युवा जनहरू सोध्छन् . . .
मलाई आफ्नो वजनको किन अचाक्ली चिन्ता लाग्या होला?
“मेरो मनमा निरन्तर द्वन्द्व चलिरहन्छ। एउटा पक्षले खाना खा भन्छ भने अर्कोले बेस्सरी मोटाउलिस् नखा भन्छ।”—जेमी।
तपाईं सबैभन्दा बढी कुन कुरादेखि डराउनुहुन्छ? थुप्रै केटीहरू नहिच्किचाइकन जवाफ दिन्छन्: मोटाउला भनेर। वास्तवमा, एउटा अनुसन्धानअनुसार आजकलका युवतीहरू आणविक युद्ध, क्यान्सर अथवा परिवार गुमाउनुपर्ला भन्ने कुराले भन्दा पनि आफू मोटाइएला भनेर बढी पीर गर्छन्!
कहिलेकाहीं बाल्यावस्थादेखि नै यस्तो चिन्ता उब्जिनसक्छ। डा. क्याथरन स्टाइनर आडायरको टिप्पणीअनुसार थुप्रै केटीहरू किशोरावस्थामा प्रवेश गर्नुअघि नै “मोटाउनेबारे कुराकानी” गर्न थाल्छन् जसमा तिनीहरू आफ्नो शरीर देखेर असन्तुष्ट भएको कुरा गर्छन्। प्राप्त प्रमाणअनुसार त्यस्तो कुराकानीले ज्यादै असर गर्छ। जम्मा २,३७९ जना केटीहरूको सर्वेक्षण लिंदा तिनीहरूमध्ये ४० प्रतिशतले वजन घटाउने साँच्चीकै प्रयास गरिरहेका थिए। अनि तिनीहरू भर्खर नौ/दस वर्षका मात्र थिए!
कुनैबेला यिनीहरूमध्ये थुप्रै जवानहरू लोकप्रिय खानेकुराप्रति लोभिनसक्छन्। त्योभन्दा पनि खराब कुरा त कसैकसैको हालत भर्खर २० वर्ष पुगेकी जेनाकोजस्तै हुनसक्छ। ती युवती पाँच वर्षकी हुँदा तिनको उचाइ झन्डै ५ फीट ४ इन्च र वजन जम्मा ४० किलोग्राम मात्र थियो! तिनी भन्छिन्, “मलाई खान मनै लाग्दैन।” “मलाई सधैं खाना राम्ररी खाएँ भने तीन वर्ष लगाएर घटाएको वजन फेरि एकै महिनामा बढ्ला कि भन्ने डर लागिरहन्थ्यो।”
जेनाको भावना सायद तपाईं पनि बुझ्न सक्नुहुन्छ। आफू आकर्षक देखिन तपाईं पनि चट्ट परेकी दुब्लीपातली हुन चाहनुहुन्छ होला। आफ्नो रूपरंगबारे चिन्ता गर्नु पक्कै पनि गलत होइन। तथापि, जेनाले दुब्लीपातली हुन खोज्दा झन्डै आफ्नो जीवनै गुमाउन पुगेकी थिइन्। त्यो कसरी?
मृत्युको मुखमा पुगुञ्जेल भोकै बस्ने
जेना एनोरेक्सीया नर्भोसा भनिने भोजनसम्बन्धी खतरनाक असन्तुलनसित संघर्ष गर्दैछिन्। सुरुमा उल्लिखित जेमी पनि त्यसै गर्दैछिन्। एकताक यी केटीहरू झन्डै झन्डै मृत्युको मुखमा पुगुञ्जेल भोकै बसे। अनि यसो गर्नेहरू तिनीहरू मात्र होइनन्। यस एनोरेक्सीया नर्भोसाबाट १०० मा एक जना केटी पीडित भएको अनुमान गरिएको छ। यसको अर्थ, लाखौं युवतीहरू यसबाट प्रभावित छन्। सायद, तिनीहरूमध्ये कसैकसैलाई तपाईं पनि चिन्नुहुन्छ होला!a
एनोरेक्सीया बिस्तारै बिस्तारै बढ्नसक्छ। एक जना जवान केटी, आफ्नो तौल केही मात्रामा घटाउने विचारले अहानिकारकजस्तो देखिने खाना खान तम्सिनसक्छिन्। तथापि, आफूले सोचेजति तौल घटाइसकेपछि पनि तिनी सन्तुष्ट हुँदिनन्। आफ्नो शरीरलाई ऐनामा नियालेर हेर्दा तिनी यसो भन्न थाल्छिन्, “म अझै मोटी नै रहेछु!” त्यसैले तिनी अझै अलिकति तौल घटाउने निर्णय गर्छिन्। त्यसपछि फेरि अलिकति। अझ अलिकति गर्दै तौल घटाउने बानी नै लाग्छ र अन्ततः एनोरेक्सीयाले जरा गाड्छ।
वास्तवमा, डाइटिङ गर्नेहरू सबै एनोरेक्सीयाले पीडित हुँदैनन्। कसैकसैको तौल अलि बढी हुन्छ त्यसैले तिनीहरूको तौल केही मात्रामा घटाउनु लाभदायी नै हुन्छ। तर थुप्रै केटीहरूमा आफ्नो शरीरबारे बांगोटिंगो दृष्टिकोण रहेको पाइन्छ। एफ डी ए कन्ज्युमर आफ्नो शरीरबारे यस्तो बांगोटिंगो दृष्टिकोण राख्नुलाई रमाइलो मेलाको “फन-हाउस[मा]” राखिने ऐनासित तुलना गर्छन्। “तपाईं आफूलाई अचाक्ली मोटी देख्नुहुन्छ,” भनी उक्त पत्रिका बताउँछ।
तसर्थ, एनोरेक्सीया भएकाहरू एकदम दुब्लीपातली भए तापनि तौल बढ्ला कि भनी पीर गर्छन्। तौल नबढोस् भनेर व्यायाममा लग्गू हुनुका साथै दिनकै तीन/चार पल्ट “तौल बढ्यो कि” भनेर नापिरहेकी हुन सक्छिन्। खाना अलिअलि मात्रै खाने। अथवा खाँदै नखाने पनि गर्नसक्छिन्। हिडर भन्छिन्, “दिनदिनै आमाले बनाइदिनुभएको टिफिन लिएर स्कूल जान्थें तर सधैं त्यसलाई फ्याँकिदिन्थें।” “मलाई चाँडै खाना नखाने बानी लाग्यो अनि त खाना खान मन लागे पनि घाँटीबाटै छिर्दैनथ्यो। मलाई भोक पटक्कै लाग्दैनथ्यो।”
सुरु सुरुमा हिडरजस्तै एनोरेक्सीया लागेकाहरू आफ्नो तौल घटेको देखेर फुर्किन्छन्। तर अन्ततः तिनीहरू कुपोषणका सिकार हुन्छन्। एनोरेक्सीयाबाट पीडित हुनेहरू अचेत हुनुका साथै आलस्यताको पन्जामा पर्छन्। स्कूलको क्रियाकलापमा यसले नकारात्मक असर पार्न थाल्छ। तिनको रजस्वला रोकिनसक्छ।b पछि हृदयको गति र रक्तचापमा खतरनाक रूपमा कमी आउँछ। तथापि, एनोरेक्सीयाबाट पीडित हुनेहरूलाई आफू कस्तो खतरामा पुगिसक्यो भन्ने होसै हुँदैन। वास्तवमा, तिनलाई याद हुने एउटै मात्र खतरा भनेको आफ्नो तौल फेरि बढ्ला कि भन्ने हो।
तथापि, एनोरेक्सीया भोजनमा असन्तुलन हुनु मात्र होइन नता यो संसारभरि व्याप्त नै छ। तर एनोरेक्सीयाले भन्दा तीन गुणा बढी केटीहरूलाई असर गर्ने बुलिमिया नर्भोसा झन् धेरै पीडादायी छ। त्यस्तै, बुलिमियासितै सम्बन्धित घिचुवापनको लत पनि लाग्नसक्छ। आउनुहोस्, हामी यी रोगहरूबारे अलि राम्ररी जानकारी लेऔं।
आफूले आफैलाई सजाएँ दिने
“मेरी साथीले खाना चोरेर खाने गरेको कुरा भर्खरै स्वीकारेकी थिइन्। खाना खाइसकेपछि तिनी बान्ता गर्छिन्। तिनले बताएअनुसार यसो गर्न थालेको दुई वर्ष भइसक्यो।” यी कुराहरूका साथ एक युवतीले पत्रिकाको सल्लाह स्तम्भमा यसका लक्षणहरूबारे पनि वर्णन गरिन्। उक्त वर्णन बुलिमिया भनेर चिनिने भोजनको असन्तुलनसित हुबहु मेल खान्थ्यो।
खन्चुवीले थुप्रै खाना तुरुन्तै कोचीकोची खान्छे। त्यसपछि, प्रायजसो आफैले जबरजस्ती बान्ता गरेर खाना शरीरबाट निकाल्छे।c यस्तो किसिमले पेट खाली गर्नु साह्रै अस्वाभाविक कुरा हो। तथापि, समाजसेविका नान्सी जे. कोलोडोनी लेख्छिन्: “तपाईं जति धेरै कोचीकोची खाने अनि त्यसपछि बान्ता गर्ने गर्नुहुन्छ तपाईंलाई यी कार्यहरू गर्न त्यति नै सजिलो हुँदैजान्छ। सुरुसुरुमा अनुभव हुने उकुसमुकुस वा डर चाँडै हराएर जान्छ र नगरी नहुने लतमा परिवर्तन हुन्छ।”
एनोरेक्सीया र बुलिमिया “एकै सिक्काका दुई मोहडाहरू हुन्।” दुवैका लक्षणहरू एकअर्कासित निकै भिन्न भए तापनि ती दुवै असन्तुलनहरू खाना सम्बन्धी चिन्ताले नै हुन्छन्।d तथापि, एनोरेक्सीयाभन्दा बुलिमियालाई गोप्य राख्न सजिलो हुन्छ। भनौं भने, कोचीकोची खाना खाँदा तौल घट्न पाउँदैन भने कुनै पनि तरिकामा खाना शरीरबाट निकाल्दा तौल बढ्दैन। तसर्थ, बुलिमियाले पीडितहरूलाई न मोटाउन दिन्छ नता दुब्लाउन नै दिन्छ। त्यसैले अरूको अगाडि खाना खाने बानीमा असन्तुलन भएजस्तो पनि देखिंदैन। लिन्जी नाउँ गरेकी युवती भन्छिन्, “नौ वर्षअघि देखि, खाना कोचीकोची खाएर दिनकै चार/पाँचपल्ट बान्ता गर्थें . . . तैपनि, मेरो प्रगति, आनन्द र सरदर शारीरिक तौल हेर्दा मलाई बुलिमिया लागेको छ भनेर कसैले थाहै पाउन सकेनन्।”
तथापि, यी दुवै खाले मानिसहरू घिचुवापनमा लग्गू हुनेहरूभन्दा बेग्लै हुन्छन्। बुलिमिया भएको मानिसले जस्तै यस मानिसले एकैचोटिमा थुप्रै खानसक्छ। किशोरकिशोरीहरूको स्वास्थ्य तथा शरीर सम्बन्धी नयाँ पुस्तक (अंग्रेजी) यस्तो टिप्पणी गर्छ: “यस्ता मानिसहरूले खाना बान्ता गरेर निकाल्दैनन् तर कोचीकोची खान्छन्। अतः तिनीहरूको तौल बिस्तारै बिस्तारै अचाक्ली बढ्न वा तिनीहरू अचाक्ली मोटाउनसक्छ।”
स्वास्थ्यमा खतरा
यी तीनै किसिमका असन्तुलनहरूले शरीरलाई गम्भीर आघात पुऱ्याउनसक्छ। एनोरेक्सीयाले कुपोषण निम्त्याउनसक्छ। कसैकसैले गरेको अनुमानअनुसार यो १५ प्रतिशत विध्वंशक साबित हुनसक्छ। खाना खाएपछि बान्ता गरे पनि नगरे पनि कोचीकोची खानु शरीरका लागि खतरनाक साबित हुनसक्छ। एकदम मोटाउँदा पनि पछि मुटुसम्बन्धी रोग, मधुमेह तथा कुनै क्यान्सरको सिकार भई जीवनमा खतरा मोल्नुपर्ने हुनसक्छ। जबरजस्ती बान्ता गर्दाचाहिं खानानली च्यातिनसक्छ र दिसापिसाब खलास गर्ने औषधीहरूको अत्यधिक दुरुपयोग गर्दा प्रायः हृदयघात हुनसक्छ।
तथापि, यस्तो भोजनमा असन्तुलित हुँदाको अर्को नकारात्मक पक्षलाई पनि ध्यान दिनुपर्छ। एनोरेक्सीया, बुलिमिया तथा घिचुवापनमा लग्गू हुनेहरू सामान्यतया दुःखी हुन्छन्। आत्मसम्मानको कमी हुने हुँदा तिनीहरू चिन्ता अनि तनाउबाट पीडित हुने सम्भावना हुन्छ। स्पष्टतया तिनीहरूलाई मदत गर्नु अत्यावश्यक छ। तर भोजनमा असन्तुलित हुनेहरूलाई तिनीहरूको वजनसम्बन्धी चिन्ता हटाउन कसरी मदत गर्नसकिन्छ? यस प्रश्नको जवाफ आगामी श्रृंखलामा दिइनेछ।
[फुटनोटहरू]
a एनोरेक्सीयाबाट पुरुषहरू पनि पीडित छन्। तथापि, अत्यधिक मात्रामा केटीहरू प्रभावित भएकाले हामी स्त्रीलिंगलाई नै सम्बोधन गर्नेछौं।
b चिकित्सकहरूका अनुसार कुनै पनि स्त्रीको तौल चाहिनेभन्दा १५ प्रतिशत कम र रजस्वला रोकिएको पनि तीन महिना नाघिसकेको छ भने तिनलाई एनोरेक्सीया भएको ठहर गरिन्छ।
c शरीरबाट निकाल्ने अन्य तरिकाहरूमा दिसापिसाब खलास गर्ने औषधीहरूको प्रयोग पनि समावेश छ।
d भोजनसम्बन्धी असन्तुलन भएकाहरूमध्ये थुप्रै कहिले एनोरेक्सीया त कहिले बुलिमियाद्वारा पीडित हुन्छन्।
[पृष्ठ २१ -मा भएको पेटी]
आफ्नो शरीरबारे विकृत दृष्टिकोण
धेरैजसो केटीहरूले आफ्नो वजनबारे चिन्ता गर्नुपर्ने कुनै कारण छैन। एउटा अध्ययनअनुसार ५ देखि १७ वर्ष भित्रका ५८ प्रतिशत केटीहरूले आफ्नो वजन हुनुपर्नेभन्दा बढी भएको अनुमान गरे जबकि १७ प्रतिशत केटीहरूको मात्र वजन बढी थियो। अर्को अध्ययनले चाहिं वास्तवमा अति थोरै वजन भएका ४५ प्रतिशत युवतीहरूले आफ्नो वजन अति बढी भएको विचार गरे! क्यानाडामा गरिएको एक सर्वेक्षणले त्यस देशका ७० प्रतिशत युवतीहरू आफ्नो वजनबारे चिन्तित भएको अनि आफ्नो वजन घटाउन ४० प्रतिशतले चाहिं कहिले धेरै त कहिले थोरै खाना खाने गरिसकेको अर्थात् वजन घटाउने र फेरि बढाउने प्रक्रिया अपनाएको देखायो।
स्पष्टतया, आफ्नो शरीरप्रति विकृत दृष्टिकोण राख्ने केटीहरू वास्तविक समस्या बिना नै त्यसैमाथि मात्र अचाक्ली चिन्तित भइरहने हुनसक्छन्। १६ वर्षीया क्रिस्तिन बताउँछिन्, “खाने चक्कीहरू धेरै मात्रामा लिने मेरो एक जना साथी छे अनि एनोरेक्सीया भएकाहरू २/४ जनालाई मात्र चिन्छु।” तिनी अझ भन्छिन्: “वास्तवमा तिनीहरूमध्ये कोही पनि मोटी छैनन्।”
राम्रो कारण उल्लेख गर्दै एफ डी ए कन्ज्युमर यस्तो सल्लाह दिन्छ: “ ‘सबैले’ डाइटिङ गरिरहेछन् भनेर वा आफूले चाहेजस्तो पातली छुइनँ भन्ने विचार गर्दै डाइटिङ गर्नुको सट्टा सबैभन्दा पहिला डाक्टर वा पोषणविशेषज्ञकहाँ गएर आफ्नो उमेर तथा उचाइको अनुपातमा वजन धेरै भएको अर्थात् आफू धेरै मोटी भएकी छु कि छैन पक्का गर्नुहोस्।”
[पृष्ठ २२-मा भएको चित्र]
थुप्रैले आफ्नो वजनबारे चिन्ता गर्नुपर्ने कुनै कारण छैन