प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १०/८ पृ. ११-१३
  • सानो टापुबाट व्यस्त विमानस्थल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सानो टापुबाट व्यस्त विमानस्थल
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • टापुमा विमानस्थल
  • एउटा टापुबाट अर्को टापुमा जाने गजबका पुलहरू
  • विमानस्थलदेखि शहर २३ मिनेटमा!
  • भविष्यको लागि विमानस्थल
  • पुलहरू—नभएका भए?
    ब्यूँझनुहोस्‌!—१९९८
  • भास्को डा गामाको नाउँमा बनाइएको पुल
    ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १०/८ पृ. ११-१३

सानो टापुबाट व्यस्त विमानस्थल

हङकङका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

हङकङको काइ टेक अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्न लाग्दा हवाईजहाजको झ्यालबाट बाहिर हेर्दै एक यात्रुले चकित हुँदै यसो भनिन्‌, “हामीले छतहरूमा ठड्याइएको टेलिभिजन एन्टेनाहरू सबै ढाल्यौं होला!” यता जमिनमा, नजिकैको काउलुन शहरमा आफ्नो घरको छतमा लुगा सुकाउँदै गरेकी महिलाले तिनको टाउकै माथिबाट कानै खानेगरि हवाईजहाज उड्‌दा जीउ खुम्चाइन्‌।

ती खतरनाक पहाडहरूलाई थुप्रै चोटि छलाएर अवतरण गरेका विमानचालक जोन भन्छन्‌, “मुख्य अवरोध चाहिं ती पहाडहरू नै हुन्‌। उत्तरपश्‍चिमबाट अवतरण गऱ्‍यौं भने धावनमार्ग पुग्नुअघि डरलाग्दो मोड लिनुपर्छ। ती पहाडहरूले गर्दा नै माथिबाट तलतिर डरलाग्दा ग्याँसहरू बहन्छन्‌ अनि त्यसले गर्दा हावाको वेग र दिशामा उतारचढाव हुन्छ।”

त्रसित यात्रु, विमानचालक तथा विशेषगरि काउलुन शहरवासीहरू काइ टेक विमानस्थलमा अन्तिम चोटि विमान अवतरण हुने दिनको प्रतिक्षामा थिए। अनि त्यो चिरप्रतीक्षित दिन जुलाई १९९८ मा आयो किनभने त्यस दिनदेखि हङकङमा नयाँ विमानस्थल चालू हुन थाल्यो।

टापुमा विमानस्थल

सन्‌ १९८० को दशकमा काइ टेक विमानस्थलले क्षमताले भ्याउनेजति सबै काम गरिरहेको थियो। त्यहाँ अझ बिस्तार गर्न सम्भव नै नभएकोले नयाँ विमानस्थलको निम्ति ठाउँ खोज्न थालियो। तर हङकङमा विमानस्थललाई पुग्ने अर्को ठूलो समतल जमिन उपलब्ध थिएन। त्यसबाहेक, मानिसहरू आफ्नो घरको छेवैमा हल्लाखल्ला गर्ने विमानस्थल भएको चाहँदैन थिए। समाधान के थियो त? ठूलो भूभाग ओगटेको लान्टाऊ टापुको सूदुर उत्तरमा पर्ने सानो टापु चेक लेप कक। यस्तो ठूलो चुनौती स्वीकार्न कुनै पनि सिभिल इन्जिनियर तयार हुनेछ।

विमानस्थल निर्माण गर्न सानो टापुका साथै सँगसँगैका अन्य टापुहरूलाई समतल गर्नुपर्थ्यो र समुद्रबाट साढे नौ वर्ग किलोमिटर जमिन निकाल्नुपर्थ्यो। हङकङ शहरसित विमानस्थललाई जोड्‌न काउलुन शहर हुँदै अनि भिक्टोरिया बन्दरगाह पार गर्दै टापु तथा जलमार्गहरू माथिबाट ३४ किलोमिटर लामो रेलमार्ग र फ्लाइओभर निर्माण गरियो। यसको लागि पुल तथा सुरुङहरू निर्माण गर्नुपऱ्‍यो। यस्ता कार्यहरूले गर्दा यो अहिलेसम्म गरिएको सबैभन्दा ठूलो निर्माण योजना भयो।

एउटा टापुबाट अर्को टापुमा जाने गजबका पुलहरू

मुख्य भूभागसित लान्टाऊ टापु जोड्‌ने अहिले विश्‍वविख्यात लान्टाऊ लिंक हेर्न हङकङको नयाँ इलाकामा हजारौं मानिसहरू जान्छन्‌। दह्रो मोटो तन्किने तारहरूद्वारा बनाइएको पुलले लान्टाऊ टापुलाई सानो माँ वान टापुसित जोड्‌छ र १,३७७ मिटर लामो झोलुंगे पुलले माँ वान टापुलाई तेस्रो टापु सीङ यीसित जोड्‌छ। यी दुई तल्ले पुलहरू संसारकै सबैभन्दा लामो पुलहरूमध्ये हुन्‌। माथिल्लो तल्लामा सवारीसाधानहरू आवागमन हुन्छन्‌ भने बार लगाइएको तल्लो तल्लाको दुई पथमा मोटरगाडी र अर्को एउटा पथमा रेलमार्ग आवागमन हुन्छ।

टाढाबाट हेर्दा झोलुंगे पुललाई झुण्ड्याएका केबुलहरू कमजोर देखिन्छन्‌। इन्जिनियहरूले राम्रोसित मिलाएर रोखेको हो, होइन भन्‍ने शंका वा पुल पानीमा खस्ने हो कि भनेर मानिसहरू शंका गर्नसक्छन्‌। तर नजिकबाट हेर्दा ती केबुलहरू पक्कै पनि कमजोर छैनन्‌ भनी थाह हुन्छ। त्यस १.१ मिटर चौडा १,६०,००० किलोमिटर लामो केबुलले पृथ्वीलाई चार चोटि बेर्न पुग्छ। ती केबुलहरू त्यति मोटो हुनैपर्छ किनभने तिनीहरूले पुल निर्माण गर्न पहिल्यै तयार पारिएको ५०० टन बराबरको ९५ वटा डेक थाम्नुपर्छ। केबुलहरू बनाइ सकेपछि ती पहिल्यै तयार पारिएका पाताहरू नौकाद्वारा निर्माणस्थलमा लगियो र पानीबाट उचालियो।

नजिकका बासिन्दाहरू केबुलहरूलाई आड दिने टावरहरू ठडाएको देखेर दंग परे। साधारणतया निर्माण योजनाहरूमा प्रयोग गरिने खटहरू प्रयोग नगरि टावरहरू ठडाइयो। निर्माताहरूले स्लीपफर्मिङ नामक विधि प्रयोग गरे। यस प्रक्रिया चलाउँदा कंक्रिट खनाइएको पाता वा शटरलाई हरेक चोटि भाग भाग छुट्याउने र ठड्याउने नगरि बिस्तारै माथि सारिन्छ। यो नयाँ प्रविधि अपनाएर निर्माताहरूले तीन महिनाभित्रै १९० मिटर लामो पुलको टावर तयार पारे।

हङकङ तुफान आउने भागमा पर्छ। वेगसित आउने हावाले रेलमार्ग र सडक जुध्ने ठाउँलाई कस्तो प्रभाव पार्नेछ? सं.रा.अ. वशिंगटनमा सन्‌ १९४० मा प्रतिघण्टा ६८ किलोमिटर वेगको हावा आउँदा पुरानो टाकोमा न्यारोज पुल बाँस जस्तै काक्राककुक्रुक्क भएको थियो। त्यसपछि पुलहरूको डिजाइनमा धेरै उन्‍नति गरिएको छ। यी नयाँ पुलहरू प्रतिघण्टा ३०० किलोमिटर वेगले चल्ने हावाले पनि केही असर नगर्नेगरि निर्माण गरिएका छन्‌।

विमानस्थलदेखि शहर २३ मिनेटमा!

दूरीको हिसाबले हङकङ टापु पहिलाको विमानस्थलबाट चार गुना बढी नजिक भए तापनि नयाँ विमानस्थलबाट छिटो पुगिन्छ। किन? हङकङको व्यापारिक केन्द्र अर्थात्‌ सेन्ट्रलमा प्रति घण्टा १३५ किलोमिटरको वेगमा कुद्‌न सक्ने रेलको सुविधा छ। पहिला लान्टाऊको उजाड पहाडहरूको राम्रो दृश्‍य देखिन्छ। अनि मुख्य भूभाग पुग्न दुइटाभन्दा बढी टापुहरू पार गरेपछि ठूलठूला मालतालहरू राख्नसक्ने क्षमता भएको विश्‍वको सबैभन्दा ठूलो बन्दरगाह क्वाइ चुङ पुगिन्छ। त्यसको पाँच किलोमिटर पर मङ कोक छ जहाँ १,७०,००० मानिसहरू बसोबास गर्छन्‌। त्यसपछि, पर्यटक क्षेत्र चीम शा सुइ हुँदै बन्दरगाहमुनिको सुरुङ पुगिन्छ र यसरी विमानस्थल छोडेको २३ मिनेटमै सेन्ट्रल पुगिन्छ!

भविष्यको लागि विमानस्थल

डिसेम्बर १९९२ मा चेक लेप कक ३०२ हेक्टर ठूलो चट्टाने टापु थियो। जून १९९५ सम्ममा यो नयाँ विमानस्थलको निम्ति ३,०८४ एकड समुद्रको सतहभन्दा माथि उठाएको जमीन भइसकेको थियो र यो हङकङको कुल इलाकाभन्दा झन्डै १ प्रतिशत ठूलो थियो। मूल टापुलाई समतल गर्न ४४,००० टन शक्‍तिशाली विस्फोटकहरू ओछ्याइयो भने बालुवा निकाल्ने जहाजहरूद्वारा समुद्र किनारको बालुवा निकालेर निर्माणस्थलमा थुपारियो। जोडतोडले काम भइरहेको बेला प्रति दिन पाँच एकड जमिन समुद्रको सतहभन्दा माथि उठाइएको थियो। जम्माजम्मी ३१ महिनाभरि प्रति सेकेण्ड दस टन जमिनको सतह मिलाउने निर्माण सामाग्रीहरू यताउता सारिएको थियो। जमिन तयार पार्ने ठेकेदारहरूले काम सिध्याउने बित्तिकै विमानस्थल निर्माण गर्नेहरूले काम थालिहाले।

यस योजनामा संलग्न स्टीभ भन्छन्‌: “हालका ठूलठूला हवाईजहाजहरूले राम्ररी नबनाएका धावनमार्गहरू बिगार्नसक्छन्‌। तसर्थ, एसफाल्ट बिछ्याउनुअघि बालुवालाई टम्म गर्न बडेमाका रोलरहरू प्रयोग गरिए। ती रोलरहरूले पहिलो धावनमार्ग र विमानस्थल बिसाउने इलाकामा काम सिध्याउञ्जेल १,९२,००० किलोमिटर दूरी ढाकेको अनुमान लगाइएको छ। यो दूरी पृथ्वीलाई पाँच पल्ट परिक्रमा लाउनु बराबर हो।

“हाम्रो कम्पनीले टर्मिनल बनाउने ठेक्का पाएको थियो। हामीले स्टीलको बीमको छत बनायौं र ठडायौं। यी प्रत्येकको वजन १५० टनजति हुन्छ। हामीले तिनीहरूलाई थुप्रै पांग्रा भएको ट्रेलरमा राख्न बडेमाका क्रेनहरू चलायौं र प्रति घण्टा दुई किलोमिटरको दरले टर्मिनलसम्म पुऱ्‍यायौं।”

यो टर्मिनल कंक्रिटको बक्सा होइन। बरु, विमानस्थलका कामदार तथा यात्रुहरू सबैलाई आनन्दमय हुने उज्यालो र हावा आवतजावत हुने वातावरण सृजना गर्न जोड दिइएको थियो। त्यसको अलावा, यात्रुहरूको समय पटक्कै खेर नजानेगरि यताउता जान मिल्ने किसिमले विमानस्थल डिजाइन गरिएको छ। यात्रु चेक इन काउन्टरमा पुगेको आधा घण्टापछि नै हवाईजहाजमा बसिसक्छन्‌। छरितो ढंगमा काम चालु राख्न चालकबिना चल्ने रेल उपलब्ध छ जसले यात्रुहरूलाई टर्मिनलको एउटा कुनाबाट अर्को कुनामा लैजान्छ। यसबाहेक २.८ किलोमिटर लामो विद्युत स्वचालित पथ पनि छ जुन थकित यात्रुहरूको निम्ति निकै सजिलो हुन्छ।

स्टिभ अझै भन्छन्‌: “सन्‌ १९९५ मा २.७ करोड यात्रुहरू यात्रा गरेको काइ टेक विमानस्थनभन्दा कत्ति भिन्‍न! नयाँ विमानस्थलले प्रति वर्ष ३.५ करोड यात्रुहरू र ३० लाख टन सरसामान ओसारपसार गर्नसक्छ। अन्ततः यसले ८.७ करोड यात्रुहरू तथा ९० लाख टन कार्गो ओसारपसार गर्नेछ!”

हङकङले यस योजनामा निकै लगानी गरेको छ। झन्डै २० अरब अमेरिकी डलर खर्च भएको वा भनौं भने, यस रकम हङकङको ६३ लाख बासिन्दाहरू प्रत्येकको भागमा झन्डै ३,३०० अमेरिकी डलर पर्छ। चेक लेप ककले हङकङको हालको समृद्धि कायम राख्न मदत गर्नेछ भन्‍ने आशा गरिएको छ। मदत गर्ने छ या छैन, समयले नै बताउनेछ तर एउटा कुरा भने पक्का छ: हङकङमा अवतरण गर्नु अविस्मरणीय अनुभव भइरहनेछ।

[पृष्ठ १२-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

विमानस्थल रेलमार्ग एक्प्रेस मार्ग

चेक लेप ककमा विमानस्थल

लान्टाऊ टापु

उत्तर लान्टाऊ एक्प्रेस मार्ग

लान्टाऊ लिंक

काप शुइ मन पुल

शीङ माँ पुल

पश्‍चिम काउलुन एक्प्रेस मार्ग

काउलुन

काइ टेकमा विमानस्थल

हङकङ टापु

[पृष्ठ १३-मा भएको चित्र]

निर्माणाधीन शीङ माँ पुल

[पृष्ठ ११-मा भएको चित्रको स्रोत]

नयाँ विमानस्थल योजना समन्वय कार्यालय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने