पाठकहरूका प्रतिक्रिया
क्षयरोग “क्षयरोग—यो ज्यानमाराले फेरि उत्पात मच्चायो” श्रृंखलाको निम्ति आभारी छु। (जनवरी ८, १९९८) मलाई १९८८ मा टिबी रोग लागेको थियो र अहिले निको भइसकें। बिरामीले “नबिराई” औषधी खानुपर्छ भनी तपाईंहरूले औंल्याउनुभएको कुरा शत प्रतिशत सही हो।
वाइ. एल., फ्रान्स
त्यति धार्मिक झुकाउ नभएको मेरी सासुले टेबुलमा यो पत्रिका देखेर पढ्नुभयो। घर लान मिल्छ कि भनेर उहाँले मलाई सोध्नुभयो। मैले उहाँलाई ब्यूँझनुहोस्!-को अर्को दुइटा अंक पनि दिएँ। तपाईंहरूले हरेक अंक प्रकाशित गर्न लगाउनु भएको मेहनतको लागि धन्यवाद।
एल. एन., संयुक्त राज्य
मलाई ११ वर्षअघि टिबी लागेको थियो। प्रस्तुत गरिएका जानकारीहरू अत्यन्तै सही थिए। उक्त पत्रिका पढ्दा त कहिलेकाहीं मलाई आफ्नै अनुभव पढिरहेको जस्तो लाग्थ्यो। जीवनको वरदान र हाम्रो स्वास्थ्यको ख्याल राख्न ब्यूँझनुहोस्! मार्फत नियमित तवरमा प्राप्त हुने सल्लाहको लागि यहोवालाई धन्यवाद।
जि. बि., इटाली
मैले यो रोग लागेकोले छ महिनासम्म औषधी खानुपऱ्यो। तपाईंहरूको लेख मार्फत यस ज्यानमारा रोगबारे अझ बढी बुझ्ने मदत पाएँ। अझ महत्त्वपूर्ण कुरा त, परमेश्वरको राज्यद्वारा यस समस्याको विश्वव्यापी समाधान हुनेछ भन्ने विश्वास अझ सुदृढ भएको छ।
पि. पि., इन्डोनेसिया
हरेक जानकारी हासिल गर्ने व्याकुलता “हरेक जानकारी हासिल गर्ने व्याकुलता—तपाईं कसरी प्रभावित हुनुहुन्छ?” (जनवरी ८, १९९८) (अंग्रेजी) श्रृंखलाको लागि तपाईंहरूलाई धन्यवाद दिन यो पत्र लेख्दैछु। मलाई पढ्न रमाइलो लाग्छ तर मैले अहिले पो थाह पाएँ उपलब्ध सबै जानकारी हासिल गर्न म व्याकुल हुँदो रहेछु। यी लेखहरूले मलाई सन्तुलित विचारधारा राख्न मदत गऱ्यो।
एम. ई., इटाली
म तपाईंहरूलाई त्यस्तो विस्तृत लेखहरूको निम्ति बधाइ दिन चाहन्छु। हाम्रो शैक्षिक तथा सञ्चार माध्यम प्रविधि संघको समाचार पत्रिकामा परिचयात्मक लेख छाप्न अनुमति पाए म अत्यन्तै आभारी हुने थिएँ। आज संसारमा जानकारीहरूको छेलोखेलो छ र यस्तै लेखहरूद्वारा मात्र साँचो जानकारी प्राप्त गर्न सकिन्छ र यस जानकारी युगको सामना गर्न मदत मिल्नेछ।
जि. डि., घाना
यो लेख छाप्नको निम्ति अनुमति दिइयो।—सम्पादक।
परमेश्वरसित डर? “बाइबलको दृष्टिकोण: प्रेमको परमेश्वरसित पनि डर लाग्छ र?” लेखको निम्ति म तपाईंहरूलाई धन्यवाद व्यक्त नगरी बस्न सक्दिनँ। (फेब्रुअरी ८, १९९८) केही समयअघिदेखि मेरो मनमा त्यही प्रश्न खट्किरहेको थियो। परमेश्वरसित डराउनु भनेको उहाँलाई अप्रसन्न नतुल्याउने स्वास्थ्यकर भय हो भनी मैले बुझेकी थिएँ। तरैपनि यस विषयलाई अझ विस्तृत रूपमा बुझ्नुपर्ने महसुस हुन्थ्यो। मैले यस लेख पढें। बल्ल, परमेश्वरसित डराउनु भनेको के हो भनी सन्तोषजनक जवाफ पाएँ!
एम. जे. टि., संयुक्त राज्य
छोराछोरीहरू घर छोडेर जाँदा “जब छोराछोरीहरू घर छोडेर जान्छन्” श्रृंखलाको लागि म कृतज्ञ छु। (फेब्रुअरी २२, १९९८) मेरा ती अनमोल छोराछोरीहरूले घर छोडेर जाँदा पीडादायी र असह्य भएको थियो। तर तपाईंहरूले भन्नुभएका कुराहरू सही हो। सुरुसुरुमा घर रित्तो लागे तापनि समयको दौडान त्यति न्यास्रो लाग्दैन। हामी आमाबाबुले आफ्नो वैवाहिक बन्धनलाई अझ प्रगाढ बनाउनसक्छौं।
ए. ई., क्यानाडा
ती लेखहरू मेरो प्रार्थनाको जवाफ थियो। बच्चाहरू घर छोडेर जाँदा कलह र झगडाको बीउ पनि हुनसक्छ। तर यस लेखमा दिइएको असल सल्लाह व्यवहारमा उतार्दा शान्ति र प्रेमले विजय हासिल गर्नसक्छ।
पि. एन., फ्रान्स
ती लेखहरू मेरै निम्ति लेखिएको जस्तो लाग्यो। मैले पूर्णसमय सुसमाचारकहरूको आवश्यकता भएको ठाउँमा सेवा गर्न हालै घर छोडें। यी लेखहरूले मलाई मेरा आमाबाबुहरूको भावना बुझ्न र उहाँहरूलाई छोडेर आएकोमा आत्मग्लानी महसुस नगर्न मदत पाएँ। यसबाहेक, “हुर्किसकेका छोराछोरीहरूका लागि सुझाउ—बिछोडको पीडा सामना गर्न आमाबाबुलाई मदत गर्नुहोस्”-मा दिइएका सल्लाहहरू पालन गर्नेछु। म टाढै भए तापनि आमाबाबुसँगै नजिक भएको महसुस गर्नसक्ने छु। चाहिएको बेलामा दिनुभएका यस्ता लेखहरूको लागि धन्यवाद।
जि. यु., इटाली