प्रचार गर्न धैर्य चाहिन्छ
१ प्रेरित पावलले तीस वर्षभन्दा धेरै समय प्रचारकको रूपमा सेवा गरे। तिनले यो सेवाबाट सन्तुष्टि पाए। असल काम गर्नु अक्सर त्यति सजिलो नभएजस्तै तिनलाई पनि प्रचार गर्न सजिलो भएन। (२ कोरि. ११:२३-२९) तैपनि, पावलले हरेस खाएनन्। (२ कोरि. ४:१) प्रचार गर्ने काम पूरा गर्दा धैर्य गर्ने शक्ति यहोवाबाट आउँछ भनेर उनले बुझे। (फिलि. ४:१३) विश्वासी भएर धैर्य गरेकोले पावलले यसो भन्न सके: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।”—१ कोरि. ११:१.
२ धैर्य गर्दै परीक्षाहरू सहनुहोस्: हरेक दिन हाम्रा थुप्रै भाइबहिनीले गिल्ला, विरोध खप्नुपरेको छ अनि परिवारका सदस्य, सहकर्मी वा सहपाठीबाट अपहेलित हुनुपरेको छ। (मत्ती १०:३५; यूह. १५:२०) सायद तपाईंले पनि यस्तै अनुभव गरिरहनुभएको होला। अर्कोतर्फ, तपाईंले स्वास्थ्य समस्यासँग वा विश्वास र धैर्य कमजोर पार्ने कुराहरूसँग दिनहुँ संघर्ष गर्दै हुनुहुन्छ होला। चुनौतीहरू भोग्दै तिनलाई जित्न सकेका प्राचीन समयका विश्वासी सेवकहरूको र आधुनिक समयका सँगी ख्रीष्टियानहरूको उदाहरण विचार गरेर हामी बल पाउन सक्छौं।—१ पत्रु. ५:९.
३ “परमेश्वरको सारा हात-हतियार धारण” गरेका छौं भन्ने कुरा पक्का गरेर प्रचारकार्यमा दृढ रहने बल पाउन सक्छौं। (एफि. ६:१०-१३, १५) धैर्य गर्न प्रार्थनाको पनि उत्तिकै ठूलो भूमिका छ। परमेश्वरले हामीलाई उहाँको पवित्र आत्मा दिनुहुन्छ जसले गर्दा हामी परीक्षाहरू सहन सक्छौं। (२ कोरि. ६:४-७) शैतानसितको आध्यात्मिक युद्ध जित्न परमेश्वरले दिनुभएका सम्झौटाहरूमा हामीले ध्यान दिनैपर्छ। (भज. ११९:२४, ८५-८८) माया गर्ने बुबाले पठाएको चिठी जसरी छोराले दोहऱ्याइ-तेहऱ्याइ पढ्छ, त्यसरी नै दिन-दिनै बाइबल पढ्दा यहोवासितको हाम्रो सम्बन्ध बलियो हुन्छ। नियमित रूपमा व्यक्तिगत अध्ययन गरेर हामी परीक्षाहरूसित डट्ने बुद्धि पाउँछौं। यसो गर्दा हाम्रा निर्णयहरू परमेश्वरको सोचाइद्वारा प्रभावित हुन्छन् र यहोवाप्रति हामी झनै वफादार भइरहेका हुन्छौं।—हितो. २:१०, ११.
४ धैर्य गर्दा इनाम पाइन्छ: वफादारीसाथ धैर्य गर्दै प्रचारकार्य पूरा गर्दा यहोवाको हृदयलाई आनन्दित तुल्याउन सक्छौं। (हितो. २७:११) साथै, पावलले जस्तै एकातिर हामी आफैले आशिष् पाइरहेका हुन्छौं भने अरूले पनि आशिष् पाइरहेका हुन्छन्। त्यसैले आउनुहोस्, प्रचारकार्यमा लागिरहने संकल्प गरेर हाम्रो विश्वास मजबुत र ‘आगोबाट जाँचिएको नष्ट हुने सुनभन्दा ज्यादै किम्मती’ छ भन्ने कुरा प्रमाणित गरौं।—१ पत्रु. १:६, ७.