तनाउ—“मन्द विष”
“मानिसहरूले सधैंजसो यसो भन्ने गरेको सुन्छौं, ‘धेरै चिन्ता नगर बिरामी पर्ला नि।’ तर तनाउले साँच्चै हाम्रो शरीरलाई क्षति पुऱ्याइरहेको हुन्छ भनेर तिनीहरूले सायद बुझेका हुँदैनन्।”— डा. डेभिड फेल्टेन।
जिल एक्लैले आफ्नो किशोर छोरालाई हुर्काइरहेकी छिन्, बैंकमा जम्मा गरेको पैसा पनि सिद्धिंदैछ र आमाबाबुसित पनि राम्रो सम्बन्ध छैन। यस्तो अवस्थामा उनी तनाउग्रस्त हुनुका थुप्रै कारणहरू छन्। अचानक कुनै खास कारणबिना उनको पाखुरामा असाध्यै चिलाउने तथा पोल्ने डाबरहरू निस्कन थाल्यो। उनले एन्टिबायोटिक, कोर्टिजोन क्रिम, एन्टिहिस्टामाइन प्रयोग गरेर अनेक उपाय गरिन् तर डाबर निको भएन। उल्टो जिलको जीउभरि अनि अनुहारमा डाबर फैलन थाल्यो। उनको कन्सिरी तात्न थाल्यो।
जिललाई बिरामीको भावनात्मक अवस्था जाँच्ने चर्म क्लिनिकमा जाने सुझाउ दिइयो। उक्त क्लिनिकका सहसंस्थापक डा. थमस ग्राग यसो भन्छन्, “बिरामीको जीवन कस्तो अवस्था भएर गुज्रिरहेको छ, हामी त्यो पत्ता लगाउन खोज्छौं।” तिनले प्रायः देखेअनुसार छालासम्बन्धी गम्भीर समस्या भोगिरहेकाहरूलाई चिकित्सा उपचारका साथसाथै तनाउ नियन्त्रणमा राख्ने सहयोग पनि चाहिन्छ। डा. ग्राग स्वीकार्छन्, “तपाईंको भावना तथा व्यवहारले गर्दा चर्म रोग हुन्छ भन्नु त समस्यालाई असाध्यै हल्कासित लिइएको हुने” भए तापनि “हामी यो कुरा अवश्य भन्नसक्छौं कि छालासम्बन्धी विकार हुनुमा भावनात्मक अवस्थाको ठूलो हात छ र तनाउ नियन्त्रण गर्न नसिकाउने हो भने स्टिरोइड क्रिम लगाउने सुझाउ मात्र दिनु बेकार हुन्छ।”
तनाउलाई नियन्त्रणमा राख्न सिकेपछि साँच्चै छाला त्यति बिग्रन नपाएको जिल महसुस गर्छिन्। उनी भन्छिन्, “अहिले पनि बेलाबेलामा डाबर देखा पर्छन्। तर मेरो छाला पहिले जुन हालतमा थियो, त्यस्तो चाहिं भएको छैन।” के यो अनौठो घटना हो? पटक्कै होइन। घाउखटिरा, घमौरा, दाद, लुतोजस्ता अन्य चर्मरोगहरू हुनुको एउटा कारण तनाउ पनि हो भन्ने सोचाइ थुप्रै चिकित्सकहरूको छ। तर तनाउले तपाईंको छालालाई मात्र असर गर्ने होइन।
तनाउ तथा तपाईंको रोग प्रतिरोधात्मक प्रणाली
हालैको अनुसन्धानले देखाएअनुसार तनाउले तपाईंको रोग प्रतिरोधात्मक प्रणालीलाई दबाउनसक्छ र सायद त्यसले गर्दा अनेकन् संक्रामक रोगहरू लाग्नसक्ने सम्भावना हुन्छ। जीवाणुविशेषज्ञ रोनाल्ड ग्लेसर भन्छन्, “तनाउले नै तपाईंलाई बिरामी बनाउने होइन। तर यसले रोग प्रतिरोधात्मक प्रणालीलाई असर गर्ने भएको हुँदा बिरामी हुनसक्ने खतरा भने अवश्य बढ्छ।” तनाउले गर्दा रूघाखोकी लाग्ने, ज्वरो आउने तथा दाद निस्कने गरेको यथेष्ट प्रमाणहरू छन्। ती जीवाणुहरूसित हाम्रो हरबखत सम्पर्क भइरहने भए तापनि रोग प्रतिरोधात्मक प्रणालीले साधारणतया त्यसलाई शरीरमा प्रतिकूल असर पार्नदेखि रोक्छ। तर केही विशेषज्ञहरू भन्छन्, भावनात्मक बोझले दबिंदा यस प्रतिरोधात्मक प्रणालीले हार खानसक्छ।
तनाउले कसरी शरीरभित्र हुने प्रक्रियाहरूलाई असर गर्छ भनेर सबै कुरा बुझ्न सकिएको छैन तर तनाउग्रस्त हुँदा सक्रिय हुने हर्मोनहरू रक्तनलीहरूमा बहँदा रोग प्रतिरोधात्मक प्रणालीको कार्यसञ्चालनलाई बाधा पुऱ्याउनसक्छ भन्ने कसै कसैको धारणा छ। प्रायजसो यो चिन्ताको कारण होइन किनभने यी हर्मोनहरू क्षणिक समयसम्म मात्र सक्रिय हुन्छन्। तैपनि कोही कोही भन्छन्, एकनासले तीव्र तनाउ भोगिरहेको व्यक्तिको रोग प्रतिरोधात्मक प्रणाली अत्यन्तै कमजोर भएर रोगसमेत लाग्नसक्छ।
यसकारण, क्यानेडियाली डाक्टरहरूले आफूकहाँ आउने लगभग ५० देखि ७० प्रतिशत बिरामीहरूका लक्षण तनाउसित सम्बन्धित हुन्छन् भन्नुको कारण बुझ्नसक्छौं। सामान्यतया देखिने लक्षणहरू हुन्—टाउको दुख्ने, निद्रा नलाग्ने, थकान अनि पेटसम्बन्धी समस्याहरू। संयुक्त राज्यमा यस्ता बिरामीहरूको संख्या ७५ देखि ९० प्रतिशत भएको अनुमान गरिन्छ। डा. जिन किङको सोचाइमा “दीर्घकालीन तनाउ मन्द विषजस्तै हो” भन्नु बढाइचढाइ गरेको होइन।
न एकमात्र कारण नता एकमात्र निवारण
माथि उल्लिखित तर्कहरूको बावजूद रोग प्रतिरोधात्मक प्रणालीमाथि असर परेर स्वास्थ्य राम्रो नराम्रो हुने कारण तनाउ नै हो भनी वैज्ञानिकहरूले यकिन गरेर भन्नसकेका छैनन्। तसर्थ, दीर्घकालीन तनाउ भोग्ने सबै अवश्य रोगको शिकार हुनेछन् भनी जिद्दी गर्न मिल्दैन। त्यसको विपरीत, तनाउमुक्त हुँदैमा स्वास्थ्य राम्रो हुन्छ भन्ने ग्यारेन्टी पनि दिन सकिंदैन नता आशावादी तथा सकारात्मक सोचाइले नै रोगबिमार निको पार्न सकिन्छ भन्ने गलत धारणाको आधारमा चिकित्सा उपचार अस्वीकार गर्नु बुद्धिमानी हुनेछ। डा. डानियल गोल्मन यसरी सावधान गराउँछन्: “सकारात्मक मनोवृत्तिले सबै रोगबिमार निको पार्छ भन्ने सोचाइले गर्दा कुनै व्यक्ति बिरामी हुनु या नहुनुमा मानसिक तनाउले कस्तो भूमिका खेल्छ भन्ने सन्दर्भमा एकदमै अन्योल तथा गलतफहमी सृजना गरेको छ। कहिलेकाहीं त मानिसहरू कुनै नैतिक कमजोरी वा आध्यात्मिक बेकम्मापनले गर्दा रोग लागेको भन्ठानी दोषीसमेत महसुस गर्छन्।”
तसर्थ, एउटै कारणले गर्दा मात्र रोग लाग्ने होइन भनी बुझ्नुपर्छ। तैपनि, तनाउ तथा रोगबिमारबीचको यस्तो सम्बन्धले यस “मन्द विष” यथासम्भव कम गर्न सिक्नुपर्ने बुद्धिलाई जोड दिन्छ।
यो कसरी गर्न सकिन्छ भनी छलफल गर्नुअघि कस्तो प्रकारको तनाउ हो र कहिलेकाहीं यसले कसरी लाभ पनि गर्नसक्छ भनी नियालेर हेरौं।
[पृष्ठ ५-मा भएको पेटी]
तनाउले गर्दा हुनसक्ने केही अस्वस्थताहरू
• एलर्जी
• जोर्नीको सूज
• दम
• ढाड, घाँटी तथा काँध दुख्ने
• रूघाखोकी
• नैराश्य
• पखाला
• ज्वरो
• पेटको रोग
• टाउको दुख्ने
• मुटुको रोग
• निद्रा नलाग्ने
• आधा टाउको दुख्ने
• आन्द्रामा घाउ हुने
• यौन विकार
• चर्मरोग
[पृष्ठ ६-मा भएको चित्र]
डाक्टरकहाँ आउने प्रायजसो बिरामीहरूलाई शारीरिक कठिनाइभन्दा तनाउले बढी पिरोलेको हुन्छ