यसका असरहरू सामना गर्ने
पक्षाघात भएर अस्पतालको ओछ्यानमा परेका गिल्बर्टले डाक्टरलाई सोधे: “के मैले फेरि कहिल्यै हातगोडा चलाउनसक्नेछु?” गिल्बर्टले यस्तो चुनौतीपूर्ण उत्तर पाए: “तपाईंले जत्ति मेहनत गर्नुभयो त्यति नै बढी हातगोडा चलाउन सक्नुहुनेछ र चाँडो निको हुनुहुनेछ।” तिनले भने: “म तयार छु!” शारीरिक स्वास्थ्योपचारका साथै सकारात्मक मनोवृत्ति राखेको कारण ६५ वर्षीय गिल्बर्ट ह्वीलचेरबाट वकर अनि त्यसपछि लौरोको सहायता लिएर हिंड्नसक्ने भए र फेरि काममा पनि जान थाले।
“मस्तिष्कको एउटा भाग बिग्रिए तापनि अर्को भागले क्षतिग्रस्त कोषको काम गर्नसक्छ भन्ने कुरामा आज प्रायजसो उपचार केन्द्रहरूले सहमति जनाउँछन्। यस्तो उपचारको एउटा उद्देश्य, निष्क्रिय भएका भागहरूलाई सक्रिय बनाउनु र मस्तिष्कलाई पुनः संगठित र व्यवस्थित हुन उत्तेजना प्रदान गर्नु हो,” भनी अनुसन्धानकर्ताहरू वाइनर, लि र बेल भन्छन्। तथापि, पुनः स्वस्थ हुने कुरा मस्तिष्कको कुन भागमा क्षति पुगेको छ, कुन हदसम्म मस्तिष्कघात भएको छ, त्यस व्यक्तिको सामान्य स्वास्थ अवस्था, कस्तो चिकित्सा सेवा पाइरहेको छ र अरूले कत्तिको सहयोग पुऱ्याइरहेका छन् जस्ता कुराहरूमा पनि निर्भर हुन्छ।
परिवार तथा मित्रहरूको सहयोग
अलि बिस्तारै हिंड्न तथा अशक्त बायाँ हातको काम दायाँ हातले गर्न सिक्न एरिकाले तीन वर्षसम्म स्वास्थ्य सुधार व्यायाम गरिन्। यसो गर्न तिनी कसरी सक्षम भइन् भन्नेबारे तिनी भन्छिन्: “सबैभन्दा महत्त्वपूर्ण कुरा त मेरा श्रीमान् र साथीहरूले मलाई सधैं साथ दिए। तिनीहरूले मलाई अझै प्रेम गर्छन् भनी थाह पाउँदा बल पाएँ र हरेस नखान प्रोत्साहन दिंदा उत्प्रेरित भएँ।”
आफ्नो प्रिय जन पुनः स्वस्थ हुनुमा परिवारका सदस्यहरूको ठूलो भूमिका हुन्छ। तिनीहरूले स्वास्थ्यकर्मीहरू दक्ष हुन् कि होइनन् बुझ्नुपर्छ साथै भएको उन्नति सुस्त हुन नदिन ती व्यायामहरू घरमा पनि गर्नुपर्ने हुनसक्छ। अतः ती व्यायामहरू सिक्नुपर्छ। परिवारका सदस्यहरू तथा साथीहरूले देखाएको धीरज, दया, समझदारी र स्नेहले गर्दा बिरामीले भावनात्मक रूपमा सुरक्षित महसुस गर्नेछ, जसले गर्दा पुनः बोल्न, पढ्न तथा दिनचर्याका अन्य सीपहरू सिक्न मदत पाउनेछ।
जोनले आफ्नी पत्नी एलेनलाई जोड पनि दिंदै र माया पनि गर्दै, तिनलाई व्यायाम र उपचार गर्नमा सहयोग पुऱ्याउन मेहनत गरे। तिनी आफ्नो परिवारको प्रयासबारे यसो भन्छन्: “हामीले एलेनलाई तिनको यस्तो हालत भएकोमा बिलौना मात्र गरेर बस्न दिएनौं। कहिलेकाहीं हामी कठोर शिक्षकहरू हुन्थ्यौं तर सधैं तिनको सीमितता बुझ्थ्यौं र त्यहीअनुसार मदत दिन्थ्यौं। तिनी असाध्यै भावुक छिन् त्यसैले सकेसम्म तिनलाई तनाउग्रस्त हुन दिन्न।”
बोल्न सिकाउने उपचारकको सहायतामा एलेनले फेरि बोल्न सिक्दा जोनले तिनलाई मदत गरे। “सँगै कामकुराहरू गर्नु प्रोत्साहनको स्रोत हुनेभएकोले हामी दुवै मिलेर ठूलो स्वरले बाइबल पढ्ने गर्थ्यौं जसले गर्दा उनको बोल्ने शक्तिमा उन्नति गर्न मदत पुग्यो। अनि हामी यहोवाका साक्षीहरू भएकाले बिस्तारै बिस्तारै सेवकाईमा भाग लिन थाल्यौं। यसरी एलेनले भविष्यको आशा अरूसित बाँड्नसकिन्। यो नै एलेनको निम्ति एउटा उपचार सरह थियो।” तीन वर्षभित्र एलेनले निकै प्रगति गरिसेकेकी थिइन्।
साथीहरूले दिनसक्ने प्रोत्साहन र बललाई कहिल्यै हल्कासित लिनु हुँदैन किनभने मस्तिष्कघात भएको बिरामी पुनः स्वस्थ हुन यसले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ। मस्तिष्कघात (अंग्रेजी) नामक चिकित्सासम्बन्धी पत्रिकाले यस्तो रिपोर्ट गऱ्यो: “बढी सामाजिक सहयोग पाउने बिरामीले चाँडचाँडो प्रगति गर्ने आशा गर्न सकिन्छ साथै अत्यन्तै गम्भीर मस्तिष्कघात भएको बिरामीको समेत सामान्यतया प्रगति राम्रो हुने पाइएको छ।”
बर्नीले आफ्ना साथीहरूले दिएको सहयोगको अत्यन्तै मूल्यांकन गरे। यस्तो सहयोगबारे तिनी यसो भन्छन्: “साथीहरूको भेटघाटले निकै सहयोग पुऱ्याउँछ। सहानुभूतिशील आवाज र देखभाल गर्ने मनोवृत्तिले हौसला बढाउँछ। बिरामीको असमर्थताबारे मात्र कुरा नगरेर तिनको प्रगतिको मूल्यांकन गर्नु अत्यन्तै प्रोत्साहनजनक हुन्छ।” मस्तिष्कघातका परिणाम सामना गर्न मदत दिन हामी सबैले के गर्नसक्छौं? बर्नी यस्तो सुझाउ दिन्छन्: “फूल लिएर जानुहोस् वा केही धर्मशास्त्रीय विचार वा अनुभव बताउनुहोस्। त्यसो गर्नु मेरोनिम्ति असाध्यै मदतकारी साबित भयो।”
मस्तिष्कघात भएकी वृद्धा मेल्भाले आफ्ना आध्यात्मिक भाइहरूसित प्रार्थना गर्नु मदतकारी पाइन्। गिल्बर्ट पनि यस्तै सुझाउ दिन्छन्: “कसैसित प्रार्थना गर्दा तपाईंले त्यस व्यक्तिको साँच्चै ख्याल राख्नुहुन्छ भनी प्रस्ट हुन्छ।” मस्तिष्कघातको कारण दृष्टि कमजोर भएको पिटर अरूले तिनका सीमितताहरू बुझेर तिनको निम्ति पढिदिंदा खुसी हुन्छन्।
बिरामीसितै उपचार केन्द्रमा गइदिनु पनि मायालु अभिव्यक्ति हो। मस्तिष्कघात भएको बिरामीको घर सुरक्षित हुनु पनि जरुरी छ। सन्तुलनको समस्या हुँदा निरन्तर लडिरहने डर हुन्छ। उदाहरणका लागि, गिल्बर्ट आफ्ना साथीहरूले प्रदान गरेको सहायताको मूल्यांकन गर्छन्। जस्तै तिनीहरूले गरिदिएको अनेकन् कुराहरूमध्ये एउटा, नुहाउने ठाउँमा समात्ने डण्डी राखिदिए।
सहयोग दिन सिक्ने
मूड परिवर्तन र खास कारणबिना रुने भएकोले बिरामी आफैलाई अप्ठ्यारो हुनुका साथै हेर्ने मानिसलाई पनि के गर्ने हो थाह नभएर अलमल्ल हुनसक्छ। तथापि, मदतगार हुन सिकेर साथीहरूले बिरामीलाई एक्लो महसुस हुनदेखि बचाउनसक्छन्। अक्सर, समय बित्दै जाँदा रुने पनि कम हुँदै जान्छ। बिरामीले आँसु बगाइहाले तापनि तपाईं नआत्तिनुहोस्, बिरामीसँगै बसिरहनुहोस् अनि तपाईं त्यस परिस्थितिमा हुनुभएको भए के सुन्न चाहनुहुन्थ्यो, त्यही भन्नुहोस्।
सबैभन्दा महत्त्वपूर्ण त, बिमारीको कारण पहिला चिन्नुभएको मानिसजस्तो नभई पूरा व्यक्तित्वमै परिवर्तन भएकाहरूप्रति ईश्वरीय प्रेम खेती गर्नुहोस्। तपाईंले कस्तो महसुस गर्नुहुन्छ तिनीहरूले बुझ्छन् र फलस्वरूप यसले तिनीहरूले देखाउने प्रतिक्रियामा फरक पर्छ। एरिका यस्तो टिप्पणी गर्छिन्: “म फेरि कहिल्यै पहिलाको जस्तो व्यक्ति हुन सक्दिन होला। तर कसैले पनि मस्तिष्कघात भएको बिरामीबाट त्यो आशा गर्नु हुँदैन। इष्टमित्रहरूले बिरामी अहिले जस्तो हालतमा भए तापनि प्रेम गर्न सिक्नुपर्छ। त्यस बिरामीको व्यक्तित्वलाई राम्रोसित केलायो भने तिनमा पहिलाका रहरलाग्दा गुनहरू अझै बाँकी भएको थाह पाउनेछन्।”
बोल्न वा अरूले आफूलाई बुझ्न नसक्दा आत्मसम्मानको अत्यन्तै कमी हुन्छ। राम्ररी बोल्न नसक्नेहरूसित साथीहरूले कुरा गर्ने प्रयास गरेर तिनीहरू अझै अरूको नजरमा मूल्यवान् छन् भनी देखाउनसक्छन्। ताकाशी भन्छन्: “मेरा सोचाइ र भावनाहरूमा परिवर्तन भएको छैन। तथापि, मानिसहरू मसित कुरा गर्नुपर्ला भनेर भाग्छन् किनभने मसित तिनीहरू सामान्य कुराकानी पनि गर्न सक्दैनन्। आफै अग्रसर भएर मानिसहरूसित कुरा गर्न मलाई गाह्रो लाग्छ तर कोही मसित आएर कुरा गर्दा अत्यन्तै प्रोत्साहित हुन्छु र खुसीको त सीमै रहँदैन!”
बोल्न गाह्रो परिरहेकाहरूलाई सघाउन र प्रोत्साहन दिन निम्न केही निर्देशनहरूले हामीलाई मदत गर्नसक्छन्।
मस्तिष्कघातले प्रायः विचारशक्तिलाई असर गर्दैन। मस्तिष्कघात भएका मानिसहरूको बोली बुझ्न गाह्रो भए तापनि मानसिक रूपमा तिनीहरू सचेत नै हुन्छन्। तिनीहरूसित हेपेर कुरा गर्ने वा तोते बोली बोल्ने कहिल्यै नगर्नुहोस्। तिनीहरूसित मर्यादापूर्ण व्यवहार गर्नुहोस्।
धैर्यसाथ सुन्नुहोस्। विचारलाई पुनः व्यवस्थित गर्न वा शब्द वा वाक्य पूरा गर्न तिनीहरूलाई अलि समय लाग्ला। स्मरण रहोस्, राम्ररी ध्यान दिएर सुन्ने दयालु व्यक्ति अधीर हुँदैन।
नबुझे पनि बुझेजस्तो नगर्नुहोस्। मायालु ढंगमा भन्नुहोस्: “माफ पाऊँ। तपाईंले भन्नुभएको कुरा बुझ्नै सकिनँ। एकछिन पछि फेरि कोसिस गरौंला नि, हुन्न।”
तपाईंले सामान्यतया बोल्ने आवाजमै बिस्तारै स्पष्टसित बोल्नुहोस्।
छोटो वाक्य तथा बुझ्ने शब्दहरू चलाउनुहोस्।
हो या होइन जवाफ दिन मिल्ने प्रश्नहरू सोध्नुहोस् र जवाफ फर्काउन प्रोत्साहन दिनुहोस्। तपाईंले भन्नुभएको कुरा बुझ्न नसकेको पनि हुनसक्छ भनी नबिर्सनुहोस्।
वरिपरिको हल्ला कम गर्नुहोस्।
यहोवाको मायालु सहयोग पाएर सामना गर्ने
मस्तिष्कघात हुनुको कारण थाह पाउनु महत्त्वपूर्ण छ किनभने यसले भविष्यमा पुनः मस्तिष्कघात हुने खतरादेखि जोगाउनसक्छ। तर यसको साथसाथै पैदा हुने डर कम गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। एलेन भन्छिन्: “यशैया ४१:१० मा परमेश्वरको वचनले मलाई विशेषगरि सान्त्वना प्रदान गऱ्यो। त्यहाँ उहाँ यसो भन्नुहुन्छ: ‘नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सह्माल्नेछु।’ यहोवा मेरो निम्ति अत्यन्तै वास्तविक हुनुभएको छ जसले गर्दा म अहिले त्यति डराउँदिन।”
आनन्द नाउँ गरेका व्यक्तिलाई आफूले महसुस गरिरहेको निराशाको सामना गर्न बाइबलले मदत गर्छ। तिनी भन्छन्: “बाइबलले मलाई साह्रै सहारा दिन्छ किनभने यसबाट म निरन्तर जोस र स्फूर्ति पाउँछु।” हिरोयुकिको समस्या धर्मशास्त्रबाट लाभ उठाउने क्षेत्रमा थियो किनभने तिनी ध्यान दिएर पढ्न सक्दैनथे। तिनी हामीलाई यस्तो जानकारी दिन्छन्: “श्रव्यक्यासेटहरूमा बाइबलका किताबहरू सुन्दा मैले सान्त्वना पाएँ।”
प्रेरित पावलले यसो भने: “दुर्बल हुँदा, म शक्तिमान हुन्छु।” (२ कोरिन्थी १२:१०) आफ्नो शक्तिले गर्न नसक्ने कुरा पावलले यहोवाको आत्माद्वारा गर्नसके। मस्तिष्कघात भएका व्यक्तिहरूले पनि आध्यात्मिक बलको निम्ति यहोवामा भर पर्नसक्छन्। एरिका भन्छिन्: “हामी स्वस्थ र सबै कुरा आफ्नै बलले गर्नसक्ने हुँदा हामीले यहोवाबाट त्यति मदत लिदैनौं। तर मेरो यस अवस्थाले गर्दा यहोवासितको सम्बन्धलाई विशेष तरिकामा सुदृढ पार्न सकेकी छु।”
रेखदेख गर्नेहरूले सहयोग पाउँछन्
रेखदेख गर्नेहरूलाई पनि तिनीहरूको कठिन कार्यको लागि सहयोग चाहिन्छ। तिनीहरूले कोसित मदत माग्ने? एउटा त परिवार भित्रै हो। परिवारका प्रत्येक सदस्यले रेखदेख गर्ने जिम्मेवारी वहन गर्नुपर्छ। आफ्ना छोराहरूले दिएको भावनात्मक समर्थनबारे योशिको भन्छिन्: “तिनीहरूले मेरा समस्याहरू तिनीहरूको आफ्नै जस्तैगरि सुन्थे।” मस्तिष्कघातका बिरामीहरूको रेखदेख गर्न परिवारका सदस्यहरूले उपलब्ध जानकारी सबै लिनुपर्छ साथै आफ्नो प्रियजनको व्यक्तित्वमा आएको परिवर्तनसित व्यवहार गर्न पनि सिक्नुपर्छ।
रेखदेख गर्नेहरूलाई अरू कसले मदत दिनसक्छ? भिक्टरलाई मदत गर्नको निम्ति डेभिड अनि तिनको परिवारले यहोवाका साक्षीहरूको आध्यात्मिक परिवारसित सहायता मागे: “मदत माग्दा तिनीहरूले मदत दिए। भिक्टरलाई रातभरि पनि हेरचाह चाहिने भएकोले तिनीहरू कहिलेकाहीं पालैपालो राति पालो दिन हाम्रो घरमा सुत्न आउँथे।”
रेखदेख गर्ने प्रत्येक व्यक्तिले आफ्नो आध्यात्मिक परिवारबाट न्यानो प्रेम र समर्थन पाएको महसुस गर्नुपर्छ। तर कसै कसैलाई मदत माग्न अप्ठ्यारो लाग्नसक्छ। हारुको भन्छन्: “अक्सर मलाई यसो भन्छन्: ‘केही गर्नुपर्छ भने नहिचकिचाइ भन्नुहोस् है।’ तर सबै मानिसहरू कति बेफुर्सदी हुन्छन् भनी थाह भएकोले म अरूसित सहयोग माग्न हिचकिचाउँछु। मानिसहरूले किटेर नै यसरी मदत गर्नसक्छु भनेको भए कृतज्ञ हुने थिएँ। जस्तै, ‘सरसफाइ गर्न म तपाईंलाई सघाउन आउँछु। कुन दिन आए बेस होला?’ ‘तपाईंको लागि किनमेल गरिदिन म अहिले आए कसो होला?’ ”
केन्जीकी पत्नीलाई मस्तिष्कघात भएको थियो। तथापि, केन्जी आफैले पत्नीलाई चाहिंदो रेखदेख पुऱ्याउनसके। प्रार्थनाद्वारा यहोवामा आफ्नो भार बिसाउनसक्ने कुरा केन्जीले थाह पाए। अन्ततः तिनकी पत्नीले बोल्ने शक्ति पूर्णतया गुमाइन् र यसरी केन्जीले मनको बह पोखाउने साथी नै गुमाए। तर तिनी दिनहुँ बाइबल पढ्छन्। तिनी भन्छन्: “हरेस खाएकाहरूलाई यसले यहोवाको अनुकम्पाको सम्झना दिलाउँछ र मलाई निराश र एक्लो हुनदेखि जोगाएको छ।”
हाम्रा भावनाहरूले नाजायज फाइदा उठाउन लागेजस्तो देख्दा यहोवाको आत्मामा भर पर्नु मदतकारी हुनसक्छ। मस्तिष्कघातपछि आफ्ना श्रीमान्को व्यक्तित्वमा परिवर्तन र उहाँको रिस खप्नुपरेकोबारे योशिको बताउँछिन्: “कहिलेकाहीं त मलाई आफ्नो भएभरको आवाजमा चिच्याऊँ जस्तो लाग्छ। त्यस्तो बेला म सधैं यहोवालाई प्रार्थना गर्छु र उहाँको आत्माले मलाई शान्त रहन मदत दिन्छ।” यहोवाले तिनलाई कहिल्यै नत्याग्नुभएकोले त्यसको मूल्यांकन गर्दै तिनी आफ्नो मसीही जीवनशैलीमा कुनै पनि कुराले हस्तक्षेप गर्न दिन्नन्। तिनी नियमित तवरमा मसीही सभाहरू धाउँछिन्, सेवकाईमा भाग लिन्छिन् र व्यक्तिगत बाइबल अध्ययन गर्छिन्। योशिको भन्छिन्: “आफूले यथाशक्य गरेपछि यहोवाले मलाई कहिल्यै त्याग्नु हुनेछैन भनी मलाई थाह छ।”
चिन्तित हुँदा यहोवालाई सधैं मनको बह पोखाउनसक्छौं। मिडोरी, लोग्नेलाई मस्तिष्कघात भएपछि आफूले जति आँसुहरू बगाउनुपऱ्यो ती सबै यहोवाले प्रतीकात्मक रूपमा “छालाको भाँडोमा” हाल्नु भएको छ भनी सम्झदैं आफूलाई सान्त्वना दिन्छिन्। (भजन ५६:८, NW) तिनी येशूका शब्दहरू सम्झन्छिन्: “भोलिको निम्ति फिक्री नगर।” तिनी भन्छिन्: “नयाँ संसार नआउञ्जेल धीरजी भइरहने मैले निधो गरिसकें।”—मत्ती ६:३१-३४.
कठोर सीमितताहरूको सामना गर्ने
हो, उपचार केन्द्रहरूमा कसै कसैको स्वास्थ्य निकै सुधार हुन्छ तर कोहीले चाहिं मस्तिष्कघातपछि खास प्रगति गर्न सक्दैनन्। बिरामीले आफ्ना सीमितताहरू ज्यादै कष्टकारी र दीर्घकालीन भए तापनि ती चुनौतीहरू स्वीकार्न कसरी मदत पाउनसक्छ?
मस्तिष्कघातको कारण चलहल गर्न असक्षम भएका बर्नी जवाफ दिन्छन्: “आउनै लागेको पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशा र स्वर्गमा हुनुहुने पिता यहोवालाई प्रार्थना गरेर मैले आफ्ना सीमितताहरू शान्तपूर्वक स्वीकार्न मदत पाएको छु।”
यही आशाले एरिका अनि तिनका पति जर्जलाई आफ्ना सीमितताहरू स्वीकार्दा आनन्दित हुन मदत मिल्यो। जर्ज भन्छन्: “परमेश्वरले एक दिन पूर्णतया निको पार्ने प्रतिज्ञा गर्नुभएको छ। अतः आफ्नो अशक्ततामा मात्र ध्यान दिंदैनौं। निस्सन्देह, एरिकाको निम्ति हामी अझै यथासक्दो गर्छौं। तर अझ सकारात्मक कुराहरूमा ध्यान दिंदै यी असिद्ध मांशपेशीहरूको समन्वय नभए तापनि त्यससित बाँच्न सिक्न सकिन्छ।”—यशैया ३३:२४; ३५:५, ६; प्रकाश २१:४.
कुनै कुनै बिरामीको स्वास्थ्यलाभ त्यति धेरै नहुँदा परिवार तथा साथीहरूको समर्थन झनै अपरिहार्य हुन्छ। परमेश्वरले सबै रोगहरूलाई निको पार्ने समय नआउञ्जेल आफ्ना सीमितताहरूको सामना गर्न मदत गर्नसक्छन्।
मस्तिष्कघातका बिरामी तथा तिनको परिवारको निम्ति महान् भविष्य छ जहाँ तिनीहरू पुनः स्वस्थ हुनेछन् भनी थाह पाउँदा भोलिको निम्ति फिक्री नगरी बाँच्न बल पाउनसक्छन्। अतः आउनै लागेको परमेश्वरको नयाँ संसारमा सबै दुःखकष्टबाट उद्धार पाउने तिनीहरूले आशा गर्नसक्छन्। (यर्मिया २९:११; २ पत्रुस ३:१३) त्यतिञ्जेल, मस्तिष्कघातका पीडादायी असरहरूको सामना गर्नुपरेकाहरूले यहोवासित मदत मागेमा अहिले पनि सहायता र समर्थन पाउनेछन् भनी निश्चिन्त हुनसक्छन्।—भजन ३३:२२; ५५:२२.
[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]
परमेश्वरले सबै रोगहरूलाई निको पार्ने समय नआउञ्जेल बिरामीलाई आफ्ना सीमितताहरूको सामना गर्न परिवार तथा साथीहरूले मदत गर्नसक्छन्
[पृष्ठ १०-मा भएको पेटी/चित्र]
मस्तिष्कघातको रोकथाम
“मस्तिष्कघातसित सामना गर्ने सबैभन्दा उत्तम तरिका यो हुनै नदिनु हो,” भनी डा. डेभिड लेभिन भन्छन्। मस्तिष्कघात हुनुको प्रमुख कारणहरूमध्ये नम्बर एक कारण उच्च रक्तचाप हो।
पोटासियम धेरै भएको र नून, प्रशोधित चिल्लो पदार्थ तथा कोलेस्ट्रोल कम भएको खाना खाएर प्रायजसो मानिसहरूको उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ। रक्सी पिउन कम गर्नु पनि महत्त्वपूर्ण छ। मानिसको उमेर र स्वास्थ्यअनुसार उचित व्यायाम गर्दा पनि बढी भएको वजन घटाउन सकिन्छ, जसले गर्दा उच्च रक्तचाप कम हुनसक्छ। उच्च रक्तचापको निम्ति थुप्रै किसिमका औषधीहरू उपलब्ध भएकोले चिकित्सकको निरीक्षणमा मात्र औषधी लिनु आवश्यक हुनसक्छ।
धमनी साँघुरो हुने रोगले पनि मस्तिष्कमा रक्तसञ्चार कम हुन्छ र यो मस्तिष्कघातको मुख्य कारण हो। हृद्धमनी कतिसम्म बन्द भएको छ, त्यसअनुसार बन्द भएको हृद्धमनी खुल्ला गर्न क्यारोटिड एन्डारेक्टोमी नामक शल्यक्रिया गर्नु बेस हुनसक्छ। मस्तिष्कघातका लक्षणहरू देखापरेका र धमनीहरू साह्रै साँघुरो भएका मानिसहरूले शल्यक्रियाका साथै खास औषधीहरू लिंदा लाभ भएको अध्ययनहरूले देखाएका छन्। तथापि, शल्य चिकित्सा गर्दा पनि समस्याहरू उत्पन्न हुनसक्छन्, अतः होसियारीपूर्वक विचार गर्नुपर्छ।
मुटुसम्बन्धी रोग भएका मानिसहरूलाई मस्तिष्कघात हुने खतरा बढी हुनसक्छ। आट्रियल फाइब्रिलेसनले (अनियमित धड्कन) गर्दा पनि रगत जम्ने र यसरी जमेको रगत मस्तिष्कमा पुग्ने हुन्छ, यसको उपचार रगत जम्न नदिने पदार्थ प्रयोग गरेर गर्न सकिन्छ। मुटुसम्बन्धी अन्य समस्याहरूका निम्ति शल्यक्रिया र औषधीहरूद्वारा पनि मस्तिष्कघातको खतरालाई कम गर्न सकिन्छ। मधुमेहको कारणले गर्दा पनि धेरै मस्तिष्कघात हुने गर्छ, त्यसैले यसलाई नियन्त्रणमा राख्दा पनि मस्तिष्कघातबाट बच्न सकिन्छ।
ट्रान्जिएन्ट इस्केमिया अट्याक, टि आइ ए अर्थात् क्षणिक आक्रमण हुने पनि मस्तिष्कघातको स्पष्ट चेताउनी हो। यस्तो हुँदा कहिले पनि बेवास्ता नगर्नुहोस्। चिकित्सकसित भेटेर यसो हुनुको कारण बुझिहाल्नुहोस् किनभने टि आइ ए-ले मस्तिष्कघात हुने खतरा चौगुना बढाउँछ।
स्वस्थ र सरल जीवनशैलीले पनि मस्तिष्कघातबाट निकै हदसम्म जोगिन सकिन्छ। सन्तुलित भोजन, नियमित व्यायामका साथै रक्सी कम पिउँदा, धूम्रपान नगर्दा धमनीहरू स्वस्थ रहन्छन् र बिग्रिसकेका धमनीहरूसमेत मर्मत हुनसक्छन्। बढी मात्रामा ताजा फलफूल, सागसब्जी र अन्नहरू खाएर पनि मस्तिष्कघातको खतरा कम गर्न सकिने कुरा अध्ययनहरूले देखाएका छन्।