आजका युवाहरूको अवस्था कस्तो छ?
तपाईं कुन खबर पहिले सुन्न चाहनुहुन्छ—राम्रो या नराम्रो? अन्तमा सुनेको कुरा मनमा ठप्प बसोस् भनेर धेरैजसो मानिस पहिले नराम्रो अनि पछि राम्रो खबर सुन्न चाहन्छन्।
पहिला अहिलेका युवाहरूको अवस्था केलाउनुभन्दा वर्तमान अवस्थालाई विचार गर्नुहोस्। उमेर ढल्किसकेका मानिसहरू सामान्यतया यस्तो टिकाटिप्पणी गर्छन्, आजकालका युवाहरू पहिलेका जस्ता छैनन्। अर्कोतर्फ युवाहरू भने आफू पहिलेदेखि चल्दै आएका स्तरहरूअनुसार नचलेको भन्ने गुनासो सुन्न रुचाउँदैनन्। तैपनि, मानवतालाई नियालेर हेर्ने व्यक्तिहरू भने एउटा कुरामा सहमत छन्। त्यो हो, आजका युवाहरू पहिलेका जस्ता छैनन्, बेग्लै छन्।
कत्तिको बेग्लै?
साधारणतया मानिसहरू कस्तो धारणा राख्छन् भने युवाहरूको आनीबानी राम्रो हुनुपर्छ, जिम्मेवारी वहन गर्ने खालको हुनुपर्छ र तिनीहरूले अरूको आदर गर्नुपर्छ। तर वास्तविकता भने प्रायः यस्तो छैन। लण्डनको दी इन्डीपेन्डेन्ट अखबारमा प्रकाशित एउटा सर्वेक्षण यसो भन्छ, ‘आफ्नो कुरा प्रायः नबुझ्ने संसारप्रति’ युवाहरूले “ ‘नयाँ विद्रोही मनोभाव’ विकास गरिरहेका छन्।” सर्वेक्षणबाट पत्ता लागेअनुसार धेरैजसो युवाहरूले आफूलाई “समझदार तथा जवाफदेही” भन्नुभन्दा “बेलगाम र भर नभएको” भनेको रुचाउनुबाट तिनीहरूको “नयाँ विद्रोही मनोभाव” झल्किन्छ।
उदाहरणका लागि, बेलाइतमा रिपोर्ट गरिएका प्रायजसो अपराध युवाहरूले गरेका थिए र सन् १९५० देखि १९९३ बीच त्यस्ता अपराधहरूमा दश गुणा वृद्धि भएको पाइयो। अपराधसँगसँगै लागूपदार्थ तथा मद्यपानको दुर्व्यसन पनि उत्तिकै वृद्धि भइरहेको छ। लण्डनबाट प्रकाशित हुने द टाइम्स अझ यसो भन्छ, प्रायः सबैजसो विकसित मुलुकहरूमा “दोस्रो विश्वयुद्ध यताका युवाहरूमा मानसिक असन्तुलनले गर्दा सामाजिक समस्याहरूमा वृद्धि भएको” देखिएको छ। अपराध विज्ञानका प्राध्यापक डेभिड जे. स्मिथअनुसार “कुनै कुराबाट वञ्चित हुनु वा कुनै कुरा प्रचुर मात्रामा हुनु” यस्ता समस्याहरूको कारण होइन। अनुसन्धानहरूले देखाएअनुसार अहिलेका युवाहरू तथा अलि उमेर ढल्केकाहरूबीच ठूलो अन्तर स्पष्ट छ।
अहिलेका केटाकेटी तथा किशोरकिशोरीहरूले अत्यधिक तनाउ भोगिरहेका छन्। आत्महत्या गर्ने प्रयास वा आत्महत्या गर्नु सामान्य भइसकेको छ। स्कटल्याण्डको ग्लासगो हेरल्ड-को प्रतिवेदनअनुसार १२ वर्षमुनिका केटाकेटीहरूले आत्महत्या गर्न खोजेका घटनाहरू गत दश वर्षको दौडान दुगुना भएको छ। जवान मानिसहरू पनि निराश भएर आत्महत्या गर्न खोज्छन्। उक्त पत्रिका यस्तो टिप्पणी गर्छ, “केटाकेटीहरू मानसिक समस्याहरूले यति बिघ्न पिरोलिएका छन्, तिनीहरूका निम्ति जति नै सहयोग जुटाए पनि अपुगजस्तो देखिन्छ।”
कसको दोष?
युवाहरूको “टेढो” दृष्टिकोणको दोषी तिनीहरू स्वयं हुन् भनी वयस्कहरू औंल्याइहाल्छन्। यद्यपि, साँच्चै भन्ने हो भने अहिले युवाहरूको जुन हालत छ, के त्यसको लागि वयस्कहरू बढ्ता दोषी छैनन् र? भनिन्छ, साथीहरूको हप्कीदप्की, आमाबाबुको लापरवाही, भरपर्दो आदर्श नमुनाको कमी इत्यादि कुरा युवाहरूको बांगोटेढो व्यवहारका कारणहरू हुन्। बेलाइतको चिकित्सा अनुसन्धान निकायअन्तर्गत बाल मनोचिकित्सा विभागका प्रमुख प्राध्यापक सर माइकल रटर यसो भन्छन्, “निराशाको चपेटामा पर्नेहरूको संख्या आजभन्दा ३० वर्षअघि जति थियो, अहिले पनि त्यति नै छ।” तिनी अझ यसो भन्छन्, “तर किशोरकिशोरी तथा युवकयुवतीहरूमा निराशाको कारण हुने घटनाहरू असाध्यै बढिरहेको पाइन्छ। . . . निस्सन्देह, टुक्रिएको परिवार यसको एउटा प्रमुख कारण हो। पारपाचुकेले गर्दा मात्र होइन तर वयस्कहरूबीच बेमेल र भनाभनले गर्दा पनि परिवार टुक्रिरहेको छ।”
एक अनुसन्धानकर्ताको भनाइअनुसार युवाहरूले “परापूर्वकालदेखि चल्दै आएका धारणाहरू त्यागिरहेका छन्।” किन? “किनभने ती धारणाहरू तिनीहरूका लागि व्यवहारिक हुन छोडे।” उदाहरणका लागि, केटा र केटीको बदलिंदो भूमिका नै लिनुहोस्। धेरैजसो युवतीहरू केटाको जस्तो विद्रोही र हिंसात्मक गुणहरू अपनाउँछन् भने युवकहरू केटीहरूजस्तो व्यवहार गर्छन्। विगतका धारणाहरूभन्दा कस्तो भिन्न!
तर अहिले आएर हामी किन यस्तो आमूल परिवर्तन देख्छौं? अनि आजका युवाहरूका निम्ति कुनै राम्रो समाचार छ? तिनीहरूले कसरी सुरक्षित भविष्यको आशा गर्नसक्छन्? यसपछिको लेखमा यी प्रश्नहरू छलफल गरिनेछन्।