“हामीले छोड्न सक्यौं भने तपाईंले किन नसक्नु!”
जापानस्थित ब्यूँझनुहोस्! संवाददाताद्वारा
भनिन्छ, सन् १५०० को अन्ततिर जापानमा आएका युरोपेली जहाजहरूमा धूम्रपान गर्ने आगन्तुकहरू थिए र तिनीहरूले “पेटबाट धूवाँ निकालेको” जस्तो देखिन्थ्यो। सुरुमा त जापानीहरू छक्क परे अनि पछि आफूलाई पनि खाऊँ खाऊँ लाग्न थाल्यो। जसको फलस्वरूप १८८० को दशकसम्ममा त जापानमा धूम्रपान गर्नु सामान्य भइसकेको थियो। ती आश्चर्यचकित जापानीहरूको सन्तान नै आज संसारमा सबैभन्दा धेरै धूम्रपान गर्ने राष्ट्र होला भनेर कसले सोचेको थियो र?
“हामी पनि ठूलो मान्छेहरूजस्तो हुन चाहन्थ्यौं र ठूलो हुँदा कस्तो हुन्छ जान्न चाहन्थ्यौं।”—आकियो, ओसामु र योको।
“म दुब्लो हुन चाहन्थें।”—तोसुया।
“चुरोट पिउँदा कस्तो हुन्छ थाह पाउन।”—तोसिहिरो।
“चुरोटले यतिबिघ्न हानि पुऱ्याउँछ भनी हामीलाई पत्तै थिएन।”—रोही, जुनिचि र यासुहिको।
“दोस्रो चोटि गर्भवती हुँदा बिहान वाक् वाक् लाग्ने कम गर्न चाहन्थे।”—चियको।
“व्यापारिक भेटघाट गर्दा हल्का महसुस गर्न चुरोट पिउँथें।”—ताट्सुहिको।
किन चुरोट पिउन थालेको भनी विभिन्न मानिसहरूलाई प्रश्न गर्दा माथि उल्लिखित कारणहरू दिए। कसै कसैले जापानलाई धूम्रपान गर्नेहरूको प्रमोदवन भन्ने गरेको कुरालाई विचार गर्दा त्यस्ता अभिव्यक्तिहरू बुझ्न सजिलो पर्छ। तर उल्लेखनीय कुरा के छ भने, माथि उल्लिखित सबै व्यक्तिहरूले चुरोट पिउन छोडिसके। तिनीहरू वरपरको वातावरणले खडा गर्ने बाधाहरूलाई विचार गर्ने हो भने, यसलाई एउटा ठूलो उपलब्धि नै मान्नुपर्छ। तिनीहरूले कसरी छोड्न सकेका होलान् भनी के तपाईं सोच्दै हुनुहुन्छ? आज जापानमा धूम्रपान कत्तिको व्याप्त छ, पहिला त्यसबारे छलफल गरौं।
धूम्रपानको अवस्था
जापानमा झन्डै ५६ प्रतिशत वयस्क पुरुषहरूले धूम्रपान गर्छन् र यो अमेरिकासित तुलना गर्ने हो भने त्यहाँ १५ वर्ष वा त्यसमाथिका २८ प्रतिशतले मात्र धूम्रपान गर्छन्। जापानमा धूम्रपान गर्ने ३,४०,००,००० मानिसहरूमध्ये २२ प्रतिशत महिलाहरू छन् र त्यसमा पनि थुप्रै युवतीहरू छन्। धूम्रपान गर्ने युवाहरूको संख्या तीव्र गतिले वृद्धि हुनुमा वयस्कहरूको उदाहरण तथा प्रभावकारी विज्ञापनहरूको ठूलो हात छ। जापानमा अहिले टिभी तथा रेडियोमा चुरोटको विज्ञापन गर्न पाइँदैन जुन संयुक्त राज्यमा दुई दशकभन्दा अघि नै प्रतिबन्ध लगाइ सकिएको थियो।
यसबाहेक, जापानको बाटो बाटोमा राखिएका स्वचालित क्रय यन्त्रमा पनि चुरोटहरू सजिलै पाइन्छ। अनि एकचोटि चुरोटको बट्टा हातमा परेपछि कमैले मात्र त्यो बट्टामा लेखिएको कमजोर चेताउनी पढ्छन्। चेताउनीहरू यस्तो हुनसक्छ: “धेरै धूम्रपान नगरौं। यो हानिकारक हुनसक्छ।” धूम्रपानका हानिकारक प्रभावहरूबारे अनभिज्ञ हुनुबाहेक कतिपय प्रख्यात व्यक्तिहरूको खराब नमुनाको कारण जापानीहरू धूम्रपान गर्न थाल्छन् र भन्ठान्छन्, तिनीहरू सुरक्षित छन्।
अतः धूम्रपान विरोधीहरूले जापानले आफ्ना नागरिकहरूलाई चुरोट छोड्न लाउन हेलचेक्य्राइँ गरेकोमा खेद प्रकट गर्नु कुनै छक्क लाग्दो कुरा होइन। तर अहिले शिक्षाविद्हरूले चुरोटले स्वास्थ्य तथा जीवनलाई खतरामा पार्छ भनी मानिसहरूलाई चेताउनी दिनुपर्ने महत्त्व देख्न थालेका छन्। हो, धूम्रपान गर्ने जापानीहरूलाई अन्य ठाउँका धूम्रपान गर्ने मानिसहरूलाई जस्तै वाक् वाक् लाग्ने, खोकी आइरहने, पेट दुख्ने, खाना रुचि नहुने, तुरुन्तै रुघाले समात्ने गर्छ र सायद फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग वा अन्य समस्याहरूले गर्दा अकालमै मृत्यु पनि हुनसक्छ।
अप्रिल १, १९८५ देखि जापानी चुरोट उद्योग निजीकरण गरियो जसले गर्दा दशकौंदेखिको सरकारको एकाधिकार खतम भयो। तैपनि, सरकारसित अझै राम्रो सम्बन्ध भएकोले चुरोट पिउनदेखि निरुत्साहित गर्न त्यस्तो कुनै ठोस कदम चाल्न सकिएको छैन। त्यसैले त धूम्रपान विरोधी समूहहरू जापानलाई धूम्रपान गर्नेहरूको प्रमोदवन भन्छन्। अनि जापान मात्र यस्तो राष्ट्र हो जसले मानिसहरूलाई “धूम्रपान गर्न प्रोत्साहित गर्छ” भनी चिकित्सकहरूले दुःख व्यक्त गरिरहेका छन् भनी द देलि योमुरी-ले रिपोर्ट गर्नुको कारण पनि हामी बुझ्छौं।
कसै कसैले कसरी चुरोट पिउन छोड्न सकेका छन् भनी हेर्न “हामीले कसरी छोड्यौं” पेटी हेर्नुहोस्।
तपाईंले कसरी छोड्न सक्नुहुन्छ?
पेटीमा उल्लेख गरिएझैं पहिला धूम्रपान गर्न रुचाउने मानिसहरूको सल्लाह सुन्दा निष्कर्षमा यही भन्नसक्छौं: तपाईंले धूम्रपान छोड्न खोज्नुको कारण आफैलाई स्पष्ट होस्। परमेश्वरप्रतिको प्रेम र उहाँलाई खुसी तुल्याउने चाहना एउटा उत्तम कारण हो। अनि छिमेकीप्रतिको प्रेम पनि अर्को एउटा राम्रो कारण हो। लक्ष्यहरू तय गर्नुहोस् र त्यसैअनुसार लाग्नुहोस्। तपाईंले धूम्रपान छाड्न लाग्नुभएको कुरा सबै साथीभाइलाई थाह दिनुहोस् अनि तपाईंको परिवारका सदस्यहरूसित मदत माग्नुहोस्। सम्भव भएमा चट्टै छोड्नुहोस्। अनि सकेसम्म फेरि चुरोट पिऊँ पिऊँ लाग्ने वातावरणमा नबस्नुहोस्।
तपाईं बाइबल अध्ययन गर्दै हुनुहुन्छ भने यहोवाका साक्षीहरूसित संगत बढाउनुहोस्। तपाईं तिनीहरूमाझ हुनुहुँदा चाँडै तपाईंलाई तलतल लाग्न छोड्नेछ। अर्को तपाईं एक यहोवाको साक्षी हुनुहुन्छ र धूम्रपान गर्ने व्यक्तिसित अध्ययन गर्दै हुनुहुन्छ भने चाँडै हरेस नखानुहोस्। तिनको खराब बानीलाई त्यागेर यहोवालाई प्रेम गर्न सिकाउनुहोस्।
[पृष्ठ १६, १७-मा भएको पेटी/चित्र]
“हामीले कसरी छाड्यौं”
मिको: “यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न थाल्दा मैले चुरोट छाड्न सक्दिनँ भनेर पक्का थियो। बच्चाहरूले मात्र भए पनि जीवनको मार्ग सिकून् भन्ने मेरो उद्देश्य थियो। तर मैले आमाबाबुले पनि नमुना बसाल्नुपर्छ भनेर सिकें, त्यसैले यहोवा परमेश्वरलाई मदतको निम्ति तीव्र प्रार्थना गर्न थालें। प्रार्थनाअनुसार काम पनि गर्न निकै जोड गर्नुपऱ्यो र कतिसम्म त मेरो बेहाल भयो। तर अन्ततः त्यस घृणित बानीबाट मुक्त भएपछि मैले महसुस गर्न थालेको सफा अन्तस्करणका भावनाहरू कहिल्यै बिर्सदिनँ।”
मासायुकि: “कुनै समय म दिनको तीन बट्टा चुरोट पिउँथे। थुप्रै दुःख तथा गल्तीहरू गरें र बल्लतल्ल मैले अन्तिम सर्को ताने र चुरोटलाई सधैंको लागि बिदाइ गरें। मेरो परिवार, सँगी साक्षीहरू तथा यहोवाको मदतद्वारा मैले छोड्न सकें। म काम गर्ने बैंकका मानिसहरू कसैले पनि सुरुमा पत्याएनन्। मैले हाम्रो बैंकमा आउने ग्राहकहरूप्रति शिष्टाचारको रूपमा अफिस टाइममा साधारणतया धेरै कारोबारहरू हुने इलाकामा धूम्रपान निषेध गर्ने सल्लाह दिएँ। हाम्रो बैंकका ८० प्रतिशतले चुरोट पिउने भए तापनि मेरो सल्लाह कार्यान्वयन गरियो। अहिले हाम्रो बैंकको २६० वटा शाखाहरू सबैमा कारोबार हुने समयमा धूम्रपान निषेध छ।”
ओसामु: “परमेश्वरको वचन बाइबलबाट सत्य सिक्दै जाँदा मैले चुरोट पिउन छोड्नुपर्ने रहेछ भनेर थाह पाएँ। मलाई छोड्न झन्डै एक वर्ष लाग्यो। छोडेको छ महिनापछि सम्म पनि मलाई चुरोट पिउने तलतल लागिरहन्थ्यो। मैले भित्र हृदयदेखि छाड्ने इच्छा नगरेसम्म केही हुँदैन भनेर मलाई थाह थियो।”
तोशिहिरो: “येशूको छुडौतीको बलिदानबाट म यति प्रभावित भएँ, मैले चुरोट जाबो किन छोड्न सक्दिन र जस्तो लाग्यो।”
याशुहिको: “यहोवाको आज्ञा पालन गर्ने र चुरोट छोड्ने निर्णयले मेरो जीवन बच्यो। एक दिन म काम गर्ने कोठामा प्रज्वलनशील ग्याँस चुहावट भएछ। अरू बेला भए, मैले चुरोट सल्काउँथे र यसले गर्दा विस्फोट हुनसक्थ्यो। तर त्यसको केही दिनअघि मात्र मैले चुरोट छाडेको थिएँ र त्यसैले त मैले अहिले यो कुरा बताउन सकिरहेको छु।”
आकियो: “समय समयमा वाक् वाक् लाग्दा मलाई चुरोटले नै होला भन्ने शंका लाग्थ्यो। तर मैले छाडिनँ। मैले चुरोटका खतराहरूबारे पहिलो चोटि मेरी श्रीमतीबाट तथ्यपूर्ण जानकारी पाएँ। तिनी यहोवाको साक्षी भइसकेकी थिइन्। मैले पनि चाँडै यहोवाका साक्षीहरूसित अध्ययन गर्न थालें र वाच टावरका प्रकाशनहरूबाट धूम्रपान गर्ने व्यक्तिले आफूलाई मात्र होइन तर परिवारका अन्य सदस्यहरूलाई पनि हानि पुऱ्याउँछ भनी मैले थाह पाएँ। मैले तुरुन्तै छोडिहालें!”
रोही: “मेरी श्रीमतीले मलाई एकैचोटि २० बट्टा चुरोट किनिदिने गर्थिन्। तर साक्षीहरूसित अध्ययन गर्न थालेपछि जानाजानी स्वास्थ्यलाई हानि गर्ने कुरा किन्न मानिनन्। त्यसैले मैले आफ्नै चुरोट पसल खोलें। दिनमा साढे तीन बट्टा सिद्धयाउँथे। त्यति नै बेला मैले साक्षीहरूसित अध्ययन गर्न थालें। मलाई बाइबल विषयहरूमा प्रभावकारी वक्ता हुन मन लाग्यो। त्यसैले ईश्वरतान्त्रिक सेवकाई स्कूलमा यस प्रशिक्षणको निम्ति योग्य हुन मैले चुरोट छोडें।”
जुनिचि: “मेरी सानी छोरी जो साक्षी हुन्, मेरो जीवनबारे चिन्ता गर्थिन्। उनले मलाई चुरोट छोड्ने प्रतिज्ञा गर्न लगाइन् र मैले छोडें।”
टोसिया: “पहिलोचोटि राज्यभवन जाँदा मैले पस्ने बित्तिकै आस्ट्रे र सलाई मागेको थिएँ। त्यहाँ कसैले चुरोट पिउँदैन भन्दा म त तीन छक परें। अब भने मैले पनि चुरोट छोड्नुपर्छ भनेर थाह पाएँ। अस्पतालमा आठ दिनसम्म मलाई यति छटपट भयो कि म त्यस्तो अवस्थाबाट फेरि कहिल्यै गुज्रन चाहन्नथें।”
योको: “येशूले कसरी उहाँलाई शूलीमा चढाउनुअघि दाखमद्य लिन इन्कार गर्नुभयो भनी मैले यहोवाका साक्षीहरूको पत्रिका तथा अन्य प्रकाशनहरूमा पढेको थिएँ। म पनि उहाँको शुद्ध प्रशंसक हुन चाहन्छु भनेर यहोवालाई प्रार्थना गरें। त्यसपछि मैले चुरोट चटक्कै छोडें। म वरपरको मानिसहरूले चुरोट पिउँदा मलाई धूवाँ तान्न सकसक लाग्थ्यो तर म त्यहाँबाट तुरुन्तै निस्कन्थें किनभने मलाई फेरि चुरोट पिउने तलतल आएको चाहन्नथें।”
यी पहिला धूम्रपान गर्ने व्यक्तिहरूले फेरि कहिल्यै धूम्रपान नगर्ने निधो गरेका छन्। के तपाईं पनि यस बानीबाट मुक्त हुन चाहनुहुन्छ?
मिको
ओसामु
यासुहिको
आकियो र पत्नी साचिको
जुनिचि र छोरी मेरी
योको