“ज्योति वाहकहरू” भन्ने जिल्ला सम्मेलनहरूमा स्वागत
पृथ्वी सँग सम्बन्धित सृष्टिको प्रथम दिनमा ज्योतिको सृष्टि भयो। यसबारे यहोवाले भन्नु भएको कुरा हामी पढ्दछौं: “उज्यालो होस्।” अनि “तब उज्यालो भइहाल्यो।” (उत्पत्ति १:३) यो कुरा प्रेरित यूहन्नाले लेखेका यी शब्दहरूसँग मिल्दछ: “परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कत्ति पनि अँध्यारो छैन।”—१ यूहन्ना १:५.
परमेश्वरका पुत्र आफ्ना पितासित एकतामा हुनु भएको हुनाले, येशूले एकपटक भन्नु भएको यो कुरा कुनै आश्चर्यजनक छैन: “म संसारको ज्योति हुँ।” (यूहन्ना ९:५) यहोवा परमेश्वर र उहाँका पुत्रमाथि विश्वास राखेर हामी अन्धकारबाट ज्योतिमा आउँन सक्छौं। येशूले पनि यसबारे प्रमाण दिनुभयो: “म संसारमा ज्योति भएर आएको छु, कि मलाई विश्वास गर्ने जोसुकैले अँध्यारोमा रहन नपरोस्।” (यूहन्ना १२:४६) त्यसकारण, येशू ख्रीष्टले आफ्ना सच्चा चेलाहरूबारे ठीकै भन्नुभयो: “तिमीहरू जगतका ज्योति हौ . . . तिमीहरूको ज्योति मानिसहरूका सामू चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।”—मत्ती ५:१४, १६.
सत्यको ज्ञान, र विश्वासी र बुद्धिमान दास द्वारा स्पष्ट पारिएको परमेश्वरको वचनको वचन बुझ्नु पाउनु कति ठूलो आशिष हो! (मत्ती २४:४५-४७) त्रिएकमाथि अब विश्वास गर्नु न परेको हुनाकारण, हामी कुनै अन्योलमा छैनौं र सर्वशक्तिमान र मायालु परमेश्वरले दुष्टता र हिंसालाई किन अनुमति दिइरहनु भएको छ भन्ने कुराबाट विचलित अब हुँदैनौं; मृतकहरूको अवस्था बारे अब हामीलाई केही शङ्का छैन। ज्योतिले हामीलाई आशा, अर्थात्, राज्यको आशा प्रदान गरेको छ। सृष्टिकर्त्ता एउटा कस्तो अद्भुतको परमेश्वर हुनुहुन्छ भन्ने कुरा यसले हामीलाई प्रकट गरेको छ। सत्यको ज्योतिले हाम्रो जीवनलाई एउटा उद्देश्य दिएको छ अर्थात् हाम्रा सृजनहार यहोवा परमेश्वरको महिमा गर्ने उद्देश्य। किनकि यही उद्देश्य पूरा गर्नका लागि हामी सृजिएका थियौं। र सो उद्देश्य हामी ज्योति बाहक भएर पूरा गर्दछौं। ज्योति वाहक हुन पाउनु एउटा महान प्रतिष्ठा र सुअवसरको कुरा हो, तर यसका साथै यो एउटा गहन जिम्मावारी पनि हो। यसलाई राम्रोसँग पूरागर्न, यहोवाले प्रदान गर्नु हुने सबैनै मदतको उपयोग गर्नु पर्दछ। अतः १९९२ सालको हाम्रो जिल्ला सम्मेलनहरूलाई “ज्योति वाहक” जिल्ला सम्मेलन भन्नु कति उपयुक्त छ!
ज्योति वाहकका हैसियतमा, हाम्रो सीप र मूल्याङ्कन दुवैको बृद्धि गराउन, कमसेकम एउटा सम्मेलनमा, शुरुको गीत देखि लिएर समापनको प्रार्थना सम्म उपस्थित हुन, हामी जरूर चाहनेछौं। र त्यहाँ मञ्चबाट दिइने भाषणहरू, अन्तर्वार्ताहरू, अनुभवहरू, वा नाटक, सबैनै राम्ररी ध्यान दिएर हामी सुन्न चाहनेछौं। नोटहरू लिनाले पछि आफ्नो सम्झनालाई ताजा गराउने काममा मदत मिल्ने मात्र होइन तर त्यहाँ प्रस्तुत गरिएका कुराहरूमाथि ध्यानलाई केन्द्रित गर्नमा पनि मदत दिन्छ। हो, सम्मेलनको कार्यक्रमको दौडानमा, ‘हामी ‘कसरी सुन्छौं त्यसमा होशियार रहन’ चाहन्छौं।—लूका ८:१८.