प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ४/८ पृ. ६-९
  • असल तनाउ, खराब तनाउ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल तनाउ, खराब तनाउ
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तीन प्रकारका तनाउ
  • तनाउप्रति एकदमै संवेदनशील
  • तनाव भनेको के हो?
    ब्यूँझनुहोस्‌!—२०२०
  • के तपाईँ तनावमा हुनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • तनावको सामना कसरी गर्ने?
    ब्यूँझनुहोस्‌!—२०२०
  • तनाउ—नियन्त्रणमा राख्न सकिन्छ!
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ४/८ पृ. ६-९

असल तनाउ, खराब तनाउ

“तनाउ भनेको कुनै पनि आवश्‍यकताप्रति शरीरको अस्पष्ट संकेत भएको हुँदा धेरथोर तनाउ त सबैलाई भइहाल्छ।”— डा. हान्स सेल्ये।

सारंगी बजाउन त्यसका तारहरू ठिक्क मात्रामा तनक्क तन्किएको हुनुपर्छ। बेस्सरी कसियो भने चुँडिन्छ। तर असाध्यै खुकुलो भयो भने पनि आवाजै निस्कँदैन। बेस्सरी कसिएको पनि होइन, असाध्यै खुकुलो पनि नभई ठिक्क मात्रामा मात्र तन्किएको हुनुपर्छ।

तनाउ पनि यस्तै हो। हामीले थाह पाइसक्यौं कि अत्यधिक तनाउ हानिकारक हुन्छ। तर पटक्कै तनाउ भएन भने नि? यो सुन्‍न त राम्रो लाग्छ तर यथार्थ के हो भने केही हदसम्म तनाउ चाहिन्छ। उदाहरणका लागि, बाटो काट्‌नै लाग्नुहुँदा आफूतिर एउटा गाडी बेस्सरी हुँइकिएर आएको अकस्मात्‌ देख्नुभयो। तनाउले गर्दा नै तपाईं तुरुन्तै त्यहाँबाट पन्छिनुहुन्छ!

तर आपत्‌कालीन अवस्थाहरूमा मात्र तनाउ उपयोगी हुने होइन। दैनिक कार्यहरू गर्न पनि तपाईंलाई तनाउ चाहिन्छ। सबैलाई हरबखत केही न केही मात्रामा तनाउ हुन्छ। डा. हान्स सेल्ये भन्छन्‌, ‘मरेपछि मात्र तनाउ हुँदैन।’ तिनी अझ यसो भन्छन्‌, “ऊ तनाउग्रस्त छ” भन्‍नु “उसको शरीर तातो छ” भन्‍नु जत्तिकै निरर्थक हो। सेल्ये भन्छन्‌, “ती अभिव्यक्‍तिहरूले वास्तवमा भन्‍न खोजेको त के हो भने तनाउ वा शरीरको तापक्रम बढी छ।” यस सन्दर्भमा भन्‍ने हो भने मनोरञ्जन तथा निद्रा दुवैमा तनाउ समावेश हुन्छ किनभने तपाईंको मुटु धड्‌की नै रहेको हुन्छ र फोक्सोले काम गरिरहेकै हुन्छ।

तीन प्रकारका तनाउ

तनाउको मात्रा बेग्लाबेग्लै भएझैं यसको प्रकार पनि बेग्लाबेग्लै हुन्छ।

दैनिक जीवनका दबाबहरूले क्षणिक तर तीव्र तनाउ उत्पन्‍न गर्छन्‌। यो प्रायजसो समाधान गर्नुपर्ने अप्रिय घटनाहरूसित सम्बन्धित हुन्छ। यो अकस्मात्‌ र क्षणिक हुने हुँदा यस्तो तनाउलाई प्रायः नियन्त्रणमा राख्न सकिन्छ। हुन त, एकपछि अर्को संकटमा फस्ने व्यक्‍तिहरू पनि हुन्छन्‌। हो, गञ्जागोलपूर्ण जीवनपद्धति तिनीहरूको चिनारी जस्तो देखिन्छ। यस्तो प्रकारको तीव्र तनाउलाई समेत नियन्त्रणमा राख्न सकिन्छ। तथापि, आफ्नो अस्तव्यस्त जीवनशैलीले स्वयं र अरू व्यक्‍तिहरूलाई कस्तो असर पारिरहेको छ भनी बुझेपछि मात्र तिनले त्यस्तो जीवनशैलीमा छाँटकाँट गर्नसक्छन्‌।

तीव्र तनाउ क्षणिक हुन्छ तर गम्भीर तनाउ दीर्घकालीन हुन्छ। तनाउग्रस्त व्यक्‍तिले आफ्नो अवस्थाबाट उम्कने कुनै बाटो देख्दैन चाहे त्यो गरिबीको चपेटा, उपेक्षित जागिर वा बेरोजगारी नै किन नहोस्‌। झन्‌ झन्‌ चर्कंदै गएको पारिवारिक समस्याले पनि गम्भीर तनाउ सृजना गर्नसक्छ। अशक्‍त नातेदारको स्याहारसुसार गर्नुपर्दा पनि तनाउ उत्पन्‍न हुनसक्छ। कारण जेसुकै होस्‌, गम्भीर तनाउले दिनदिनै, हप्तैपिच्छे, महिनैपिच्छे पिरोलिरहेको हुन्छ। यसैसम्बन्धी एउटा पुस्तक यसो भन्छ, “गम्भीर तनाउको सबैभन्दा खतरनाक पक्ष के हो भने मानिसहरूलाई त्यसको बानी पर्छ। तीव्र तनाउ आफूलाई भए नभएको मानिसहरूलाई तुरुन्तै होस भइहाल्छ किनभने यो एउटा नयाँ अनुभव हो। तर तिनीहरू गम्भीर तनाउलाई बेवास्ता गर्छन्‌ किनभने यो पुरानो, पहिलेदेखि थाह भएको र कहिलेकाहीं त आफूलाई मन पर्ने खालको हुन्छ।”

बलात्कार, दुर्घटना वा प्राकृतिक प्रकोपजस्ता भयानक विपत्तिहरूले भावनात्मक तनाउ उत्पन्‍न गर्छन्‌। भूतपूर्व योद्धा तथा नाजी यातना शिविरमा यातना भोगेकाहरूले प्राय यस्तो तनाउ भोग्छन्‌। भावनात्मक पीडाले गर्दा तनाउ भोग्नेहरूले वर्षौंपछिसम्म त्यो पीडा दिमागबाट हटाउन सक्दैनन्‌ र स-साना घटनाप्रति पनि असाध्यै संवेदनशील हुन थाल्छन्‌। कहिलेकाहीं त बिरामीलाई पीडादायी अनुभवपछि तनाउ विकार अर्थात्‌ पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर (पि टि एस डी) भएको पनि पत्ता लागेको छ।—माथिको पेटी हेर्नुहोस्‌।

तनाउप्रति एकदमै संवेदनशील

कसै कसैको भनाइअनुसार अहिले हामी तनाउप्रति कस्तो प्रतिक्रिया देखाउँछौं त्यो निकै हदसम्म हामीले विगतमा कत्तिको अनि कस्तो प्रकारको तनाउ भोगेका थियौं, त्यसमा निर्भर हुन्छ। तिनीहरूको विचारमा भावनात्मक तवरमा पीडादायी घटनाहरूले मस्तिष्कको रासायनिक “प्रवाह” फेरबदल गर्नसक्छन्‌ र पछि गएर त्यो व्यक्‍ति तनाउप्रति निकै संवेदनशील हुन्छन्‌। उदाहरणका लागि, दोस्रो विश्‍वयुद्धका ५५६ भूतपूर्व सैनिकहरूको अध्ययनबाट डा. लरेन्स ब्रासले के पत्ता लगाए भने पीडा भोगेको ५० वर्ष पछिसमेत अन्य सैनिकहरूको तुलनामा युद्धबन्दीहरूको मस्तिष्कघात हुने सम्भावना आठ गुणा बढी थियो। “युद्धबन्दी हुनाको तनाउ अति तीव्र भएको हुँदा तिनीहरूले भावी तनाउप्रति बेग्लै प्रतिक्रिया देखाए अर्थात्‌ तिनीहरू बढ्‌तै संवेदनशील भए।”

बाल्यावस्थाका तनाउपूर्ण घटनाहरूले निकै असर पार्नसक्ने हुँदा त्यसलाई हल्कासित लिनु हुँदैन भनी विशेषज्ञहरू भन्छन्‌। डा. जिन किङ भन्छिन्‌, “पीडा भोगेका प्रायजसो बच्चाहरूलाई डाक्टरकहाँ लगिंदैन। तिनीहरू त्यो समस्याबाट पार तर्छन्‌, दिनचर्यामा भुलिन्छन्‌ अनि निराशा वा मुटुको रोगले पिरोलेर वर्षौंपछि बल्ल हामीकहाँ आउँछन्‌।” उदाहरणका लागि, आमा या बुबासितको बिछोडको पीडालाई लिनुहोस्‌। “सानो छँदा भोगेको त्यस्तो भयानक तनाउले सोचविचारलाई अस्तव्यस्त गरेर सदाको लागि अर्कै दिशातर्फ मोड्‌नसक्छ र फलस्वरूप दिनहुँ आइपर्ने सामान्य तनाउहरूसमेत सामना गर्न नसक्ने हुन्छन्‌” भनी डा. किङ बताउँछिन्‌।

निस्सन्देह, तनाउप्रति देखाइने प्रतिक्रियालाई अन्य विभिन्‍न कुराहरूले पनि असर गर्नसक्छन्‌। जस्तै, शारीरिक बनोट अनि तनाउपूर्ण परिस्थितिसित जुझ्न उपलब्ध स्रोत साधन इत्यादि। तनाउको कारण जे सुकै होस्‌, त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ। हो, यो सजिलो काम होइन। डा. रेचेल येहूद यस्तो टिप्पणी गर्छिन्‌: “तनाउप्रति असाध्यै संवेदनशील भएको व्यक्‍तिलाई शान्त होऊ भन्‍नु निद्रा नलाग्ने रोग लागेको व्यक्‍तिलाई सुत भन्‍नुजस्तो मात्र हो।” तर तनाउ कम गर्न सकिने थुप्रै कुराहरूबारे यसपछिको लेखले बताउनेछ।

[पृष्ठ ७-मा भएको पेटी]

जागिरको तनाउ—“विश्‍वव्यापी समस्या”

संयुक्‍त राष्ट्रको रिपोर्ट यस्तो छ: “यस २० औं शताब्दीको एउटा अत्यन्तै गम्भीर स्वास्थ्य समस्या तनाउ हुन पुगेको छ।” कार्यक्षेत्रमा यसको असर प्रस्टै देखिन्छ।

• अस्ट्रेलियाका सरकारी कर्मचारीहरूमा तनाउसित सम्बन्धित समस्याहरू तीन वर्षभित्र ९० प्रतिशत वृद्धि भए।

• फ्रान्समा गरिएको सर्वेक्षणअनुसार ६४ प्रतिशत स्वास्थ्य परिचारक तथा ६१ प्रतिशत शिक्षकहरू आफ्नो कार्यस्थलको तनाउपूर्ण वातावरणले गर्दा अप्रसन्‍न छन्‌।

• तनाउसित सम्बन्धित रोगबिमारको उपचारका लागि संयुक्‍त राज्यले वर्षेनी लगभग दुई खरब अमेरिकी डलर खर्च गर्छ। कल कारखानामा हुने दुर्घटनाहरूमध्ये ७५ देखि ८५ प्रतिशत घटनाहरू तनाउले गर्दा भएको अनुमान गरिन्छ।

• थुप्रै देशहरूमा पुरुषहरूभन्दा बढी महिलाहरू तनाउग्रस्त छन्‌ किनभने तिनीहरूले घर तथा काममा धेरै कामकुराहरू सँभाल्नुपर्ने हुन्छ।

सं रा-को प्रतिवेदनले बताएझैं जागिरको तनाउ साँच्चै एउटा “विश्‍वव्यापी समस्या” हो।

[पृष्ठ ८-मा भएको पेटी]

पि टि एस डी—असामान्य घटनाप्रति सामान्य प्रतिक्रिया

‘गाडी दुर्घटना भएको तीन महिना बितिसकेपछि पनि म अझै रूने गर्थें वा रात छर्लंगै काट्‌थें। घरबाट निस्कनै डर लाग्थ्यो।’—लुइज।

लुइजलाई पीडादायी घटनापछिको तनाउ विकारले (पि टि एस डी) पिरोलेको छ। यस्तो प्रकारको अस्वस्थता झन्‌ झन्‌ चर्कंदै जान्छ र आफूले भोगेको पीडादायी अनुभव झलझली सम्झिरहने वा त्यसको सपना देखिरहने हुन्छ। पि टि एस डी भएको व्यक्‍ति सानोतिनो घटनाले पनि तर्सनसक्छ। उदाहरणका लागि, आफ्नो विवाहको दिन गाडी स्टार्ट गरेको आवाज सुन्‍नेबित्तिकै झ्याङतिर लुक्ने भियतनाम युद्धका भूतपूर्व योद्धाबारे मानसिक स्वास्थ्य विशेषज्ञ माइकल डेभिस बताउँछन्‌। डेभिस भन्छन्‌, “वरपर त्यस्तो कुनै अप्रिय घटना हुनेवाला थिएन भनी तिनी ढुक्क थिए होलान्‌। तिनी भियतनामबाट फर्केको २५ वर्ष भइसकेको थियो। तिनी अहिले भियतनाममा होइन संयुक्‍त राज्यमा थिए। . . . तिनले युद्ध पोशाक होइन विवाह पोशाक लगाइरहेका थिए। तर युद्धको सम्झना गराउने त्यो आवाज सुन्‍नेबित्तिकै तिनी आफ्नो ज्यान जोगाउन कुलेलम ठोके।”

पि टि एस डी-को एउटा कारण युद्धभूमिमा भोगेको पीडा पनि हो। हार्भड मानसिक स्वास्थ्य पत्र-अनुसार (अंग्रेजी) “शारीरिक चोटपटक वा मृत्युको खतरा वा त्यस्ता सम्भाव्य खतरा आउनसक्ने घटनाहरूले गर्दा त्यस्तो विकार पैदा हुनसक्छ। त्यो मानिसहरूले गर्दा हुने प्राकृतिक प्रकोप, दुर्घटना वा बाढी, आगलागी, भुइँचालो, गाडी दुर्घटना, बमबारी, गोलाबारी, शासना, अपहरण, हमला, बलात्कार वा बाल दुर्व्यवहारजस्ता घटनाहरू हुनसक्छन्‌।” कुनै पीडादायी घटनाबारे कसैको रोचक वृत्तान्त सुन्दा, देख्दा वा चित्रहरू हेर्दा थाह पाएको भरमा मात्र पनि पि टि एस डी-का लक्षणहरू देखा पर्नसक्छन्‌ र उक्‍त घटनामा परिवारका सदस्य वा घनिष्ठ साथीहरू परेका थिए भने ती लक्षणहरू देखिने सम्भावना अझ बढी हुन्छ।

निस्सन्देह, पीडाप्रति सबै मानिसको प्रतिक्रिया एकैनासे हुँदैन। हार्भड मानसिक स्वास्थ्य पत्र यसो भन्छ, “पीडादायी अनुभव भोग्ने प्रायजसो व्यक्‍तिहरूलाई गम्भीर मनोविकार हुँदैन र केही लक्षणहरू देखि नै हाले पनि पि टि एस डी हुन्छै भन्‍ने छैन।” तनाउले गर्दा पि टि एस डी हुनेहरू नि? समय बित्दै जाँदा कसै कसैले ती पीडादायी भावनाहरूलाई नियन्त्रणमा राख्नसक्छन्‌ र केही राहत पाउँछन्‌। अरू कतिपयलाई भने वर्षौंपछिसम्म त्यस पीडादायी घटनाका तीता सम्झनाहरूले पिरोलिरहन्छन्‌।

अवस्था जुनसुकै होस्‌, पि टि एस डी भोग्नेहरू अनि तिनीहरूलाई मदत गर्न चाहनेहरूले कुन कुरा बिर्सनु हुँदैन भने निको हुन धैर्य चाहिन्छ। “हरेस खानेलाई दिलाशा देओ” अनि “सबैसँग सहनशीलता देखाओ” भनी बाइबलले मसीहीहरूलाई आग्रह गर्छ। (१ थिस्सलोनिकी ५:१४) सुरुमा उल्लिखित लुइजलाई फेरि गाडीको स्टेरिङ ह्वील समाउने आँट गर्न पाँच महिना लाग्यो। दुर्घटना भएको चार वर्षपछि उनले यसो भनिन्‌, “मेरो अवस्थामा सुधार भए तापनि अब उप्रान्त गाडी हाँक्दा मलाई पहिलेजस्तो कहिल्यै रमाइलो लाग्नेछैन। गाडी चलाउन बाध्य छु, त्यसकारण मात्र चलाउँछु। तर दुर्घटनापछिको नाजुक अवस्थाभन्दा अहिले मेरो अवस्था निकै राम्रो भइसकेको छ।”

[पृष्ठ ९-मा भएको चित्र]

थुप्रै कर्मचारीहरू तनाउग्रस्त हुन्छन्‌

[पृष्ठ ९-मा भएको चित्र]

सबै प्रकारको तनाउ खराब होइन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने