यहोवा को हुनुहुन्छ?
“यहोवा को हो?” मिश्रका घमण्डी राजा फिरऊनले ३,५०० वर्ष अघि यो प्रश्न सोधेका थिए। चुनौती दिंदै उनले अझ भने: “परमप्रभुलाई [यहोवा न्यु व०] म चिन्दिनँ।” तर त्यतिबेला फिरऊनको अगाडि उभिरहेका दुई जना व्यक्तिलाई यहोवा को हुनुहुन्थ्यो भनेर थाहा थियो। तिनीहरू इस्राएलका लेवी कुलका साक्खै भाइहरू मोशा र हारून थिए। धार्मिक चाड मनाउन इस्राएलीहरूलाई उजाड स्थानमा जान दिनु भनेर माग गर्न यहोवाले तिनीहरूलाई मिश्रको शासककहाँ पठाउनु भएको थियो।—प्रस्थान ५:१, २.
फिरऊनले आफ्नो प्रश्नको उत्तर चाहेनन्। तिनको शक्तिको अधीनमा पूजाहारीहरूले सयौं झूटा देवताहरूको उपासनालाई बढावा दिए। भनौं भने स्वयं फिरऊन पनि एकजना भगवान मानिन्थे नि! मिश्रको किंवदन्तीअनुसार, तिनी सूर्य भगवान रा-को पुत्र र बाजको जस्तो टाउको भएको देवता अर्थात् होरसको अवतार थिए। फिरऊनलाई “शक्तिशाली भगवान,” “अनन्तका [ईश्वर]” जस्ता पदवीहरूले सम्बोधन गरिन्थ्यो। त्यसकारण तिनले खिसी गरेर, “यहोवा को हो, र म उसको कुरा सुनुँ?” भनेर सोध्नु कुनै आश्चर्यको कुरा थिएन।
मोशा र हारूनलाई यो प्रश्नको जवाफ दिने खाँचो थिएन। त्यतिबेला मिश्रको दासत्वमा दुःख भोगिरहेका इस्राएलीहरूले उपासना गर्ने परमेश्वर यहोवा हुनुहुन्छ भनेर फिरऊनलाई थाहा थियो। तर यहोवा एकमात्र साँचो परमेश्वर हुनुहुन्छ भनेर फिरऊन र सम्पूर्ण मिश्रले चाँडै नै थाहा पाउनेथिए। त्यसरी नै आजपनि यहोवाले पृथ्वीभरि सबैजनालाई आफ्नो नाउँ र ईश्वरत्व थाहा दिनु हुनेछ। (इजकिएल ३६:२३) अतः पुरातन मिश्रमा यहोवा परमेश्वरले आफ्नो नाउँलाई कसरी महिमित पार्नुभयो, सो थाहा पाउनाले हामी फाइदा उठाउन सक्छौं।
मिश्री देवताहरूभन्दा श्रेष्ठ
फिरऊनले घमण्डी भएर यहोवा को हो भनेर सोध्दा आफूले पछि भोग्नु परेका परिणामहरूबारे आशा गरेका थिएनन्। मिश्रमाथि दशवटा विपत्तिहरू ल्याउनु भएर यहोवा आफैले त्यस प्रश्नको उत्तर दिनुभयो। ती विपत्तिहरू केवल त्यस राष्ट्रमाथि प्रहार मात्रै थिएनन्। तर ती विपत्तिहरू मिश्री देवताहरूका विरूद्धमा प्रहार थिए।
ती विपत्तिहरूले मिश्री देवताहरूमाथि यहोवाको श्रेष्ठतालाई प्रदर्शित गऱ्यो। (प्रस्थान १२:१२; गन्ती ३३:४) यहोवाले नील नदी र मिश्रका सबै पानीहरूलाई रगतमा परिणत गर्नुहुँदा कस्तो कोलाहल मच्चियो होला यसो कल्पना गर्नुहोस् त! यस चमत्कारले गर्दा फिरऊन र तिनका मानिसहरूले नील नदीको परमेश्वर अर्थात् हेपेभन्दा यहोवा श्रेष्ठ हुनुहुन्छ भन्ने कुरा थाहा पाए। नील नदीका माछाहरू मर्नु पनि मिश्री धर्ममाथि एउटा प्रहार थियो किनभने कुनै कुनै माछाहरूको उपासना गरिन्थ्यो।—प्रस्थान ७:१९-२१.
त्यसपछि, यहोवाले मिश्रमाथि भ्यागुता नै भ्यागुताहरूको विपत्ति ल्याउनुभयो। यसबाट मिश्रीहरूको भ्यागुता-देव हेक्तको अपमान भयो। (प्रस्थान ८:५-१४) तेस्रो विपत्तिले जादुगर पूजाहारीहरूलाई आच्छु आच्छु पाऱ्यो किनभने यहोवाले चमत्कार गर्नु भए जस्तै तिनीहरूले धुलोलाई भुसुनामा परिवर्तन गर्न सकेनन्। “यसमा त परमेश्वरकै हात छ” भनेर तिनीहरू कराए। (प्रस्थान ८:१६-१९) जादुगरी विद्या आविष्कार गर्ने भनेर नाम कमाएको मिश्री देवता थथ्ले यी नक्कली पण्डितहरूलाई मदत गर्न सकेन।
फिरऊनले यहोवा को हुनुहुन्छ भनेर सिक्दैथिए। मोशाद्वारा आफ्ना उद्देश्यहरू घोषणा गराउनुहुँदै र त्यसपछि मिश्रीहरूमाथि चमत्कारपूर्ण विपत्तिहरू ल्याएर आफ्नो उद्देश्य पूरा गर्न सक्नुहुने परमेश्वर यहोवा हुनुहुन्थ्यो। यहोवाले यी विपत्तिहरू आफ्नो इच्छाअनुसार सुरु गर्न र टुङ्ग्याउन सक्नुहुन्थ्यो। तथापि यसप्रकारको ज्ञानले फिरऊनलाई यहोवाको सामु झुक्न उत्प्रेरित गराएन। बरु, मिश्रका हठी शासकले जिद्दी गरेर यहोवाको प्रतिरोध गरी नै रहे।
चौथो विपत्ति आउँदा झिंगाहरूले शहरलाई हैरान गरे र घरहरूभित्र पसे। सम्भवतः खुला हावामा हूलका हूल झिंगाहरू उडे होलान्। हावालाई पनि तिनीहरू शु भगवान अथवा स्वर्गकी रानी, आइसिस देवी भनेर उपासना गर्थे। यस झिंगाको लागि प्रयोग गरिने हिब्रू शब्दलाई “गाईवस्तुमा लाग्ने झिंगा,” “कुकुरे झिंगा,” र “गोब्रेकीरा” भनी अनुवाद गरिएको छ। (न्यु वर्ल्ड ट्रान्सलेशन; सेप्टुआजिन्ट; यङ्ग) यदि यो विपत्तिको झिंगा तिनीहरूले पवित्र मान्ने स्कारेब गोब्रेकीरा हो भने पक्कापनि बाटोमा हिंड्दा मानिसहरूले यी कीराहरूलाई कुल्चे होलान्। जे होस्, यी विपत्तिहरूले फिरऊनलाई यहोवाको बारेमा केही नयाँ कुराहरू सिकाए। मिश्रका देवताहरूले आफ्ना उपासकहरूलाई यी झिंगाहरूबाट जोगाउन सकेनन् तर यहोवाले आफ्ना जनहरूलाई बचाउन सक्नुभयो। यो र यसपछिका सबै विपत्तिहरूले मिश्रीहरूलाई सताए तर इस्राएलीहरूलाई भने केही भएन।—प्रस्थान ८:२०-२४.
पाँचौं विपत्ति मिश्रका गाईवस्तुहरूमाथि महामारीको रुपमा थियो। यसले हाथोर, आपिस र गाईको जस्तो शरीर भएकी आकाशकी देवी नटको अपमान गऱ्यो। (प्रस्थान ९:१-७) छैटौं विपत्तिले गर्दा मानिस र जनावरको शरीरमा खटिराहरू आए। यसले थथ्, आइसिस र टा नाउँ भएका देवताहरूको अपमान गऱ्यो किनभने यी तीनैवटा देवताहरूलाई निको पार्ने शक्ति भएकाहरू भनेर विनासित्ति सम्मान दिइएको थियो।—प्रस्थान ९:८-११.
सातौं विपत्तिमा ठूल-ठूला असिनाहरूका साथै आगोका मुस्लाहरू पनि वर्षिए। यस प्रहारले चट्याङ्गहरूमाथि अधिकार जमाउने भनेर मानिएको रेश्पु र वर्षा अनि गर्जनमाथि आधिपत्य छ भनी ठानिएको थथ्लाई लज्जित पाऱ्यो। (प्रस्थान ९:२२-२६) सलहहरू आएको आठौं विपत्तिले प्रजनन शक्तिको देवता अर्थात् बालीनालीको संरक्षक भनेर मानिएको मिन देवतामाथि यहोवाको श्रेष्ठता प्रदर्शन गऱ्यो। (प्रस्थान १०:१२-१५) नवौं विपत्ति अर्थात् मिश्रभरि तीन दिनसम्म छाएको अन्धकारले रा र होरस जस्ता मिश्री देवताहरूमाथि अनादर ल्यायो।—प्रस्थान १०:२१-२३.
यी नौवटा ध्वंसात्मक विपत्तिहरूको बावजूद पनि फिरऊनले इस्राएलीहरूलाई मुक्त गर्न अस्वीकार गरे। तिनको कठोर हृदयको कारण परमेश्वरले ल्याउनुभएको दशौं अनि अन्तिम विपत्तिको निम्ति तिनले ठूलो मोल चुकाउनु पऱ्यो। त्यस विपत्तिको कारण मानिस र पशु दुवैका पहिला जन्मेकाहरू मरे। फिरऊनको जेठो पुत्रलाई भगवान मानिए तापनि उनको मरण भयो। यसप्रकार, यहोवाले ‘मिश्रका सबै देवताहरूका विरूद्धमा इन्साफ गर्नुभयो।’—प्रस्थान १२:१२, २९.
फिरऊनले मोशा र हारुनलाई बोलाएर भने: “तिमीहरू, इस्राएलीहरू सबै, मेरा प्रजाहरूका बीचबाट निस्केर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको [यहोवा न्यु व०] सेवा गर। तिमीहरूले भनेबमोजिम भेड़ा-बाख्रा र गाई-गोरु लिएर गइहाल। मलाई पनि आशीर्वाद देओ।”—प्रस्थान १२:३१, ३२.
आफ्ना जनहरूको संरक्षक
इस्राएलीहरू त्यहाँबाट गए तर चाँडै नै फिरऊनलाई तिनीहरू उजाडस्थानमा भौंतारिरहेका छन् जस्तो लाग्यो। तिनी र तिनका दासहरूले सोधे: “यो हामीले के गर्यौं? इस्राएलीहरूलाई ता हाम्रो सेवा गर्न नलगाएर छाडि पो दिएछौं।” (प्रस्थान १४:३-५) यसरी दास बनाइराखेको राष्ट्रलाई गुमाउनु मिश्रको लागि ठूलो आर्थिक क्षति हुने थियो।
फिरऊनले आफ्नो सेनालाई जम्मा गरे र इस्राएललाई पीहहीरोतसम्म लखेटे। (प्रस्थान १४:६-९) सैनिक दृष्टिकोणमा मिश्रीहरूका लागि स्थिति एकदम अनुकूल थियो किनभने इस्राएलीहरू चारैतिरबाट समुद्र र पहाडहरूले घेरिएका थिए। तर यहोवाले इस्राएलीहरूलाई बचाउन तिनीहरू र मिश्रीहरूको बीचमा बादलको खामो राखिदिनुभयो। मिश्रीहरूको छाउनीमा “बादल लागि रह्यो र अँध्यारो भइनै रह्यो” र यसले गर्दा मिश्रीहरूले आक्रमण गर्न पाएनन्। तर अर्को पट्टी, इस्राएलको निम्ति बादल चहकिलो थियो र “राती चाहिं त्यसले उज्यालो पार्यो।”—प्रस्थान १४:१०-२०.
मिश्रीहरूले लूटपाट र नाश गर्ने अठोट गरेका थिए तर बादलले अवरोध खडा गऱ्यो। (प्रस्थान १५:९) जब बादल हट्यो तब कस्तो चमत्कार भयो! लाल समुद्रको पानीलाई दुई भाग पारिएको थियो र इस्राएलीहरू समुद्रको अर्को छेउमा ओबानो भूमिमा हिंडिरहेका थिए! फिरऊन र उनका सेनाहरू तिनीहरूका दासहरूलाई कब्जामा पारेर लुट्नका निम्ति समुद्रको ओबानो भूमिमा छिटो छिटो दौडेर गए। तथापि मिश्रका हठी शासकले हिब्रूहरूका परमेश्वरको सामर्थ्यलाई तुच्छ ठानेका थिए। यहोवाले मिश्रीहरूलाई अस्त व्यस्त पार्नुभयो र तिनीहरूका रथका पाघ्रहरू फुस्काइदिनुभयो।—प्रस्थान १४:२१-२५क.
मिश्रका योद्धाहरू कराउन थाले, “हामी इस्राएलीहरूदेखि भागौं, किनकि परमप्रभु [यहोवा न्यु व०] तिनीहरूका पक्षमा भएर मिश्रीहरूका विरुद्धमा लड़दैहुनुहुन्छ।” फिरऊन र उनका मानिसहरूले यो कुरा बुझ्दा धेरै ढिला भइसकेको थियो। पानीको अर्को छेउमा सुरक्षित भएर उभिएका मोशाले आफ्नो हात समुद्रमाथि पसारे र पानी फेरि फर्केर आयो अनि फिरऊन लगायत उनका सम्पूर्ण सैन्य शक्तिलाई नाश गऱ्यो।—प्रस्थान १४:२५ख-२८.
अनुभवद्वारा सिकाइएका पाठहरू
अतः, यहोवा को हुनुहुँदो रहेछ? घमण्डी फिरऊनले त्यो प्रश्नको उत्तर पाए। मिश्रमा घटित यी घटनाहरूले यहोवा एकमात्र साँचो परमेश्वर हुनुहुन्छ र राष्ट्रहरूका “मूल्यहीन परमेश्वर” जस्तो हुनुहुन्न भनेर प्रदर्शित गऱ्यो। (भजनसंग्रह ९६:४, ५) आफ्नो महान शक्तिले गर्दा यहोवाले “आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” उहाँ छुटकारा दिने एकजना महान व्यक्ति पनि हुनुहुन्छ जसले “आफ्नो प्रजा इस्राएलीहरूलाई मिश्र देशबाट चिह्न र आश्चर्यकामहरूका साथ बलियो हात र बाहुबलद्वारा भीषण आतङ्क फैलाउँदै निकालेर ल्याउनुभयो।” (यर्मिया ३२:१७-२१) यहोवाले आफ्ना जनहरूलाई बचाउन सक्नुहुन्छ भन्ने कस्तो ठूलो प्रमाण!
फिरऊनले यी पाठहरू तीता अनुभवहरूबाट सिके। वास्तवमा, अन्तिम पाठले त तिनको ज्यान नै लियो। (भजनसंग्रह १३६:१, १५) यदि तिनी नम्र भएर “यहोवा को हो?” भनेर सोधेको भए तिनको निम्ति बुद्धिमानी हुनेथियो। यसो गरेको भए त्यस शासकले आफूले पाएको जवाफअनुसार काम गर्न सक्नेथिए। आनन्दको कुरा आज धेरै नम्र व्यक्तिहरूले यहोवा को हुनुहुन्छ भनेर सिकिरहेका छन्। तर उहाँको व्यक्तित्व कस्तो छ? उहाँले हामीबाट के चाहनुहुन्छ? यहोवा नाउँ हुने एकमात्र परमेश्वरप्रति अझ बढी मूल्याङ्कन बढाउन अर्को लेखले मदत गर्नेछ भनी हामी आशा गर्दछौं।—भजनसंग्रह ८३:१८. (w93 7/15)