पाठकहरूका प्रतिक्रिया
डाउन अन्डर अस्ट्रेलियाबारे “डाउन अन्डरको जीवन भिन्नै छ” विषयक न्यानो तर जीवन्त लेखको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। (नोभेम्बर ८, १९९७) यस रोचक तथा विविधताले भरिएको देशबारे मैले निकै लेखहरू पढेकी छु तर यहोवाको अद्भुत सृष्टिप्रति हामी कत्तिको कृतज्ञ हुनुपर्छ भनी बुझ्न यो लेखले मदत गऱ्यो।
एल. के., जर्मनी
समस्यारहित प्रमोदवन “समस्यारहित प्रमोदवन—कहिले?” भन्ने लेखहरूको श्रृंखलाको लागि म निकै कृतज्ञ छु। (नोभेम्बर ८, १९९७) म जन्मिनुअघि नै मेरो हजुरआमाको मृत्यु भयो। उहाँको मृत्यु क्यान्सरले भएको थियो। तर प्रमोदवनमा कोही पनि बिरामी हुनेछैन। यस लेखले मलाई विश्वासी रहन प्रोत्साहन दियो ताकि प्रमोदवनमा मैले उहाँलाई भेट्न पाउनेछु।
एम. जे., ट्रिनिडाड
जीवजन्तु निदाउनु “जीवजन्तु निदाउनुका विशेषताहरू” लेखको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। (नोभेम्बर ८, १९९७) लेख हाँसउठ्दो थियो र मैले सृष्टिबारे केही अद्भुत कुराहरू सिकें।
जे. जि., पोर्टो रिको
मैले एउटा माछा पालेकी छु र माछा सुत्छ कि सुत्दैन भनी सधैं जान्न चाहन्थें। अतः माछा टक्क अडेको देख्दा त्यो आराम गरिरहेको हो भनी थाह पाउँदा खुसी लाग्यो।
ए. पि. एल. एम., ब्राजिल
जुत्ताले दुखायो “जुत्ताले दुखायो, के गर्ने” (नोभेम्बर ८, १९९७) लेख मुख्यतया महिलाहरूको लागि लेखिएको जस्तो छ। तर त्यो लेख पढेको केही दिनपछि मेरो श्रीमान्ले उहाँको जुत्ताले दुखाएको गुनासो गर्नुभयो। उहाँले यस्तो गुनासो सात वर्षअघि देखि गर्दै आउनुभएको छ। त्यो लेखमा पढेको कुरा सम्झेर हामी जुत्ता पसलमा गयौं। तपाईं पत्याउनैहुन्न होला—उहाँलाई साइज ९ को फराकिलो जुत्ता चाहिएको थियो जबकि उहाँले लगाइरहनुभएको साइज ८ मझौला थियो! उहाँलाई जुत्ताले दुख्ने अहिल्यै कम भइसक्यो, ब्यूँझनुहोस्!-लाई धन्यवाद छ।
एस. जे., संयुक्त राज्य
मैले दिनभरि जसो उभिएर काम गर्नुपर्छ र अग्लो हिल लगाउने बानी भएकोले मेरो खुट्टा दुख्न थालेको थियो। यो महिना मैले सहायक अग्रगामी (आंशिक समय सुसमाचारक) गरें र त्यो लेखले गर्दा तीन जोर आरामदायी जुत्ता किनें। हाम्रो स्वास्थ्यप्रति चासो लिनुका साथै हामीलाई जानकारी दिनुभएको लागि धन्यवाद।
सि. एल., जर्मनी
भाइबहिनीको समस्या “युवा जनहरू सोध्छन् . . . मलाईभन्दा भाइबहिनीलाई किन धेरै माया?” (नोभेम्बर ८, १९९७) हामीलाई चाहिएकै बेला पायौं। भिन्नाभिन्नै व्यवहार अन्याय होइन भनेर बुझ्न हामीले मदत पायौं। हाम्रा भाइबहिनीलाई आमाबाबुले बढ्ता माया गर्नुको कारण हामीले बुझेका छौं। हामी यो लेखको कुरामा शत प्रतिशत सहमत छौं।
बि. के., एच. के., र जि. यु. ओ., नाइजेरिया
ध्वनि प्रदूषण मैले एउटा ठूलो कारखानामा काम गरेको वर्षौं भइसक्यो र मेरा केही साथीहरूलगायत मैले चर्को आवाजका असरहरू भोगेको छु। मैले डिसेम्बर ८, १९९७ अंक (“ध्वनि प्रदूषण—सबैभन्दा खराब प्रदूषक?”) काममा लगें र व्यवस्थापन समितिले कामदारहरूको स्वास्थ्य सुरक्षाको लागि आवश्यक कदम चाल्ने निधो गरेको छ।
आर. पि., इटाली
केही वर्षदेखि मेरो छिमेकीको हल्ला सुन्दा सुन्दा म वाक्क भइसकें। तिनको व्यापार राति अबेरसम्म चालू रहन्छ। कहिलेकाहीं त म रिसले चूर भएको छु। तर ध्वनि प्रदूषणको सिकार भएका अरू मसीही भाइबहिनीहरू आत्मसंयमी भएको थाह पाउँदा बल प्राप्त गरें।
टि. ओ., जापान