बालबालिकाको पसिनाद्वारा
“बालबालिकालाई भविष्यको कर्णधारको रूपमा लिनुको साटो भौतिक सम्पत्तिको रूपमा लिइन्छ। तिनीहरूलाई एउटा सामानजस्तो व्यवहार गरिन्छ।”—चिरा हङग्लाड्रम, थाइल्याण्डका मानव स्रोत संस्थाका निर्देशक।
तपाईंको छोरीको निम्ति अर्को पटक खेलौना किन्नुहुँदा, त्यो खेलौना दक्षिणपूर्व एसियाको स-साना बालबालिकाले बनाएको हुनसक्छ भनी मनमा राख्नुहोस्। अर्को पटक तपाईंको छोराले फुटबल खेल्दा त्यो तीन वर्षको सानी बच्ची तथा तिनको आमा र चार दिदीहरूले दिनमा ३० रुपियाँ कमाउन सिलाएको हुनसक्छ भन्ने तथ्यलाई विचार गर्नुहोस्। अर्को पटक कार्पेट किन्नुहुँदा मनमा राख्नुहोस्, त्यो छ वर्षको केटाले आफ्ना मसिना दुर्बल हातहरूद्वारा अत्यन्तै दुर्व्यवहारपूर्ण अवस्थामा दिनका दिन लामो समयसम्म काम गरेर बुनेको हुनसक्छ।
बालश्रम कत्तिको व्यापक छ? यसले बालबालिकामाथि कस्तो असर पारिरहेको छ? यस समस्या कसरी उन्मूलन गर्न सकिन्छ?
समस्या कत्तिको व्यापक
अन्तरराष्ट्रिय श्रम संगठन (आइ एल ओ) अनुसार विकासोन्मुख राष्ट्रहरूमा काम गर्ने ५ देखि १४ वर्षका केटाकेटीहरूको संख्या झन्डै २५ करोड छ।a यसमध्ये ६१ प्रतिशत एसियामा, ३२ प्रतिशत अफ्रिकामा र ७ प्रतिशत ल्याटिन अमेरिकामा भएको अनुमान लगाइएको छ। औद्योगिक राष्ट्रहरूमा पनि बालश्रम पाइन्छ।
दक्षिण युरोपमा थुप्रै केटाकेटीहरू विशेष गरी मौसमअनुसारको काम जस्तै खेतीपाती र स-साना कारखानाहरूमा ज्यालादारमा काम गरिएको पाइन्छ। हालै मध्य तथा पूर्वी युरोपीय देशहरू साम्यवादबाट पुँजीवादमा परिवर्तन भएपछि बालश्रम बढ्न थालेको छ। संयुक्त राज्यमा बालश्रमको आधिकारिक आँकडाअनुसार ५५ लाख बाल मजदुरहरू भए तापनि यसमा गैरकानुनी तवरमा कम ज्यालामा वा ठूलठूला खेतहरूमा मौसमअनुसार काम गर्ने १२ वर्षमुनिका आप्रवासी केटाकेटीहरूको संख्या समावेश छैन। यी लाखौं केटाकेटीहरू कसरी यस्तो ठाउँमा काम गर्न पुग्छन्?
बालश्रमका कारणहरू
गरिबीको फाइदा उठाउनु। विश्वका बालबालिकाहरूको अवस्था १९९७ भन्छ: “बालबालिकाहरूलाई त्यस्तो खतरनाक, कहालीलाग्दो परिस्थितिमा काम गर्न धकेल्ने एउटा प्रमुख कारण गरिबीको नाउँमा गरिने शोषण हो। गरिब परिवारहरूमा बच्चाहरूले दुई चार पैसा कमाउनसक्छन् वा घरको कामकाजमा सघाउनसक्छन् भने भोकभोकै नबसी जसोतसो अलिअलि भए पनि हातमुख जोर्न सजिलो हुन्छ।” बाल मजदुरहरूका आमाबाबु अक्सर बेरोजगार वा जागिर भए पनि पैसा नपुग्ने हुन्छ। तिनीहरू जसरी भए पनि पेट पाल्न पुग्दो पैसा कमाउन भौंतारिरहेका हुन्छन्। त्यसोभए किन तिनीहरूलाई काम नदिई बच्चाहरूलाई दिइन्छ त? किनभने केटाकेटीलाई कम पैसा दिए पुग्छ। किनभने केटाकेटीलाई अधीनमा राख्न र काम लगाउन सजिलो हुन्छ। थुप्रैले तिनीहरूलाई जस्तो भन्यो त्यस्तै गर्छन्, कमैले मात्र मालिकहरूसित जवाफसवाल गर्छन्। बाल शोषणको विरुद्ध विरोध कार्यक्रमहरू आयोजना गर्ने सम्भावना पनि धेरै कम हुन्छ। अनि तिनीहरूमाथि शारीरिक दुर्व्यवहार गर्दा हतपती उल्टा आक्रमण गर्दैनन्।
शिक्षाको कमी। भारतका ११ वर्षीय सुधीर स्कूल छोडेर काम गर्न थाल्ने लाखौं केटाकेटीहरूमध्ये एक हुन्। किन? तिनी यस्तो जवाफ दिन्छन्: “स्कूलमा शिक्षकहरूले राम्ररी सिकाउँदै सिकाउनु हुन्न। हामीलाई अक्षरहरू सिकाइदिनुहोस् न भन्यौं भने उल्टै पिट्नुहुन्छ। कक्षामा आएर सुत्नुहुन्छ। . . . बुझेन भन्दा पनि हामीलाई बुझाउनु हुन्न।” सुधीरले स्कूलबारे भनेका कुरा शत प्रतिशत सही छ। विकासोन्मुख राष्ट्रहरूमा सरकारहरूले सामाजिक विकासमा गर्नुपर्ने खर्चमा कटौती गरेकोले विशेष गरी शिक्षा क्षेत्र बढी प्रभावित भएको छ। सं.रा.सं.-ले १९९४ मा संसारका सबैभन्दा कम विकसित १४ राष्ट्रहरूमा गरिएको सर्वेक्षणबाट केही चाखलाग्दा तथ्यहरू थाह पाइयो। उदाहरणका लागि, ती राष्ट्रहरूमध्ये आधीजसोमा एक कक्षामा हरेक १० विद्यार्थीको निम्ति जम्मा ४ वटा कुर्सी थियो। आधीभन्दा बढी विद्यार्थीहरूसित पाठ्यपुस्तक थिएन र आधीभन्दा बढी कक्षाहरूमा कालोपाटी पनि थिएन। त्यसैले यस्ता स्कूलमा जाने थुप्रै केटाकेटीहरू स्कूल जान छोडेर काममा लाग्नु कुनै छक्कलाग्दो कुरा होइन।
परम्परागत विचारधारा। काम जति खतरनाक अनि कठिन हुन्छ, त्यति नै त्यो साना जात, तल्लो वर्गका र गरिबहरूको थाप्लोमा सार्ने गरिन्छ। एउटा एसियाली राष्ट्रको सन्दर्भमा युनिसेफ यस्तो टिप्पणी गर्छ, “यस मुलुकमा कुनै मानिस शासन र बुद्धि लगाउने काम गर्न जन्मिन्छ त कोही चाहिं शारीरिक तवरमा घोटीघोटी काम गर्न जन्मिन्छ भन्ने विचारधारा रहेछ।” पश्चिममा त्यस्तो विचारधारा पटक्कै छैन भन्न मिल्दैन। धनी परिवारकाहरू आफ्नो छोराछोरीले खतरनाक काम गरोस् भन्ने चाहँदैन तर कुनै साना जात, वर्गीय समूह वा आर्थिक तवरमा विपन्न समूहका जवानहरूले त्यस्तो काम गर्दा पटक्कै बेचैन हुँदैनन्। उदाहरणका लागि, उत्तर युरोपमा धेरैजसो तुर्की वा अफ्रिकीहरूले बाल मजदुरी गर्छन् भने संयुक्त राज्य अमेरिकामा चाहिं एसियाली वा ल्याटिन अमेरिकाका बालबालिकाले मजदुरी गरिरहेका हुन्छन्। वर्तमान विलासी समाजको कारणले पनि बालश्रमले झन् विकराल रूप लिएको हो। सस्तो मालतालको माग बढ्दो छ। ती मालतालहरू करोडौं अपरिचित शोषित केटाकेटीहरूले बनाएका हुनसक्छन् भनी कमैले मात्र मतलब राख्छन् होला।
बालश्रमका प्रकारहरू
बालश्रम कस्तो कस्तो रूपमा छ? अक्सर धेरैजसो बाल मजदुरहरू घरायसी काममा लागेको पाइन्छ। यस्ता श्रमिकहरूलाई “संसारमा सबैभन्दा बेवास्ता गरिएका केटाकेटीहरू” भन्ने नामावली दिइएको छ। घरायसी काम सबै खतरनाक नै हुन्छ भन्ने छैन तर अक्सर हुन्छन् पनि। घरमा नोकरको रूपमा राखिएका बालबालिकालाई प्रायः कम पैसा वा एक पैसा पनि दिइँदैन। तिनीहरूको काम पूर्णतया मालिकको खुसीअनुसार हुन्छ। तिनीहरूले न त स्नेह पाउँछन्, न स्कूल जान वा खेल्न नै पाउँछन्। अनि समाजमा हेलमेल हुन पनि पाउँदैनन्। तिनीहरूले शारीरिक तथा यौन दुर्व्यवहार भोग्ने सम्भावना पनि धेरै हुन्छ।
अरू कतिपय केटाकेटीहरूलाई तिनीहरूको आमाबाबुले जबरजस्ती वा अरूसित ऋण लिएको कारण काममा लगाएको हुन्छ। दक्षिण एसियालगायत अन्य देशहरूमा आठ वा नौ वर्षका स-साना केटाकेटीहरूलाई आमाबाबुले धितो राखेर कारखाना मालिक वा एजेन्टहरूबाट ऋण लिन्छन्। अनि बच्चाहरूले जिन्दगीभर काम गरे तापनि ऋण कम गर्नसमेत सक्दैनन्।
बालबालिकाहरूमाथि गरिने व्यवसायिक यौन शोषणबारे के भन्न सकिन्छ नि? वर्षेनी विश्वभरि कम्तीमा पनि १० लाख केटीहरूलाई फकाइफुस्लाई यौन व्यवसायमा लगाउँछन्। केटाहरूलाई पनि अक्सर यसरी नै लोभ्याएर यौन शोषण गरिन्छ। यस प्रकारको दुर्व्यवहारले शारीरिक तथा भावनात्मक क्षति पुऱ्याउनुका साथै एच आइ भि-को खतरा पनि भएकोले यो बालश्रमको सबैभन्दा खतरनाक रूप हो। “समाजमा हाम्रो दर्जा भिखारीको भन्दा कम छैन” भनी सेनेगलकी १५ वर्षीया वेश्या भन्छिन्। “हाम्रो छायाँ समेत पर्ला भनी मानिसहरू डराउँछन्।”b
धेरैजसो बाल मजदुरहरू औद्योगिक र खेतीपाती गर्ने ठाउँमा शोषित भएको पाइन्छ। त्यस्ता बालबालिकाहरू वयस्कहरूको निम्ति खतरनाक मानिने खानीहरूमा पनि खट्छन्। फलस्वरूप थुप्रै क्षयरोग, ब्रोनकाइटिस तथा दमबाट पीडित हुन्छन्। खेतमा काम गर्ने बाल मजदुरहरू चाहिं किटनाशक औषधीको असर, सर्पले डस्ने तथा कीरा फट्याङ्ग्राले टोक्नेजस्ता खतराहरू धेरै हुन्छन्। कोही कोही चाहिं उखुका बोटहरू ठूलठूलो चुपीले काट्दा अपांग भएका छन्। अन्य करोडौं बालबालिकाले सडकलाई आफ्नो काम गर्ने ठाउँ बनाएका छन्। उदाहरणका लागि, दस वर्षीया शिरेनलाई लिनुहोस्। तिनी एक पेशेवर खाते बालिका हुन्। तिनी कहिल्यै स्कूल गएकी छैनन् तर तिनलाई बाँच्नको निम्ति के कसो गर्नुपर्छ त्यसको हिसाबकिताब राम्ररी थाह छ। दिनमा १२ देखि २० रूपियाँको कागत र प्लास्टिक झोलाहरू बेच्न सकिन् भने तिनी हातमुख जोर्न सक्छिन्। कम कमाइन् भने भोकभोकै बस्नुपर्छ। सडकमा जीवन बिताउने बच्चाहरू अक्सर घरको दुर्व्यवहार वा उपेक्षा खप्न नसकी भाग्छन् तर तिनीहरू सडकमा अझ बढी दुर्व्यवहार तथा शोषणको शिकार हुन्छन्। एक एसियाली शहरको सडक छेउमा बर्फी बेच्ने दस वर्षीया जोसी भन्छिन्, “म कहिल्यै दुष्टहरूको हातमा नपरोस् भनी प्रार्थना गर्छु।”
खेर गएको बाल्यकाल
यस्ता विभिन्न प्रकारका बालश्रमहरूको कारण करोडौं बालबालिकाहरूले गम्भीर खतराको सामना गर्नुपर्ने हुन्छ। तिनीहरूले गर्ने काम वा काम गर्ने ठाउँ वा वातावरण नराम्रो हुँदा यस्तो गम्भीर खतराको सामना तिनीहरूले गर्नुपर्ने हुन्छ। वयस्कहरूभन्दा बालबालिकाहरू तथा अन्य जवान कामदारहरू दुर्घटनाहरूको शिकार हुने खतरा बढी हुन्छ। किनभने बच्चाहरूको शारीरिक बनावट वयस्कहरूको भन्दा फरक हुन्छ। गह्रौं कामले तिनीहरूको मेरुदण्ड वा कम्मरलाई सजिलै कुरूप बनाउनसक्छ। साथै हानिकारक रासायनिक तत्त्व वा रेडियोधर्मी वस्तु वा वातावरणको अगाडि पर्दा बालबालिकालाई वयस्कहरूलाई भन्दा धेरै हानि पुग्छ। यसबाहेक बालबालिकाहरू शारीरिक तवरमा लामो समयसम्म एकै प्रकारको गाह्रो काम गरिरहन सक्षम हुँदैनन् तर यथार्थमा तिनीहरूले त्यस्तै गर्नु परिरहेको हुन्छ। तिनीहरू साधारणतया खतराहरूबारे त्यति सजग हुँदैनन् नता तिनीहरूलाई कसरी जोगिने भन्ने ज्ञान नै हुन्छ।
बालबालिकाको मनोवैज्ञानिक, भावनात्मक तथा बौद्धिक विकासमा पनि बाल मजदुरले प्रतिकूल असर पार्छ। त्यस्ता बच्चाहरू स्नेहबाट वञ्चित हुन्छन्। तिनीहरू अक्सर कुटाइ, बेइज्जती, खाना नदिइ दिने सजाय तथा यौन दुर्व्यवहारको शिकार हुन्छन्। एउटा अध्ययनअनुसार सालाखाला २५ करोड बाल मजदुरहरूमध्ये आधीभन्दा बढीले स्कूल छोडेर मजदुरी गरेको पाइयो। यसबाहेक लामो समयसम्म काम गर्ने बालबालिकाहरूको सिक्ने क्षमतामा पनि नराम्रो असर पारेको देखिएको छ।
यी सबैको अर्थ के हो? अधिकांश बाल मजदुरहरू जीवनभरि गरिबी, दुःख, बिमारी, अशिक्षा तथा अव्यवस्थित सामाजिक परिपाटीको चपेटामा पर्छन्। वा पत्रकार रबिन राइटले भनेझैं “सम्पूर्ण वैज्ञानिक तथा प्राविधिक उन्नतिहरूको बावजूद यस संसारले २० औं शताब्दीको अन्तमा यस्ता लाखौं बालबालिकाहरू जन्माइरहेका छन् जसले सामान्य जीवन बिताउने आशासमेत गर्न सक्दैनन्। २१ औं शताब्दीमा नेतृत्व लिने कुरा त परै जाओस्।” यी गम्भीर कुराहरूले निम्न प्रश्नहरू खडा गर्छ: बालबालिकासित कस्तो व्यवहार गर्नुपर्ने हो? यस दुर्व्यवहारपूर्ण बालश्रमको समस्या समाधान हुने के कुनै आशा छ?
[फुटनोटहरू]
a साधारणतया, आइ एल ओ-ले केटाकेटीहरू काम गर्न कम्तीमा पनि १५ वर्ष पुगेको हुनुपर्छ भन्छ। तर यो १५ वर्षसम्म अनिवार्य शिक्षा लिनुपर्छ भनी तोकिएको खण्डमा मात्र लागू हुन्छ। विश्वभरि हाल कति जना बालबालिकाहरू काम गरिरहेका छन् भनी गणना गर्ने मुख्य आधार नै यही हो।
b बाल यौन शोषणबारे थप जानकारीको निम्ति मे ८, १९९७, अंकको ब्यूँझनुहोस्!, पृष्ठ ११-१५ हेर्नुहोस्।
[पृष्ठ ५-मा भएको पेटी]
बालश्रम के हो?
सबै समाजमा प्रायजसो बालबालिकाहरू एउटा न एउटा काम गर्छन्। तिनीहरूले गर्ने काम समाज तथा समयअनुसार फरक फरक हुन्छ। बच्चाले गर्ने काम उसको शिक्षाको एउटा महत्त्वपूर्ण भाग हुनसक्छ र आमाबाबुले आफ्ना छोराछोरीलाई आवश्यक सीपहरू सिकाउने तरिका पनि हुनसक्छ। कुनै कुनै देशहरूमा बालबालिकाहरू अक्सर सानातिना कारखाना तथा सेवा पुऱ्याउने ठाउँहरूमा केही समय काम गर्छन्। अनि पछि त्यहीं पूरा समय काम गर्छन्। अन्य कतिपय देशहरूमा किशोरकिशोरीहरू आफ्नो पाकेट खर्चको निम्ति हप्ताको केही घण्टा काम गर्छन्। संयुक्त राष्ट्र संघीय बाल कोषले त्यस्ता काम “बालबालिकाहरूको शारीरिक, मानसिक, आध्यात्मिक, नैतिक वा सामाजिक विकासलाई खतरा नपुऱ्याएसम्म लाभदायी हुन्छ” भनी जोड दिन्छ।
अर्कोतर्फ, बालश्रमले यस्ता बच्चाहरूलाई पनि बुझाउँछ जो थोरै पैसाको निम्ति आफ्नो स्वास्थ्यलाई नै खतरामा पार्ने अवस्थामा लामो समयसम्म काम गर्छन्। यस्तो प्रकारको काम “स्पष्टतः विनाशकारी तथा दमनकारी हुन्छ” भनी विश्वका बालबालिकाहरूको अवस्था १९९७ टिप्पणी गर्छ। “कुनै पनि परिस्थितिमा बच्चाहरूलाई वेश्याको रूपमा शोषण गर्नु स्वीकार्य छैन भनी सबै जना मानि लिन्छन्। ‘दासत्वमा बेचिएका’ केटाकेटीबारे पनि त्यस्तै भन्न सकिन्छ। यो पदावली आमाबाबु वा बाजेबज्यैले लिएको ऋण तिर्न नसकि बच्चाहरूलाई बन्धक राख्ने सन्दर्भमा व्यापक रूपमा प्रयोग गरिन्छ। बालबालिकाको स्वास्थ्य खतरामा तथा सुरक्षा जोखिममा पार्ने कुख्यात उद्योग व्यवसायीहरू पनि समावेश छन्। . . . हानिकारक कामहरू सरासर सबै बच्चाहरूको निम्ति असहनीय छ।”
[पृष्ठ ८, ९-मा भएको पेटी/चित्र]
“गर्नुपर्ने कुराहरू अझै धेरै छन्”
अन्तरराष्ट्रिय श्रम संगठन (आइ एल ओ) बालश्रमका सबैभन्दा भयावह प्रकारहरू उन्मूलन गर्न पूर्णतया जुटिरहेको छ। आइ एल ओ-ले १५ वर्षमुनिकाहरूले काम गर्न नपाउने नियम पारित गर्न सरकारहरूलाई प्रोत्साहन दिन्छ। यसले १२ वर्षमुनिकाहरूलाई काम गर्न निषेध गर्ने तथा सबै शोषणकारी बालश्रमका प्रकारहरू हटाउने नयाँ सम्झौताहरूमा हस्ताक्षर गर्न पनि सबैलाई आग्रह गर्छ। यस्ता प्रयासहरू कत्तिको सफल भइरहेका छन् भनी जान्न ब्यूँझनुहोस्!-ले सं.रा.अ. श्रम विभाग, अन्तरराष्ट्रिय श्रम संगठनका निर्देशिका सोनिया रोजेनसित छलफल गरेको थियो। तिनले विभिन्न आइ एल ओ कार्यक्रमहरूमा काम गरेकी छिन्। त्यस छलफलको केही अंश यहाँ प्रस्तुत गरिएको छ।
प्रश्न: बालश्रम विरुद्ध लड्ने सबैभन्दा प्रभावकारी माध्यम के हो?
उत्तर: हामीसित यसको सीधा सजिलो जवाफ छैन। तथापि, अन्तरराष्ट्रिय स्तरमा हामीले महत्त्वपूर्ण बुँदाहरू छलफल गरेका छौं। जस्तै प्रभावकारी नियमकानुन तथा विश्वव्यापी प्राथमिक शिक्षाको आवश्यकता र यो अनिवार्य तथा निश्शुल्क हुनुपर्ने कुराहरू अनि निश्चय पनि आमाबाबुलाई पर्याप्त आय हुने जागिर उपलब्ध गराउनु पनि महत्त्वपूर्ण छ।
प्रश्न: बालश्रम उन्मूलन गर्न गरिएका प्रयासहरूसित के तपाईं सन्तुष्ट हुनुहुन्छ?
उत्तर: म कहिल्यै सन्तुष्ट हुन सक्दिनँ। हामी एक जना बच्चाले पनि दुर्व्यवहारपूर्ण अवस्थामा काम गर्नु हुन्न भनी भन्छौं। आइ एल ओ-का कार्यक्रमहरू मार्फत हामीले थुप्रै प्रगतिहरू गरेका छौं। तर गर्नुपर्ने कुराहरू अझै धेरै छन्।”
प्रश्न: बालश्रम हटाउने प्रयासप्रति अन्तरराष्ट्रिय समाजले कस्तो प्रतिक्रिया देखाइरहेको छ?
उत्तर: यस प्रश्नको जवाफ कसरी दिने हो, त्यही मलाई थाह छैन। विश्वभरि अब बालश्रम भनेको खराब कुरा हो भनी केही हदसम्म मानिसहरूले बुझिसकेका छन्। मेरो विचारमा अहिले गर्नुपर्ने प्रश्न त: कसरी र कति चाँडो यस समस्यासित जुध्नुपर्ने हो? केही विशेष प्रकारका बालश्रम उन्मूलन गर्न के कस्ता उपायहरू छन्? मेरो विचारमा हाम्रोलागि ठूलो चुनौती अहिले त्यही नै हो।
प्रश्न: बालश्रमिकहरूले कस्तो भविष्यको आशा गर्नसक्छन्?
उत्तर: विश्वका सबै देशहरू यस वर्ष बालश्रमका सबैभन्दा भयानक रूपहरू के हुन् भनी निश्चित गर्न जेनेभामा जम्मा हुन लागेका छन्। त्यस सम्मेलनमा विभिन्न राष्ट्रहरूका साथै श्रमिक संगठन तथा श्रम दाताहरूको संगठनहरू पनि हुने भएकोले निकै कुराको प्रत्याशा गर्न सकिन्छ। आशा छ यस कार्यक्रमद्वारा बालश्रमका सबैभन्दा भयानक रूपहरू हटाउन आधार मिल्नेछ।
तथापि, सबै सोनिया रोजेनजस्तै आशावादी छैनन्। सेभ द चिल्ड्रेनका अध्यक्ष चार्ल्स म्याककर्माकका आफ्नै शंका उपशंकाहरू छन्। “यो समस्या हटाउन न सरकारको इच्छा छ न सर्वसाधारणसित ज्ञान नै छ” भनी तिनी भन्छन्। किन? संयुक्त राष्ट्र संघीय बाल कोष भन्छ, “बालश्रम एउटा जटिल विषय हो। शक्तिशाली प्रभावहरू यसको पछाडि छन्, जस्तै थुप्रै मालिकहरू र व्यक्तिगत स्वार्थ भएका समूहहरू अनि अर्थशास्त्रीहरू जो कुनै हालतमा पनि व्यापार खुला हुनुपर्छ भन्छन् र केही परम्परागत विचारधारा राख्नेहरू जो केही खास जात वा वर्गका बालबालिकाहरूलाई तिनीहरूको अधिकारबाट वञ्चित राख्नुपर्छ भन्ने सोच्छन्।”
[चित्र]
सोनिया रोजेन
[पृष्ठ ५-मा भएको चित्र]
बालश्रमको कहालीलाग्दो इतिहासमा खानी तथा कपास मिलहरूमा चुहिने पसिनाका थोपाहरू पनि समावेश छन्
[स्रोत]
U.S. National Archives photos
[पृष्ठ ७-मा भएको चित्र]
फोहरको डुंगुरमा खोतल्दै
[पृष्ठ ७-मा भएको चित्र]
दाउरा बटुल्न गर्नुपर्ने कडा मेहेनत
[स्रोत]
UN PHOTO 148046/ J. P. Laffont - SYGMA
[पृष्ठ ७-मा भएको चित्र]
ऊन कारखानामा कामदारहरू
[स्रोत]
CORBIS/Dean Conger
[पृष्ठ ८-मा भएको चित्र]
प्रति दिन २.४० रुपियाँ मात्र कमाउन पनि केटाकेटीहरू सडकमा चीजबीजहरू बेच्ने गर्छन्
[स्रोत]
UN PHOTO 148027/Jean Pierre Laffont
[पृष्ठ ८-मा भएको चित्र]
सिकर्मी काममा खट्दै
[स्रोत]
UN PHOTO 148079/ J. P. Laffont - SYGMA
[पृष्ठ ९-मा भएको चित्र]
पेट पाल्न संघर्ष गर्दै
[स्रोत]
UN PHOTO 148048/J. P. Laffont - SYGMA