उड्डयन प्रविधिका अग्रजहरू
“विमानचालकको हैसियतमा अप्रिल ८, १९९९ को ‘ब्यूँझनुहोस्!’ अंकमा प्रकाशित उडानसम्बन्धी लेख मलाई असाध्यै रमाइलो लाग्यो। तर मेरो एउटा प्रश्न छ। किन त्यो लेखमा अलबर्टो सान्टोस-डुमोन्टको उल्लेख नगरिएको होला? तिनी प्रथम विमानचालकहरूमध्ये एक हुन्।”—के. बि., संयुक्त राज्य।
“उडान—कसरी सुरुआत भयो? यो कत्तिको सुरक्षित छ?” शीर्षक भएको अप्रिल ८, १९९९ अंकको ब्यूँझनुहोस्!-ले उड्डयनसम्बन्धी छोटो इतिहास प्रस्तुत गऱ्यो। त्यस लेखले विशेष गरी अमेरिकी ओर्भिल र विल्भरका उपलब्धिहरूमा ध्यानकेन्द्रित गरे तपानि २० औं शताब्दीको सुरुतिर हावाभन्दा गह्रौं वायुपंखी यन्त्र परीक्षण गर्ने ती दुई दाजुभाइ मात्र थिएनन्। उड्डयन प्रविधिका अन्य अग्रजहरूलाई पनि विचार गर्नुहोस्।
• अलबर्टो सान्टोस-डुमोन्ट मिनास गेरायिस, ब्राजिलमा जुलाई २०, १८७३ का दिन जन्मेका थिए। किशोर छँदै तिनको परिवार पेरिसमा बसाइँ सऱ्यो। त्यहाँ सान्टोस-डुमोन्टले भौतिकशास्त्र, रसायनशास्त्र, यान्त्रिकशास्त्र र विद्युतसम्बन्धी शिक्षा हासिल गरे। तिनको जीवनको लक्ष्य थियो, उड्ने। त्यसैले १८९८ र १९०५ बीचमा तिनले ११ वटा वायुयान बनाएर उडाए।
सन् १९०६ को अक्टोबरमा अलबर्टो सान्टोस-डुमोन्टको हावाभन्दा गह्रौं वायुपंखी उडाउने सपना साकार भएर छोड्यो। सान्टोस-डुमोन्टको 14-bis, त्यसभन्दा अघिका घुयेंत्रो चाहिने वायुयानहरू जस्ता नभई अर्कै प्रविधिको मदतद्वारा उड्थ्यो। सान्टोस-डुमोन्टको 14-bis को ६० मिटर टाढा मोटरद्वारा सञ्चालित हावाभन्दा गह्रौं वायुपंखीको उडान युरोपमा पहिलो सफल उडान मानिन्छ।
त्यसपछिका वर्षहरूमा वायुयानलाई विनाशको औजारको रूपमा प्रयोग गरेको देख्दा तिनी साह्रै दुःखित भए। भनिन्छ, विमानहरू युद्धहरूमा प्रयोग गरेको देखेकै कारण तिनले १९३२ मा आत्महत्या गरे। तर जे होस्, उड्डयन क्षेत्रको इतिहासमा सान्टोस-डुमोन्टको महत्त्वपूर्ण स्थान छ।
• गुस्ताभ ह्वाइटहेड १८७४ जनवरी १ तारिखका दिन जर्मनीको ल्युटरहाउसेनमा जन्मिए। उडानमा तिनको गहिरो चासो भएको कारण तिनका स्कूलका साथीहरूले तिनको नाउँ उडन्ते राखेका थिए। गुस्ताभ १३ वर्षको हुँदा टुहुरो भए र त्यसपछिका वर्षहरूमा विभिन्न ठाउँहरूको भ्रमण गरे तापनि उड्ने तिनको सोख कहिल्यै हराएन। केही समयको लागि जवान गुस्ताभले प्रख्यात जर्मन विमानचालक ओट्टो लिलेन्थलसित अध्ययन गरे। त्यसपछि १८९४ देखि तिनी संयुक्त राज्यमा बसोबास गर्न थाले।
ब्यूँझनुहोस्!-को अप्रिल ८, १९९९ अंकमा भनिएझैं १९०१ मा हावाभन्दा गह्रौं वायुपंखी सञ्चालन गर्ने प्रथम व्यक्ति ह्वाइटहेड थिए भनी कोही कोही दाबी गर्छन्। तथापि, यस दाबी प्रमाणित गर्ने कुनै तस्बिरहरू छैनन्। तर छक्कलाग्दो कुरा, राइट दाजुभाइले पहिलो उडान गरिसकेपछि पनि सञ्चार माध्यमले उड्डयन क्षेत्रको यो उपलब्धिमा त्यति ध्यान दिएन। वास्तवमा एर एनथुजियास्ट नामक पत्रिकाअनुसार “१९१० पछि मात्र सर्वसाधारणले यस ‘नयाँ प्रविधिमा’ उत्कट चासो लिन थाले र मानिसहरूले वायुयान उडाउन सक्छन् भनेर मानिलिए।”
• स्यामुएल पियरपोन्ट ल्याङ्गले, वाशिंगटन डी. सी.-मा स्मीथसोनियन संस्थाका सचिव, खगोल तथा भौतिकशास्त्री थिए। सन् १८९६ मा तिनले बाफबाट चल्ने वायुयान बनाए र त्यो मान्छेबिना तीन चौथाइ माइल उड्यो।
निस्सन्देह, बाफबाट चल्ने इन्जिन गह्रौं हुने भएकोले उडानको लागि अत्यन्तै अनुपयुक्त हुन्छ। त्यसैकारण ल्याङ्गलेको सहायक चार्ल्स एम. म्यान्लेले अलि उपयुक्त ५७ किलो वजन भएको ५३ हर्सपावरको इन्जिन बनाए। यो तुलनात्मक हिसाबमा एकदमै कार्यकुशल वायुयान थियो र यसको नाउँ ल्याङ्गलेले एरोड्रोम राखे। अक्टोबर ७, १९०३ मा म्यान्ले नियन्त्रण कक्षमा बसे अनि ल्याङ्गलेको वायुयान घुयेंत्रोको मदतले उडाइयो। त्यसपछि त्यो पोटोम्याक नदीमा झ्वाम्म खस्यो। दुई महिनापछिको अर्को प्रयास पनि असफल भयो। दिक्क भएर ल्याङ्गलेले उडाउनै छोडे।
तथापि, यो असफलताको बावजूद ल्याङ्गलेले उड्डयन क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरे। सन् १९१४ मा तिनको मृत्युको आठ वर्षपछि एरोड्रोम-मा केही परिवर्तनहरू गरेर हामन्डस्पोर्ट, न्यु योर्कबाट ग्लेन एच. कर्टिस उडाउन सफल भए।
यस २० औं शताब्दीको सुरुतिर उड्डयन क्षेत्रमा अग्रज भूमिका निर्वाह गर्ने थुप्रै मानिसहरूमध्ये यी त केही मात्र हुन्। अहिले, विभिन्न आकारका लाखौं हवाईजहाजहरू आकाशमा उड्छन्। तिनीहरू सबैले तिनीहरूको अस्तित्व र केही हदसम्म सफलताको लागि उड्डयन प्रविधिका ती अग्रजहरूलाई श्रेय दिनुपर्छ।
[पृष्ठ २०-मा भएका चित्रहरू]
अलबर्टो सान्टोस-डुमोन्ट र तिनको “14-bis” वायुयान
[स्रोत]
Culver Pictures
North Wind Picture Archives
[पृष्ठ २१-मा भएका चित्रहरू]
गुस्ताभ ह्वाइटहेड र तिनले बनाएको हावाभन्दा गह्रौं वायुपंखीको नमुना
[स्रोत]
Flughistorische Forschungsgemeinschaft Gustav Weisskopf
[पृष्ठ २१-मा भएका चित्रहरू]
स्यामुएल पि. ल्याङ्गले र तिनको “एरोड्रोम”
[स्रोत]
Dictionary of American Portraits/Dover
U.S. National Archives photo