तपाईंको जीवनशैली—के-कस्ता जोखिमहरू छन्?
थुप्रै तरिकामा अहिले स्वास्थ्य क्षेत्रमा पहिलेभन्दा धेरै राम्रा सुधारहरू भएका छन्। सन् १९९८ मा विश्व स्वास्थ्य संघले (डब्लु एच ओ) दिएको रिपोर्टअनुसार “अहिले मानिसहरूले कमसे कम न्यून स्वास्थ्य सेवा, सुरक्षित पानी र सरसफाइको सुविधा भए पनि पाइरहेका छन्।” निस्सन्देह, संसारका धेरैजसो मानिसहरू निम्न आय स्रोतमै जीवन निर्वाह गरिरहेका छन्। तर “बितेका ५०० वर्षमा जति गरिबी कम भयो त्यो भन्दा धेरै हालैका ५० वर्षमा भएको छ” भनेर ब्रिटिश ब्रोड्कास्टिङ कर्पोरेशनले रिपोर्ट गऱ्यो।
संसारको स्वास्थ्य सेवा प्रणालीमा भएको उन्नतिले गर्दा मानिसको औसत आयु बढेको छ। सन् १९५५ मा औसत आयु ४८ वर्ष थियो भने १९९५ मा बढेर ६५ वर्ष भयो। यसरी आयु बढ्नुको एउटा कारण बाल रोगको उपचारमा भएका प्रगतिहरू हुन्।
चालीस वर्षअघि मात्र पनि मर्ने व्यक्तिहरू मध्ये ४० प्रतिशत पाँच वर्ष मुनिका केटाकेटीहरू हुन्थे। तथापि, खोपहरूले गर्दा सन् १९९८ सम्ममा डरलाग्दा बाल रोगहरूबाट मर्ने केटाकेटीहरूको संख्या संसारभरि निकै कम भयो। फलतः पाँच वर्ष मुनिका केटाकेटीहरूको मृत्युदर घटेर २१ प्रतिशत भएको छ। विश्व स्वास्थ्य संघअनुसार “मानिसहरूको जीवन स्वस्थ र दीर्घायु हुन थालेको प्रस्ट देखिएको छ।”
निस्सन्देह, निम्न स्तरको दीर्घ जीवन अर्थहीन हुन्छ। उत्तम जीवन व्यतित गर्न थुप्रै मानिसहरू भौतिक आनन्दमा बढी जोड दिन्छन्। तथापि, यस्तो प्रकारको जीवनशैलीले स्वास्थ्यमा हानि पुऱ्याउनसक्छ।
उत्तम जीवनशैली?
हालैका सामाजिक एवम् आर्थिक उन्नतिले मानिसको जीवनशैलीमा अचाक्ली परिवर्तन ल्याएको छ। सम्पन्न राष्ट्रमा पहिले धनी व्यक्तिहरूले मात्र किन्न सक्ने सामग्री तथा सेवाहरू अहिले थुप्रैले प्राप्त गर्न सकिने भएको छ। यस्ता केही प्रगतिहरूले लामो जीवन बिताउन सम्भव तुल्याएको भए तापनि थुप्रै मानिसहरू आत्मविनाशी जीवनशैलीतर्फ आकर्षित भइरहेका छन्।
उदाहरणका लागि, लाखौं व्यक्तिहरू लागू पदार्थ, मद्यपान र चुरोटजस्ता अनावश्यक थोकहरू किन्नमा आफ्नो पैसा खर्च गर्छन्। दुःखको कुरा, त्यसका परिणामहरू प्रत्यक्ष छन्। वर्ल्ड वाच पत्रिका भन्छ, “मानिसहरूको स्वास्थ्य जोखिममा पार्ने सबैभन्दा ठूलो कारण रोग नभई उत्पादन हो।” त्यो पत्रिका अझ भन्छ: “अबको २५ वर्षभित्रै सरुवा रोगले भन्दा चुरोटको कारण हुने रोगले विश्वभरिका मानिसजातिको स्वास्थ्यलाई जोखिममा पार्नेछ।” साथै, साइन्टिफिक अमेरिकन यसो भन्छ: “घातक क्यान्सरहरू मध्ये ३० प्रतिशतजतिको कारण धूम्रपान हो भने अर्को ३० प्रतिशतचाहिं जीवनशैली र त्यसमा पनि भोजन पद्धति तथा अपर्याप्त व्यायाम हुन्।”
निस्सन्देह, हामीले रोज्ने जीवनशैलीले हाम्रो स्वास्थ्यमा ठूलो असर गर्छ। त्यसोभए, आफ्नो स्वास्थ्यलाई हामी कसरी कायम राख्न अथवा सुधार्नसक्छौं? के भोजन र व्यायाम मात्र भए पुग्छ? साथै, स्वस्थ जीवनशैलीमा मानसिक र आध्यात्मिक कुराहरूले कसरी मदत गर्छन्?