प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १०/८ पृ. ६-८
  • आशा र प्रेम हराउँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आशा र प्रेम हराउँदा
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जीवन बचाउने गुन?
  • आशाविहीन हुनसक्छ
  • आत्महत्या—जवानहरूमाझ व्याप्त पीडादायी समस्या
    ब्यूँझनुहोस्‌!—१९९८
  • एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००१
  • मानिसहरू जीवनदेखि किन हरेस खान्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • आत्महत्या—लुकेको महामारी
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १०/८ पृ. ६-८

आशा र प्रेम हराउँदा

सत्र वर्षीया क्यानेडियाली केटीले आफू मर्न चाहेको कारण लेखिन्‌। तिनले लेखेका कारणहरूमध्ये कतिपय यस्ता थिए: ‘एक्लो महसुस गर्नुका साथै मेरो भविष्यप्रतिको डर; सहकर्मीहरूको तुलनामा आफू तुच्छ भएको आभास; परमाणु युद्ध; ओजोन तह; म कुरूप भएकोले कहिल्यै श्रीमान्‌ पाउने छुइनँ र जीवनभर एक्लो हुनेछु; बाँच्ने खास केही कारणहरू नै छैनन्‌ त्यसलै बाँकी के छ भनेर किन बेकारमा पर्खिरहने; म मरे भने कसैमाथि पनि बोझ हुने छैन; मैले कसैबाट कहिल्यै चोट खानु पर्नेछैन।”

जवानहरूले आत्महत्या गर्नुको केही कारण के यी नै हुनसक्छन्‌? क्यानाडामा “अहिले, सवारीसाधन दुर्घटनाबाहेक जवानहरूको मृत्यु हुने सबैभन्दा सामान्य कारण आत्महत्या हो।”—द ग्लोब एण्ड मेल।

दक्षिण अस्ट्रेलियास्थित फ्लाइन्डर्स युनिभर्सिटीका प्राध्यापक रियाज हसन आफ्नो पत्रमा बताउँछन्‌, “छोटो जीवन: युवा आत्महत्याको लहर”: “युवाहरूले आत्महत्या किन गर्छन्‌ र यसको बढौतीमा महत्त्वपूर्ण भूमिका खेल्ने थुप्रै सामाजिक कारणहरू छन्‌। ती हुन्‌, बेरोजगार युवाहरूका बढ्‌दो संख्या; अस्ट्रेलियाली परिवारिक संरचनामा परिवर्तन; लागूपदार्थको बढ्‌दो प्रयोग र दुर्व्यसन; बढ्‌दो युवा हिंसा; मानसिक स्वास्थ्य; अनि ‘सैद्धान्तिक स्वतन्त्रता’ र प्रयोगात्मक स्वशासनबीच बढ्‌दो अन्तर।” उक्‍त पत्र अझ भन्छ, थुप्रै सर्वेक्षणहरूले भविष्यबारे आशावादी नभएको दृष्टिकोण प्रकट गरेका छन्‌ अनि “थुप्रै युवाहरू आफ्नो र संसारको भविष्यबारे त्रसित हुनुका साथै सशंकित छन्‌। तिनीहरूको आँखामा संसार परमाणु युद्धले नष्ट पारेको अनि प्रदूषण तथा बिग्रंदो वातावरणले तहसनहस भएको र नियन्त्रण बाहिर भइसकेको प्रविधि अनि बेरोजगारी व्याप्त अमानवीय समाजको तस्बिर झलझली आउँछ।”

सोह्रदेखि चौबीस वर्षसम्मका व्यक्‍तिहरूसित लिइएको सर्वेक्षणले आत्महत्याको थप कारणहरूमा धनी र गरिबबीचको बढ्‌दो अन्तर, आमा वा बुबा मात्र भएको परिवारको वृद्धि, हातहतियारको बढ्‌दो प्रयोग, बाल दुर्व्यवहार र “भविष्यप्रति भरोसा नहुनु” हुन्‌ भनेर देखायो।

न्युजवीक-अनुसार संयुक्‍त राज्यमा “[किशोरकिशोरी आत्महत्याको] सबैभन्दा प्रमुख तत्त्व हातहतियार हुनसक्छ। कुनै मानसिक गडबडी नभए तापनि आत्महत्या गर्ने युवायुवतीहरू र आत्महत्या नगर्ने केटाकेटीहरूबीच तुलना गरेको एउटा अध्ययनले एउटै मात्र भिन्‍नता पायो: घरमा गोली भरिएको बन्दुक। बन्दुक घरमा राख्दैमा खतरा हुँदैन भन्‍ने तर्क गर्दै कोही कोही मानिसहरू भन्‍ने गर्छन्‌, बन्दुकले होइन मान्छेले मान्छे मार्छ।” अनि लाखौंले घरमा गोली भरिएको बन्दुक राख्छन्‌!

डरलाग्दो अनि अरूको वास्ता नगर्ने समाजले निस्सहाय युवाहरूलाई आत्महत्या गर्ने हदसम्म पुऱ्‍याउन बेर लाउँदैन। विचार गर्नुहोस्‌: १२ देखि १९ वर्षेहरू विरुद्ध गरिएको हिंसात्मक अपराधको दर सम्पूर्ण जनसंख्या विरुद्ध गरिएको अपराधभन्दा दुई गुना बढी छ। म्याक्लिन्स पत्रिकाले बताएअनुसार “१४ देखि २४ वर्षका जवान युवतीहरूमाथि प्रायः आक्रमण गरिन्छ” भनेर अध्ययनबाट थाह लाग्यो। “महिलाहरू प्रायजसो तिनीहरूलाई माया गरेको दाबी गर्ने मानिसहरूबाटै आक्रमण र हत्याका शिकार बन्छन्‌।” परिणाम? यी र अन्य डरहरूले “ती केटीहरूको विश्‍वास र सुरक्षाको आभासलाई चकनाचूर पार्छ।” एउटा अध्ययनमा, अन्तरवार्ता लिइएका बलात्कृतहरूमध्ये एक तिहाइले आत्महत्या गर्ने इच्छा व्यक्‍त गरेको पाइयो।

न्युजील्याण्डको रिपोर्टले युवा आत्महत्याको कारण यो पनि हुनसक्छ भनेर बताउँछ: “व्याप्त भौतिकवाद, व्यक्‍तिगत सफलतालाई धनसित दाँज्ने सांसारिक मूल्य र मान्यता, आकर्षक रूपरंग र शक्‍तिले थुप्रै जवानहरू आफूलाई अयोग्य र समाजबाट त्यागिएको महसुस गर्छन्‌।” यसबाहेक, द फ्युचरिस्ट यसो भन्छ: “[युवाहरूको] तुरुन्तै तृप्त हुने स्वाभाविक झुकाउ हुन्छ, सबै कुरा चाँडै प्राप्त गर्न चाहन्छन्‌। तिनीहरूलाई मन पर्ने टिभी कार्यक्रमहरू भनेको धारावाहिक टेलिश्रृंखलाहरू हुन्‌। तिनीहरू ती कार्यक्रमहरूमा देखाइएका सुन्दर र आकर्षक पुरुषहरूजस्तै कुनै मेहनतै नगरिकन प्रशस्त धन र प्रतिष्ठा कमाउन, अत्याधुनिक फेसनदार लुगा लगाउन चाहन्छन्‌।” यस्ता अवास्तविक, पूरा हुन नसक्ने प्रत्याशाहरूले निराश बनाउँछ र आत्महत्या गर्नसम्म पनि उक्साउनसक्छ।

जीवन बचाउने गुन?

शेक्सपियरले लेखे: “प्रेम झरीपछिको सूर्यको किरणजस्तै सान्त्वनादायी हुन्छ।” बाइबल भन्छ: “प्रेम कहिल्यै टल्दैन।” (१ कोरिन्थी १३:८) आत्महत्या गर्न खोज्ने जवानहरूको समस्याको एउटा जड त्यही गुनमा पाइन्छ। त्यो हो—प्रेम र खुलस्त वार्तालापको चाहना। दी अमेरिकन मेडिकल एसोसिएसन इन्साइक्लोपीडिया अफ मेडिसिन यसो भन्छ: “साधारणतया, आत्महत्या गर्ने झुकाउ भएका मानिसहरू अत्यन्तै निराश र एक्लो महसुस गर्छन्‌ र कहिलेकाहीं सान्त्वनादायी, समझदार मानिससित कुरा गर्न पाएमा मात्र पनि तिनीहरू यस्तो निराशाजनक कार्य गर्नदेखि अलग रहनसक्छन्‌।”

युवाहरूलाई अक्सर प्रेम र पारस्परिक सम्बन्धको निकै खाँचो पर्छ। आफूले भनेको केही नलाग्ने वा कसैले नसुन्‍ने यस प्रेमरहित र विनाशक संसारमा ती खाँचो पूरा गर्न दिनप्रति दिन झन्‌ झनै कठिन हुन्छ। परिवार टुक्रिंदा र आमाबाबुले पारपाचुके गर्दा छोराछोरी आफूलाई आमाबाबुले तिरस्कार गरेको महसुस गर्छन्‌। यस्तो भावनाले गर्दा पनि किशोरकिशोरीहरू आत्महत्या गर्नसक्छन्‌। अनि यस्तो तिरस्कार थुप्रै तरिकामा प्रकट हुन्छ।

आफ्ना छोराछोरीसित घरमा विरलै समय बिताउने आमाबाबुलाई विचार गरौं। आमाबाबु आ-आफ्नो जागिरमा व्यस्त होलान्‌ वा कतै मनोरञ्जन गर्दा छोराछोरी आफूसँगै नहोलान्‌। यस्तो अवस्थाले तिनीहरूका छोराछोरीमा आफूलाई आमाबाबुले त्यागेको भान पार्छ। प्रख्यात पत्रकार तथा अनुसन्धानकर्ता ह्‍यु मके बताउँछिन्‌, “आमाबाबुहरू आफूबारे मात्र बढी सोच्ने भइरहेका छन्‌। पहिला आफ्नै जीवनशैली कायम राख्न खोज्छन्‌। . . . दुःखको कुरा, अचेल केटाकेटीलाई सकारात्मक दृष्टिकोणले हेरिंदैन। . . . जीवन कठिन छ, मानिसहरू आफ्नै कुरामा मात्र तल्लीन हुन्छन्‌।”

त्यसैले, कुनै कुनै संस्कृतिमा मर्द हुँ भनी सोच्ने पुरुषहरू छोराछोरीको देखभाल गर्ने व्यक्‍तिको रूपमा देखिन चाहँदैनन्‌। पत्रकार केट लेग ठीकै भन्छन्‌: “सामाजिक सेवा गर्ने झुकाउ भएका पुरुषहरू साधारणतया छोराछोरीको लालनपालन गर्ने कामभन्दा बरु जीवन बचाउने वा सशस्त्र लडाइँ लड्‌ने जस्ता कार्य रुचाउँछन्‌। . . . तिनीहरू मानिसहरूसित अन्तरक्रिया र देखभाल गर्नुपर्ने कार्यभन्दा यताउता संघर्ष गरेर बलियो, मौन वीरता कमाउने कार्य गर्न रुचाउँछन्‌।” अनि निस्सन्देह, आज सबैभन्दा ठूलो समाजसेवा नै आमाबाबु हुनु हो। आमाबाबुले आफ्नो दायित्व हल्कासँग लिनु भनेको छोराछोरीलाई त्याग्नु बराबर हो। परिणामस्वरूप, तपाईंको छोरा वा छोरीले आफूलाई तुच्छ ठान्‍नसक्छन्‌ साथै समाजमा उपयोगी हुन पनि सिक्नसक्दैनन्‌। दी एजुकेसन डाइजेस्ट बताउँछ: “केटाकेटीले आफूलाई तुच्छ ठानुञ्जेल आफ्नै हित हुने कुराहरूमा पनि ठीकसित निर्णय गर्नसक्दैनन्‌।”

आशाविहीन हुनसक्छ

आत्महत्या गर्ने एउटा मुख्य कारण आशाविहीन भावना हो भनेर अनुसन्धानकर्ताहरू विश्‍वास गर्छन्‌। युवा आत्महत्यासम्बन्धी अस्ट्रेलियाकी लेखिका गेल मेसनले भनिन्‌: “उदासिनताको भावनाभन्दा आशाविहीन भावनाले नै धेरै मात्रामा आत्महत्या गर्न उक्साउँछ। कहिलेकाहीं आशाविहीन उदासिनताकै एउटा लक्षण हो भनेर भनिन्छ। . . . सामान्यतया, यसले आम अर्थमा जवानहरूको भविष्यसम्बन्धी नैराश्‍य र दिक्दारी अनि विशेषगरि तिनीहरूको आर्थिक भविष्य र केही हदसम्म विश्‍व परिस्थिति देखेर पनि विरक्‍त हुन सकिन्छ।”

जन नेताहरूका इमानदारीको फितलो उदाहरणहरूले युवाहरूलाई तिनीहरूको नैतिक सिद्धान्त तथा आचरणको स्तर सुधार्न प्रेरित गर्दैन। त्यसैले, “किन इमानदार हुने र?” भन्‍ने मनोवृत्ति विकास हुन्छ। अन्य मानिसहरूको लोकाचार पत्ता लगाउने युवावर्गका क्षमताबारे हार्पर्स म्यागाजिन-ले यस्तो टिप्पणी गऱ्‍यो: “लोकाचार पत्ता लगाउने तीखो समझ भएका जवानहरू वास्तवमा विज्ञ पाठक हुन्छन्‌। तर किताबका पाठक चाहिं होइनन्‌। तिनीहरू बाँचिरहेको समाजबाटै तिनीहरूले यस्ता संकेतहरूको तीक्ष्ण अध्ययन गर्छन्‌।” अनि ती संकेतहरूले के प्रस्ट्याउँछन्‌? लेखिका स्टफेनी डाउरिक भन्छिन्‌: “कसरी बाँच्नुपर्छ भनेर सिकाउने यति बिघ्न जानकारीको थुप्रो पहिला कहिल्यै थिएन। हामीहरू पहिले कहिल्यै यत्तिका धनी वा शिक्षित थिएनौं। तैपनि, चारैतिर निराशै निराशा छ।” अनि राजनैतिक तथा धार्मिक क्षेत्रको उच्च ओहदामा भएकाहरू कमैले मात्र असल नमुना बसालेका छन्‌। डाउरिक यसैसित सम्बन्धित यस्ता प्रश्‍नहरू सोध्छिन्‌: “अर्थहीन दुःखकष्टबाट हामी बुद्धि, प्रतिरोधात्मक क्षमता अनि अर्थसमेत कसरी निकाल्नसक्छौं? स्वार्थ, खराब मिजास र लोभले भरिएको परिवेशमा हामीले कसरी प्रेम खेती गर्ने?”

तपाईंले यी प्रश्‍नको जवाफ हाम्रो अर्को लेखमा पाउनुहुनेछ र सायद त्यो पढ्‌नुभएर तपाईं छक्क पनि पर्नुहोला।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“थुप्रै जवानहरू आफ्नो र संसारको भविष्यबारे त्रसित हुनुका साथै सशंकित छन्‌”

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“कहिलेकाहीं सान्त्वनादायी, समझदार मानिससित कुरा गर्न पाएमा मात्र पनि तिनीहरू यस्तो निराशाजनक कार्य गर्नदेखि अलग रहनसक्छन्‌”

[पृष्ठ ६-मा भएको पेटी]

आत्महत्याका केही संकेतहरू

• निद्रा नलाग्नु र खाना नरुच्नु

• एकलकाँटे र अरूबाट अलग्गिनु, घरीघरी दुर्घटनामा पर्नु

• घरबाट भाग्नु

• रूपरंगमा आमूल परिवर्तन आउनु

• लागूपदार्थ र/वा मदिरा दुर्व्यसन

• उत्तेजित र झगडालु हुनु

• मृत्युबारे कुरा गर्नु; आत्म-विनाश गर्ने लिखित सन्देशहरू; विशेषगरि आफ्नै विरुद्धमा हिंसात्मक घटना भएको चित्र कोर्नु

• दोषी भावना

• आशाविहीन भावना, फिक्री, उदास, बिना कारण त्यसै रुनु

• आफ्नो चीजबीज अरूलाई बाँड्‌न थाल्नु

• लामो समयसम्म ध्यान केन्द्रित गर्न नसक्नु

• रमाइलो क्रियाकलापमा चासो हराउनु

• आत्म-आलोचना

• जथाभावी लैंगिक सम्पर्क राख्नु

• स्कूलको क्रियाकलापमा अचानक भाग लिन छाड्‌नु, स्कूलल नजानु

• पन्थ वा गिरोहको सदस्य बन्‍नु

• निराशापछि उल्लसित हुनु

संकटमा परेका किशोरकिशोरीहरू (अमेरिकी स्कूल प्रशासकहरूको संगठन) र फिलिप जी. प्यट्रस र टानिया के. शामुद्वारा लिखित केटाकेटी तथा वयस्कहरूमा निराशा र आत्महत्या-मा (अंग्रेजी) आधारित

[पृष्ठ ७-मा भएको चित्र]

न्यानो माया र स्नेहले युवाहरूलाई आफ्नो जीवन मूल्यवान्‌ ठान्‍न मदत गर्नसक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने