केटाकेटीहरू संकटमा
“जबसम्म केटाकेटीहरूको कल्याणको निम्ति कुनै ठोस कदम चालिंदैन तबसम्म मानिसजातिका आधारभूत चिरकालीन समस्याहरू यथावत रहिरहने छन्।”—संयुक्त राष्ट्र संघीय बाल कोष।
विश्वभरि नै केटाकेटीहरू संकटमा छन्। सन् १९९६ मा स्वीडेन, स्टकहोममा १३० देशका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न बालबालिकाहरूको व्यावसायिक यौन शोषणसम्बन्धी विश्व सम्मेलनमा यो दुःखद समस्या कत्तिको गम्भीर छ भन्ने ठोस प्रमाण प्रस्तुत गरिएको थियो। उदाहरणका लागि, उक्त सम्मेलनमा विश्वका धेरै ठाउँहरूमा लाखौं केटीहरूलाई जबरजस्ती वेश्यावृत्ति गर्न लगाइन्छ र तिनीहरूमध्ये कोही कोही त दस वर्ष मात्र पुगेका हुन्छन् भन्ने रिपोर्ट गरिएको छ।
अस्ट्रेलियाको मेल्वर्न यूनिभर्सिटि ल रिभ्यू-ले यसरी जबरजस्ती गराइएको वेश्यावृत्तिलाई “दासत्वको सबैभन्दा घिनलाग्दो रूप” भनेका छन्। शारीरिक, मानसिक र भावनात्मक तवरमा दुःख पाएको वर्षौंपछि पनि ती कुराहरूले यी केटीहरूलाई जिन्दगीभरि सताइरहन्छ। प्रायजसो एक छाक खानको निम्ति मात्र पनि यी केटीहरू यस्तो क्रूरता सहेर बस्छन्। नत्रता तिनीहरू भोकभोकै मर्नेछन्। दुःखको कुरा, आफ्नै गरिब आमाबाबुले पैसाको लागि धेरै जस्ता यी निस्सहाय केटाकेटीहरूलाई वेश्यावृत्ति गर्न बेचेका छन्।
त्यति मात्र नभई चर्का चर्की बहस भइरहेको विषय, बाल श्रम पनि केटाकेटीहरूका लागि आपत्तिजनक भइरहेको छ। संयुक्त राज्यमा बसाइ सरेका केही समुदायहरूको साथ साथै एसिया, दक्षिण अमेरिका अनि अन्य ठाउँहरूमा पाँच वर्षका कलिला केटाकेटीहरूलाई समेत जबरजस्ती “दास श्रम” गर्न लगाइरहेका छन्। तिनीहरूका कलिला शरीर र मनलाई नै बिगार्ने भयंकर अवस्थामा तिनीहरू स-साना यन्त्रमानवहरू जस्तै काम गर्छन्। धेरै जस्ता यी केटाकेटीहरूले पढेका छैनन्, आमाबाबुको माया पाएका छैनन्, सुरक्षित महसुस गर्न सक्ने घर छैनन्, अनि खेल्नको निम्ति खेलौना तथा पार्कहरू पनि छैन। आमाबाबुले ती केटाकेटीहरूको नाजायज फाइदा उठाएका छन्।
बाल सिपाही तथा अनाथालयहरू
छापामार सेनाहरूको हैसियतमा बाल सिपाहीहरूको बढ्दो प्रयोगले पनि यो समस्यालाई अझ चर्को बनाइरहेको छ। केटाकेटीहरूलाई अपहरण गरिन्छ वा दास व्यापारीहरूले किनबेच गर्ने गर्छन् अनि त्यसपछि तिनीहरूलाई विभिन्न तरिकाले सताइन्छ। कहिलेकाहीं तिनीहरूलाई हत्या गरिएको दृश्यसमेत हेर्न लगाइन्छ। कसैलाई त आफ्नै आमाबाबु मार्न लगाइएको छ वा तिनीहरूको मार्ने उत्तेजनालाई अझ उत्तेजित पार्न लागू पदार्थ पनि दिइएको छ।
अफ्रिकाका हजारौं बाल सिपाहीहरूको हृदयलाई कठोर बनाउँदा कस्तो असर पर्छ भनी तल दिइएको उदाहरणले देखाउँछ। यो सनसनीपूर्ण वार्तालाप एक जना समाजसेवी र आफ्नो निर्दोषपन गुमाउन नचाहने केटा सिपाहीबीच भएको हो:
“के तिमीले माऱ्यौ? ‘अहँ।’
के तिमीसित बन्दुक थियो? ‘थियो।’
के तिमीले निशाना लगायौ? ‘लगाएँ।’
के तिमीले गोली हान्यौ? ‘हानें।’
त्यसपछि के भयो? ‘तिनीहरू भुइँमा ढले।’ ”
लगभग छ वर्षका सिपाहीहरूलाई हेर्दा यिनीहरू सिपाही त होइनन् तर बच्चाहरू नै त हुन् जस्तो लाग्छ। सन् १९८८ तिरै विश्वभरि २,००,००० जति बाल सिपाहीहरू थिए भनेर रिपोर्ट गरिएको थियो।
सन् १९८८ देखि १९९२ बीच एउटा एसियाली देशको अनाथालयमा ५५० जना केटाकेटीहरूलाई भोकभोकै मारिएको थियो र ती मध्ये प्रायजसो केटीहरू थिए। एक जना चिकित्सक भन्छिन्: “आफ्नो पीडाबाट मुक्ति पाउन यी अनाथहरूसित कुनै उपाय थिएन। मर्न लाग्दा समेत तिनीहरूलाई ओछ्यानमै बाँधेर राखिएको थियो।”
युरोपमा नि? त्यहाँको एउटा देशमा बालबालिकामाथि गरिने यौन शोषणको अन्तरराष्ट्रिय गिरोह पत्ता लाग्दा ठूलो हलचल मच्चिएको थियो। यो गिरोहले यौन शोषणको निम्ति केटीहरूलाई अपहरण गर्थ्यो। कुनै कुनै निस्सहाय केटीहरूको हत्या गरिन्थ्यो वा भोकभोकै मारिन्थ्यो।
बच्चाहरूलाई दुर्व्यवहार र शोषण गरिने समस्या एक ठाउँमा मात्र नभई धेरै देशहरूमा छ भनेर यी रिपोर्टहरूले देखाएकोमा कुनै शंका छैन। तर के यो विश्वभरिको समस्या हो भन्दा बढाइचढाइ गरी कुरा गरेको हो भन्नु मिल्छ र? त्यसको जवाफ अर्को लेखले बताउँनेछ।
[पृष्ठ ४-मा भएको चित्र]
लाइबेरियामा बाल सिपाही
[स्रोत]
John Gunston/Sipa Press
[पृष्ठ ४-मा भएको चित्र]
कोलम्बियामा ईंटा कारखानाको एक पांग्रे ठेलागाडी भन्नु नै यी केटाकेटीहरू हुन्
[स्रोत]
UN PHOTO 148000/Jean Pierre Laffont
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
FAO photo/F. Botts