प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ९/१ पृ. ३०-३१
  • पावल उच्चपदस्थहरू सामु निडर भई साक्षी दिन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पावल उच्चपदस्थहरू सामु निडर भई साक्षी दिन्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पावल निडर भई आफ्नो बचाउमा बोल्छन्‌
  • हाम्रोलागि पाठ
  • परमेश्‍वरको राज्य सन्देश स्वीकार्न अरूलाई मदत दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “म सिजरलाई अपिल गर्छु!”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • “यहोवा परमेश्‍वरको वचन बढ्‌दै र फैलँदै गयो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • निर्भयतासाथ यहोवाको राज्यको घोषणा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ९/१ पृ. ३०-३१

तिनीहरूले यहोवाको इच्छा गरे

पावल उच्चपदस्थहरू सामु निडर भई साक्षी दिन्छन्‌

ती दुई व्यक्‍तिबीचको भिन्‍नता तुलना गरेर साध्य छैन। एउटाले श्रीपेच पहिरेको थिए भने अर्का साँङ्‌लामा बाँधिएका थिए। एउटा राजा, अर्को कैदी। दुई वर्षको जेल सजायपछि प्रेरित पावल अहिले यहूदीहरूका शासक हेरोद अग्रिपा दोस्रो सामु उभिए। राजा र तिनकी पत्नी बर्णिस “बड़ो रवाफसँग मुख्य कप्तानहरू र शहरमा मुख्य मुख्य मानिसहरूका साथमा सभाभवनमा पसे।” (प्रेरित २५:२३) एउटा पुस्तक भन्छ: “त्यहाँ पक्कै पनि सयौं मानिसहरू उपस्थित थिए।”

भर्खरै नियुक्‍त भएका राज्यपाल फेस्तसले त्यस सभाको आयोजना गरेका थिए। तिनीअघिका राज्यपाल फेलिक्स पावललाई कैदमा राख्नमै सन्तुष्ट थिए। तर फेस्तसले पावलमाथि लगाइएको अभियोगको प्रमाण खोजे। वास्तवमा पावलले आफ्नो निर्दोषितामाथि यतिका जोड दिएका थिए कि तिनले आफ्नो मामिलालाई सिजरकहाँ प्रस्तुत गर्ने माग गरेका थिए! पावलको मामिलाले राजा अग्रिपाको मनमा कुतूहल जगायो। तिनले भने, “यस मानिसको कुरो म आफै पनि सुन्‍नपाए हुन्थ्यो।” सायद यस असाधारण कैदीबारे राजाले के विचार गर्ने होलान्‌ भनेर सोच्दै फेस्तसले तुरन्तै प्रबन्ध मिलाए।—प्रेरित २४:२७—२५:२२.

भोलिपल्ट पावललाई उच्चपदस्थहरूको ठूलो भीडअघि उभ्याइयो। तिनले अग्रिपालाई भने, “आज हजूरका सामने मैले आफ्नो बचाउमा बोल्नपाएकोले मैले आफूलाई भाग्यशाली सम्झेको छु। किनभने खास गरी यहूदीहरूका सबै दस्तुर र सवाल-जवाफहरूका कुरामा हजूर सिपालु हुनुहुन्छ। यसकारण मेरो बयान धीरजसँग सुन्‍नुहोस्‌ भनी म बिन्ती गर्दछु।”—प्रेरित २६:२, ३.

पावल निडर भई आफ्नो बचाउमा बोल्छन्‌

सुरुमा, पावल आफू पहिला मसीहीहरूलाई सताउने व्यक्‍ति भएकोबारे बताउँछन्‌। तिनले भने, “तिनीहरूलाई . . . ख्रीष्टको निन्दा गर्न लगाउँथें। . . . उन्मत्त भईकन बाहिरको शहरसम्म पनि मैले तिनीहरूको खेदो गरें।” पावलले आफूले पाएको विलक्षण दर्शनबारे बताए। त्यस दर्शनमा पुनरुत्थान हुनुभएका येशूले तिनलाई सोध्नुभएको थियो: “तिमी किन मेरो खेदो गर्दछौ? सुइरोमा लात हान्‍न तिमीलाई कठिन छ।”a—प्रेरित २६:४-१४.

त्यसपछि, येशूले शावललाई “तिमीले मलाई देखेका र मैले तिमीलाई देखाउनलागेका कुराको” साक्षी सबै राष्ट्रका मानिसहरूलाई दिनू भनेर अह्राउनुभयो। आफूले पाएको त्यो जिम्मेवारी पूरा गर्न जोडतोडले प्रयास गरेको कुरा पावलले बताए। यद्यपि, तिनले अग्रिपालाई भने, “यही कारण यहूदीहरूले मन्दिरमा पक्राउ गरेर मलाई मार्ने प्रयत्न गरे।” यहूदीधर्ममा अग्रिपाको चासो भएको हुँदा, त्यसलाई ध्यानमा राख्दै पावलले आफूले साक्षी कार्यमा मसीहको मृत्यु र पुनरुत्थानबारे “अगमवक्‍ताले र मोशाले पनि बोलेका वचनहरू अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने कुराबाहेक अरू केही नबोले[को]” भनेर जोड दिए।—प्रेरित २६:१५-२३.

फेस्तसले बीचैमा तिनको कुरा काटे। तिनले ठूलो सोरमा भने, “तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्याएको छ।” पावलले जवाफ दिए: “माननीय फेस्तस, म बौलाहा होइनँ, तर सत्य र सुबुद्धिका कुराहरू बोल्दछु।” त्यसपछि, पावलले अग्रिपालाई भने: “राजाले यी कुराका विषयमा थाह पाउनुभएको छ, जसको सामुन्‍ने म निर्धक्कसँग बोल्दैछु। किनकि यी कुनै कुरामा पनि उहाँ अबोध हुनुहुन्छ भनी म ठान्दिनँ, कारण यो कुरा गुपचुपमा गरेको होइन।”—प्रेरित २६:२४-२६.

त्यसपछि, पावलले अग्रिपालाई सीधै सम्बोधन गरे। “हे राजा अग्रिपा, के हजूरले पनि अगमवक्‍तालाई विश्‍वास गर्नुहुन्छ?” निस्सन्देह, यस प्रश्‍नले अग्रिपालाई अप्ठ्यारोमा पाऱ्‍यो। किनभने, तिनले आफ्नो छवि जोगाउनुपरेको थियो र पावलको कुरा मान्‍नु फेस्तसले “बौलाहा” भनेको व्यक्‍तिसित आफू सहमत भएको हुनेथियो। सायद पावलले अग्रिपाको हिचकिचाहट बुझेर आफ्नो प्रश्‍नको जवाफ आफैले दिए। तिनले भने, “हजूरले विश्‍वास गर्नुहुन्छ भनेर मलाई थाह छ।” त्यसपछि अग्रिपा बोले तर अस्पष्ट शब्दमा। तिनले पावललाई भने, “थोरै कुराले मलाई ख्रीष्टियान तुल्याउने मन गर्दछस्‌?”—प्रेरित २६:२७, २८.

पावलले अग्रिपाको अस्पष्ट भनाइलाई दक्षतापूर्वक चलाएर घतलाग्दो तार्किक बुँदा बनाए। तिनले भने, “परमेश्‍वरले यो गरून्‌ भन्‍ने म प्रार्थना गर्दछु, कि थोरैले भए पनि धेरैले भए पनि, हजूर मात्र होइन आजको दिनमा मेरा कुरा सुन्‍ने जति सबैले, यी बन्धन छोड़ीकन अरू सबै कुरामा मजस्तै भइदिए ता हुनेथियो।”—प्रेरित २६:२९.

अग्रिपा र फेस्तसले पावललाई मार्न वा कैद गर्न योग्यको पाएनन्‌। तैपनि, सिजरकहाँ आफ्नो मामिला पेस गर्ने तिनको अनुरोधलाई बदर गर्न सकिंदैनथ्यो। त्यसैकारण, अग्रिपाले फेस्तसलाई भने: “यसले सिजरकहाँ अपील नगरेको भएता यस मानिसलाई छोड़िदिए पनि हुनेथियो!”—प्रेरित २६:३०-३२.

हाम्रोलागि पाठ

पावलले उच्चपदस्थहरूअघि जुन प्रकारले साक्षी दिए, त्यो हाम्रोनिम्ति एउटा उत्कृष्ट उदाहरण हो। पावलले राजा अग्रिपासित कुरा गर्दा बुद्धि चलाए। तिनलाई अग्रिपा र बर्णिसबारे चलिरहेको निन्दोचर्चाबारे थाह थियो। तिनीहरूको हाडनाताको सम्बन्धमा विवाह गरेका थिए किनभने बर्णिस वास्तवमा अग्रिपाकी बहिनी पर्थिन्‌। तर यस अवसरमा पावलले नैतिकताबारे भाषण छाँट्‌न चाहेनन्‌। बरु, तिनले आफू र अग्रिपाको मन मिल्ने बुँदाहरूमाथि जोड दिए। त्यसबाहेक, पावलले विद्वान्‌ फरिसी गमलीयलबाट प्रशिक्षण पाएको भए तापनि अग्रिपा यहूदी रीतिरिवाजमा पोख्त छन्‌ भनेर मानिलिए। (प्रेरित २२:३) अग्रिपाको व्यक्‍तिगत नैतिक विचार ठीक नभए तापनि पावलले तिनीसित आदरपूर्वक कुरा गरे किनभने तिनी उच्च अख्तियारमा थिए।—रोमी १३:७.

हामी आफ्नो विश्‍वासबारे निडर भई साक्षी दिन्छौं, तापनि हाम्रा कुरा सुन्‍नेहरूको अशुद्ध प्रचलनहरूको पर्दाफास गर्नु वा निन्दा गर्नु हाम्रो लक्ष्य होइन। बरु, तिनीहरूलाई स्वीकार्न सजिलो बनाउन हामी सबैले राख्ने आशामा जोड दिंदै सुसमाचारका सकारात्मक पक्षहरूमाथि जोड दिन्छौं। पाको व्यक्‍ति वा अख्तियारमा भएकाहरूसित कुरा गर्दा हामीले तिनीहरूको ओहदालाई याद गर्नुपर्छ। (लेवी १९:३२) यसप्रकार, हामी निम्न शब्दहरू बोल्ने पावलको अनुकरण गर्नसक्छौं: “कुनै किसिमले कसै कसैलाई बचाइहालूँ भनेर सबैका निम्ति म सबै कुरा भएँ।”—१ कोरिन्थी ९:२२.

[फुटनोट]

a “सुइरोमा लात हान्‍न” भन्‍ने अभिव्यक्‍तिले गोरुलाई डोऱ्‍याउने तीखो डन्डालाई लात हानेर आफैलाई चोट पुऱ्‍याउने कुरालाई देखाउँछ। त्यस्तैप्रकार, शावलले मसीहीहरूलाई सताएर आफैलाई हानि पुऱ्‍याउनेथे किनभने तिनी परमेश्‍वरको समर्थन पाएका मानिसहरूसित लडिरहेका थिए।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने