प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ५/८ पृ. ११-१५
  • बाल यौन शोषण—एक विश्‍वव्यापी समस्या

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाल यौन शोषण—एक विश्‍वव्यापी समस्या
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • केही कारणहरू
  • यौन शोषकहरू को हुन्‌?
  • धर्म विथोलित
  • के गर्न सकिन्छ त?
  • एक मात्र समाधान
  • हाम्रा केटाकेटीहरूलाई कसले बचाउनेछ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • संसारभरि नै संकट छ
    ब्यूँझनुहोस्‌!—१९९९
  • किन बढ्‌दो समस्या?
    ब्यूँझनुहोस्‌!—२००३
  • केटाकेटीहरू संकटमा
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ५/८ पृ. ११-१५

बाल यौन शोषण—एक विश्‍वव्यापी समस्या

स्वीडेनका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

बालबालिकाहरूमाथि गरिएको निर्मम दुर्व्यवहार देखेर मानव समाज त्राहित्राहि भएको छ। यो वास्तवमा के हो र कत्तिको व्यापक भएको छ भनी हालैका वर्षहरूमा मात्र थाह हुँदैछ। यसबारे के गर्न सकिन्छ भनेर विश्‍वका १३० राष्ट्रका प्रतिनिधिहरू स्वीडेन, स्टकहोममा बालबालिकाहरूको व्यावसायिक यौन शोषणसम्बन्धी प्रथम विश्‍व सम्मेलनको लागि भेला भए। स्वीडेनका ब्यूँझनुहोस्‌! संवाददाता पनि त्यहाँ उपस्थित थिए।

माग्डेलन १४ वर्षकी हुँदा तिनलाई मनिला, फिलिपिन्सको एक भट्टीमा ग्राहकहरूको “सत्कार” गर्ने काम गर्न लोभ्याइयो। वास्तवमा, तिनको काम पुरुष ग्राहकहरूलाई एउटा सानो कोठामा लगेर तिनीहरूको यौन सन्तृप्तिको लागि आफ्नो अंग प्रदर्शन गर्नु थियो। तिनले हरेक रात कम्तीमा पनि १५ जना पुरुष र अझ शनिबार त झन्डै ३० जनालाई त्यसरी आफ्नो अंग प्रदर्शन गर्नुपर्थ्यो। कहिलेकाहीं तिनले यो काम गर्न सक्दिनँ भन्दा पनि मालिकले जबरजस्ती गर्न लाउँथ्यो। अक्सर तिनको काम बिहान चार बजे मात्र सकिन्थ्यो अनि थकित, उदास र नीच महसुस गर्थिन्‌।

टुहुरो सारुन नोम पेन, कम्बोडियाका सडकहरूमा कुनै गाँसबासको ठेगाना नभई अलपत्र परेका थिए। तिनलाई भिरिंगी रोग लागेको थियो र विदेशीहरूसित ‘लसपस’ गरेको भनेर चिनिन्थे। एउटा देवालयमा तिनलाई बास दिइयो र त्यहाँ एक भूतपूर्व भिक्षुले तिनको ‘पालनपोषण’ गर्नुपर्ने थियो। तथापि, यस भिक्षुले सारुनलाई यौन दुर्व्यवहार गरे र जबरजस्ती विदेशीहरूसित पनि यौनसम्बन्ध राख्न लगाए। सारुन बस्ने देवालय पछि भत्काएकोले तिनी आफ्नो काकीसित बस्न थाले तैपनि तिनले सडकमै पुरुष वेश्‍याको रूपमा काम गर्नुपऱ्‍यो।

बालबालिकाहरूको व्यावसायिक यौन शोषणसम्बन्धी गत वर्षको अन्ततिर विश्‍व सम्मेलनमा छलफल गरिएका अनगिन्ती दयनीय समस्याहरूमध्ये यी त दुइटा मात्र हुन्‌। यो समस्या कत्तिको व्यापक छ? लाखौं बालबालिका यसमा मुछिएका छन्‌। अझ कोही कोहीले त करोडौं छन्‌ भन्छन्‌। सम्मेलनमा एक प्रतिनिधिले यस समस्याबारे संक्षिप्तमा यसो भनिन्‌: “बालबालिकाहरूलाई यौन र आर्थिक मालताल सरी बेचबिखन गरिन्छ। सीमाभित्र र बाहिर तस्करी गरिने अन्य वस्तुहरूजस्तै देहव्यापार गरिन्छ, वेश्‍यालयहरूमा कैद गरिन्छ र थुप्रै यौन शोषकहरूको माग पूरा गर्न बाध्य हुन्छन्‌।”

सम्मेलनमा उपस्थित सबैलाई आफ्नो स्वागत भाषणमा स्वीडेनका प्रधानमन्त्री योरेन पर्सोनले यस्तो शोषणबारे यसो भने, “यो जत्तिको क्रूर, हिंस्रक र घिनलाग्दो अपराध अरू कुनै हुन सक्दैन।” संयुक्‍त राष्ट्र संघका प्रतिनिधिले यसो भने, “यो बालबालिकाहरूमाथि सबै पक्षबाट गरिएको सांघातिक हमला हो . . . यो अत्यन्तै घृणित हुनुका साथै यत्तिको मानव अधिकार हनन त अरू कुनै तरिकाले भएको छैन।” बालबालिकामाथि गरिने यौन शोषण कतिसम्म व्यापक छ, यसको प्रकार र असरहरू छलफल गरिंदा रोस्ट्रमबाट यस्ता थुप्रै आक्रोशहरू त्यस सम्मेलनमा व्यक्‍त गरिएको थियो।

“यो एउटा राष्ट्रमा मात्रै सीमित छैन र यसको असर पुस्तौं पुस्तासम्म रहिरहन्छ,” भनी एउटा स्रोतले बतायो। अर्कोले यसो भन्यो, “करोडौं अमेरिकी डलरको यस अवैध यौन बजारको व्यापारमा वर्षेनी दशौं लाख बालबालिकाहरू फस्छन्‌।” यसको प्रभाव कस्तो हुन्छ? “बालबालिकाको इज्जत, आफ्नो चिनारी र आत्मसम्मानको भावना सबै चक्नाचूर हुन्छ र अरूमाथि भरोसा गर्नसक्ने योग्यता नै धरमराउँछ। तिनीहरूको शारीरिक र भावनात्मक सुस्वास्थ्य नै खतरामा पर्छ। तिनीहरूको मानव अधिकार हनन हुनुका साथै तिनीहरूको भविष्य पनि खतम हुन्छ।”

केही कारणहरू

यस समस्या यति बिघ्न बढ्‌नुका केही कारणहरू के हुन्‌ त? केही बालबालिकाहरू “परिस्थितिले गर्दा वेश्‍यावृत्तिमा लाग्न विवश हुन्छन्‌” भनिएको थियो। जस्तै “सडकमा गुजारा चलाउने त्यही मात्र एउटा तरिका भएकोले परिवारलाई आर्थिक सहायता दिन वा लुगाफाटा र चीजबीजहरू किन्‍न। अरू कोही चाहिं विज्ञापनहरूमा बारम्बार देखाइने सम्पन्‍न मानिसहरूले आनन्द उठाइरहेको दृश्‍यबाट लालायित हुन्छन्‌।” अझ अरू कसै कसैलाई चाहिं अपहरण गरिन्छ र जबरजस्ती वेश्‍यावृत्तिमा लगाइन्छ। सबैतिर झन्‌ झनै खस्कँदो नैतिक मूल्यहरूका साथै आशाविहीनताको भाव पनि अन्य कारणहरूमध्ये हो।

थुप्रै केटाकेटी परिवारमै हुने दुर्व्यवहारको कारण यौन व्यापारमा लाग्छन्‌। परिवारमा हुने हिंसा र हाडनाताकरणी जस्ता कारणले सडकमै जीवन गुजार्न विवश हुन्छन्‌। अनि सडकमा तिनीहरू यौन दुराचारीहरू र कहिलेकाहीं त प्रहरीहरूको समेत दुर्व्यवहारमा पर्ने खतरा हुन्छ। यस समस्याबारे बच्चाहरू भाडामा (अंग्रेजी) नामक प्रतिवेदनमा ब्राजिलकी छ वर्षीया काटीयाबारे बताइएको छ। प्रहरीले पक्रेपछि प्रहरीले नै उनलाई अनुचित कार्य गर्न लगाए अनि तिनको विभाग प्रमुखलाई पोल खोलिदिएमा त्यस केटीको परिवारलाई मार्ने धम्की दिए। भोलिपल्ट त्यस प्रहरी अरू पाँच जना साथीहरूसित आए, तिनीहरू सबै उनलाई त्यस्तै अनुचित कार्य गराउन चाहन्थे।

द चिलड्रेन्स्‌ ओमबुडस्म्यान नामक एक स्वीडिस संस्थाले प्रतिनिधिहरूलाई यसो भन्यो: “बालबालिकाहरू वेश्‍यावृत्तिमा लाग्नुका कारणहरूबारे गरिएका अध्ययनहरूबाट के स्पष्ट हुन्छ भने, यसको बढावामा [यौन] पर्यटनले मुख्य भूमिका निभाएको छ।” एउटा प्रतिवेदनले यसो भन्यो: “बालबालिकाहरू विगत दश वर्षभित्र यस्तो अप्रत्याशित तवरले वेश्‍यावृत्तिमा लाग्नुमा पर्यटन व्यापार सीधै दोषी छ। विकासशील राष्ट्रका पर्यटन व्यवसायले दिने सबैभन्दा नयाँ आकर्षण नै बाल वेश्‍यावृत्ति हो।” युरोप, संयुक्‍त राज्य अमेरिका, जापान र अन्य मुलुकहरूबाट “यौन यात्राको” अत्यधिक माग गरेको कारण विश्‍वभरि बाल वेश्‍यावृत्ति बढिरहेको छ। एक युरोपेली विमानसेवाले यौन यात्रा प्रवर्धन गर्न यौन उत्तेजना जगाउने खालको बच्चाको कार्टुन चित्र बनायो। ट्राभल एजेन्सीहरूले वर्षेनी हजारौंको लागि यौन यात्राको प्रबन्ध मिलाउँछन्‌।

अन्तरराष्ट्रिय तवरमा नै बाल-यौन व्यवसाय फस्टाउनुको लामो सूचीमा अत्याधुनिक प्रविधि पनि हो। भनिन्छ, अश्‍लील कुराहरूको सबैभन्दा प्रमुख स्रोत नै इन्टरनेट तथा यससित सम्बन्धित अन्य कम्प्युटर प्रविधिहरू हुन्‌। अनि त्यस्तैगरि सस्ता भिडिओ उपकरणहरूले गर्दा बाल अश्‍लील कुराहरू निर्माण गर्न झनै सजिलो भएको छ।

यौन शोषकहरू को हुन्‌?

बालबालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने अधिकांश वयस्कहरू नै यौन दुराचारीहरू हुन्‌। यौन दुराचारीहरू बालबालिकासित विकृतपूर्ण यौन क्रिया गर्न रुचाउँछन्‌। स्वीडेनको द चिलड्रेन्स्‌ ओमबुडस्म्यानअनुसार “तिनीहरू बूढो, झुत्रेझाम्रे वा हिंस्रक देखिने खालकै हुनुपर्छ भन्‍ने छैन। साधारणतया, यौन दुराचारीहरू शिक्षित अधबैंसे पुरुषहरू र त्यो पनि अक्सर शिक्षक, चिकित्सक, समाजसेवी वा पादरीको रूपमा बच्चाहरूसितै काम गरिरहेका व्यक्‍तिहरू हुन्छन्‌।”

एक स्वीडिस समूहले एउटी १२ वर्षीया फिलिपिनो केटी रोजारियोको उदाहरण प्रस्तुत गऱ्‍यो। उनलाई अस्ट्रियाका चिकित्सक, यौन पर्यटकले यौन दुर्व्यवहार गरे। दुर्व्यवहारको कारण उनको मृत्यु भयो।

जेनेभास्थित युनिसेफका (संयुक्‍त राष्ट्र संघीय बाल कोष) कार्यकारी निर्देशक क्यारोल बेलामीले त्यस १२ वर्षीया फिलिपिनो केटीको सन्दर्भमा यसो भनिन्‌: “अक्सर बालबालिकाहरूलाई हेरचाह र सुरक्षा दिने जिम्मेवारी पाएका वयस्कहरूले नै यो असह्‍य काम गर्न अनुमति दिनुका साथै बढावा दिइरहेका हुन्छन्‌। तिनीहरू शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, राजनीतिज्ञ र पादरीवर्ग हुन्‌ जसले आफ्नो प्रतिष्ठा र शक्‍ति चलाएर बालबालिकाहरूमाथि यौन शोषण गर्छन्‌।”

धर्म विथोलित

स्टकहोम सम्मेलनमा उपस्थित रोमन क्याथोलिक चर्चका प्रतिनिधिले बालबालिकामाथि यौन शोषण “सबैभन्दा जघन्य अपराध” हुनुका साथै यो “मूल्य र मान्यताहरूमा आएको ह्रासले गर्दा” हो भने। तर, पादरीहरूकै अनुचित कार्यले गर्दा क्याथोलिक चर्चमाथि अत्यन्तै नराम्रो प्रभाव परेको छ।

न्युजवीक समाचारपत्रिकाको अगस्त १६, १९९३ अंकमा “पादरी र दुर्व्यवहार” भन्‍ने लेख छापिएको थियो, जसमा “सं.रा.-को क्याथोलिक चर्चको आधुनिक इतिहासमा पादरीहरू विथोलित सबैभन्दा नराम्रो काण्डको” रिपोर्ट गरिएको थियो। त्यस रिपोर्टमा यसो भनिएको थियो: “सन्‌ १९८२ देखि लगभग ४०० जना पादरीहरू विरुद्ध अभियोग दायर गरिएको छ। चर्चका अरू केही सदस्यहरूको भनाइअनुसार त २,५०० भन्दा बढी पादरीहरूले बालबालिका वा किशोरकिशोरीहरूमाथि यौन दुर्व्यहार गरेका छन्‌। . . . पैसाभन्दा पनि यस्ता काण्डहरूले चर्च र यसका केही नीतिवान्‌ पदाधिकारीहरूलाई एकदमै लज्जास्पद अवस्थामा पुऱ्‍याएको छ।” संसारका अरू धर्महरूको अवस्था पनि त्यस्तै छ।

संयुक्‍त अधिराज्यका यौन-अपराध सल्लाहकार रे वायरले स्टकहोम सम्मेलनमा दुइ केटाहरूमाथि पादरीले क्रूरतापूर्वक यौन दुर्व्यवहार गरेको घटनाबारे बताए। ती दुइमध्ये एक जनाले पादरीहरूबाट यौन दुर्व्यवहारको शिकार हुनपुगेकाहरूको लागि राहत केन्द्र खोलेका छन्‌ भने अर्को चाहिं आफै यौन दुराचारी भएका छन्‌।

थाइल्याण्डका बौद्ध धर्मविद्‌ मेडानान्डु बिकुले यसो भने, “थाइल्याण्डमा बालबालिकाहरूमाथि यौन शोषण गरेर व्यावसायिक फाइदा उठाएकोमा केही बौद्ध प्रचलनहरू पनि जिम्मेवार छन्‌। थाइल्याण्डमा वेश्‍यावृत्तिमा जबरजस्ती लगाइएका बालबालिकाहरूले स्थानीय समुदायको कल्याणको निम्ति दिएको पैसाबाट भिक्षुहरूले फाइदा उठाएका छन्‌।”

के गर्न सकिन्छ त?

संयुक्‍त अधिराज्यका लेकेस्टर विश्‍वविद्यालयका डा. जुलिया ओकनेल डाभिडसनले सम्मेलनमा उपस्थित सबैलाई आफ्नो यस्तो आचरणलाई न्यायोचित प्रमाणित गर्न खोज्नेहरूलाई चुनौती दिन आग्रह गरिन्‌। दुराचारीहरूले प्रायः यस्ता बच्चाहरू छाडा र अनैतिक जीवन बिताइसकेका हुनाले तिनीहरू नीतिवान्‌ हुँदैनन्‌ र बेकार भइसकेका हुन्छन्‌ भन्‍ने तर्क गर्छन्‌। अरू शोषकहरूले चाहिं तिनीहरूको विकृतपूर्ण कार्यले कुनै हानि भएको छैन, बरु बच्चाले फाइदा उठाएको छ भनी टेढोमेढो झूटो दाबी गर्छन्‌।

यौन पर्यटनका समस्याहरूबारे अध्ययन गरिरहेको एक टोलीले स्कूल पाठ्यक्रममा नै यसबारे सिकाउनुपर्ने सुझाउ दियो। यसबाहेक, यात्रुहरूलाई यात्राभरि नै बाल यौन शोषण विरुद्ध जानकारीहरू दिइरहनुपर्छ। जस्तै प्रस्थान गर्नुअघि, यात्राको दौडान र गन्तव्यस्थान पुगिसकेपछि पनि।

नयाँ सञ्चार प्रविधिहरूबारे अध्ययन गरिरहेको अर्को टोलीले बालबालिकाहरूको नाजायज फाइदा उठाउने हरेक विषयवस्तु सञ्चार माध्यमबाट हटाउन एउटा मापदण्ड तोक्नुपर्ने सल्लाह दियो। यससम्बन्धी क्रियाकलापहरूको संयोजन गर्न एउटा अन्तरराष्ट्रिय संगठन खोल्नेबारे पनि विचारविमर्श गरिएको थियो। अर्को टोलीले सबै देशहरूले कम्प्युटरमा देखाइने बाल अश्‍लील कुराहरू तथा कसैसित बाल अश्‍लील कुराहरू भएमा यसलाई अपराधको रूपमा लिनुपर्ने र कानुनअनुसार सजाय दिनुपर्ने सुझाउ दियो।

आमाबाबुले के गर्नसक्छन्‌? सञ्चार माध्यमको भूमिकाबारे अध्ययन गरिरहेको टोलीले आमाबाबुले आफ्ना छोराछोरीलाई सुरक्षित राख्न जिम्मेवारी लिनुपर्ने सल्लाह दियो। यस्तो उल्लेख गरियो: “आमाबाबुले सञ्चार माध्यममा बच्चाहरू भिज्न थालेपछि तिनीहरूलाई डोऱ्‍याउने मात्र होइन तर तिनीहरूलाई थप जानकारी दिनुका साथै बच्चालाई विभिन्‍न सञ्चार माध्यमबाट आउने जानकारीको प्रभावलाई सन्तुलनमा राख्न र यसलाई राम्ररी बुझ्न मदत दिनुपर्छ।”

त्यस सम्मेलनबारे रिपोर्ट गरिरहेको एक स्वीडिस टिभी कार्यक्रमले आमाबाबुले सतर्कतासाथ आफ्नो बच्चाको निगरानी राख्नुपर्ने र खतराहरूप्रति सजग गराउनुपर्ने कुरामा जोड दियो। तथापि, यस्तो पनि सल्लाह दिइयो: “बच्चाहरूलाई ‘पात्तेको बूढो’ देखि मात्र होशियार रहन नभन्‍नुहोस्‌ किनभने . . . त्यसो गर्दा बच्चाहरूले झुत्रेझाम्रे बूढादेखि मात्र होशियार रहनुपर्छ भन्ठान्छन्‌ तर त्यस्तो अपराध गर्ने मान्छे चाहिं युनिफर्म वा चट्ट लुगा लगाएको व्यक्‍ति हुनसक्छ। अतः, तिनीहरूलाई अचाक्ली चासो देखाउने जो कोहीसँग पनि होशियार रहन बताउनुहोस्‌।” निस्सन्देह, बच्चाहरूलाई अनुचित चासो देखाएर छाडा व्यवहार गर्न खोज्ने व्यक्‍ति, चिनेकै किन नहोस्‌ तिनीहरूको पोल लाउन सिकाउनुपर्छ।

एक मात्र समाधान

स्टकहोम सम्मेलनमा प्रस्तुत गर्न नसकेको एउटा कुरा के थियो भने, बालबालिकामाथि यौन शोषण गर्नेहरूको रोकथाम गर्ने कसरी। यसमा झन्‌ झनै खस्कँदो नैतिक मूल्यहरू, बढ्‌दो स्वार्थी मनोवृत्तिमा वृद्धि तथा भौतिक कुराहरूप्रति लालसा; अन्यायबाट मानिसहरूलाई जोगाउन बनाएका नियमकानुनहरूप्रति बढ्‌दो अनादर; अरूको हित, इज्जत तथा जीवनप्रति बढ्‌दो बेवास्ता; पारिवारिक प्रबन्धमा बढ्‌दो टुटफुट, जनसंख्या वृद्धिको कारण व्यापक अनिकाल, बेरोजगारी, शहरीकरण र बसाइँ सराइ; विदेशी तथा शरणार्थी विरुद्ध बढ्‌दो भेदभाव; लागू पदार्थ उत्पादन र तस्करीमा वृद्धि अनि विकृतपूर्ण धार्मिक विचारधारा, प्रचलन तथा परम्पराहरू समावेश छन्‌।

बालबालिकामाथिको यौन शोषण एकदमै घिनलाग्दो भए पनि त्यस्तो खराब कुरा सचेत बाइबल पाठकहरूका लागि भने छक्कलाग्दो होइन। किन? किनभने हामी आज बाइबलले भनेझैं “आखिरी दिनमा” बाँचिरहेका छौं अनि परमेश्‍वरको वचनअनुसार यो “डरलाग्दो समय” हो। (२ तिमोथी ३:१-५, १३) अतः, नैतिकता झन्‌ झन्‌ खराब हुँदै गएकोमा के छक्क पर्नुपर्ने कुनै कारण छ र?

तथापि, संसारको यस भयंकर समस्यालाई समाधान गर्ने एउटै मात्र तरिकाबारे बाइबलले बताउँछ। त्यो हो, सर्वशक्‍तिमान्‌ परमेश्‍वरबाट विश्‍वव्यापी सफाइ। चाँडै उहाँले आफ्नो शक्‍ति चलाउनुहुनेछ अनि उहाँको धार्मिक सिद्धान्त तथा व्यवस्था पालन नगर्ने सबैलाई विनाश गर्नुहुनेछ: “किनभने सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”—हितोपदेश २:२१, २२; २ थिस्सलोनिकी १:६-९.

‘झारझैं फ्याँकिनेहरूमा’ बालबालिकाहरूलाई वेश्‍यावृत्तिमा लगाउने र बच्चाहरूको दुरुपयोग गर्ने भ्रष्ट मानिसहरू सबै पर्नेछन्‌। परमेश्‍वरको वचन यसो भन्छ: “व्यभिचारीहरू, . . . जारी गर्नेहरू, . . . पुरुषगामीहरू, . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९, १०) अझ यसो पनि भन्छ: “घिनलाग्दाहरू, . . . व्यभिचारीहरू[को]” “दोस्रो मृत्यु” हुनेछ अर्थात्‌ अनन्त विनाश।—प्रकाश २१:८.

परमेश्‍वरले पृथ्वी सफा गर्नुहुनेछ र नयाँ रीतिरिवाज अर्थात्‌ “नयाँ स्वर्ग र नयाँ पृथ्वी” ल्याउनुहुनेछ। (२ पत्रुस ३:१३) अनि त्यस नयाँ संसारमा भ्रष्ट, पतित मानिसहरूले कहिल्यै निर्दोषहरूको नाजायज फाइदा उठाउन पाउने छैनन्‌। निर्दोषहरूले कहिल्यै त्यस्ता मानिसहरूको शिकार हुनुपर्ने हो कि भनी डराउनुपर्ने छैन किनभने त्यतिबेला “कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:४.

[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]

“यो जत्तिको क्रूर, हिंस्रक र घिनलाग्दो अपराध अरू कुनै हुन सक्दैन।”—स्वीडेनका प्रधानमन्त्री

[पृष्ठ १३-मा भएको ठूलो अक्षरको क्याप्सन]

“हरेक हप्ता लगभग एकदेखि डेढ करोड पुरुषहरू जवान वेश्‍याहरूकहाँ जान्छन्‌।”—दि इकोनोमिस्ट्‌, लण्डन

[पृष्ठ १४-मा भएको ठूलो अक्षरको क्याप्सन]

गरिब राष्ट्रहरूमा यौन पर्यटन नै बाल यौन शोषणको मुख्य कारण हो

[पृष्ठ १३-मा भएको पेटी]

यौन पर्यटन—किन?

(पर्यटकहरूले बच्चाहरूसित यौनसम्बन्ध राख्ने केही कारणहरू)

(१) विदेशमा कसैले नचिन्‍ने हुँदा घरमा हुने सामाजिक डरबाट स्वतन्त्र महसुस गर्छन्‌

(२) स्थानीय भाषा राम्ररी नबुझ्दा पर्यटक सजिलै ठगिनसक्छ। जस्तै, पैसा तिरेर बच्चासित यौनसम्बन्ध राख्नु त्यस ठाउँमा सामान्य कुरा हो वा गरिबीबाट बचाउन मदत दिने एउटा तरिका

(३) जातीय भेदभावले गर्दा आफूले तुच्छ ठान्‍नेहरूलाई विदेशीहरू शोषण गर्छन्‌

(४) विकासशील राष्ट्रहरूमा सस्तोमा सजिलै यौन सेवा पाउँदा विदेशीलाई आफू एकदमै धनी महसुस हुन्छ

[पृष्ठ १५-मा भएको पेटी]

विश्‍वभरि यो समस्या कत्तिको फैलिएको छ

(निम्न आँकडाहरू विभिन्‍न सरकारी अधिकृत तथा अन्य संगठनहरूले प्रकाशित गरेका हुन्‌)

ब्राजिल: कम्तीमा पनि २,५०,००० बालबालिकाहरू वेश्‍यावृत्तिमा लागेका छन्‌

क्यानाडा: दलालहरूका नियोजित गिरोहले हजारौं किशोरीहरूलाई वेश्‍यावृत्तिमा लगाएका छन्‌

चीन: वेश्‍यावृत्तिमा लागेका २,००,००० देखि ५,००,००० बालबालिकाहरू। हालैका वर्षहरूमा ५,००० भन्दा बढी चिनियाँ केटीहरू ललाइफकाइ म्यानमाको वेश्‍यालयमा बेचिएका छन्‌

कोलम्बिया: बोगोटाको सडकहुँदो यौन शोषणमा परेका बालबालिकाहरूको संख्या विगत सात वर्षमा पाँच गुना बढेको छ

पूर्वी युरोप: १,००,००० सडक बच्चाहरू। थुप्रैलाई पश्‍चिमी युरोपका वेश्‍यालयहरूमा पठाइन्छ

भारत: ४,००,००० बालबालिकाहरू यौन उद्योगमा विथोलित

मोजाम्बिक: दात्री संगठनहरूले सं.रा.सं-का शान्ति सेनाले बालबालिकाहरूमाथि यौन शोषण गरेको अभियोग लगाएका छन्‌

म्यानमा: वर्षेनी १०,००० केटी तथा स्त्रीहरू थाइल्याण्डका वेश्‍यालयहरूमा लगिन्छन्‌

फिलिपिन्स: ४०,००० बच्चाहरू संलग्न

श्रीलंका: ६ देखि १४ वर्षका १०,००० बच्चाहरूलाई वेश्‍यालयहरूमा दास बनाइएको छ र होटेलहरूमा १० देखि १८ वर्षका ५,००० त्यस धन्धामा लागेर आफ्नो जीविका चलाइरहेका छन्‌

ताइवान: ३०,००० बच्चाहरू संलग्न

थाइल्याण्ड: ३,००,००० बच्चाहरू संलग्न

संयुक्‍त राज्य: सरकारी स्रोतहरूअनुसार १,००,००० भन्दा बढी बच्चाहरू सम्मिलित छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने