८०१ उडान दुर्घटनाबाट बचें
गुआममा अवतरण गर्न लाग्दा मैले झ्यालबाहिर हेरें। मनमनै सोचें, ‘क्या अचम्म, कस्तो अँध्यारो यो।’ हुन त, मध्य रात बितिसकेको अनि मुसलधारे पानी परिरहेको हुँदा बाहिर राम्ररी देख्न सकिंदैनथ्यो। तर यस टापुमा सधैं देखिने बत्तीहरू अनि विमानस्थलको अवतरण मार्गका चहकिला बत्तीहरू खै कहाँ हराए? मैले त जम्बो जेटको पखेटाका मधुरो बत्तीबाहेक केही पनि देखिनँ।
यस उडानका एक जना परिचारकले अवतरणको तयारीबारे साबिकबमोजिम घोषणा गरिसकेका थिए अनि मैले गियर ट्याक्राक्क गरेको आवाज पनि सुनें। अकस्मात्, हवाईजहाज जमीनमा घिस्रिएको ठूलो आवाज आयो। हवाईजहाज बेस्सरी हल्लियो अनि यात्रुहरूले सिटको हात बिसाउने ठाउँलाई च्याप्प समातेर कराउन थाले, “के भ’को यो?”
पाइलटको गलत अनुमानले गर्दा त्यसको केही छिनपछि हाम्रो बोइङ ७४७ विमानस्थलबाट झन्डै पाँच किलोमिटर टाढा पर्ने पहाडमा ठोक्किन पुग्यो। अगस्त ६, १९९७ मा भएको यस विमान दुर्घटनामा यात्रु तथा उडान टोली गरेर जम्मा २२८ जनाको मृत्यु भयो। त्यसबाट बच्ने २६ जनामध्ये म पनि थिएँ।
कोरियाको सिओलमा हवाईजहाज चढ्नुअघि सोही विमानसेवाका एक जना कर्मचारीले म बसिरहेको सीटभन्दा सुविधायुक्त सीट अर्थात् प्रथम श्रेणीको अन्तिम सीटमा मलाई राखेका थिए। म असाध्यै खुसी भएँ र गुआम विमानस्थलमा मलाई भेट्न पर्खिरहेकी मेरी पत्नी सुन डकलाई फोन गरेर यो कुरा बताएँ। यो नयाँ सीटले मलाई यत्तिको साथ देला भनेर त कल्पनै गरेको थिइनँ।
दुर्घटना तथा त्यसपछिको दृश्य
बाहिर स्पष्टसित देख्न नसकिने हुँदा उडान दललाई यस्तो कुनै खतराबारे होसै नभएको हुनसक्छ। एकै निमिषमा सबै कुरा हुन गयो! एक छिनअघिसम्म मात्र मर्छु कि जस्तो लागेको थियो तर पछि होस आउँदा त म हवाईजहाजबाहिर जमीनमा थिएँ र अझै पनि सीटको पेटी बाँधिएकै अवस्थामा थियो। म बेहोस भएँ कि भइनँ मलाई थाह छैन।
मलाई लाग्यो, ‘कतै यो सपना त होइन?’ होइन रहेछ भनेर थाह पाउनेबित्तिकै मैले आफ्नी पत्नीबारे सोच्न थालें, यस दुर्घटनाबारे सुनेपछि उनको हालत कस्तो होला। पछि उनले भनिन्, उनले फिटिक्कै आशा मारेकी थिइनन् रे। जम्मा सात जना यात्रु मात्र बचेछन् भनी विमानस्थलमा कसैले भनेको सुन्दा पनि उनलाई त्यो सात जनामध्ये एक जना त म नै हो जस्तो लागेको थियो रे।
हाम्रो हवाईजहाज चार टुक्रा भएर जंगलभित्र उबडखाबड ठाउँमा यत्रतत्र परेको थियो। जताततै लाशहरू थिए। हवाईजहाजको एउटा भाग जलिरहेको थियो अनि विष्फोटको आवाजसँगसँगै मानिसहरूको अलापविलाप र चिच्याहट पनि सुनें। “बचाऊ! बचाऊ!” भनेको सुनें। मेरो सीट १.८ मिटर अग्लो धारिलो घाँसमा बज्रिन पुगेछ अनि आगो सल्केको उज्यालोमा नजिकै एउटा ठाडो भीर देखें। बिहानको २ जति बजेको थियो अनि पानी पर्न बन्द भएको थिएन।
मेरो दिमागै ठेगानमा नभएको हुँदा आफूलाई चोटपटक लागे नलागेको यादै भएन तर एउटी केटीको खप्पर टाउकोको पछिल्लतिर झुण्डिएको देखेपछि हतपत आफ्नो टाउको छाम्न थालें अनि बायाँ आँखामाथिको घाउबाट रगत बगिरहेको थियो। शरीरका अन्य भागहरू पनि छाम्न थालें र थुप्रै स-साना घाउहरू भएका रहेछन्। तर धन्न कुनै गम्भीर चोटपटक भए जस्तो लागेन। तर मेरो दुवै खुट्टा असाध्यै दुखेर चलाउनै सकिनँ। दुइटै खुट्टा भाँच्चिएका रहेछन्।
पछि अस्पतालमा पुगेपछि चिकित्सकहरूले मेरो चोटपटक “सामान्य” भने। अनि अरू बच्ने यात्रुहरूको तुलनामा सामान्य नै थियो। एक जना मानिसलाई घटनास्थलबाट बचाएर ल्याउँदा तिनका दुवै खुट्टाहरू थिएनन्। अरूको शरीर आगोले एकदमै नराम्रोसँग जलेको थियो र बच्नेमध्ये तीन जनाले केही हप्तासम्म असह्य वेदना भोगेर पछि मरे।
आगोको ज्वाला देखेर डर लाग्यो
आफूलाई लागेको चोटपटकबारे सोच्नुको साटो उद्धारटोली मकहाँ बेलैमा आइपुग्ला कि नपुग्ला भनेर पीर पर्न थाल्यो। मेरो सीट भएको हवाईजहाजको बीचको भाग त पूरै खतम भएको थियो। जे जति बाँकी थियो, त्यहाँ आगो लागेको थियो र त्यहाँ थुनिएका यात्रुहरूले पीडादायी मृत्यु भोग्नुपऱ्यो। गुहार माग्दै गरेको तिनीहरूको चित्कार अहिले पनि मेरो कानमा गुञ्जिरहन्छन्।
मेरो सीट हवाईजहाजको चुच्चोनिर थच्चिएको थियो। दुर्घटनाग्रस्त जहाज म थच्चिएको ठाउँभन्दा एक हातजति पर थियो। घाँटी तन्काई तन्काई पछाडि फर्केर हेर्दा आगोका ज्वालाहरू देखें। त्यो आगोले अब एकैछिनमा मलाई पनि भेट्छ भनेर असाध्यै डर लाग्यो तर धन्न त्यसो भएन।
बल्ल बचाइयो!
एक मिनेट पनि घण्टौं जस्तो लाग्यो। त्यतिञ्जेल एक घण्टाभन्दा बढी समय बितिसकेको थियो। बल्लतल्ल बिहान ३ बजेतिर केही उद्धारकर्मीहरूले दुर्घटनास्थल पत्ता लगाए। दुर्घटना देखेर छक्क पर्दै पहाडको टुप्पोमा उभिएर कुरा गरिरहेको मैले सुनें। एक जना यसो भनेर कराए: “त्यहाँ कोही छ?”
मैले चिच्याएर भनें, “म छु। मलाई बचाऊ!” अरू यात्रुहरू पनि त्यसरी नै चिच्याउन थाले। एक जना उद्धारकर्मीले अर्कोलाई “टेड” भनेर बोलाएको सुनें। त्यसकारण, म यसरी कराउन थालें, “ए टेड, म यहाँ छु! टेड हामीलाई बचाऊ!”
“हामी आउँदैछौं! एक छिन पर्ख” भन्ने जवाफ आयो।
मुसलधारे पानीले एकातिर आगोबाट धेरैको ज्यान जोगियो भने अर्कोतिर चिप्लो भीरमा ओर्लन उद्धारटोलीलाई मुस्किल भइरहेको थियो। यसले गर्दा उद्धारकर्मीहरू पुग्न अर्को एक घण्टा लाग्यो। आफूलाई त घण्टौं बितिसक्दा पनि नआइपुगेको जस्तो लाग्यो।
टर्चलाइट देखाउँदै दुई जना उद्धारकर्मीले भने, “हामी आइपुग्यौं। धन्दा नमान।” तुरुन्तै अर्को दुई जना उद्धारकर्मी पनि आइपुगे र मलाई उचाल्न खोजे। दुई जनाले मेरो हात र अर्को दुई जनाले मेरो खुट्टा समाते। त्यसरी बोकेर लैजाँदा असाध्यै दुख्यो र त्यसमाथि तिनीहरू माटोमा कैयन् चोटि चिप्ले। अलि कता पर लगिसकेपछि मलाई भुइँमा राखे। एक जना स्ट्रेचर लिन गए अनि पहाडको टुप्पोमा कुरिरहेको एम्बुलेन्समा पुऱ्याउने सैनिक हेलिकप्टर भएको ठाउँमा लगे।
बल्ल पत्नीसित भेट भयो!
मलाई आकस्मिक कक्षमा पुऱ्याउञ्जेल साढे पाँच बजिसकेको थियो। गम्भीर चोटपटक लागेको हुँदा चिकित्सकहरूले मलाई फोन गर्न दिएनन्। त्यसकारण, म त्यस दुर्घटनाबाट बचेको कुरा झण्डै नौ घण्टापछि अर्थात् साढे १० बजे मात्र मेरी पत्नीले थाह पाइन्। दुर्घटनाबाट बचेका यात्रुहरूको सूचीमा मेरो नाउँ देखेपछि एक जना साथीले उनलाई खबर गरेका रहेछन्।
बल्ल दिउँसो चार बजे मेरी पत्नीलाई भेट्न पाएँ तर मैले उनलाई सुरुमा चिन्नै सकिनँ। पीडा कम गर्ने औषधीले गर्दा म लट्ठ परेको थिएँ। उनले मलाई भेट्नेबित्तिकै यसो भनिन् रे, “धन्न तपाईंको ज्यान जोगियो।” त्यो कुराकानी मलाई याद छैन तर मैले यसो भनें रे: “मलाई होइन यहोवालाई धन्यवाद देऊ।”
प्राथमिकताहरू छुट्याउने
अस्पतालमा छँदा जुन पीडा महसुस गरें त्यो पहिला पनि अनुभव गरिसकेको थिएँ। कोरियाबाट गुआममा बसाइँ सरेको एक वर्ष पनि भएको थिएन अर्थात् सन् १९८७ को कुरा हो, चार तल्लामाथि खटबाट खसेर मेरो दुवै खुट्टा भाँच्चिएको थियो। त्यसपछि, मेरो जीवनले नयाँ मोड लियो। मेरी दिदी यहोवाका साक्षी थिइन् र मलाई सधैं बाइबल अध्ययन गर्न आग्रह गर्नुहुन्थ्यो। निको हुन छ महिना लाग्यो र त्यतिबेला बाइबल अध्ययन गर्ने मौका पाएँ। फलस्वरूप, त्यही साल यहोवा परमेश्वरलाई जीवन समर्पण गरेर पानीको बप्तिस्माद्वारा त्यसलाई प्रतीकात्मक रूप पनि दिएँ।
विमान दुर्घटनाबाट बचेदेखि आफूलाई मन परेको शास्त्रपदबारे सधैं सोच्ने गर्छु। त्यो हो: “पहिले उहाँको [परमेश्वरको] राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३) विमान दुर्घटनाबाट निको हुँदै गर्दा मैले आफ्नो जीवनलाई पुनः विचार गर्ने मौका पाएँ।
उडान ८०१ को दुर्घटनाले मलाई जीवन कत्तिको अनमोल छ भन्ने जोडदार पाठ सिकायो। मेरो पनि ज्यान जानसक्ने सम्भावना निकै थियो! (उपदेशक ९:११) थुप्रै शल्यक्रियाहरू गर्नुपऱ्यो र अस्पतालमा एक महिनाभन्दा बढी समय बिताउनुपऱ्यो।
अब भने म हाम्रा महान् सृष्टिकर्तालाई उहाँले दिनुभएको जीवनको उत्तम वरदानका साथै पार्थिव प्रमोदवनमा मानवजातिले अनन्त जीवनको आनन्द उठाउन गर्नुभएको प्रबन्धको साँच्चै मूल्यांकन गर्छु भनेर देखाउन चाहन्छु। (भजन ३७:९-११, २९; प्रकाश २१:३, ४) त्यस्तो मूल्यांकन देखाउने सर्वोत्तम तरिका उहाँको राज्यसम्बन्धी कामकुरालाई प्राथमिकता दिएर हो भनी मैले बुझेको छु।— सौजन्य प्राप्त।
[पृष्ठ २२-मा भएको चित्रको स्रोत]
US Navy/Sipa Press