कसरी हवाईजहाजको सुरुआत भयो?
अन्ततः हावाभन्दा गह्रौं वायुपंखी यन्त्रहरू बनाउन डिजाइनरहरू कसरी सफल भए? तिनीहरूले उड्नमा खप्पिस अर्थात् पक्षीहरूप्रति ध्यान केन्द्रित गरे। सन् १८८९ मा जर्मन इन्जिनियर ओटो लिलेन्थलले सारसको उड्ने प्रक्रियाबाट प्रभावित भएर “उड्डयनको आधार चराको उडान” भन्ने पुस्तक लेखे। त्यसको दुई वर्षपछि तिनले पहिलोपल्ट ग्लाइडर बनाए। ग्लाइडरमा करिब २,००० पटक उडिसकेपछि १८९६ मा सानो हवाईजहाज उडाउने अभ्यास गर्ने क्रममा दुर्घटनामा परेर लिलेन्थलको मृत्यु भयो। फ्रान्समा जन्मेका अमेरिकी इन्जिनियर ओक्टेभ सिनटले लिलेन्थलको डिजाइनलाई नै अझ विकास गरेर दुइटा पखेटा भएको ग्लाइडर बनाए। फलतः हावाभन्दा गह्रौं वायुपंखी यन्त्रको डिजाइनमा थप उल्लेखनीय प्रगति भयो।
त्यसैताक राइट दाजुभाइको आगमन भयो। सं.रा.अ.-स्थित डेटन, ओहायोमा साइकल पसल चलाउने ओर्भिल र विल्भर राइटले लिलेन्थल अनि सिनटले बनाएका ग्लाइडरको नक्कल गरेर बनाएको ग्लाइडर सर्वप्रथम १९०० मा परीक्षण गरे। राइट दाजुभाइले किटी हक, उत्तर क्यारोलाइनामा बिस्तारै व्यवस्थित ढंगमा तीन वर्षसम्म काम गर्दै लगातार उडान परीक्षण गरिरहे। तिनीहरूले लन्ड्री स्टार्च बक्स प्रयोग गरेर बनाएको हावा आवतजावत हुने चिम्नीको मदतद्वारा नयाँ डिजाइन तयार गरे। पहिलो उर्जायुक्त वायुयान निर्माण गर्न तिनीहरूले चार सिलिन्डरको १२ हर्सपावर इन्जिन बनाए अनि नवनिर्मित वायुयानको तल्लो पखेटामा जडान गरे। यस इन्जिनले काठको दुइटा प्रोपेलरलाई उर्जा प्रदान गर्थ्यो। ती प्रोपेलरहरू वायुयानको कर्णको दुईतिर थिए।
राइट दाजुभाइले आविष्कार गरेको काठको वायुयान डिसेम्बर १४, १९०३ मा पहिलोपल्ट उडाए—उक्त यान आकाशमा साढे तीन सेकेण्डसम्म रह्यो! तीन दिनपछि दाजुभाइले उक्त यान फेरि उडाए। त्यतिखेर त्यो यान करिब एक मिनेटसम्म आकाशमा रह्यो अनि २६० मिटर टाढासम्म उड्यो। हवाईजहाजको उडान सफल भयो।a
छक्कलाग्दो कुरा, उक्त उल्लेखनीय कार्यप्रति मानिसहरूले त्यति ध्यानै दिएनन्। अन्ततः जनवरी १९०६ मा द न्यु योर्क टाइम्स-मा राइट दाजुभाइबारे लेख प्रकाशित भयो। उक्त लेखले तिनीहरूको “वायुपंखी यन्त्र” गोप्यमा बनाइएको थियो र ती दाजुभाइ १९०३ मा “हावामा उड्न केही हदसम्म मात्र सफल भएका थिए” भनेर बतायो। वास्तवमा, ऐतिहासिक उडान उडाएकै रात ओर्भिलले आफ्नो बुबालाई उक्त कुरा प्रेसलाई सूचित गर्ने आग्रह गर्दै टेलिग्राम गरेका थिए। तथापि, त्यसबारे संयुक्त राज्यभरिका तीनवटा अखबारहरूले मात्र लेख प्रकाशित गरे।
के वायुयानहरूको व्यवसायिक भविष्य छैन?
सुरु सुरुका वर्षहरूमा प्रायः सबैले उड्डयन सफल होला र भनी शंका गर्थे। यहाँसम्म कि उड्डयनसम्बन्धी एक प्रख्यात अग्रणी सिनटले समेत १९१० मा यस्तो पूर्वानुमान गरे: “दक्ष विशेषज्ञहरूको विचारमा वायुपंखी यन्त्रको व्यवसायिक भविष्यको प्रत्याशा गर्नु बेकार छ। त्यसको ढुवानी क्षमता सधैं सीमित हुने हुनाले यात्रु तथा सरसामानहरू ओसारपसार गर्न सकिंदैन।”
यद्यपि, राइट दाजुभाइले पहिलोपल्ट वायुयान उडाएपछि उड्डयन प्रविधिमा चाँड चाँडो प्रगति भयो। त्यसको पाँच वर्षभित्रै दाजुभाइले एकमाथि अर्को पखेटा भएको अनि दुई जना सवार हुनसक्ने हवाईजहाज निर्माण गरे। त्यो हवाईजहाज प्रतिघण्टा ७१ किलोमिटरको रफ्तारमा ४३ मिटर उचाइसम्म पुग्यो। सन् १९११ मा सं.रा.-मा एक देशबाट अर्को देश जाने पहिलो हवाईजहाज निर्माण गरियो; उक्त हवाईजहाजलाई न्यु योर्कदेखि क्यालिफोर्निया पुग्न ४९ दिन लाग्यो! प्रथम विश्वयुद्धको दौडान प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा उड्ने विमानहरूको रफ्तार बढाएर प्रतिघण्टा २३० किलोमिटरभन्दा बढी पुऱ्याइयो। त्यसको केही समयभित्रै विमानहरू ९,००० मिटर उचाइसम्म पुग्नथाल्यो।
सन् १९२० को दशकमा अखबारहरूमा शीर्षसमाचार नै उड्डयनसम्बन्धी नयाँ नयाँ किर्तीमानहरू हुन्थ्यो। सन् १९२३ मा दुई अमेरिकी सैनिक अधिकृतहरू प्रथमपल्ट संयुक्त राज्यको एक कुनादेखि अर्को कुनासम्म कतै नरोकी उडे। तिनीहरूले समुद्री किनारै किनार भएर २७ घण्टाभन्दा कम समयमा पूरै संयुक्त राज्यको यात्रा गरे। चार वर्षपछि चार्ल्स ए. लिन्डवर्गले न्यु योर्कदेखि पेरिससम्म ३३ घण्टा २० मिनटको अनवरोध उडान गरेर तुरुन्तै ख्याति कमाए।
त्यतिञ्जेलसम्म प्रारम्भिक व्यवसायिक विमान कम्पनीले ग्राहकहरू आकर्षित गर्न थालिसकेको थियो। सन् १९३९ को अन्ततिर विमान कम्पनी यत्ति लोकप्रिय भइसकेको थियो कि सं.रा.-का विमान कम्पनीहरूले वर्षेनी करिब ३० लाख यात्रुहरूको सेवा गर्थ्यो। सन् १९३० दशक अन्ततिरको स्तरीय विमान DC-3 ले २१ जना यात्रुहरू बोकेर प्रतिघण्टा २७० किलोमिटरको रफ्तारमा उड्थ्यो। तर दोस्रो विश्वयुद्धपश्चात् प्रतिघण्टा ४८० किमोमिटरको रफ्तारमा उड्ने विशाल र शक्तिशाली व्यवसायिक विमानहरू निर्माण भए। बेलाइतमा १९५२ देखि व्यवसायिक टुर्बोजेट विमान सेवा सुरु भयो। अनि ४०० सीट भएका बोइङ्ग ७४७ जस्ता जम्बो जेटहरूको व्यवसायिक उडान १९७० देखि सुरु भयो।
अर्को उपलब्धि १९७६ मा हात लाग्यो। त्यतिखेर बेलाइती र फ्रान्सेली इन्जिनियरहरूको समूहले त्रिकोणीय आकारको पखेटा भएको कन्कर्ड जेटलाइन निर्माण गरे। त्यो विमानले १०० जना यात्रुहरूलाई ध्वनिको वेगभन्दा दुई गुणा छिटो अर्थात् प्रतिघण्टा २,३०० किमोमिटरको रफ्तारमा यातायात गर्न सक्थ्यो। तर बढी खर्च लाग्ने भएकोले ध्वनिको वेगभन्दा तेज रफ्तारमा उड्ने हवाईजहाजहरू त्यति बढी व्यवसायिक हुन सकेनन्।
संसारमाथि प्रभाव
तपाईं कहिल्यै हवाईजहाजमा यात्रा गर्नुभएको छैन भने पनि द्रुत गतिमा भएका यी प्राविधिक प्रगतिहरूले तपाईंको जीवनमा प्रभाव पारेको हुनसक्छ। विमानहरूद्वारा विश्वव्यापी तवरमा ढुवानी कार्यहरू भइरहेका छन्। हामीले उपभोग गर्ने प्रायः भोजन, लुगाफाटा अनि अफिस वा घरमा प्रयोग गर्ने मेसिनहरू समुद्रपारबाट अथवा अर्को महादेशबाट हवाईजहाजद्वारा ल्याइएका हुन्छन्। पत्र तथा पार्सलहरू हवाईडाँकद्वारा एक देशदेखि अर्को देशमा छिनभरमै पुऱ्याइन्छन्। दिनहुँ कारोबार चलाउन व्यापार व्यवसाय धेरै हदसम्म कूरियर सेवामा भर पर्छन्। हामीले पाउने सरसामान तथा सेवाहरूको मूल्य हवाईजहाजद्वारा ढुवानी गर्ने मानिसहरूको क्षमताले निर्धारित गरेको हुन्छ।
उड्डयनले उल्लेखनीय सामाजिक परिवर्तनहरू पनि गरेका छन्। उड्डयनले गर्दा जहाँ पनि पुग्न सकिन्छ। तपाईंसँग पैसा छ भने केही घण्टाभित्रै संसारको प्रायः सबै ठाउँमा पुग्न सक्नुहुन्छ। केही छिनमै समाचार विभिन्न ठाउँहरूमा पुगेझैं मानिसहरू पनि पुग्नसक्छन्।
प्रगतिको मूल्य
तर यस्तो प्रगतिको लागि मूल्य पनि चुकाउनु परेको छ। कसै कसैलाई हवाई ट्राफिकको चाप बढ्न थालेकोले हवाईयात्रा खतराजनक हुँदैछ भन्ने डर छ। हरेक वर्ष निजी तथा व्यवसायिक विमान दुर्घटनामा परेर थुप्रै मानिसहरूले ज्यान गुमाउँछन्। फर्ट्युन पत्रिकाअनुसार, “प्रतिस्पर्धाको कारण समय समयमा थुप्रै विमान कम्पनीहरूमा थप सुरक्षा व्यवस्था मिलाइन्छ। त्यसो गर्दा ग्राहकहरूले अतिरिक्त पैसा तिर्नुपर्छ।” संयुक्त राज्यको हवाई सेवाको सुरक्षा निर्धारित गर्ने संघीय उड्डयन प्रशासनमा “कोष, कर्मचारी अनि उचित व्यवस्थाको कमी छ” भनी उक्त पत्रिका रिपोर्ट गर्छ।
यसका साथसाथै थुप्रै वातावरणविद्हरू बडेमाका जेट हवाईजहाजहरूले गर्दा प्रतिदिन वृद्धि भइरहेको वायु तथा ध्वनि प्रदूषणप्रति चिन्तित छन्। ध्वनि प्रदूषणका समस्याहरू “उड्डयन जगत्मा फूट उत्पन्न गर्ने एउटा प्रमुख कारण हो” भनी एभिएशन विक एण्ड स्पेस टेक्नलजी पत्रिका बताउँछ।
ती समस्याहरूको एउटा कारण पुराना हवाईजहाजहरू पनि हुन्। सन् १९९० मा सं.रा.-का चारवटा हवाईजहाजहरूमध्ये एउटा २० वर्षभन्दा पुरानो थियो। अनि बाँकी तीनवटा चाहिं निर्माताले निर्देशन दिएको “समयावधिभन्दा बढी समयसम्म” प्रयोग गरिएका थिए।
अतः अहिले विमान इन्जिनियरहरूले ठूलठूला चुनौतीहरू सामना गरिरहेका छन्। विमान सेवा खर्चिलो हुनुका साथै वातावरणप्रति मानिसहरूको चिन्ता बढेको हुनाले तिनीहरूले बढी यात्रुहरू यातायात गर्नसक्ने सुरक्षित तथा कम खर्चिलो विमानहरू निर्माण गर्नुपर्छ।
हवाई सेवा कम खर्चिलो बनाउने उपायहरू निकाल्न थालिसकिएका छन्। फ्रान्स-बेलाइतको अन्तरिक्ष विज्ञानसम्बन्धी एउटा समूह र बेलाइतको अन्तरिक्ष विभाग मिलेर ३०० जना यात्रुहरूलाई ध्वनिको वेगभन्दा दुई गुणा बढी रफ्तारमा यातायात गर्नसक्ने हवाईजहाज निर्माण गर्ने योजना बनाएको छ भनी जिम एरिक्सनले एसियावीक-मा लेखे। फलतः यात्रीलाई कम खर्च लाग्नुका साथै इन्धन पनि कम खपत हुनेछ। अनि अनेकौं विमान स्थलहरूको अत्यधिक भीडलाई ध्यानमा राख्दै कसै कसैले १०० यात्रुहरू यातायात गर्नसक्ने विशाल हेलिकप्टर निर्माण गर्ने प्रस्ताव अघि सारेका छन्। यस्ता विमानहरूले कुनै दिन अहिले छोटो दूरीको यातायातमा प्रयोग गरिने अचल पखेटा भएका विमानहरूको ठाउँ लिनेछन् भनी तिनीहरू विश्वास गर्छन्।
के आगामी वर्षहरूमा हवाई सेवाको बढ्दो आवश्यकतालाई बडेमाका हेलिकप्टर अनि ध्वनिको वेगभन्दा छिटो उड्ने हवाईजहाजहरूले पूरा गर्न सक्लान्? त्यो त मानिसहरूले ‘आकाश खुला गर्ने’ प्रयत्न गर्दै जाँदा समयले नै बताउनेछ।
[फुटनोट]
a कसै कसैको भनाइअनुसार कनेक्टीकट, सं.रा.अ.-मा बसोबास गर्ने जर्मन आप्रवासी गुस्ताभ ह्वाइटहेडले (विसकोफ) पनि १९०१ मा हवाईजहाज आविष्कार गरेर उडाएका थिए। तथापि, यस भनाइलाई समर्थन गर्ने तस्बिरहरू छैनन्।
[पृष्ठ ६-मा भएको चित्र]
सन् १८९१ तिर ओटो लिलेन्थल
[स्रोत]
Library of Congress/Corbis
[पृष्ठ ६, ७-मा भएको चित्र]
चार्ल्स ए. लिन्डवर्ग, १९२७ मा विमानद्वारा आन्द्र महासागर पारगरी पेरिस आइपुग्दा
[स्रोत]
Corbis-Bettmann
[पृष्ठ ७-मा भएको चित्र]
सन् १९१७ मा सपविथ केमल
[स्रोत]
Museum of Flight/Corbis
[पृष्ठ ७-मा भएको चित्र]
DC-3, १९३५
[स्रोत]
Photograph courtesy of Boeing Aircraft Company
[पृष्ठ ७-मा भएको चित्र]
सिकोरस्काइ S-43 विमान, १९३७
[पृष्ठ ८-मा भएको चित्र]
कोस्ट गार्ड उद्धार हेलिकप्टर
[पृष्ठ ८-मा भएको चित्र]
सेमसनको नक्कल गरेर बनाइएको एक्रब्याटिक पिट्स
[पृष्ठ ८, ९-मा भएको चित्र]
सन् १९७६ देखि कन्कर्डको नियमित उडान सुरु भयो
[पृष्ठ ८, ९-मा भएको चित्र]
A300 एयरबस
[पृष्ठ ९-मा भएको चित्र]
पुनः प्रयोगमा ल्याइएपछि अन्तरिक्ष यान द्रुत उड्ने ग्लाइडर भयो
[पृष्ठ ९-मा भएको चित्र]
“रूतन भेरिज,” १९७८