आशा र प्रेम पुनः प्राप्त हुँदा
किशोरकिशोरीहरूसित व्यवहार गर्ने आमाबाबु, शिक्षक तथा अरूले के महसुस गर्छन् भने, न तिनीहरूले नता युवाहरूले, न अरू कसैले नै यो संसारमा परिवर्तन ल्याउनसक्छन्। यसो हुनुको कारण, यसमा कसैले रोक्न नसक्ने ज्वारभाटासरह दबाबहरू क्रियाशील छन्। यद्यपि, युवाहरूलाई खुसी बनाउन, स्वस्थ राख्न र अरूसित सजिलै घुलमिल हुनसक्ने बनाउन हामीले गर्नसक्ने धेरै कुरा छन्।
रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो। अतः आमाबाबुले तिनीहरूको जीवनशैली र प्राथमिकताहरूले आफ्ना बच्चाहरूको झुकाउ तथा आचरणमा कस्तो छाप पार्नसक्छन् भनेर होसियारीपूर्वक सोच्नुपर्छ। घरमा मायालु र हेरविचार गर्ने वातावरण सृजना गर्दा आत्मघाती आचरणबाट जोगिन र त्यसलाई रोक्न सकिन्छ। युवाहरूलाई अत्यन्तै खाँचो पर्ने कुराहरूमध्ये एउटा तिनीहरूको कुरा सुन्नु हो। आमाबाबुले तिनीहरूको कुरा सुनेनन् भने तिनीहरूले गलत व्यक्तिलाई पनि आफ्नो कुरा पोखाउनसक्छन्।
त्यसोभए आमाबाबुले के गर्नुपर्छ त? छोराछोरी कलिलै छँदा तिनीहरूसित समय बिताउनुहोस्। थुप्रै परिवारको लागि यसो गर्नु सजिलो हुँदैन। हात मुख जोर्नको निम्ति आमा र बाबु दुवैले जागिर खानुबाहेक अरू कुनै विकल्प नै हुँदैन। आफ्ना छोराछोरीसित धेरै समय बिताउन चाहने र बिताउन सक्षम हुने आमाबाबुले अक्सर इनामस्वरूप ती छोराछोरीहरू जीवनमा सफल भएको देखेका छन्। तथापि, अगाडि बताएझैं आमाबाबुले जत्ति नै प्रयास गर्दा पनि कहिलेकाहीं छोराछोरीहरू गम्भीर समस्यामा फस्नसक्छन्।
साथीहरू र अरू वयस्कहरूले मदत गर्नसक्छन्
युद्ध, बलात्कार र बाल दुर्व्यवहारजस्ता हानिकारक प्रभावहरूबाट बच्चाहरूलाई साँच्चै जोगाउन चाहने वयस्कहरूले थप प्रयास गर्नु आवश्यक छ। यस्ता नकारात्मक अनुभवहरूका शिकार भएका युवाहरूले तिनीहरूलाई मदत दिन खोज्दा समेत सकारात्मक प्रतिक्रिया नदेखाउनसक्छन्। यसको मतलब तपाईंले अझ धेरै समय र प्रयास गर्नुपर्ने हुनसक्छ। निस्सन्देह, तिनीहरूलाई होच्याउनु वा त्याग्नु बुद्धिमानी कुरा वा मायालु व्यवहार होइन। के हामी भावनात्मक तवरमा अलिक गहिरिएर यस्तो खतरनाक स्थितिमा पुगेकाहरूलाई आवश्यक दया तथा प्रेम देखाउने प्रयास गर्नसक्छौं?
आमाबाबु मात्र होइन तर साथीहरू र दाजुदिदीहरू पनि युवाहरूका झुकाउहरूलाई ध्यान दिन विशेषगरि सतर्क हुनुपर्छ। त्यस्ता युवाहरूमा कमजोर तथा सम्भवतः असन्तुलित भावनात्मक स्थिति देखिन सक्छ। (“योग्य व्यक्तिबाट मदतको खाँचो” पेटी, पृष्ठ ८ हेर्नुहोस्।) यदि त्यससित मिल्दोजुल्दो संकेतहरू देख्नुभयो भने, तिनको कुरा सुन्नमा ढिलाइ नगर्नुहोस्। सम्भव भएमा, यस्तो स्थितिमा पुगेका समस्याग्रस्त युवाहरूलाई दयालु प्रश्नहरू सोधेर साँचो मित्रताको पुष्टि दिंदै आश्वासन दिनुहोस्। भरपर्दो साथी तथा आफन्तहरूले कठिन परिस्थितिहरू सम्हाल्न आमाबाबुलाई सहयोग गर्नसक्छन् तर तिनीहरूले आमाबाबुको भूमिका चाहिं खोस्नु हुँदैन। युवाहरूको आत्महत्या गर्ने झुकाउ तिनीहरूलाई ध्यान र अझ विशेषगरि आमाबाबुको ध्यानको निम्ति निराशापूर्ण चित्कार हो।
युवाहरूलाई दिन सकिने उत्कृष्ट उपहार नै आनन्दित भविष्यको मजबुत आशा हो र यो नै बाँच्नको निम्ति प्रेरणा हुनसक्छ। यस संसारमा अब चाँडै आउने उत्तम रीतिरिवाजबारे बाइबलको प्रतिज्ञा साँचो हो भनेर थुप्रै युवाहरूले स्वीकार्न थालेका छन्।
सम्भाव्य आत्महत्याबाट बचेका
घरीघरी आत्महत्या गर्ने विचार गरेकी जापानकी एक युवती भन्छिन्: “मैले धेरै चोटि आत्महत्या गर्न चाहें। मैले भरोसा गरेको व्यक्तिले मलाई सानी छँदा यौन दुर्व्यवहार गऱ्यो। . . . ‘म मर्न चाहन्छु’ भनेर मैले विगतमा अनगिन्ती चिठीहरू लेखेकी छु। अब त म यहोवाको साक्षी भएकी छु र अहिले पूर्ण-समय प्रचारकको हैसियतमा सेवा गरिरहेकी छु। तैपनि त्यसरी मर्ने चाहना समय समयमा अझै पलाउँछ। . . . तर यहोवाले मलाई बाँच्न दिनुभएको छ र लाग्छ उहाँले मलाई बिस्तारै भनिरहनुभएको छ, ‘बाँचिरह।’ ”
रुसकी १५ वर्षीया केटीले बताइन्: “म आठ वर्षकी हुँदा कसैलाई मेरो आवश्यकता छैन भन्ने महसुस गर्न थालें। मेरा आमाबाबुसित मसँग कुरा गर्ने फुर्सदै थिएन। आफ्ना समस्याहरू आफै सुल्झाउने कोसिस गर्थें। म अरूबाट अलग बस्न थालें। आफन्तहरूसित बारम्बार झगडा गर्थें। त्यसपछि आत्महत्या गर्ने विचार आउन थाल्यो। तर यहोवाका साक्षीहरूलाई भेटेर म साह्रै खुसी भएँ!”
अहिले ३१/३२ वर्ष पुगेकी अस्ट्रेलियाकी क्याथीले निराशा साँच्चै आशामा बदलिनसक्छ भनेर देखाउन यी प्रोत्साहनदायी टिप्पणीहरू लेख्छिन्: “आत्महत्या गर्ने विभिन्न तरिकाहरूबारे म निरन्तर सोच्थें र अन्ततः आत्महत्या गर्ने प्रयास पनि गरें। दुःख, क्रोध र निरर्थकताले भरिएको यस संसारबाट मुक्ति चाहन्थें। आफूलाई फन्दाभित्र पारेको त्यो ‘जालोबाट’ फुत्कनु निराशाले गर्दा मलाई कठिन पऱ्यो। त्यसैले, त्यतिबेला त्यसको समाधान आत्महत्या नै हो जस्तो लाग्यो।
“यो पृथ्वी शान्तमय, सबैको लागि आनन्ददायी जीवन भएको प्रमोदवनमा परिवर्तन हुनसक्छ भनेर पहिलो चोटि सुन्दा मलाई साँच्चै त्यसको चाह भयो। तर यो साकार हुन नसक्ने सपना जस्तो मात्र देखिन्थ्यो। तथापि, जीवनप्रति यहोवाको दृष्टिकोण र उहाँको दृष्टिमा हामी सबै कत्तिको मूल्यवान् छौं, सो बिस्तारै बुझ्न थालें। भविष्यमा आशा रहेछ भनेर विश्वस्त हुन थालें। अन्ततः त्यस ‘जालोबाट’ फुत्कने बाटो भेट्टाएँ। तथापि, त्यसबाट फुत्कन भने सजिलो भएन। कहिलेकाहीं निराशाले छोप्थ्यो र साह्रै अन्योलमा पर्थें। यद्यपि, यहोवा परमेश्वरमा सारा ध्यान केन्द्रित गरेर म उहाँको नजिक हुन र सुरक्षित भएको महसुस गर्नसकें। मेरो निम्ति गर्नुभएको ती सबै कुराको लागि म यहोवालाई धन्यवाद चढाउँछु।”
अब उप्रान्त युवाहरूको मृत्यु हुनेछैन
जवान व्यक्तिले बाइबल अध्ययनद्वारा आशा गर्नसक्ने केही उत्तम कुरा छ भनेर बुझ्नसक्छन्। त्यस उत्तम कुरालाई मसीही प्रेरित पावल “साँच्चैको जीवन” भन्छन्। तिनले जवान तिमोथीलाई यस्तो सल्लाह दिए: “यस वर्तमान संसारको धनीहरूलाई कड़ा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्, र अनिश्चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्वरमाथिनै आशा राखून्, कि तिनीहरूले असल गरून्, तिनीहरू असल काममा उदारचित्त भएर दानवान होऊन्, . . . पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राखून्।”—१ तिमोथी ६:१७-१९.
भनौं भने, पावलको सल्लाहको अर्थ हामीले भविष्यको त्यो मजबुत आशाबारे अरूलाई बताउनुपर्छ। “नयाँ पृथ्वी र नयाँ स्वर्ग” भएको नयाँ संसारमा यहोवाले “साँच्चैको जीवन” दिने प्रतिज्ञा गर्नुभएको छ।।—२ पत्रुस ३:१३.
पहिला खतरनाक स्थितिमा भएका थुप्रै युवाहरूले लागूपदार्थको दुर्व्यसन अनि अनैतिक जीवनशैली मृत्युमा पुऱ्याउने लामो घुमाउरो बाटो सिवाय केही होइन भनेर बुझेका छन्। तीमध्ये आत्महत्या चाहिं मृत्युमा पुऱ्याउने छोटो बाटो हो। युद्ध, घृणा, दुराचरण र प्रेमरहित यस संसार अब चाँडै बितेर जानेछ भनी तिनीहरूले बुझेका छन्। यस संसारको रीतिरिवाज सुध्रन सक्दैन भनेर तिनीहरूले सिकेका छन्। परमेश्वरको राज्य मात्र साँचो आशा हो भनेर तिनीहरू दृढ विश्वास गर्छन्। किनभने यसले नयाँ संसार ल्याउनेछ जहाँ युवाहरू मात्र होइन सबै आज्ञाकारी मानिसजाति कहिल्यै मर्नुपर्ने छैन नता मर्न नै चाहनेछन्।—प्रकाश २१:१-४.
[पृष्ठ ८-मा भएको पेटी]
योग्य व्यक्तिबाट मदतको खाँचो
दी अमेरिकन मेडिकल एसोसिएसन इन्साइक्लोपीडिया अफ मेडिसिन भन्छ, “९० प्रतिशतभन्दा बढी आत्महत्या मानसिक रोगले गर्दा हुने गर्छ।” उक्त पुस्तकमा सूचित त्यस्ता मानिसिक रोगहरू अत्यधिक निराशा (लगभग १५ प्रतिशत), सिजोफ्रेनिया (लगभग १० प्रतिशत), मद्यपान (लगभग ७ प्रतिशत), समाज विरोधी व्यक्तित्व विकार (लगभग ५ प्रतिशत) र स्नायु प्रणालीका केही विकारहरू हुन् (५ प्रतिशतभन्दा कम)। उक्त पुस्तकले यस्तो सल्लाह दिन्छ: “आत्महत्या गर्न प्रयास गर्ने सबैको राम्ररी उपचार गरिनुपर्छ। आत्महत्या गर्न प्रयास गर्ने मानिसहरूमध्ये २० देखि ३० प्रतिशतले एक वर्षभित्र फेरि आत्महत्या गर्ने प्रयास गर्छन्।” डा. जेन फसेट लेख्छन्: “[संयुक्त राज्यमा] हुने आत्महत्यामध्ये ५० प्रतिशतभन्दा बढीले मानसिक स्वास्थ्यसम्बन्धी पेशेवरहरूसित सम्पर्क राखेकै हुँदैनन्।” अनि अर्को किताबअनुसार: “यस्ता व्यक्तिविशेषलाई उपचार गर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष निराशाको छनक पाउने बित्तिकै त्यसलाई हटाउन मनोचिकित्सककहाँ जतिसक्दो चाँडो जँचाउन लैजानु हो।”