“आकाश खुला छ”!
“मानिसहरूको उड्ने इच्छा मानव सृष्टि जत्तिकै पुरानो हो” भनी इतिहासकार बेरटोल लाउफरले उड्डयनको प्रारम्भिक इतिहास-मा (अंग्रेजी) लेखे। प्राचीन युनानी, मिश्री, अश्शूरी इतिहासमा अनि पूर्वीय मिथ्या कथामा राजा, देवदेवता तथा वीर पुरुषहरूले उड्ने प्रयास गरेका अनेकौं दन्त्यकथाहरू छन्। प्रायः ती सबै कथाहरूमा मानिसहरूले पक्षीहरूको पखेटाको नक्कल गरेको पाइन्छ।
उदाहरणका लागि, एउटा चिनियाँ कथामा बुद्धिमान् र साहसी सम्राट सुनबारे बताइएको छ। भनिन्छ, तिनी येशू ख्रीष्ट जन्मनुभन्दा २,००० वर्षअघिका थिए। दन्त्यकथाअनुसार सुन आगलागी भएको अन्नभण्डारको माथिल्लो तल्लामा थुनिएका थिए, त्यतिखेर तिनले शरीरभरि प्वाँखहरू लगाए अनि त्यहाँबाट उडेर भागे। अर्को विवरणअनुसार तिनीले निगालोको दुइटा ठूलठूलो टोपी लगाए अनि धरहराबाट तल जमीनमा सकुशल उत्रे।
युनानी कथाहरूमा डिडेलस नामक महान् कलाकार तथा आविष्कारकबारे ३,००० वर्ष पुरानो कथा पनि छ। तिनले आफू र आफ्नो छोरा आइकरस क्रेटको निर्वासनबाट भाग्न प्वाँखहरू, डोरी र मैन प्रयोग गरेर पखेटाहरू बनाए। “आकाश खुला छ, हामी आकाशको बाटो भएर जानेछौं” भनी डिडेलसले घोषणा गरे। सुरुमा त ती पखेटाहरूले राम्रै काम गरे। तर आकाशमा उड्ने आफ्नो योग्यता देखेर मक्ख परेको आइकरस झन् झन् माथि उड्दै गए। अनन्तः तिनको पखेटा जडान गरेको मैन घामको रापले पग्लिए। अनि समुद्रमा खसेर तिनको मृत्यु भयो।
यस्ता कथाहरूले साँच्चै उड्न चाहने अविष्कारक तथा दार्शनिकहरूलाई उडानबारे कल्पना गर्न उत्प्रेरित गऱ्यो। सा.यु. तेस्रो शताब्दीको प्रारम्भतिर चिनियाँहरूले चंगाहरू बनाएर परीक्षण गर्न थाले। युरोपमा यस्तो परीक्षण गर्नुभन्दा धेरैअघि नै उनीहरूले उडानसम्बन्धी केही सिद्धान्तहरू पत्ता लगाइसकेका थिए। वेनिसको जोभानी डा फोन्टाना नामक चिकित्सकले १५ औं शताब्दीमा बारुदको विस्फोटनले उड्ने काठ र कागजद्वारा निर्मित साधारण रकेटहरू परीक्षण गरे। सन् १४२० तिर फोन्टानाले लेखे: “मानिसको शरीरमा पखेटाहरू जोड्न र त्यसलाई फटफटाउन सकिन्छ भनेर म निश्चित छु। त्यस्ता पखेटाहरूद्वारा मानिस हावामा उड्न सक्छन् अनि एक ठाउँदेखि अर्को ठाउँ जान, धरहरा चढ्न र समुद्र पार गर्नसक्छन्।”
सोह्रौं शताब्दीको प्रारम्भतिर चित्रकार, मूर्तिकार तथा कुशल यान्त्रिक इन्जिनियर लियोनार्दो दा भिन्चीले हेलिकप्टर र प्यारासुटका साथै फटफटाउन हुने पखेटा भएका ग्लाइडरको नक्साहरू तयार गरे। प्राप्त प्रमाणअनुसार, तिनले आफ्ना केही प्रस्तावित वायुपंखी यन्त्रका नमुनाहरू बनाएका थिए। तथापि, दा भिन्चीका कुनै पनि नक्सा व्यवहारिक थिएनन्।
त्यसपछिका दुई शताब्दीमा साहसी पुरुषहरूले आफ्नो शरीरमा कृत्रिम पखेटा जोडेर पहाड अनि धरहराहरूबाट हामफालेर उड्ने प्रयास गरे भन्ने थुप्रै विवरणहरू छन्। यी प्रारम्भिक ‘हवाईजहाज परीक्षण चालकहरू’ साहसी अनि रोमाञ्चकारी व्यक्तिहरू थिए। तर तिनीहरूका प्रयासहरू सफल भने हुन सकेनन्।
आगोद्वारा उड्ने बेलुन र “प्रज्वलनशील हावा”
सन् १७८३ मा पेरिस तथा फ्रान्सका प्रान्तहरूमा उडानसम्बन्धी एउटा उदेकलाग्दो खबर फैलियो। दाजुभाइ जोजेफ-मिसेल र झाँक-एटिन मोन्टगोल्फरले कागजको सानो बेलुनमा तातो हावा भरेर तेज गतिमा आकाशमा उडाए। तिनीहरूले आगोद्वारा उड्ने पहिलो ठूलो बेलुन कागज र रेशमद्वारा बनाएका थिए र त्यसमा गन्हाउने धूवाँ भरिएको थियो। मान्छेबिना पहिलोपल्ट उडाइएको उक्त बेलुन १,८०० मिटर उचाइसम्म पुग्यो। त्यही बेलुन नोभेम्बर २१, १७८३ का दिन जनसाधारणले एअरनट्स नाउँ दिएका दुई यात्रुहरूसहित पेरिसको आकाशमा २५ मिनेटसम्म उड्यो। त्यही वर्ष अर्को आविष्कारक झाँक सार्लले त्यसताक “प्रज्वलनशील हावा” भनिने हाइड्रोजन भरिएको पहिलो ग्याँस बेलुन उडाए।
बेलुन प्रविधि प्रगति हुँदै गएपछि साहसी एअरनट्सहरूको लागि आकाश “खुला” हुँदै जानथाल्यो। सन् १७८४ मा बेलुनहरू ३,४०० मिटर उचाइसम्म पुग्न थालिसकेका थिए। यसको वर्ष दिनपछि, झान-पाइर-फ्रानस्वा ब्लानसरले हाइड्रोजन बेलुनमा विश्वकै पहिलो हवाईडाँक बोकेर सफलतापूर्वक इंग्लिस च्यानल पार गरे। सन् १८६२ मा एअरनट्सहरूले युरोप र संयुक्त राज्यभरि हवाईयात्रा गरे अनि आठ किलोमिटर उचाइसम्म पुगे।
तर प्रारम्भिक एअरनट्सहरू पूर्णतया हावाको गतिमा भर पर्थे; बेलुनको दिशा वा गति नियन्त्रण गर्ने कुनै तरिका नै थिएन। उन्नाइसौं शताब्दीको मध्यतिर ग्याँस र विद्युतीय शक्तिले चल्ने वायुयानहरू निर्माण हुनथालेपछि हवाईयात्रामा ठूलो उन्नति भयो। तर ससेज आकारका ती हावाभन्दा हल्का वायुयानहरू सुस्त गतिमा अर्थात् साधारणतया प्रतिघण्टा १० देखि ३० किलोमिटरसम्म उड्थ्यो। फोन्टानाले पूर्वानुमान गरेझैं मानिस “हावामा उड्ने अनि एक ठाउँदेखि अर्को ठाउँ जाने” हो भने नयाँ तरिका अपनाउनु आवश्यक थियो।
[पृष्ठ ४-मा भएको चित्र]
दन्त्यकथाको डिडेलस र आइकरस
[पृष्ठ ४-मा भएको चित्र]
लियोनार्दो दा भिन्ची
[स्रोत]
Leonardo da Vinci, 1898 पुस्तकबाट
[पृष्ठ ४-मा भएको चित्र]
मोन्टगोलफायर दाजुभाइले तातो हावाद्वारा उड्ने पहिलो यात्रुवाहक बेलुनको डिजाइन तयार पारे