिवर्तन गरिएका छन्।