विज्ञापनको शक्ति
धेरै समयअघि टेलिभिजनमा विज्ञापन समय भयो कि यसो भनिन्थ्यो, “अब एकछिन हाम्रो प्रायोजकबाट दुई शब्द।” प्रायोजकहरू यस्ता कम्पनीहरू हुन् जसले पैसा तिरेर आफ्नो मालको विज्ञापन गर्छन्। “अब एकछिन हाम्रो प्रायोजकबाट दुई शब्द” भन्ने भूतकालको कुरा भइसके तापनि प्रायोजकहरूले समाचार र मनोरञ्जन माध्यम जस्तै टेलिभिजन, पत्रपत्रिका, अखबार तथा रेडियोलाई अझै आर्थिक तवरमा सहयोग गर्छन्। फलतः, प्रायोजकहरू सञ्चार माध्यममा प्रकाशित हुने विषयवस्तुमा प्रभुत्व जमाउने कोसिस गर्छन्।
उदाहरणका लागि: सन् १९९३ मा विलासी मोटरगाडी उत्पादन गर्ने एउटा जर्मन कम्पनीले ३० वटा पत्रिकाहरूलाई तिनीहरूका कारको विज्ञापन “उचित सम्पादकीय वातावरणमा मात्र” होस् भनी आदेश दिए। तिनीहरूको विज्ञापन भएको अंकमा तिनीहरूको कार, जर्मन सामान वा जर्मनीबारे कुनै पनि आलोचनात्मक लेखहरू छाप्न पाइँदैन भनेर त्यस पत्रमा भनिएको थियो। निस्सन्देह, पत्रपत्रिकामा विज्ञापन गर्न मात्रै १५ लाख अमेरिकी डलर खर्च गर्ने यस कम्पनीले “उचित सम्पादकीय वातावरणको” माग गर्नु कुनै अचम्मको कुरा होइन।
अतः दुलहीको नयाँ लुगाको विज्ञापन गर्ने पत्रिकाले दुलहीको पुरानो लुगाको विज्ञापन गर्न अस्वीकार गर्दा वा घडेरीका दलालहरूको सूची प्रकाशित गर्ने अखबारले दलालबिना घर कसरी किन्ने नबताउँदा, केही छक्क मान्नु पर्दैन। त्यस्तैगरि, चुरोट वा चिट्ठाको विज्ञापन गर्ने सञ्चार माध्यमले धूम्रपान वा जुवाको टीका-टिप्पणी नगर्दा पनि गजब मान्नु पर्दैन।
उपभोक्ताजगत्
अतः विज्ञापनको शक्ति माल बेच्नुमा मात्रै सीमित छैन। यसले उपभोक्ताको निम्ति एक प्रकारको जीवनशैली अर्थात् भौतिक चीजबीजहरूमा केन्द्रित विश्वव्यापी समाजको प्रवर्धन गर्छ।
के त्यसमा कुनै खराबी छ? यो त तपाईंले कसलाई प्रश्न गर्नुहुन्छ, त्यसमै भर पर्छ। मानिसहरू सामान किन्न तथा उपभोग गर्न रुचाउँछन् र विज्ञापनले ती इच्छा पूरा गर्न मदत गर्छ भन्ने तर्क विज्ञापकहरू गर्छन्। यसबाहेक विज्ञापनले काम सृजना गर्छ, खेल तथा कला प्रदर्शनीहरूको प्रायोजन गर्छ, हैसियतले भ्याउने सम्मको सञ्चार माध्यम उपलब्ध गर्न मदत गर्छ, प्रतिस्पर्धालाई प्रोत्साहित गर्छ, उत्पादनको गुणस्तर बढाउँछ, मूल्य वृद्धि हुन दिंदैन र मानिसहरूले प्राप्त जानकारीको आधारमा छनौट गर्नसक्छन् भनी बताउँछ।
कतिपय मानिसहरू चाहिं विज्ञापनले मानिसहरूलाई बेचैनी तथा आफूसित भएको मालसित असन्तुष्ट बनाउँछ र असीमित चाहनाहरू सृजना गर्छ भन्ने दाबी गर्छन्। अनुसन्धानकर्ता आलेन ड्युरिंग लेख्छन्: “विज्ञापन हाम्रो समयजस्तै अस्थायी, अति विलासी, सपना तथा कल्पनाले भरिएको र फेसनका लहरहरूद्वारा प्रभावित छन्, तिनीहरूले व्यक्तिविशेषको गुनगान गाउँछन्, व्यक्तिगत सन्तुष्टिको निम्ति उपभोग गर्नु आदर्श मान्छन् र भविष्य राम्रो हुनु, नहुनु प्राविधिक उन्नतिमै निर्भर हुन्छ भन्ने विचार राख्छन्।”
तपाईंमाथि यसको प्रभुत्व
के व्यवसायिक विज्ञापनहरूले हाम्रो व्यक्तित्व र चाहनालाई मोड्न मदत गर्छ? सायद। तथापि, त्यसको प्रभाव कम हुने हो वा बेसी, अन्य कुराहरूले नै फरक पार्छन्।
हामी बाइबल सिद्धान्त तथा मूल्य मान्यताहरूबाट निर्देशित छौं भने भौतिक कुराहरू हुनुमा कुनै खराबी छैन भनेर बुझ्नेछौं। आखिरमा, परमेश्वरले अब्राहाम, अय्यूब, सुलेमान तथा अरूलाई निकै धनसम्पत्ति दिनुभएको थियो।
अर्कोतर्फ हामीले धर्मशास्त्रीय सिद्धान्तहरू अपनायौं भने कहिल्यै नसिद्धिने भौतिक चाहनाहरूको पछि लागेर सन्तुष्टि अनि सुख खोज्ने मानिसहरूजस्तै असन्तुष्ट हुनेछैनौं। बाइबलको सन्देश “एक कौडी बाँकी भएसम्म किनमेल गर्नू” होइन। बरु यसो भन्छ:
परमेश्वरमा भरोसा राख्नुहोस्। “यस वर्त्तमान संसारका धनीहरूलाई कड़ा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्, र अनिश्चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्वरमाथिनै आशा राखून्।”—१ तिमोथी ६:१७.
सन्तुष्ट हुनुहोस्। “हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं, तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।”—१ तिमोथी ६:७, ८.
भद्र हुनुहोस्। “त्यही किसिमले स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्। कपाल सिंगारेर बाटेको, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन। तर असल कामहरूद्वारा (जो भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ)।”—१ तिमोथी २:९, १०.
धनसम्पत्तिभन्दा ईश्वरीय बुद्धि श्रेष्ठ छ भनी बुझ्नुहोस्। “बुद्धि पाउने र समझ-शक्ति प्राप्त गर्ने मानिस सुखी रहन्छ। किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसबाट हुने फाइदा सुनभन्दा बढ़ी हुन्छ। त्यो मूगा-मोतीभन्दा पनि बहुमूल्य हुन्छ, र तेरा सबै रत्नहरू त्यसको बराबरी हुनैसक्तैन। बुद्धिको दाहिने हातमा दीर्घायु र त्यसको देब्रे हातमा धन र यश हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू उन्नतितिर लान्छन्। त्यसलाई समात्नेहरू सबैका निम्ति त्यो जीवनको सहारा हो, र त्यसलाई बलियोगरी समात्नेहरू सुरक्षित रहन्छन्।”—हितोपदेश ३:१३-१८.
दिने बानी बसाल्नुहोस्। “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.
तर कसैले भन्ला, यी लेखका श्रृंखलाहरू आफै पनि त एक प्रकारको विज्ञापन नै हो नि, जसले भौतिकताको पछि लागेर आध्यात्मिक मूल्य मान्यताहरूलाई बेवास्ता गर्नु हुँदैन भन्ने विचारको “प्रवर्धन” गर्छ। निस्सन्देह, तपाईं त्यस निष्कर्षसित सहमत हुनुहुनेछ।
[पृष्ठ ९-मा भएको पेटी]
परमेश्वरको राज्यको विज्ञापन गर्ने
मानिसहरूसमक्ष प्रभावशाली सन्देश पुऱ्याउने सबैभन्दा उत्तम तरिका कुन हो? विज्ञापन: सिद्धान्त तथा अभ्यास (अंग्रेजी) पुस्तक भन्छ: “एउटा आदर्श संसारमा हरेक उत्पादकले प्रत्येक उपभोक्तासित आफ्नो उत्पादनबारे वा बिक्रीको निम्ति उपलब्ध सेवाबारे व्यक्तिगत रूपमा बताउनसक्नेछ।” साँचो मसीहीहरूले झन्डै २,००० वर्षदेखि यही तरिका अपनाएर परमेश्वरको राज्यबारे प्रचारप्रसार गर्दै आएका छन्। (मत्ती २४:१४; प्रेरित २०:२०) थुप्रै व्यापारीहरूले मानिसहरूसमक्ष पुग्न यो तरिका किन अपनाउँदैनन्? सोही पुस्तक बताउँछ: “यो अत्यन्तै महँगो छ। बिक्रेता यसरी घर-घर जाँदा प्रति भेट १५० अमेरिकी डलरभन्दा बढी खर्च लाग्नसक्छ।” निस्सन्देह, मसीहीहरूले परमेश्वरको राज्यबारे स्वेच्छाले “विज्ञापन” गर्छन्। यो तिनीहरूको उपासनाको भाग हो।
[पृष्ठ ८-मा भएको चित्र]
बाइबलले “एक कौडी बाँकी भएसम्म किनमेल गर्नू” भन्दैन