प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ६/८ पृ. २१-२४
  • क्षयरोगविरुद्ध नयाँ अभियान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षयरोगविरुद्ध नयाँ अभियान
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अब खुसीको खबर
  • यो कत्तिको प्रभावकारी छ?
  • व्यापक त होइन—तर प्रगति चाहिं हो
  • विजय तथा विपत्ति
    ब्यूँझनुहोस्‌!—१९९८
  • घातक मित्रता
    ब्यूँझनुहोस्‌!—१९९८
  • फेरि क्षयरोगको प्रकोप!
    ब्यूँझनुहोस्‌!—१९९६
  • विश्‍वव्यापी समाधान-के यो सम्भव छ?
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ६/८ पृ. २१-२४

क्षयरोगविरुद्ध नयाँ अभियान

क्षयरोग (टिबी) मानिसहरूको सबैभन्दा पुरानो सरुवा रोग हो। साँच्चै, क्षयरोग यत्ति खतरनाक रोग हो कि विश्‍व स्वास्थ्य संघले (डब्लू एच ओ) यसलाई टाइम बमसँग तुलना गरेको छ। “हामीसित समय सीमित छ,” भनेर क्षयरोगसम्बन्धी डब्लू एच ओको रिपोर्टले चेताउनी दिन्छ। यदि मानिसले यो बमलाई निष्क्रिय पार्न सकेन भने एकदिन उसलाई पक्कै पनि औषधीले नछुने, “हावाबाट फैलिने र झन्डै एड्‌स जत्तिकै उपचारै नहुने क्षयरोग लाग्नसक्छ।” डब्लू एच ओ भन्छ, क्षयरोगको सम्भाव्य विनाशबाट बच्न जागा रहने समय आएको छ। “संसारका सास लिने हरेक प्राणीले यस खतराबारे चिन्ता गर्नु परेको छ।”

के यो बढाइचढाइ गरिएको त होइन? कदापि होइन। यस रोगले दस वर्षभित्रमा कनाडाको सम्पूर्ण जनसंख्याजति अनियन्त्रितरूपमा मारिरहेका छन्‌ भने मानिसहरू अब कति सतर्क रहनुपर्ने रहेछ कल्पना गर्नुहोस्‌ त! यसो सुन्दा कथा जस्तै लाग्ला तर यो खतरा वास्तविक हो। विश्‍वव्यापी रूपमा हेर्ने हो भने एड्‌स, औलो र उष्ण प्रदेशहरूमा हुने रोगहरू सबैको तुलनामा प्रत्येक दिन क्षयरोगले मात्र लगभग ८,००० मानिसहरू मर्छन्‌। हाल लगभग दुई करोड मानिसहरू सक्रिय क्षयरोगबाट पीडित छन्‌ भने अबको दस वर्षभित्रमा यस रोगबाट लगभग तीन करोड अर्थात्‌ कनाडाको जनसंख्याभन्दा बढी मानिसहरू मर्नसक्छन्‌।—“टिबीको विश्‍वव्यापी जकड,” पृष्ठ २२ को पेटी हेर्नुहोस्‌।

अब खुसीको खबर

तर आज हाम्रोलागि ठूलो प्रत्याशा छ। दस वर्षको जाँचपड्‌तालपश्‍चात्‌ अनुसन्धानकर्ताहरूले यो अनियन्त्रित ज्यानमारा क्षयरोगलाई नियन्त्रणमा ल्याउने योजना लिएर उत्रेका छन्‌। डब्लू एच ओ-को पूर्व महानिर्देशक डा. हिरोशी नाकाजीमाले यस योजनालाई “यस दसकको सबैभन्दा ठूलो प्रगति हो” भनेका छन्‌। अनि विश्‍वव्यापी क्षयरोग निराकरण अभियानसम्बन्धी डब्लू एच ओ-को निर्देशक डा. अराता कोची यसो भन्छन्‌, पहिलो पटक “क्षयरोग महामारी निर्मूल” गर्ने यो अभियान सफल भयो। कसरी? ‘डट्‌स!’ विधि अपनाएर।

डट्‌स, डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट, शर्ट-कोर्सको छोटो रूप अर्थात्‌ प्रत्यक्ष निगरानी उपचार विधि हो। यो एउटा स्वास्थ्य व्यवस्था प्रणाली हो जसबाट क्षयरोगीहरूलाई अस्पतालमा भर्ना नगरीकनै छ देखि आठ महिनासम्ममा निको पार्नसकिन्छ। डट्‌सलाई सफल बनाउने वा नबनाउने पाँच तत्त्वहरूमा भरपर्छ। यीमध्ये कुनै एक तत्त्व नभएमा रोगी निको हुने “मौका हातबाट गुम्छ।” यी आवश्‍यक तत्त्वहरू के हुन्‌ त?

● १. प्रत्यक्ष: रोग खुट्ट्याउन नसकिएको रोगी सबैभन्दा खतरनाक हुन्छ। यसर्थ, डब्लू एच ओ-ले आफ्नो इलाकामा भएका संक्रमक क्षयरोगले पीडितहरू पत्ता लगाउन स्वास्थ्यकर्मीहरूलाई प्रत्यक्ष रूपमा जाँचबुझ गर्न जोड दिन्छ।

● २. निगरानी: डट्‌सको दोस्रो तत्त्व रोगीसँग नभएर स्वास्थ्य उपचार प्रणालीसँग सम्बन्धित छ। स्वास्थ्यकर्मीहरू वा तालिम प्राप्त स्वयंसेवकहरू, जस्तै पसले, शिक्षक अथवा क्षयरोग निको भइसकेकाहरूले, बिरामीले क्षयरोगविरुद्ध औषधी खायो कि खाएन निगरानी गर्छ। यसलाई सफल बनाउन “रोगीमाथि निगरानी गर्नेहरूलाई” धेरै अप्ठ्यारो पर्छ, किनभने यसको मुख्य कारण क्षयरोगीहरूले केही दिन नबित्दै औषधी खान चट्ट छोडिहाल्छन्‌। औषधोपचार गरेको केही हप्तापछि आफूलाई अलि बिसेक भएजस्तो लाग्छ र औषधी खानै छोडिदिन्छन्‌। यद्यपि, क्षयरोगको किटाणुहरू निमिटयान्‍न पार्न कमसे कम छ देखि आठ महिनासम्म नबिराई औषधोपचार गर्नु आवश्‍यक पर्छ।

● ३. उपचार: ती महिनाहरूमा स्वास्थ्यकर्मीहरूले यस्तो उपचार-को परिणाम र रोगीमा सुधार छ छैन रिपोर्ट जाँच्छन्‌। यसरी बिरामी पूर्णतया स्वस्थ भयो र अब उप्रान्त उसले अरूलाई रोग सार्न सक्दैन भन्‍ने पक्का हुन्छ।

● ४. छोटो उपचार विधि: क्षयरोगविरुद्ध औषधीको सही मिश्रण र सही मात्राको प्रयोगलाई छोटो उपचार विधि भनिन्छ किनकि औषधी खान निर्देशन दिइएको समयावधि डट्‌सको चौथो तत्त्व हो। यी संयुक्‍त औषधीको मिश्रणले क्षयरोगको किटाणुलाई फेरि नउठ्‌ने गरी ढाल्दछ।a उपचार बीचैमा नरोकियोस्‌ भनेर औषधीहरू उपलब्ध भइरहनु आवश्‍यक छ।

● ५. !: डब्लू एच ओ-ले यो डट्‌स! को अन्तमा विस्मयादिबोधक चिह्नद्वारा डट्‌स योजनाको पाचौं तत्त्वलाई अभिव्यक्‍त गरेको छ। यसले वित्तीय सहयोग र सही नीतिलाई चित्रण गर्छ। डब्लू एच ओ-ले मुलुकको क्षयरोग उपचार गरेर वर्तमान स्वास्थ्य प्रणालीको सुरक्षा गर्न सरकारी अनि गैरसरकारी संस्थाहरूबाट वित्तीय सहयोग गरियोस्‌ भनेर स्वास्थ्य व्यवस्थित संघलाई आग्रह गरेको छ।

वित्तीय सहयोगबारे कुरा गर्दा डट्‌स प्रणालीले डट्‌स योजनासम्बन्धमा वित्तीय सहयोग गर्ने कि नगर्ने कसले निर्धारित गर्छ भन्‍ने विषयमा नीतिनिर्माताहरूलाई अपील गरेको छ। विश्‍व बैंकले यस “रोगविरुद्ध लड्‌न डट्‌स सस्तो तरिका” साबित भएको बताएको छ। गरिब देशहरूमा यस योजनामा कूल खर्च प्रतिरोगी लगभग १०० डलर जति लाग्छ भनेर डब्लू एच ओ-ले अनुमान लगाइएको छ। “यस्तो उपचारमा विकसित देशहरूमा प्रतिव्यक्‍ति १० सेन्ट लाग्छ, यसको उपचार गर्ने खर्च गरिब भन्दा गरिबहरूले पनि बेहोर्नसक्छ।” सस्तो उपचार तर फायदा चाहिं धेरै।

यो कत्तिको प्रभावकारी छ?

डट्‌स योजना बेवास्ता गर्नाले “यी दसकहरूमा पहिलो चोटि क्षयरोगको महामारी विश्‍वव्यापी रूपमा फैलिएको छ” भनेर सन्‌ १९९७ मा डब्लू एच ओ-का प्रतिनिधिले घोषणा गरे। “जहाँ जहाँ डट्‌सको प्रयोग सही ढंगमा गरिएको छ त्यहाँ यो रोग झन्डै दुई गुणाको दरले निराकरण भएको छ।” क्षयरोग ग्रसित इलाकाहरूमा डट्‌स परीक्षण अभियानको काम मुताबिक यस योजनाले सफलता हासिल गरिरहेको छ। डब्लू एच ओ-ले उल्लेख गरेका केही सफलताहरू विचार गरिहेरौं न।

भारतमा “डट्‌स प्रदर्शनी लगभग १.२ करोड मानिसहरूमा गरियो। हाल प्रत्येक ५ जनामध्ये ४ जनाको क्षयरोग निराकरण भएको छ।” बंगलादेशमा दस लाख मानिसहरूमा परीक्षण अभियान गरिंदा “८७ प्रतिशत रोगीहरूको निराकरण भयो।” इन्डोनेशियाको एक टापुमा डट्‌स अभियानले “प्रत्येक १० रोगीहरूमध्ये ९ जनाको रोग निराकरण भयो।” चीनमा यो परीक्षण अभियानले ९४ प्रतिशत निराकरण गरी “अविश्‍वासनीय सफलता” हासिल गऱ्‍यो। एउटा दक्षिण अफ्रिकी शहरमा “८० प्रतिशतभन्दा अधिक रोगीहरूको उपचार सफलतासाथ गरियो।” हालसालै न्यु योर्क शहरमा डट्‌स, प्रभावकारी परिणामसहित संस्थागत पनि गरियो।

दर्जनौं विभिन्‍न देशहरूमा गरिएका परीक्षणहरूले, यस्तो योजना “जहाँकहीं पनि प्रयोग गर्न सकिने र ८५ प्रतिशतभन्दा बढी रोग निराकरण गर्न सकिनेरहेछ” भन्‍नेकुरा प्रस्टै देखिन्छ भन्दै डा. कोची आफ्नो कुरा टुंग्याउँछन्‌।

व्यापक त होइन—तर प्रगति चाहिं हो

मानिसहरूलाई लाग्ने घातक सरूवा रोगहरूमध्ये यो रोगलाई सजिलै र सस्तो उपचार गरेर साँच्चै हटाउन सकिएकोले तपाईं डट्‌सले व्यापकता छाइरहेको भन्ठान्‍नुहोला। “तर अचम्मको कुरा यो छ कि डब्लू एच ओ-द्वारा लाभकारी प्रमाणित भएको क्षयरोग नियन्त्रण योजना अझैपनि केही देशहरूमा मात्रै कार्यान्वयन भइरहेका छन्‌” भनेर डब्लू एच ओ-को एक कर्मचारी भन्छन्‌। वास्तवमा, सन्‌ १९९६ को सुरु सुरुमा विश्‍वभरि केवल ३४ वटा देशहरूले मात्र यस योजनालाई कार्यान्वयन गरेका थिए।

तैपनि, प्रगति चाहिं भइरहेको छ। सन्‌ १९९३ भन्दा पहिला विश्‍वमा क्षयरोग आपत्कालीन स्थितिमा छ भनेर डब्लू एच ओ-ले घोषणा गर्दा प्रत्येक ५० रोगीमध्ये १ जनाले मात्रै डट्‌स प्राप्त गऱ्‍यो। आज चाहिं अनुपातमा प्रत्येक १० मध्ये १ जनाले प्राप्त गरिरहेको छ। रिपोर्टअनुसार सन्‌ १९९८ मा झन्डै ९६ वटा देशहरूले डट्‌स योजना अपनाइरहेका थिए। डट्‌स योजना अपनाउन यदि अझ बढी देशहरूले एकसाथ होस्टेमा हैंसे गरे आज जति पनि क्षयरोगीहरू छन्‌ ‘त्यसको ५० प्रतिशत रोगीहरू एक दसकभित्रै निको हुनेछन्‌।’ “हाम्रोमा प्रमाणित स्वास्थ्य सुधार व्यवस्था त छँदैछ अबभने त्यसको विस्तृत प्रयोग गर्न मात्र बाँकी छ,” भनेर डा. कोची अझ थप्छन्‌।

अहिले मानिसहरूसँग क्षयरोगविरुद्ध सफलतासाथ लड्‌ने ज्ञान र औजारहरू उपलब्ध छन्‌ तर अब कुरा चाहिं यति नै रह्‍यो कि ‘विश्‍वव्यापीरूपमा यस औषधीको प्रयोग गर्न कसले ध्यान दिने।’ त्यसैकारण विश्‍वभरिका चिकित्सक र स्वास्थ्यकर्मीहरूको लागि निकालिएको प्रकाशनमा डब्लू एच ओ यस्तो प्रश्‍न गर्छ: “अब यी औजारहरूको प्रयोग गर्न किन अबेर गर्ने?”

[फुटनोट]

a ती औषधीहरू हुन्‌ आइसोनाइड, रिफाम्पिन, पाइराजिनामाइड,  स्ट्रेप्टोमाइसिन र इथाम्बुटोल।

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

विश्‍वमा क्षयरोगले प्रतिसेकेण्ड कुनै व्यक्‍तिलाई संक्रमण गरेकै हुन्छ

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘जीवन बचाउने औषधी दराजमा थन्किरहेका छन्‌ यद्यपि, लाखौं मरि नै रहेका छन्‌।’डा. अराता कोची

[पृष्ठ २३-मा भएको ठूलो अक्षरको क्याप्सन]

“आम स्वास्थ्यसम्बन्धी डट्‌स योजना यस दसकको सबैभन्दा ठूलो प्रगति हो भनेर चित्रण गर्छ।” डब्लू एच ओ छापाखानाबाट प्रकाशित

[पृष्ठ २२-मा भएको पेटी]

फेरि किन फैलियो?

क्षयरोगको (टिबी) उपचार चार दशकअघि नै पत्ता लागिसकेको थियो। त्यसबेलादेखि १२ करोड मानिसहरू क्षयरोग लागेर मरिसके भने झन्डै ३० लाखभन्दा धेरै मानिसहरू यस वर्ष मर्नेछन्‌। रोगको उपचार हुँदाहुँदै पनि किन यत्ति धेरै मानिसहरू टिबी लागेर मरिरहेका छन्‌? यसका मुख्य तीन कारणहरू छन्‌: लापरवाही, एच आइ भी/एड्‌स, तथा अनेकन्‌ औषधीहरूले नछुने टिबी।

लापरवाही। विश्‍वको ध्यान एड्‌स तथा इबोलाजस्ता सरुवा रोगहरूले खिचेको छ। तथापि, १९९५ मा इबोलाको कारण मर्ने प्रत्येक व्यक्‍तिको तुलनामा टिबी लागेर मर्नेहरू १२,००० थिए। वास्तवमा, टिबी यत्ति सामान्य भइसक्यो, विकासोन्मुख मुलुकहरूमा यो रोगलाई जीवनको एउटा भागै ठानिन्छ। सम्पन्‍न मुलुकहरूमा चाहिं यो रोग उपचार गर्ने प्रभावकारी औषधीहरू हुँदाहुँदै पनि टिबी फैलन दिइरहेको छ। यसरी टिबीलाई विश्‍वव्यापी तवरमा लापरवाह गर्नु घातक साबित भएको छ। टिबीप्रति विश्‍वको चासो सेलाइरहेको बेला टिबीका जीवाणुहरू भने झन्‌ झन्‌ शक्‍तिशाली हुँदै गए। आज यी जीवाणुहरूले थुप्रै मुलुकहरूमा धेरैभन्दा धेरै मानिसहरूलाई आक्रमण गरिरहेका छन्‌ जुन मानव इतिहासमा पहिले कहिल्यै भएको थिएन।

एच आइ भी/एड्‌स। टिबी, एच आइ भी तथा एड्‌सको साथी हो। एच आइ भी-द्वारा संक्रमित भएपछि अर्थात्‌ मानिसमा रोग प्रतिरोध क्षमता ह्रास भएपछि टिबी लाग्नसक्ने सम्भावना ३० गुणा बढी हुन्छ। त्यसैकारण, एच आइ भी-को विश्‍वव्यापी महामारीले गर्दा टिबी रोगीहरूको संख्या पनि धमाधम बढ्‌दैछ! सन्‌ १९९७ मा २,६६,००० जना एच आइ भी पोजिटिभ रोगीहरू टिबी लागेर मरेको अनुमान गरिएको छ। जोइन्ट युनाइटेड नेशन्स प्रोग्राम अन एच आइ भी/एड्‌सका निर्देशक पिटर प्यो भन्छन्‌, “यी पुरुष तथा महिलाहरू,” “क्षयरोग निको पार्ने सुपथ मूल्यका टिबी औषधीहरूबाट लाभ नउठाउनेहरू थिए।”

अनेकन्‌ औषधीहरूले नछुने टिबी। मानिससित भएको एण्टिबायोटिक समिश्रणले खत्तम पार्न नसकिने “महाशक्‍तिशाली जीवाणुहरू” विज्ञान कथाको कुरा लागे तापनि टिबीको सम्बन्धमा यो द्रुत गतिले वास्तविकता साबित भइरहेको छ। पाँच करोडभन्दा थुप्रै मानिसहरू अनेकन्‌ औषधीहरूले नछुने (एम डी आर) टिबीद्वारा ग्रस्त भइसकेका हुनसक्छन्‌। सन्चो महसुस हुने बित्तिकै वा औषधी सिद्धिएकोले अथवा यो रोग समाजमा लाजको कुरा भएकोले औषधी खान छोड्‌ने विरामीहरूको शरीरमा टिबीका सम्पूर्ण जीवाणुहरू मर्दैनन्‌। उदाहरणका लागि एउटा एसियाली मुलुकमा प्रत्येक ३ जना टिबी रोगीहरूमध्ये २ जनाले उपचार विधि पूरा हुन नपाउँदै उपचार ठ्याम्म रोकिहाल्छन्‌। अनि पछि फेरि रोग बल्झँदा उपचार गर्न निकै गाह्रो हुनसक्छ। किनकि, शरीरमा जीवितै रहेका जीवाणुहरू टिबी निको पार्ने उपलब्ध सम्पूर्ण औषधीहरूसित लड्‌नसक्ने र ती औषधीहरूलाई जित्नसक्ने भइसकेका हुन्छन्‌। परिणामस्वरूप, बिरामी त उपचारै गर्न नसकिने टिबीद्वारा ग्रस्त हुन्छ साथै तिनीहरूबाट अरूलाई यो रोग सऱ्‍यो भने अरू विरामीको अवस्था पनि उपचारै गर्न नसकिने हुन्छ। अनि एक पटक यो घातक एम डी आर जिन चिरागबाट निस्केपछि के मानिसले फेरि यो जिनलाई चिरागमा थुन्‍न सक्ला र? भन्‍ने निराशाजनक प्रश्‍न अनुत्तरितै हुनेछ।

[पृष्ठ २२-मा भएको पेटी]

टिबीको विश्‍वव्यापी जकड

क्षयरोगको (टिबी) महामारी वर्षेनी अझ ठूलो, अझ महँगो अनि अझ घातक हुँदै गइरहेको छ। विश्‍व स्वास्थ्य संघले जम्मा गरेको रिपोर्टहरूबाट यो मौन हत्यारा कहाँ कहाँसम्म फैलिएको रहेछ पत्ता लगेको छ। त्यसका केही उदाहरणहरू यसप्रकार छन्‌: “पाकिस्तानले क्षयरोग विरुद्धको युद्ध हारिरहेको छ।” “क्षयरोग महामारी रूप लिएर फेरि थाइल्याण्डमा फर्केको छ।” “आज, ब्राजिलमा बिमारी तथा मृत्युको प्रमुख कारणहरूमध्ये क्षयरोग पनि एक हो।” “क्षयरोगले मेक्सिकोका मानिसहरूलाई बलियोसित जकडेको छ।” रुसमा “टिबी द्रुत गतिले बढिरहेको छ।” इथियोपियामा “देशव्यापी तवरमा अनियन्त्रित रूपले क्षयरोग फैलिरहेको छ।” “विश्‍वभरि टिबीको सबैभन्दा चर्को महामारी दक्षिण अफ्रिकामा।” इत्यादि।

टिबीका १०० जना रोगीहरूमध्ये ९५ जना विश्‍वका गरिब मुलुकहरूमा छन्‌, तैपनि टिबी सम्पन्‍न मुलुकहरूमा पनि धमाधम फैलिरहेको छ। संयुक्‍त राज्यमा सन्‌ १९९० दशकको सुरुमा टिबी रोगीहरू चर्को रूपमा बढेको रिपोर्ट पाइयो। स.रा.-का पत्रकार भाल्री गार्त्सेफ टिबी “फेरि एकपटक अमेरिकीहरूबीच महामारी फैलाउन आएको छ,” भन्छन्‌। त्यसै गरी, रोयल निदर्ल्याण्डस्‌ टिबी एसोसिएसनका निर्देशक डा. याप ब्रुक्म्यान्स्‌ले हालै टिबीको उत्पातले गर्दा “पूर्वी युरोप र पश्‍चिमी युरोपका केही भूभागहरूको अवस्था नाजुक हुँदै गइरहेको छ” भने। त्यसैकारण, अगस्त २२, १९९७ को साइन्स (अंग्रेजी) नामक प्रकाशनले “क्षयरोग स्वास्थ्यलाई हानी गर्ने प्रमुख कारक तत्त्वको रूपमा रहेको छ” भन्यो।

[पृष्ठ २४-मा भएको पेटी]

टिबीको ब्लूप्रिन्ट पत्ता लगाइयो

क्षयरोग (टिबी) ब्याक्टेरियमको सम्पूर्ण जनन प्रक्रियाको ब्लूप्रिन्टबारे जानकारी संकलन गर्न अनुसन्धानकर्ताहरू हालै सफल भएका छन्‌। यसले गर्दा “मानिसजातिको सिकार गर्ने सफल सिकारीविरुद्धको युद्धमा एउटा नयाँ आयाम थपियो” भनी इम्पेरियल कलेज स्कूल अफ मेडिसिन इन लण्डनका डा. डग्लस यङले बताए। “भविष्यमा टिबीविरुद्धका औषधी तथा खोपहरूबारे अनुसन्धान गर्न” यो खोज “बहुमूल्य साबित हुनसक्छ” भनी विश्‍व स्वास्थ्य संघले रिपोर्ट गऱ्‍यो। — द टिबी ट्रिट्‌मेन्ट अब्जर्भर, सेप्टेम्बर १५, १९९८.

[पृष्ठ २३-मा भएका चित्रहरू]

यी संयुक्‍त औषधीले क्षयरोगको किटाणुहरूलाई नाश गर्नसक्छ

[स्रोत]

Photo: WHO/Thierry Falise

Photo supplied by WHO, Geneva

[पृष्ठ २४-मा भएका चित्रहरू]

रोगीलाई निको पार्न लगभग १०० डलर जति लाग्छ

[स्रोतहरू]

Photo: WHO/Thierry Falise

Photo supplied by WHO, Geneva

[पृष्ठ २१-मा भएको चित्रका स्रोतहरू]

Photo: WHO/Thierry Falise

Photo supplied by WHO, Geneva

Photo: WHO/Thierry Falise

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने