पैसाभन्दा धेरै बहुमूल्य
क्यानाडास्थित ब्यूँझनुहोस्! संवाददाताद्वारा
“[तिनले] आफ्नी छोरीलाई पैसाभन्दा धेरै बहुमूल्य उपहार दिइन्” भनी नोभा स्कटिया, ब्रिजटाउनको अखबार द मनिटर-को सम्पादकीयमा टिप्पणी गरिएको थियो। त्यो उपहार के थियो? तिनको “इमानदारीको उत्कृष्ट उदाहरण” थियो।
आना र तिनकी छोरी टान्यालाई सस्तो बजारमा टान्याको बाइबल राख्न एउटा सानो सेतो ब्याग किनेका थिए। टान्या घर पुगेर ब्यागको भित्रपट्टिको जिप्पर खोल्दा १,००० क्यानेडियाली डलर देखेर छक्क परिन्। तुरुन्तै आमा छोरी ब्याग किनेको ठाउँमा गए र तिनीहरूलाई ब्याग बेच्ने आइमाईलाई उक्त पैसा फर्काइदिए। धेरै नचलाइएको त्यो ब्याग त्यस आइमाईको हालै मरेकी आमाको रहेछ जसलाई आल्जमेयर रोग लागेको थियो र ब्याग बेच्नुअघि त्यसभित्र के के छ भनी राम्ररी हेरेको रहेनछ। अत्यन्तै कृतज्ञ हुँदै उक्त आइमाईले यसो भनिन्: “मानिसहरूप्रति मेरो भरोसा बढेको छ . . . अझै कोही कोही इमानदार मानिसहरू रहेछन् भनी थाह पाउँदा खुसी लाग्यो।”
स्थानीय अखबारमा यस घटनाबारे अघिल्लो पृष्ठमै लेखिएको थियो र आनाको यो कुरा पनि छापिएको थियो: “हामी यहोवाका साक्षीहरूको हैसियतमा अरूको पैसा लिने त कुरै उठ्दैनथ्यो। हाम्रो बाइबल आधारित [अन्तस्करण] छ। हामी टान्यालाई पनि सही कुरा सिकाउन चाहन्छौं।” टान्यालाई त्यस नयाँ सेतो ब्यागले इमानदारीको सम्झना दिनेछ।