तनाउ—नियन्त्रणमा राख्न सकिन्छ!
“मानव जीवन कहिल्यै तनाउमुक्त हुनसक्दैन अनि हामीले तनाउ हटाउनेतिर होइन तर त्यसप्रति कस्तो प्रतिक्रिया देखाउँछौं त्यसलाई केलाउनुपर्छ।”—लिओन चाइटोफ, स्वास्थ्यसम्बन्धी ख्यातिप्राप्त लेखक।
बाइबलले “आखिरी दिनमा डरलाग्दो समय आउनेछ” भनी भविष्यवाणी गरेको थियो। हामी त्यस्तै समयमा बाँचिरहेका छौं भनी घटनाहरूले स्पष्टसित देखाउँछन् किनभने भविष्यवाणी गरिएझैं मानिसहरू “अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी” छन्।—२ तिमोथी ३:१-५.
त्यसकारण, अलिकता शान्तमय जीवन बिताउन पनि गाह्रो हुनु अचम्मको कुरा होइन! शान्तसित जीवन बिताउन खोज्नेहरूलाई समेत तनाउले पिरोल्न छोड्दैन। भजनरचयिता दाऊदले यसप्रकार लेखे, “धर्मात्मालाई धेरै दुःख . . . हुन्छ।” (भजन ३४:१९; तुलना गर्नुहोस् २ तिमोथी ३:१२) तैपनि, तनाउको कारण विचलित नहुन त्यसलाई कम गर्ने थुप्रै तरिकाहरू छन्। निम्न सुझाउहरू ध्यान दिनुहोस्।
आफ्नो ख्याल गर्नुहोस्
आफ्नो भोजनमा के के समावेश छन्, त्यसमा ध्यान दिनुहोस्। प्रोटिन, फलफूल, तरकारी, विभिन्न प्रकारका अन्न तथा डेरी उत्पादनहरू समावेश भएको भोजनलाई स्वास्थ्यकर भोजन मानिन्छ। प्रशोधित मैदा तथा चिल्लो पदार्थहरू अत्यधिक मात्रामा नखानुहोस्। नुन, प्रशोधित चिनी, मद्य तथा क्याफिन पनि होस गरेर मात्र खानुहोस्। भोजनलाई स्वास्थ्यवर्धक बनाउनुहोस् अनि तपाईं त्यति सजिलै तनाउको शिकार हुनुहुनेछैन।
व्यायाम गर्नुहोस्। बाइबल यस्तो सल्लाह दिन्छ, “शारीरिक साधन . . . उपयोगी हुन्छ।” (१ तिमोथी ४:८) निस्सन्देह, सन्तुलित अनि नियमित तवरमा व्यायाम गर्नुपर्छ। कसै कसैले हप्ताका तीन चोटि व्यायाम गर्ने सुझाउ दिन्छन्। यसरी व्यायाम गर्नाले मुटु बलियो हुन्छ, रक्तसञ्चार राम्रो हुन्छ, कोलेस्ट्रोल कम हुनुका साथै हृदयघात हुने सम्भावना पनि घट्छ। त्यति मात्र होइन, कडा शारीरिक व्यायाम गर्दा निस्कने एन्डोर्फिनहरूको कारण होला, व्यायाम गर्दा स्वस्थ महसुस हुन्छ।
पर्याप्त मात्रामा सुत्नुहोस्। निद्राको कमी भयो भने थकाइ लाग्छ र तनाउ नियन्त्रण गर्ने क्षमता कम हुन्छ। हतपती निदाउन सक्नुहुन्न भने नियमित तालिका बनाएर सुत्ने र उठ्ने प्रयास गर्नुहोस्। कसै कसैले ३० मिनेटभन्दा बढी झप्की नलिने सुझाउ दिन्छन् अन्यथा राति निदाउन गाह्रो हुन्छ।
व्यवस्थित हुनुहोस्। समयको राम्रो तालमेल मिलाउनसक्ने व्यक्तिहरूलाई तनाउ नियन्त्रणमा राख्न त्यति गाह्रो हुँदैन। व्यवस्थित हुन सर्वप्रथम कुन कुन जिम्मेवारीहरू पूरा गर्नुपर्छ, त्यो छुट्याउनुहोस्। त्यसपछि, ती पूरा गर्न नबिर्सनको लागि तालिका बनाउनुहोस्।—१ कोरिन्थी १४:३३, ४० र फिलिप्पी १:१० तुलना गर्नुहोस्।
राम्रो सम्बन्ध कायम गर्नुहोस्
सहयोग लिनुहोस्। साथीभाइ तथा चिनजानहरूसित घुलमिल गर्ने व्यक्ति तनाउपूर्ण अवस्थामा त्यति सजिलै विचलित भइहाल्दैनन्। एक जना भरोसायोग्य साथीले पनि ठूलो फरक पार्नसक्छ। बाइबलको हितोपदेश यसो भन्छ: “मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाज्यू-भाइ चाहिं दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।”—हितोपदेश १७:१७.
विवादहरू सुल्झाउनुहोस्। प्रेरित पावलले यसप्रकार लेखे, “घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस।” (एफिसी ४:२६) हृदयघात भएका ९२९ व्यक्तिहरूको अध्ययनले के देखाउँछ भने रिस मनमा गुम्साइरहनुभन्दा तुरुन्तै विवाद सुल्झाउनु बुद्धिमानी हो। शान्त स्वभावका व्यक्तिहरूभन्दा अरूसित कटु वैमनस्यता राख्नेहरू पहिलो चोटि हृदयघात भएको दस वर्षभित्र हृदयगति बन्द भएर मृत्यु हुने सम्भावना तीन गुणा बढी थियो। यस अध्ययनका लेखकहरूले देखाएअनुसार प्रमुख कारण रिस भए तापनि शरीरमा तनाउ हर्मोनहरू प्रवाह गर्ने कटु नकारात्मक भावनाहरूले पनि त्यस्तै असर पार्छन्। हितोपदेश १४:३० भन्छ, “क्रोधले . . . हड्डी गलाउँछ।”
परिवारको लागि समय निकाल्नुहोस्। इस्राएली आमाबाबुहरूलाई आफ्ना छोराछोरीसित समय बिताउने, तिनीहरूको हृदयमा सही सिद्धान्तहरू हालिदिने आज्ञा दिइएको थियो। (व्यवस्था ६:६, ७) यस्तो बन्धनले पारिवारिक एकता बढाउँथ्यो तर दुःखको कुरा, यसको अहिले निकै अभाव छ। एउटा अध्ययनले देखाएअनुसार जागिरे आमाबाबुले प्रत्येक दिन आफ्ना छोराछोरीसित खेल्न औसतन ३.५ मिनेट मात्र बिताउँछन्। यद्यपि, तनाउपूर्ण घडीमा आफ्नो परिवारले निकै ढाडस दिनसक्छ। तनाउसम्बन्धी एउटा पुस्तक बताउँछ, “तपाईंको वास्तविक चिनारी थाह भएको र हर हालतमा तपाईंको साथ नछोड्ने भावनात्मक सहयोग समूहको सदस्यको हैसियतमा बिनाशर्त सदस्यता दिने इकाई परिवार नै हो। तनाउ कम गर्ने सर्वोत्तम तरिका पारिवारिक एकता हो।”
तपाईंको जीवनमा सन्तुलन कायम गर्नुहोस्
व्यवहारिक हुनुहोस्। आफ्नो भावनात्मक तथा शारीरिक क्षमताले सकी नसकी गर्न खोज्ने व्यक्ति लखतरान भएर निराशाको शिकार हुने सम्भावना बढी हुन्छ। मुख्य कुरा हो, सन्तुलन। चेला याकूबले यसप्रकार लेखे, “जुन ज्ञान माथिबाट आउँछ, . . . त्यो . . . कोमल [व्यवहारिक, NW] हुन्छ।” (याकूब ३:१७; तुलना गर्नुहोस् उपदेशक ७:१६, १७ र फिलिप्पी ४:५) आफ्नो बल-बर्कतले गर्न नसक्ने कामकुरालाई नाइँ भन्न सिक्नुहोस्।
आफूलाई अरूसित नदाँज्नुहोस्। गलाती ६:४ यसो भन्छ: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।” हो, उपासनाको सन्दर्भमा पनि परमेश्वरले नमिल्ने तुलनाहरू गरेर हाम्रो व्यक्तिगत परिस्थितिले भ्याउनेभन्दा बढी माग गर्नुहुन्न। “आफूसित नभएअनुसार होइन, तर आफूकहाँ भएअनुसार” उहाँले हाम्रो उपहार तथा त्यागहरू स्वीकार्नुहुन्छ।—२ कोरिन्थी ८:१२.
आराम गर्ने समय निकाल्नुहोस्। येशू अत्यन्तै जेहनदार हुनुहुन्थ्यो र पनि उहाँले आफू अनि आफ्ना अनुयायीहरूका लागि आराम लिने समय निकाल्नुभयो। (मर्कूस ६:३०-३२) उपदेशकका प्रेरित लेखकले स्वास्थ्यवर्धक आराम फाइदाजनक भएको महसुस गरे। तिनले लेखे: “सुख-चैन गर्नुनै म सल्लाह दिन्छु, किनभने यस संसारमा मानिसलाई खानु, पिउनु मोज-मजा गर्नु भन्दा अरू असल केही रहेन छ। किनकि यस संसारमा परमेश्वरले दिनुभएको जीवनको अवधिभरि आफ्नो मेहनतको फल यही मात्र रहनेछ।” (उपदेशक ८:१५) सन्तुलित आमोदप्रमोदले शरीरलाई स्फूर्ति प्रदान गर्न तथा तनाउलाई नियन्त्रणमा राख्न मदत दिनसक्छ।
तनाउप्रति व्यवहारिक दृष्टिकोण राख्नुहोस्
तनाउपूर्ण अवस्था सामना गर्नुहुँदा:
परमेश्वरले तपाईंलाई अनुमोदन गर्नुहुन्न भन्ने निष्कर्षमा पुगी नहाल्नुहोस्। विश्वासी स्त्री, हन्नाले वर्षौंसम्म “मनको ठूलो ताप” बोकिरहेकी थिइन्। (१ शमूएल १:४-११) म्यासिडोनियामा छँदा पावललाई ‘हरतर्फबाट संकष्ट परेको थियो।’ (२ कोरिन्थी ७:५) आफ्नो मृत्यु हुनुअघि येशू “अत्यन्त संकष्टमा” पर्नुभयो र यति बिघ्न तनाउग्रस्त हुनुहुन्थ्यो कि “उहाँको पसीना रगतका ठूला ठूला थोप्लाजस्तै भूइँमा खसिरहेका थिए।”a (लूका २२:४४) ती परमेश्वरका विश्वासी सेवकहरू थिए। त्यसकारण, तपाईं पनि तनाउको शिकार हुनुहुँदा परमेश्वरले त्याग्नुभयो भन्ने निष्कर्षमा पुग्नुपर्ने कुनै कारण छैन।
आफ्नो संकष्टमय अवस्थाबाट सिक्नुहोस्। पावलले “शरीरमा एक किसिमको छेस्को” सहनुपरेको विषयमा लेखे। निस्सन्देह, त्यो स्वास्थ्य समस्याले तिनलाई निकै दुःख दिएको हुनुपर्छ। (२ कोरिन्थी १२:७) तर करिब पाँच वर्षपछि तिनले यसो भन्नसके: “म घट्न पनि जान्दछु, बढ़न पनि जान्दछु। हरेक कुरामा र सम्पूर्ण कुरामा तृप्त हुने पनि र भोको हुने पनि, प्रशस्त हुने र खाँचोमा पर्ने पनि गुप्त कुरो मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१२, १३) “शरीरमा एक किसिमको छेस्को” सहनु परेकोमा पावल खुसी थिएनन् तर त्यसलाई सहेर तिनले बलको निम्ति परमेश्वरमाथि अझ बढी भरोसा राख्न सिके।—भजन ५५:२२.
आध्यात्मिकता खेती गर्नुहोस्
परमेश्वरको वचन पढेर त्यसमा मनन गर्नुहोस्। येशूले यसो भन्नुभयो, “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) परमेश्वरको वचन पढ्नु र त्यसमा मनन गर्नु अत्यावश्यक छ। धर्मशास्त्रलाई गहिरिएर केलाउँदा प्रायः आफूलाई दिनभरि सँभाल्न ठ्याक्क चाहिएकै उपयुक्त प्रोत्साहन भेट्टाइरहेका हुन्छौं। (हितोपदेश २:१-६) भजनरचयिताले यसप्रकार लेखे, “मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका [परमेश्वरका] सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्।”—भजन ९४:१९.
नियमित तवरमा प्रार्थना गर्नुहोस्। पावलले यसप्रकार लेखे: “सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) हो, “असामान्य शक्ति,” NW खाँचो पर्दा समेत “परमेश्वरको शान्तिले” हाम्रा विचलित भावनाहरूलाई काबुमा राख्नसक्छ।—२ कोरिन्थी ४:७.
मसीही सभाहरू धाउनुहोस्। मसीही मण्डलीले अनमोल सहयोग प्रदान गर्छ किनभने मण्डलीका सबैलाई “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्न” अनि “एउटाले अर्कोलाई झन् बढ़ता गरेर अर्ती” दिन आग्रह गरिएको छ। पावलले प्रथम शताब्दीका हिब्रू मसीहीहरूलाई ‘एक ठाउँमा भेला हुनालाई नछोड’ भन्नुमा ठोस कारण थियो।—हिब्रू १०:२४, २५.
निश्चित आशा
हो, एउटा सरल सूत्रअनुसार जीवन बिताउँदैमा तनाउ कम हुने होइन। प्रायः हाम्रो सोचाइमा नै आमूल परिवर्तन ल्याउनुपर्ने हुन्छ। उदाहरणका लागि, आफूले भोगिरहेको परिस्थितिदेखि विचलित नहुन नयाँ तरिकाहरू सिक्नु खाँचो पर्ला। कुनै कुनै अवस्थामा तनाउको निरन्तरता तथा तीव्रताले गर्दा उचित उपचार गराउनु जरूरी पर्ला।
निस्सन्देह, अहिले कसैको जीवन पनि खराब तनाउबाट पूर्णतया मुक्त छैन। तथापि, परमेश्वरले निकट भविष्यमा मानवहरूतर्फ ध्यानकेन्द्रित गर्नुभएर तिनीहरूमाथि भार लाद्ने हानिकारक तनाउ हटाउनुहुनेछ। प्रकाश २१:४ मा हामी यसो लेखिएको पढ्छौं, परमेश्वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन।” त्यसपछि विश्वासी मानिसजातिले सुरक्षित जीवन बिताउनेछन्। भविष्यवक्ता मीकाले यस्तो अगमवाणी गरे: “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।”—मीका ४:४.
[फुटनोट]
a अत्यधिक मानसिक तनाउ हुँदा कहिलेकाहीं पसिना पनि रगतका थोपाजस्तै भएका घटनाहरू छन्। उदाहरणका लागि, हेमाटिड्रोसिस हुँदा रगत वा रगतको तन्तु वा शरीरले निकाल्ने तरल पदार्थमा रगत मिसिएको पसिना शरीरबाट निस्कन्छ। तथापि, येशूको अवस्थामा के भयो भन्न सकिंदैन।
[पृष्ठ १२-मा भएको पेटी]
तनाउ तथा शल्यचिकित्सा
कोही कोही चिकित्सकहरू बिरामीको शल्यक्रिया गर्नुअघि तिनीहरू कत्तिको तनाउग्रस्त छन्, त्यसलाई विचार गर्छन्। उदाहरणका लागि, शल्यचिकित्सक डा. काम्रान नेजात यसो भन्छन्:
“शल्यक्रिया गर्न सबै कामकुरा मिलिसकेको बिरामीले आफू त्यो दिन अत्यन्तै आत्तिएको कुरा बतायो भने म शल्यक्रिया नै स्थगित गर्छु।” किन? नेजात यसो भन्छन्: “सबै शल्यचिकित्सकलाई थाह भएकै कुरा हो, असाध्यै तर्सिएका बिरामीहरूको शल्यक्रिया सफल हुँदैन। तिनीहरूको शरीरबाट रगत धेरै बग्छ, संक्रमण तथा अन्य जटिल स्वास्थ्य समस्याहरू हुन्छन्। निको हुन पनि गाह्रो हुन्छ। शान्त भएको अवस्थामा धेरै राम्रो हुन्छ।”
[पृष्ठ १०-मा भएको चित्र]
आध्यात्मिकता खेती गरेर शान्त रहन मदत पाउन सक्नुहुन्छ
[पृष्ठ ११-मा भएको चित्र]
स्वास्थ्यको राम्रो हेरचाह गरेर तनाउ कम गर्न सकिन्छ
आराम
स्वास्थ्यकर भोजन
व्यायाम