धर्मले युवाजनमा कत्तिको चासो जगाउनसकेको छ?
फ्रान्सका ब्यूँझनुहोस्! संवाददाताद्वारा
सात लाख पचास हजार जवान दर्शकवृन्दका लागि हर्षोल्लासको साँझ थियो। तिनीहरूले झण्डा हल्लाए, गीत गाए अनि ताली बजाएर प्रशन्नता व्यक्त गरे। लेसर किरण र आतसबाजीद्वारा झिलीमिली पारे अनि संगीतकारहरूले मानिसहरूको जमातलाई उत्तेजित बनाए। त्यो वातावरण “विराट सांगीतिक कार्यक्रमझैं” थियो। अन्ततः प्रशंसाको ठूलो हल्लाखल्लासहित तिनीहरूले प्रतीक्षा गरिरहेका व्यक्ति मञ्चमा उपस्थित भए।
के यो कुनै सांगीतिक टोलीको विश्वभ्रमणको उद्घाटन थियो? अहँ, होइन। यो त फ्रान्समा क्याथोलिक विश्व युवा दिवस मनाउन जम्मा भएका धार्मिक मानिसहरूको जमात थियो। अनि मञ्चमा उपस्थित हुने व्यक्ति चाहिं अरू कोही नभएर पोप जोन पल द्वितीय थिए!
जवानहरूले यस्ता धार्मिक उत्सवहरूमा चासो लिएको देख्दा कसै कसैलाई अनौठो लाग्नसक्छ। तर युवायुवतीले धर्मप्रति चासो देखाउन थालेका छन् भनेर आम सञ्चारमाध्यमले टिकाटिप्पणी गर्न थालेका छन्।
बाह्य रूप
बाहिरबाट हेर्दा त धर्म फस्टाएझैं देखिएला। करिब ६८ प्रतिशत जवान युरोपेलीहरू आफ्नो धर्म छ भनेर बताउँछन् भने आइरल्याण्डमा यस्ता जवानहरू ९० प्रतिशतभन्दा बढी छन्। पहिलेको सोभियत गणतन्त्र अरमेनियामा एकताक थुप्रै मानिसहरू धर्म भनेको त उहिलेको कुरा हो भन्ठान्थे। एक पादरीले एकताक मानिसहरू रित्तिनै लागेको तर अहिले फेरि खचाखच भरिएको चर्चबारे यसो भने: “धर्मले युवा पुस्तालाई आकर्षित गरेको देखेर म त तीन छक परिरहेछु।”
सञ्चारमाध्यमले थुप्रै देशहरूमा जवानहरू धार्मिक सम्प्रदाय र करिस्म्याटिक समूहहरूमा संलग्न भएको तथ्य व्यापक रूपमा प्रकाशित गरेका छन्। सुरुमा उल्लिखित धार्मिक उत्सवहरू लोकप्रिय भएका छन्। तथापि, वास्तविकता केलायौं भने हामी के पाउँछौं?
नियालेर हेर्दा
राम्ररी नियालेर हेर्दा के पाइयो भने, १९६७ मा ८१ प्रतिशत फ्रान्सेली युवायुवतीहरू परमेश्वरमा विश्वास गर्थे तर १९९७ मा उक्त प्रतिशत घटेर आधाभन्दा कम भयो। युरोपमा समष्टिगत रूपमा २८ प्रतिशत जवानहरूले मात्र व्यक्तित्व भएको परमेश्वरमा विश्वास राख्छन्। अतः केवल १२ प्रतिशत युरोपेली युवायुवतीहरूले अक्सर प्रार्थना गर्नु छक्कलाग्दो कुरा होइन। यो कुरा युवायुवतीहरूले धर्मप्रति राख्ने दृष्टिकोणमा कसरी झल्किन्छ?
डेनमार्कका ९० प्रतिशत जवानहरू आफू राष्ट्रिय चर्चका हौं भन्छन्। तिनीहरूमध्ये ३ प्रतिशतले मात्र चर्चले भनेका कुराहरू पालन गर्छौं भनेर बताए। सन् १९९७ मा फ्रान्सको एउटा क्याथोलिक अखबारले लिएको जनमतअनुसार फ्रान्सका ७० प्रतिशत युवायुवती आफ्नो जीवनमा धर्मले कुनै प्रभाव नपारेको कुरा मानीलिन्छन्। तिनीहरूमध्ये एक तिहाइ युवायुवतीहरू धार्मिक शिक्षालाई भन्दा व्यक्तिगत अनुभवलाई बढी महत्त्व दिन्छन्। अन्य युरोपेली देशका युवायुवती पनि यस्तै धारणा राख्छन्।
जवानहरूले किन चर्च त्यागिरहेका छन्? तिनीहरूमध्ये धेरैजसोको विचारमा प्रचलित धर्महरूले भरोसा प्रदान गर्नसकेका छैनन्। उदाहरणका लागि, फ्रान्सका अधिकांश युवायुवतीहरू धर्मले संसार विभाजित गरिरहेको छ भन्ठान्छन्। यसबाहेक, स्पेनका १५ वर्षीया केटी क्याथोलिक अनुयायी ह्युडेटको जस्तै सोचाइ राख्ने युवायुवतीहरू भेट्टाउनु कुनै अनौठो कुरा होइन। तिनी भन्छिन्: “नैतिकताबारे चर्चले भनेको कुरामा म सहमत छैनँ।” त्यसैगरि, ताइवानका २० वर्षीय जोसेफ धर्म “अति परम्परागत” भएको महसुस गर्छन्। तर अधिकांश जवानहरू आफ्नै धर्मका शिक्षाहरूसँग सहमत छैनन् भने के विश्वास गर्छन् त?
मनलागी धर्म अपनाउने
अहिले जवानहरू साधारणतया आफूलाई मन परेको भोजन छानेझैं धार्मिक विश्वास छान्छन्। यसरी छनौट गर्ने विषयमा एउटा पत्रिकाले धर्म त “मनलागी अपनाउन सकिने भएको छ” भनी वर्णन गर्छ। यसलाई एउटा क्याथोलिक पत्रिकाले “पहिला सरसरती हेर्ने त्यसपछि छान्ने” भनी उल्लेख गरेको छ। पुराना विचारधाराहरू अहिले फेरि प्रचलित हुन थालेका छन्। तसर्थ, युरोपका ३३ प्रतिशत जवानहरू भाग्यमा विश्वास गर्छन्, ४० प्रतिशतले भावी बताउने व्यक्तिहरूले भविष्य बताउनसक्छन् अनि २७ प्रतिशतले मनोरञ्जन जगत्का व्यक्तिहरूले मानिसको जीवनमा प्रभाव पार्छन् भन्ने विश्वास गर्छन्। जवान युरोपेलीहरूले पुनर्जन्ममा पनि विश्वास गर्न थालेका छन्।
धार्मिक विश्वास यति थरीथरीका छन् कि जवानहरू आ-आफ्ना रुचिअनुसार छनौट गर्नसक्छन्। थोरैले मात्र सत्यमाथि एउटै धर्मको एकाधिकार छ भन्ने विश्वास गर्छन्। जवानहरूले आ-आफ्नै इच्छाअनुसार धर्म छनौट गरेकाले तिनीहरूको धार्मिक विश्वासको भिन्नता नै अस्पष्ट हुँदै गएको छ। तसर्थ, मौलिक सिद्धान्तहरू “नाश हुँदैछ” वा “व्यापक रूपमा खिइँदैछ” भनी समाजशास्त्रीहरू बताउँछन्। आध्यात्मिकताको यस्तो वातावरणमा परम्परागत धर्महरूले कस्तो प्रतिक्रिया व्यक्त गरिरहेका छन् त?
धर्महरू युवायुवतीको ध्यानाकर्षण गर्न खोज्छन्
धर्मले युवायुवतीलाई आकर्षित गर्ने चुनौती सामना गरिरहेको छ। फ्रान्सका एक पादरीले पेरिसको क्याथोलिक विश्व युवा दिवसमा भेला भएको भीडबारे यस्तो प्रश्न सोधे: “यी जवानहरू कहाँबाट आएका हुन्? मेरा चर्चहरूमा त जवानहरू छैनन्। मैले तिनीहरूलाई देखेकै छैनँ।” युवायुवतीहरूलाई आकर्षित गरेर तिनीहरूको ध्यानाकर्षण गर्न क्याथोलिक चर्चले आफ्नो सन्देश र विचारधारा परिवर्तन गर्नुपरिरहेको छ।
फ्रान्सको अखबार लि फिगारो-ले यस्तो घोषणा गऱ्यो, “चर्च आफ्नो शैली परिवर्तन गर्छ!” चर्चले पेरिसको १२ औं क्याथोलिक विश्व युवा दिवसमा खटाएका एजेन्सीहरू रक संगीत आयोजना गर्नमा बढी अनुभवी थिए। सयभन्दा बढी देशबाट आएका युवायुवतीलाई मनोरञ्जनको रमझममा भुलाउन ३०० भन्दा बढी कार्यक्रम प्रस्तुत गरियो अनि ख्यातिप्राप्त डिजाइनरले पादरीहरूका लागि विशेष प्रकारको पोसाक तयार पारेका थिए।
आज थुप्रै धर्महरू जवानहरूलाई बुझ्न र परिस्थिति अनुकूल चल्न नसकेर छ्यासमिसे विश्वासमा परिणत भइरहेका छन्। यस्तो नीति प्रतिबिम्बित गर्दै पेरिसमा विश्व युवा दिवस उत्सव आयोजना गर्ने पादरी मिसेल ड्युबोले यसो भने: “मेरो इच्छा त, सबै बप्तिस्माप्राप्त व्यक्तिहरू ख्रीष्टप्रति विश्वासी होस् भन्ने हो। तर तिनीहरू विश्वासी रहन सकेनन् भने पनि चर्चमा स्वीकार्य छ।”
युवायुवतीहरू जवाफ खोज्छन्
एउटा अखबारले युवायुवतीहरूलाई जवाफ चाहिएको कुरा प्रकाश पार्दै पेरिसको धार्मिक उत्सवमा उपस्थित युवाजनले “विश्वास प्रदर्शन गरेका होइनन् विश्वासको पुकारा गरिरहेका थिए” भनेर बताए। के क्याथोलिक चर्चले यस्तो पुकारा सुन्यो त?
एउटा क्याथोलिक अखबारले ठूलठूला धार्मिक उत्सवहरूलाई “दृष्टिभ्रम” भन्छ। यस्तो दृष्टिभ्रममा लुकेका वास्तविकता उदांग गर्ने हो भने के पाइन्छ? फ्रान्सको लि मोन्डे अखबारले त्यसको “केही तात्पर्य नै छैन” भन्ने टिप्पणी गऱ्यो।
भोजन हेर्दै खाऊँखाऊँ लाग्ने हुनु महत्त्वपूर्ण छ तर पौष्टिक पनि हुनुपर्छ। जवानहरूले जीवनको अर्थबारे आध्यात्मिक तवरमा पोषिलो जवाफ पाउनुपर्छ। आकर्षक तर अवास्तविक जवाफले जवानहरू सन्तुष्ट हुन सक्दैनन्।
के व्यवहारिक महत्त्व नै नभएका धार्मिक क्रियाकलापहरूले आज युवायुवतीहरूमा चिरस्थायी प्रभाव पार्न सकेको छ? फ्रान्सेली समाजशास्त्री डेनियल अर्भोइ-लाजाले यसो भनिन्: “यस्ता आयोजित क्रियाकलापहरूले समाजमा चिरस्थायी प्रभाव पार्न त गाह्रै छ।” त्यसोभए, युवायुवतीहरूले आफ्ना प्रश्नहरूको चित्तबुझ्दो जवाफ कहाँ पाउनसक्छन् त?
चित्तबुझ्दो जवाफ
युवायुवतीहरूले सामना गर्नुपर्ने कठिनाइहरूबारे फ्रान्सको लि पवान नामक पत्रिकाले १९९७ मा एउटा लेख प्रकाशित गऱ्यो। युवायुवतीहरूले अक्सर सोध्ने जीवनको अर्थबारे प्रश्नहरूका अलावा तिनीहरूले अपराध र हिंसाको पनि सामना गर्नुपरिरहेको छ। के यस्ता कुराहरूमा विजय हासिल गर्न सकिन्छ? उक्त पत्रिकाको लेखले यसो भन्यो: “मदिरा, लागू पदार्थ र हिंसाको कारण आफू शारीरिक तवरमा खत्तम हुँदै गएको देखेर ३० वर्षको उमेरमा डेविड चिन्तित हुनथाले। यहोवाका साक्षीहरूले तिनको ढोका ढकढक्याए अनि उक्त कुराहरूबाट टाढा रहने बाटो देखाए। तिनले अध्ययन गरे। जीवनमा परिवर्तन ल्याए। जुवा खेल्दाको ऋण चुक्ता गरे अनि ती व्यक्तिहरूलाई पनि पैसा फिर्ता गरे जसलाई तिनले जुवा खेल्दा झेली गरेका थिए भनेर थाहै थिएन। तिनले धूम्रपान, मदिरा र झैझगडा पनि चटक्कै छाडे।”
यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्ने अन्य युवायुवतीहरूबारे उक्त लेखले अझै यसो भन्यो: “तिनीहरूले आफ्ना सबै प्रश्नहरूको जवाफ पाएका छन्।” यसबारे एक जवान साक्षीले सरल भाषामा यसो भने: “दुई हजार वर्षदेखि सत्य बताउँदै आएको बाइबल हुँदाहुँदै म मार्गदर्शनको निम्ति अन्त किन जाने?”
परमेश्वरको वचनमा युवायुवतीहरूका लागि समाचार छ। यसका व्यवहारिक सुझाउले तिनीहरूलाई वर्तमान समस्याहरूसँग जुझ्न मदत दिन्छ अनि शान्ति र भ्रातृत्वले भरिएको भविष्यप्रति विश्वास गर्ने ठोस आधार प्रदान गर्छ। निरन्तर परिवर्तन भइरहने संसारमा बाइबलले प्रदान गर्ने आशा “प्राणको लङ्गर जस्तो . . . स्थिर र दृढ दुवै” छ। (हिब्रू ६:१९) लाखौं युवायुवतीहरूले यहोवाका साक्षीहरूसँग व्यक्तिगत बाइबल अध्ययन गरेर जीवनको वास्तविक अर्थ बुझेका छन्। बाइबलले सतही परिवर्तन मात्र गर्दैन भनेर तिनीहरूले आफ्नै जीवनमा अनुभव गरेका छन्। जवानहरूले बाइबलका जवाफहरू स्वीकारेर साँचो विश्वासको खोजबाट इनाम पाएका छन्।
[पृष्ठ २५-मा भएको चित्र]
पेरिसमा धार्मिक उत्सवले लाखौं युवायुवतीहरूलाई आकर्षित गर्छ
[पृष्ठ २६-मा भएको चित्र]
पेरिसमा विश्व युवा दिवस—साँच्चै धर्म पुनः जागृत भएको हो?