के तपाईंका लागि यस भोजले केही अर्थ राख्नु सक्तछ?
जताततै पूर्णिमाको मधुर उज्यालो छाएको छ। पौराणिक यरूशलेममा, घरको माथिल्लो तलामा, १२ जना मानिसहरू एउटा टेबल वरिपरि भेला भएका छन्। जसै गुरुले एउटा अति नै महत्त्वपूर्ण चाड स्थापित गर्छन् र अर्थपूर्ण शब्दहरू बोल्दछन्, त्यहाँ उपस्थित एघार जनाले उहाँलाई ध्यानपूर्वक सुन्छन्। त्यसको एउटा विवरण यसप्रकार छ:
“येशूले रोटी लिएर आर्शीवाद गरी भाँच्नुभयो, र चेलाहरूलाई दिएर भन्नुभयो, ‘लेओ, खाओ, यो मेरो शरीर हो।’ तब कचौरा पनि लिएर धन्यवाद गरी उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, ‘तिमीहरू सबैले यसबाट पिओ। किनभने यो करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्चितको लागि, बहाइन्छ। तर म तिमीहरूलाई भन्दछु कि दाखको यस फलबाट म तबसम्म पिउनेछैनँ, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसित नयाँ गरी पिउँदिनँ।’ तब एउटा भजन गाएपछि उहाँहरू जैतून डाँडातिर निस्केर जानुभयो।”—मत्ती २६:२६-३०.
यो घटना हाम्रा सामान्य युगको ३३-औं सालको नीसान महिनाको १४-वौं दिनमा घटेको थियो। सा० यु० पू० १६-वौं शताब्दीमा इस्राएलीहरूले मिश्री बन्धनबाट पाएको छुटकाराको सम्झनामा मनाइने निस्तार चाड, येशू र उहाँका प्रेरितहरूले भर्खरै मात्र मनाएका थिए। येशूसित विश्वासघात गर्न लागेको यहूदा इस्करयोतीलाई येशूले त्यहाँबाट बाहिर पठाइसक्नु भएको थियो। अतः येशू र उहाँका ११ जना भक्त प्रेरितहरू मात्र त्यहाँ उपस्थित थिए।
यो भोज यहूदी निस्तार चाडमा क्रमशः थपिने कुनै भाग थिएन। यो एउटा नयाँ कुरा थियो जसलाई समयमा प्रभुको भोज भन्ने गरियो। यसै चाडको विषयमा येशूले आफ्ना अनुयायीहरूलाई यो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९, २०; १ कोरिन्थी ११:२४-२६) उहाँले यसो किन भन्नु भयो? र कैययन् शताब्दी पुरानो यो घटनाले तपाईंका लागि कसरी अर्थ राख्नु सक्तछ? (w93 3/15)