प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ५/८ पृ. ३-६
  • महिलाहरू विरुद्ध भेदभाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महिलाहरू विरुद्ध भेदभाव
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कम हिस्सेदार
  • आमा तथा अन्‍नदाताहरू
  • किन बढ्‌दो समस्या?
    ब्यूँझनुहोस्‌!—२००३
  • महिलाहरू तथा तिनीहरूको कामको मूल्यांकन
    ब्यूँझनुहोस्‌!—१९९८
  • केटाकेटीहरू संकटमा
    ब्यूँझनुहोस्‌!—१९९९
  • “म तेरो वेश्‍यावृत्तिको अन्त गरिदिनेछु”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ५/८ पृ. ३-६

महिलाहरू विरुद्ध भेदभाव

पश्‍चिम अफ्रिकामा एक जना व्यापारीले नौ वर्षको बच्चा किन्छन्‌। एसियामा नवजात शिशुलाई मरुभूमिमा जिउँदै गाडिदिन्छन्‌। एउटा पूर्वी मुलुकमा भर्खर टुकुटुकु हिंड्‌न थालेको बच्चा अनाथालयमा बेवारिस र कुनै हेरचाहबिना भोकभोकै मर्छ। यी दुःखद घटनाहरूमा एउटा समानता छ: यसरी दुःख भोग्ने सबै बालिकाहरू थिए। तिनीहरू केटी भएको कारण बेकामका ठानिन्छन्‌।

यस्ता घटनाहरू कहिलेकाहीं फाट्टफुट्ट मात्र हुने होइनन्‌। अफ्रिकामा हजारौं हजार बालिका तथा युवतीहरू दासत्वमा बेचिन्छन्‌। कसै कसैलाई त १५ अमेरिकी डलरजस्तो कम रकममा पनि बेचिन्छ। अनि विशेषगरि एसियामा हरेक वर्ष लाखौं युवतीहरू जबरजस्ती वेश्‍यावृत्तिमा बेचिन्छन्‌ वा लगाइन्छन्‌ भनी रिपोर्ट गरिएको छ। अझ त्योभन्दा पनि दयनीय त, थुप्रै देशहरूको जनसंख्या आँकडामा १० करोडभन्दा बढी बालिकाहरू “हराएका” भनी सूचित गरिन्छ। यो स्पष्टतः गर्भपात, बालहत्या वा केटीहरूलाई सरासर बेवास्ता गरिएकोले गर्दा हो।

थुप्रै मुलुकहरूमा धेरैअघि अर्थात्‌ शताब्दीऔंदेखि महिलाहरूलाई त्यस्तो दृष्टिकोणले हेरिन्थ्यो। अनि कुनै कुनै देशमा अझै पनि त्यस्तो दृष्टिकोणमा परिवर्तन आएको छैन। किन? किनभने ती देशहरूमा छोराहरूलाई बढी महत्त्व दिइन्छ। छोराले वंश चालु राख्नसक्छ, पैतृक सम्पत्ति पाउनसक्छ र प्रायः ती देशहरूमा वृद्ध भत्ताको व्यवस्था नभएको हुँदा आमाबाबु बूढाबूढी भएपछि छोराहरूले नै हेर्छन्‌ भन्‍ने धारणा राखिन्छ। एउटा एसियाली उखानअनुसार “छोरीहरू भनेका अरूको नासो हुन्‌।” छोरीहरू हुर्के बढेपछि विवाह गरेर अर्काको घर जान्छन्‌ वा वेश्‍यावृत्तिमा समेत लगाइनसक्छ, त्यसैले छोरीहरू वृद्ध आमाबाबुको हेरचाह गर्न कुनै कामका हुँदैनन्‌।

कम हिस्सेदार

गरिबीको चपेटामा परेका देशहरूमा यस्तो मनोवृत्तिको अर्थ छोरीहरूका निम्ति कम खाना, न्युन स्वास्थ्य सेवा र कम शिक्षादीक्षा हो। एउटा एसियाली मुलुकमा अनुसन्धानकर्ताहरूले १४ प्रतिशत बालिकाहरू कुपोषित पाए भने बालकहरू चाहिं पाँच प्रतिशत मात्रै कुपोषित थिए। संयुक्‍त राष्ट्र संघीय बालकोषको प्रतिवेदनअनुसार (युनिसेफ) केही देशहरूमा छोरीहरूको दाँजोमा दुई गुना बढी छोराहरूलाई स्वास्थ्य केन्द्रहरूमा ल्याइन्छ। अनि अफ्रिकालगायत दक्षिण र पश्‍चिम एसियामा ४० प्रतिशतभन्दा बढी युवतीहरू निरक्षर छन्‌। “विकासोन्मुख देशहरूमा लिंगभेदले विकराल रूप लिएको छ” भनी युनिसेफका भूतपूर्व राजदूत अड्रि हेपबर्नले भनिन्‌, जसको मृत्यु भइसक्यो।

यस्तो “लिंगभेद” बालिका वयस्क भएपछि पनि हट्‌दैन। गरिबी, हिंसा र सधैं मरिमेटी काम गर्नुपर्ने समस्या अक्सर महिलाहरूले नै भोग्नुपर्छ किनभने तिनी पुरुष नभई महिला हुन्‌। विश्‍व बैंकका अध्यक्षले यसो भने: “विश्‍वको दुई-तिहाइ काम महिलाहरूले नै गर्छन्‌। . . . तैपनि, तिनीहरूले विश्‍वको कुल आयमा दस भागको एक भाग मात्र आर्जन गर्छन्‌ र विश्‍व सम्पत्तिमा तिनीहरूको सम्पत्ति एक प्रतिशत पनि छैन। विश्‍वका गरिबहरूमध्ये पनि तिनीहरू सबैभन्दा गरिब हुन्‌।”

संयुक्‍त राष्ट्रको रिपोर्टअनुसार गरिबीको रेखामुनि जीवन गुजारिरहेका १३० करोड विश्‍व जनसंख्यामा ७० प्रतिशतभन्दा बढी त महिलाहरू नै छन्‌। त्यस रिपोर्टअनुसार “अवस्था झनै खस्कँदैछ।” “विगत दुई दशकमा ग्रामीण इलाकामा पूर्णतया गरिबीको रेखामुनि बस्ने महिलाहरूको संख्या झन्डै ५०% ले वृद्धि भएको छ। झन्‌ झनै धेरै महिलाहरू गरिबीको चपेटामा पर्दैछन्‌।”

यी महिलाहरूलाई गरिबीको चपेटाले भन्दा हिंसाले बढी मानसिक आघात पुऱ्‍याउँछ। यसले कतिपय महिलाहरूको जीवन भताभुंग पारेको छ। विशेषगरि, अफ्रिकामा सालाखाला दस करोडभन्दा बढी बालिकाहरूको योनि विच्छेद गरिन्छ। व्यापक दुर्व्यवहारहरूमध्ये एउटा बलात्कार पनि हो जसबारे केही इलाकाहरूमा उजुर नै गरिंदैन। अध्ययनहरूअनुसार कुनै कुनै मुलुकमा छ जना महिलाहरूमा एक जनाको बलात्कार हुने गरेको पाइएको छ। युद्धले गर्दा पुरुष तथा महिला दुवैले उत्तिकै दुःख भोग्छन्‌ तर आफ्नो घरबार छोडेर शरणार्थी बन्‍न बाध्य हुनेहरूमा प्रायः महिला तथा बालबालिकाहरू नै हुन्छन्‌।

आमा तथा अन्‍नदाताहरू

अक्सर परिवारको देखभाल गर्ने जिम्मेवारी आमाकै काँधमा पर्छ। तिनी सम्भवतः लामो समय काम गर्छिन्‌ र परिवारको एक मात्र अन्‍नदाता पनि हुनसक्छिन्‌। अफ्रिकाका केही ग्रामीण इलाकाहरूमा झन्डै आधाजति परिवारहरू महिलाहरूले नै चलाइरहेका हुन्छन्‌। पश्‍चिमी मुलुकका केही क्षेत्रहरूमा पनि थुप्रै परिवारहरू महिलाहरूले नै धानिरहेका हुन्छन्‌।

यसबाहेक, विशेषगरि विकासोन्मुख देशहरूमा पानी, दाउराको प्रबन्ध गर्नेजस्ता सबैभन्दा गाह्रो काम महिलाहरूले नै पहिलेदेखि गर्दै आएका छन्‌। वन विनाश र अतिक्रमणले यी काम झनै जटिल बनाएको छ। खडेरी ग्रस्त केही देशहरूमा हरेक दिन महिलाहरूले तीन वा चार घण्टा दाउरा खोज्न र चार घण्टा पानी ल्याउन बिताउँछन्‌। यसरी मरिमेटेर यो काम गरिसकेपछि मात्र तिनीहरूले घरमा वा खेतमा काम थाल्न पाउँछन्‌।

स्पष्टतया, गरिबी, अनिकाल वा झै-झगडा दिनचर्याको भागै भइसकेको देशहरूमा पुरुष तथा स्त्रीहरू दुवैले उत्तिकै दुःख भोग्छन्‌। तर महिलाहरूले अत्याचारै दुःख भोग्छन्‌। यस्तो परिस्थिति कहिल्यै परिवर्तन होला? सबै महिलाहरूलाई आदर गर्नुका साथै तिनीहरूको ख्याल राखिने दिन पनि आउला भनेर के आशा गर्न सकिन्छ? के अहिले आफ्नो जीवनस्तर उकास्न महिलाहरूले केही गर्नसक्छन्‌?

[पृष्ठ ५-मा भएको पेटी/चित्र]

केटी वेश्‍याहरू—कसको दोष?

हरेक वर्ष सालाखाला दस लाख बच्चाहरू वेश्‍यावृत्तिमा जबरजस्ती बेचिन्छन्‌ वा लगाइन्छन्‌ र यी प्रायः बालिकाहरू हुन्छन्‌। दक्षिणपूर्व एसियाका आरायाa आफ्ना केही सहपाठीहरूको घटना सम्झन्छिन्‌। “कुलभदी १३ वर्षकी मात्र हुँदा वेश्‍या भइन्‌। तिनी असल केटी थिइन्‌ तर तिनकी आमा अक्सर रक्सी पिएर मात्तिने र तास खेल्ने गर्थिन्‌। त्यसैले तिनलाई आफ्नी छोरीको हेरचाह गर्न फुर्सतै हुँदैनथ्यो। कुलभदीलाई तिनकी आमाले केटाहरूसित गएर पैसा कमाउन फुस्लाइन्‌ र केही समय नबित्दै तिनले वेश्‍याको रूपमा काम गर्न थालिन्‌।”

“मेरो कक्षामा पढ्‌ने सेभुन नाउँ गरेकी अर्की एक छात्राको घर देशको उत्तरी भागमा थियो। तिनी १२ वर्षकी मात्रको हुँदा तिनकी आमाबाबुले वेश्‍याको रूपमा काम गर्न शहर पठाए। तिनको आमाबाबुले दस्तखत गरेको अनुबन्धन-पत्रको ऋण चुक्‍ता गर्न तिनले दुई वर्ष काम गर्नुपर्थ्यो। सेभुन र कुलभदीका घटनाहरू असामान्य होइनन्‌। मेरो कक्षाका १५ जना केटीहरूमध्ये पाँच जना वेश्‍यावृत्ति धन्दामा लागे।”

सेभुन र कुलभदीजस्ता बालबालिकाहरू लाखौं छन्‌। “यौन व्यापारले ठूलो बजार ओगटिरहेको छ र यो आफ्नै रफ्तारमा अघि बढिरहेको छ” भनी युनेस्कोका (संयुक्‍त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन) वासेला तामाजेली दुःख पोख्छिन्‌। “चौध वर्ष पुगेका केटीहरूको बेचबिखन गर्नु त सामान्य भइसक्यो।” अनि एकचोटि यी केटीहरूलाई यौन दासत्वमा बेचेपछि तिनीहरूलाई किनेको मोल चुक्‍ता गर्नु असम्भवै हुन्छ। बाह्र वर्षकै उमेरमा मन्जुलाई तिनको बुबाले बेचेका थिए। वेश्‍यावृत्तिमा लागेको सात वर्षपछि पनि अझै ३०० अमेरिकी डलर तिर्न बाँकी नै थियो। “मैले केही गर्न सक्दिनथें। म फन्दामा परेकी थिएँ,” तिनी भन्छिन्‌।

दलालहरूको फन्दाबाट फुत्किनु जत्ति गाह्रो हुन्छ एड्‌सबाट बच्नु पनि त्यत्तिकै गाह्रो हुनसक्छ। दक्षिणपूर्वी एसियामा गरिएको सर्वेक्षणअनुसार ३३ प्रतिशत बाल वेश्‍याहरू एड्‌स जिवाणुबाट संक्रमित भएको पाइयो। जबसम्म पाँच अरब डलरको वेश्‍यावृत्ति उद्योग रहन्छ तबसम्म यी केटीहरूले दुःख भोगी नै रहनेछन्‌।

यस्तो डरलाग्दो चलनको दोषी को? स्पष्टतः केटीहरूलाई वेश्‍यावृत्तिमा लगाउन किनबेच गर्ने मानिसहरू सबैभन्दा धेरै दोषी छन्‌। तर ती घृणित मानिसहरू पनि उत्तिकै दोषी छन्‌ जसले आफ्नो यौन कामवासना तृप्त गर्न केटीहरूलाई उपभोग गर्छन्‌। किनभने यस्ता अनैतिक मानिसहरू नहुँदा हुन्‌ त ती केटीहरूलाई वेश्‍यावृत्तिमा लगाइने नै थिएन।

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[चित्र]

वर्षेनी झन्डै दस लाख बालिकाहरूलाई जबरजस्ती वेश्‍यावृत्तिमा लगाइन्छ

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

मध्य अफ्रिकामा महिलाको दिनचर्या

त्यहाँकी महिला बिहान छ बजे उठ्‌छिन्‌ अनि आफू र आफ्नो परिवारको लागि खाजा तयार पार्छिन्‌ जुन तिनीहरूले खाने बेलासम्म बिहान १०/११ बज्छ। नजिकैको नदीबाट पानी ल्याएपछि तिनी आफ्नो खेतमा जान्छिन्‌ जहाँ पुग्न तिनी एक घण्टा हिंड्‌छिन्‌।

दिउँसो त्यस्तै चार बजेसम्म खेत खन्‍ने, झारपात उखेल्ने वा पानी दिने गर्छिन्‌। यस अवधिमा आफूले ल्याएको खाना खान एकैछिन मात्रै रोक्छिन्‌। घाम डुब्नै लाग्दा दाउरा चिर्छिन्‌ र परिवारको लागि तरकारी वा कासाभा खोज्छिन्‌। अनि त्यो सबै बोकेर घरतिर लाग्छिन्‌।

अक्सर तिनी झमक्क अँध्यारो हुनुअघि घर पुग्छिन्‌। घरमा बेलुकीको खाना तयार पार्ने काम त अझै बाँकी नै छ। यसको लागि अर्को दुई घण्टा वा त्योभन्दा बढी समय लाग्नसक्छ। आइतबार चाहिं नजिकैको नदीमा लुगा धुँदै अनि ती सुकेपछि इस्त्री लाउँदैमा बित्छ।

यसरी मरिमेटी काम गरे तापनि तिनको पतिले जस दिंदैनन्‌ नता तिनका कुराहरू नै सुन्छन्‌। तिनको पतिले रूख काटि देलान्‌ वा रोपाइँको निम्ति खेत तयार पार्न झारपातहरू जलाइ देलान्‌। तर त्योभन्दा बढी त तिनले मुस्किलले केही गर्छन्‌। कहिलेकाहीं छोराछोरीको नुहाई धुवाई गर्न नदीमा लग्छन्‌ तर आफू चाहिं शिकार खेल्न र माछा मार्न जान्छन्‌। तर तिनको धेरै समय त गाउँलेहरूसित गफ हाँक्दैमा बित्छ।

औकात छ भने पतिले केही वर्षपछि घरमा नयाँ जवान स्वास्नी ल्याउँछन्‌ जसलाई तिनी भएभरको माया खन्याउँछन्‌। तथापि, पहिलो स्वास्नीले चाहिं उनको स्वास्थ्यले सकुञ्जेल वा नमरुञ्जेल सधैंजसो मरिमेटी काम गरिरहन पर्नेछ।

अफ्रिकी महिलाहरूले मरिमेटेर काम गर्नुपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने