सेवाको काम—परमेश्वरप्रतिको प्रेम देखाउने तरिका
१. परमेश्वरप्रतिको प्रेमले येशूलाई के गर्न जुर्मुऱ्यायो?
१ प्रेमले येशूलाई सेवाको काम पूरा गर्न जुर्मुऱ्यायो। सेवाको हरेक पक्षबाट येशूले यहोवालाई प्रेम गरेको स्पष्ट प्रमाण दिनुभयो। येशूले यसो भन्नुभयो: “म पितालाई प्रेम गर्दछु, र जसो पिताले मलाई आज्ञा गर्नुभएको छ, सोही बमोजिम गर्दछु।” (यूह. १४:३१) येशूको पाइला पछ्याउनेहरू भएकोले हामीसित पनि सेवामा लागेर परमेश्वरलाई गहिरो प्रेम गर्छौं भनेर देखाउने मौका छ।—मत्ती २२:३७; एफि. ५:१, २.
२. यहोवाप्रतिको प्रेमले हाम्रो सेवाको कामलाई कसरी असर गर्छ?
२ “तपाईंको नाउँ पवित्र गरिओस्”: यहोवा र उहाँको राज्यबारे अरूसित कुराकानी गर्ने हरेक मौकाको जोसिलो हुँदै फाइदा उठाउँदा हामी परमेश्वरलाई प्रेम गर्छौं भनेर देखाइरहेका हुन्छौं। यसरी हामी यहोवाको नाउँ पवित्र पार्न योगदान पुऱ्याइरहेका हुन्छौं। (भज. ८३:१८; इज. ३६:२३; मत्ती ६:९) येशूले जस्तै सेवाको काम गरेर हामी पनि यहोवाको नाउँ पवित्र पारिएको र उहाँको इच्छा पूरा भएको चाहन्छौं भनेर देखाउँछौं।—मत्ती २६:३९.
३. यहोवाप्रतिको प्रेमले हामीलाई अवरोधहरू पन्छाउन कसरी मदत गर्छ?
३ अवरोधहरू पन्छाउन हामीलाई प्रेमले उत्प्रेरित गर्छ: यहोवाप्रतिको प्रेमले सम्पूर्ण बाधा पन्छाउँछ। (१ कोरि. १३:४, ७) सेवाको काम पूरा गर्नदेखि रोक्न सक्ने थुप्रै परिस्थिति येशूले सामना गर्नुभयो। तर गहिरो प्रेम र यहोवाको इच्छाअनुसार गर्ने उहाँको चाहनाले उहाँलाई जस्तोसुकै समस्या पनि पन्छाउन मदत गऱ्यो। (मर्कू. ३:२१; १ पत्रु. २:१८-२३) हामी पनि थुप्रै चुनौती सामना गर्छौं। परमेश्वरप्रतिको प्रेमले हामीलाई यस्ता चुनौती पन्छाउन मदत गर्छ। ख्रीष्टले छोड्नुभएको नमुना राम्रोसँग पछ्याउँदा हामी निर्धक्क भएर सेवाको काम पूरा गर्न सक्छौं। हुन त परिवारको विरोध, बिग्रँदो स्वास्थ्य, बुढ्यौली वा धेरैजसो मानिसले देखाउने भावशून्यताले हामीलाई असर गर्न सक्छ। तथापि यस्ता कुराहरूले हामीलाई सकेसम्म प्रभावकारी रूपमा सेवाको काम पूरा गरेर यहोवालाई प्रेम गर्छौं भनेर देखाउनदेखि रोक्दैन।
४. यहोवालाई प्रेम गर्ने भएकोले हामी कस्तो सम्मान पाउँछौं?
४ प्रेम सशक्त छ। सेवाको काममा लागेर परमेश्वरप्रति मनतनको प्रेम देखाउन पाउनु हाम्रो लागि ठूलो सम्मान हो। (१ कोरि. १३:१३) यहोवाको नाउँ सदाको लागि पवित्र पारिने दिन झनै नजिएकोले हाम्रो “प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्।”—फिलि. १:९; मत्ती २२:३६-३८.