प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ९/८ पृ. २४-२५
  • अनुभवी हवाईयात्रुबाट यात्रा सुझावहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनुभवी हवाईयात्रुबाट यात्रा सुझावहरू
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुरक्षित यात्रालाई अझ सुरक्षित बनाउने
  • आकस्मिक अवस्था आइपरेमा
  • विमानहरू कत्तिको सुरक्षित छन्‌?
    ब्यूँझनुहोस्‌!—१९९९
  • सफल उडानको लागि के के गर्नुपर्छ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • ८०१ उडान दुर्घटनाबाट बचें
    ब्यूँझनुहोस्‌!—१९९८
  • हवाई यात्रा सुरक्षित बनाउने
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ९/८ पृ. २४-२५

अनुभवी हवाईयात्रुबाट यात्रा सुझावहरू

मलाई उड्‌न असाध्यै मन पर्छ, मलाई सधैं मन पर्थ्यो। यसरी एक ठाउँबाट अर्को ठाउँमा चाँडै पुग्न मात्र होइन तर कालो बादल काटेर माथि सूर्यको किरण भएको उज्यालो ठाउँसम्म चुम्न सकिन्छ। सन्‌ १९५६ मा सानो केटो छँदा पहिलो उडान गरेदेखि उड्‌न म सधैं रोमाञ्चित भएको छु। यस प्रेमले गर्दा नै मैले विमानचालकको पेसा अँगालें र विमान दुर्घटना छानबिन विशेषज्ञको रूपमा पनि काम गरें।

हवाईयात्रा कत्तिको सुरक्षित छ? हवाईजहाजबाट यात्रा गर्ने अवसर पाउँदा तपाईंले के-कस्ता सावधानीहरू अपनाउनुपर्छ?

सुरक्षित यात्रालाई अझ सुरक्षित बनाउने

वर्षेनी संसारभरि झन्डै १८,००० वायुसेवाहरूले नियमित तवरमा १.६ अरबभन्दा बढी यात्रुहरूलाई तिनीहरूको गन्तव्यस्थानसम्म पुऱ्‍याउन हजारौं विमानस्थलहरूमा अवतरण गर्नुका साथै उड्‌ने गर्छन्‌,—यो सबैको दौडान थोरै दुर्घटनाहरू मात्र हुने गर्छन्‌। वास्तवमा भन्‍ने हो भने, लण्डनको प्रख्यात बीमा कम्पनी लोयडको अनुमानअनुसार गाडीबाट यात्रा गर्नुभन्दा हवाईयात्रा २५ गुणा सुरक्षित छ। त्यसकारण तथ्यांकअनुसार हिसाब गर्ने हो भने, तपाईंको यात्राको सबैभन्दा खतरनाक भागचाहिं विमानस्थल जान-आउन तपाईंले गाडीबाट गर्ने यात्रा हुनेछ। यद्यपि, हवाईयात्रा गर्दा केही व्यावहारिक सावधानीहरू अपनाएको खण्डमा तुलनात्मक हिसाबमा सुरक्षित यात्रालाई अझै सुरक्षित बनाउन सकिन्छ।

● वायुसेवा राम्ररी छान्‍नुहोस्‌: सबै वायुसेवाहरूको सुरक्षा रेकर्ड एउटै हुँदैन। साधारणतया स्थापित वायुसेवाका वाहकहरू सुरक्षित हुन्छन्‌। तिनीहरूले आधुनिक विमानहरू चलाउँछन्‌ र तिनीहरूको सुरक्षा तथा मर्मतसम्भार रेकर्डले गर्दा पनि राम्रो नाउँ चलेको हुन्छ।

● तपाईंको पहिरन विचार पुऱ्‍याएर छान्‍नुहोस्‌: विमान दुर्घटनाबाट बच्नेहरूले आगो र धूँवाको खतरा सामना गर्नुपर्छ। त्यसकारण पूरा बाहुला भएको लुगा र पाइन्ट वा लामो स्कर्टले तपाईंको छालालाई आगो र तापबाट निकै बचाउनेछ। प्राकृतिक धागोबाट बनाइएका लुगाहरूले राम्रो सुरक्षा प्रदान गर्छ तर कृत्रिम कपडाहरू अक्सर तातोमा पर्दा पग्लिन्छ वा खुम्चन्छ जसले गर्दा गम्भीर रूपमा शरीर जल्न सक्छ। छालाका लुगाहरू पनि तातोमा खुम्चिन सक्छ र यस्तो लुगा लगाउने सुझाव दिइँदैन। लुगा एक पत्र नलगाई दुई तीन पत्र लगाउनु बेस हुन्छ र गाढा रंगका लुगाहरूले भन्दा हल्का रंगका लुगाहरूले ताप त्यति सोस्दैन। हिल नभएका र अझ त्यसमा पनि फित्ता भएको जुत्ता हतपति फुस्कँदैन र तपाईंको खुट्टामा घाउ हुन र पोल्नदेखि बचाउनेछ अनि कृत्रिमभन्दा ऊनीको मोजा बेस हुन्छ।

● सुरक्षासम्बन्धी जानकारीलाई ध्यान दिनुहोस्‌: तपाईं उड्‌न लाग्नुभएको हवाईजहाजका उडान टोलीले उड्‌नुअघि सुरक्षासम्बन्धी विस्तृत जानकारी दिनेछ। कथंकदाचित्‌ दुर्घटना भएको खण्डमा तपाईंले त्यो जानकारीलाई सम्झेर आफैले सबै गर्नुपर्नेछ। त्यसकारण त्यो जानकारीलाई ध्यान दिएर सुन्‍नुहोस्‌। क्यानेडियाली हवाईयात्रुहरूसित गरिएको एउटा सर्वेक्षणले देखाएअनुसार जम्मा २९ प्रतिशत यात्रुहरूले मात्र सुरक्षा जानकारीलाई ध्यान दिएर हेर्ने वा सुरक्षा कार्ड पढ्‌ने गरेको पाइयो। सुरक्षा जानकारीहरू र अझ विशेषगरी बाहिर जाने द्वारहरूबारे पढ्‌न एकछिन समय निकाल्नुहोस्‌, सायद त्यो द्वारमा पुग्ने पहिलो व्यक्‍ति तपाईं हुन सक्नुहुन्छ। अँध्यारो वा धूँवाले भरिंदा बाहिर निस्कने द्वार कसरी भेट्टाउने भन्‍ने विचार गर्नुहोस्‌। एउटा सजिलो तरिका, तपाईं र बाहिर निस्कने ढोकाबीच सीटको पंक्‍ति कतिवटा छन्‌ भनेर गन्‍ने। अनि तपाईंले अँध्यारोमा पनि ढोका भेट्टाएर त्यसको लक खोल्न सक्नुहुनेछ।

● तपाईंको हाते झोला सीमित गर्नुहोस्‌: “यात्रुहरूमा बारम्बार हुने खतरा भनेको, माथि झोला राख्ने ठाउँ राम्ररी बन्द नगरिएको वा उडानको दौडान यात्रुहरूले खोलेको कारण झोलाहरू खसेर टाउकोमा गम्भीर चोट लाग्ने वा मुत्युसमेत हुन सक्छ” भनी फ्लाइट इन्टरनेसनल भन्‍ने पत्रिका बताउँछ। त्यसकारण गह्रौं हाते झोलाहरू खतरनाक हुन सक्छन्‌ भनेर सधैं सम्झनुहोस्‌। त्यसकारण आफ्नो ज्यान जोगाउनुपर्ने परिस्थितिमा आफ्नो सबै झोला छोड्‌नुहोस्‌। आफ्नो बचावमा ध्यान दिनुहोस्‌! तपाईंले त्यो झोलाको बदलामा अर्को पाउन सकिहाल्नुहुन्छ नि।

आकस्मिक अवस्था आइपरेमा

बाहिर निस्कन सबैभन्दा खतरनाक अवस्था भनेको, आगो, धूँवा र वाफले भरिंदा हो। एउटा दुर्घटनाको रिपोर्टले यस्तो उल्लेख गऱ्‍यो: “विमान अवतरण गर्दा त्यहाँ क्याबिनमा एक फिटमाथिसम्म [धूँवाले भरिएर] केही पनि देख्न सकिंदैनथ्यो। त्यसबाट बचेकाहरूले बाहिर जाने ढोका भेट्टाउन आफूसँग न त बल थियो न मानसिक क्षमता नै थियो भने।” विमानबाट कत्ति चाँडो निस्कन सकिन्छ त्यसमा बचाव निर्भर थियो।

विमानचालक तथा परिचारकहरूलाई विमानबाट चाँडै कसरी उद्धार गर्ने भनी प्रशिक्षण दिइएको हुन्छ। त्यसकारण तिनीहरूको निर्देशनलाई तुरुन्तै पालन गर्नुहोस्‌। तथापि, कामकुरा सधैं भनेजस्तो हुँदैन। ध्वनि प्रणालीमा समस्या, उडान टोलीका सदस्यहरू घाइते, गोलमाल र हल्ला, ताप र धूँवाको असरले उडान टोलीको यथाशक्य प्रयासलाई पनि बेकाम बनाइ दिन सक्छ। तपाईं उड्‌नुभएको वायुसेवाले तपाईंको मातृभाषा प्रयोग नगर्ने पनि हुन सक्छ र यसले तपाईं र उडान सदस्यबीच कुराकानी गर्न समस्या पैदा गर्न सक्छ।

दुर्घटना विश्‍लेषकहरू आकस्मिक अवस्थामा तपाईंको बचावको एउटा महत्त्वपूर्ण तत्त्व तपाईंको कटिबद्धता हो भनी बताउँछन्‌। आफूले के गर्ने भनी तपाईंले स्पष्ट निर्णय गरिसकेको हुनुपर्छ र आफ्नो बचावको लागि तपाईं आफै जिम्मेवारी लिन तयार हुनुपर्छ। तपाईंले बचावको लागि गर्नुभएको निर्णयमा तपाईंसँग यात्रा गरेकाहरू विशेष गरी, केटाकेटी वा पाको व्यक्‍तिहरूलाई पनि समेटिएको हुनुपर्छ र उद्धारको दौडान एकअर्कालाई मदत गर्दै सँगै रहने तरिका पनि सोचेको हुनुपर्छ। फ्लाइङ सेफ्टी भन्‍ने पत्रिका यस्तो सुझाव दिन्छ: “धूँवाले टम्म भरिएको ठाउँबाट निस्कनुपर्छ भने एकअर्कालाई हात च्याप्प समात्न लगाउनुहोस्‌। तपाईंको बेल्टमा समात्न लगाउँदा धेरै भर हुन सक्छ।” तपाईं सँगै यात्रा गरिरहेको आफ्नो साथीलाई आपत्‌कालीन अवस्था आइपरेमा तपाईंले के-के गर्नुहुनेछ, पहिल्यै बताउनुहोस्‌।

यात्राका सबै माध्यममा केही खतराहरू त हुन्छन्‌ तर आधुनिक यात्रुवाहक हवाईजहाजहरूले हामीलाई थुप्रै खतराहरूबाट बच्न मदत गर्नुका साथै हामीलाई आफ्नो गन्तव्यस्थानसम्म ताजा र काम गर्न वा खेल्नको लागि तयार हुने गरी पुऱ्‍याउन सक्छ। तयार हुनुहोस्‌ तर चिन्ताग्रस्त नहुनुहोस्‌। मजस्तै सधैं ढुक्क हुनुहोस्‌ र तपाईंको उडानको मजा लिनुहोस्‌।— साभार। (g03 7/08)

[पृष्ठ २५-मा भएको चित्र]

आकस्मिक उद्धारको लागि प्रशिक्षण प्राप्त गरिरहेको

[पृष्ठ २५-मा भएको चित्र]

सुरक्षा जानकारीलाई ध्यान दिएर सुन्‍नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने