हर अवसरमा प्रयोग गर्नुहोस्
१. जवाफ चाहनुहुन्छ? पर्चा कुन कार्यको लागि उपयोगी छ?
१ के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा बाइबल अध्ययन सुरु गर्न मदत दिने हेतुले तयार पारिएको हो। तर यो सत्यको बीउ छर्नको लागि पनि हामीले प्रयोग गर्न सक्ने एउटा प्रभावकारी साधन हो। (उप. ११:६) यो पर्चाको सदुपयोग गर्न यहाँ केही सुझावहरू दिइएका छन्।
२. कुराकानी सुरु गर्न हामी यो पर्चा कसरी प्रयोग गर्न सक्छौं?
२ कुराकानी सुरु गर्न: घरधनीलाई यो पर्चा दिएर सुरुको पानामा भएका छ वटा प्रश्न औल्याउँदै तपाईं यसो भन्न सक्नुहुन्छ: “यीमध्ये तपाईंले कुन प्रश्नबारे विचार गर्नुभएको छ?” घरधनीले जवाफ दिइसकेपछि तिनले छानेको एउटा प्रश्नको बाइबलले दिने जवाफ पर्चाबाट छलफल गर्नुहोस् र उल्लिखित एउटा शास्त्रपद पढ्नुहोस्। अन्तिम पृष्ठमा दिइएका कुराहरू पढ्नुहोस् वा छोटकरीमा बताउनुहोस् र बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्। किताब लिन अस्वीकार गरे तापनि तिनले स्वीकारेको पर्चाले गर्दा तिनको हृदयमा सत्यले जरा गाड्न सक्छ।—मत्ती १३:२३.
३. घरधनी व्यस्त छन् भने हामी के भन्न सक्छौं?
३ घरधनी व्यस्त छन् भने: तपाईं यसो भन्न सक्नुहुन्छ: “तपाईं व्यस्त हुनुहुँदो रहेछ, त्यसैले म तपाईंलाई यो पर्चा दिन चाहन्छु। यसमा हामीमध्ये धेरैजसोले सोध्ने छ वटा प्रश्न दिइएका छन् र हरेक प्रश्नको जवाफ सीधै बाइबलबाट दिइएको छ। यो पढेर तपाईंलाई कस्तो लाग्यो पछि भेट्न आउँदा बताउन सक्नुहुन्छ।”
४. सडक साक्षीकार्यमा यो पर्चा दिंदा हामी के भन्न सक्छौं?
४ सडक साक्षीमा भाग लिंदा: तपाईं यसो भन्न सक्नुहुन्छ: “नमस्कार। तपाईंले कहिल्यै यी प्रश्न सोध्नुभएको छ कि? [जवाफ दिने मौका दिनुहोस्।] यहाँ बाइबलमा पाइने स्पष्ट र चित्तबुझ्दो जवाफ दिइएको छ।” यदि ती व्यक्ति हतारिएका छैनन् भने तपाईं पर्चाबाट एउटा प्रश्नको जवाफ छलफल गर्न सक्नुहुन्छ र बाइबलले सिकाउँछ किताब समेत दिन सक्नुहुन्छ।
५. घरमा कोही नभेटिंदा हामी कसरी कहिलेकाहीं यो पर्चा प्रयोग गर्न सक्छौं?
५ घरमा कोही नभेटिंदा: कुनै-कुनै इलाकामा घरमा कोही पनि नभेटिंदा प्रकाशकहरू प्रायः अरूले देख्न नसक्ने ठाउँमा साहित्य छोड्ने गर्छन्। तपाईंको मण्डलीमा पनि यस्तो गरिन्छ भने कहिलेकाहीं जवाफ चाहनुहुन्छ? पर्चा छोड्नुभए कसो होला? उक्त घरमा फेरि जाँदा तपाईं यसो भन्न सक्नुहुन्छ: “हामी अस्तिको पालि आउँदा तपाईं घरमा हुनुहुन्नथ्यो, त्यसैकारण हामीले यो पर्चा ढोकामा छोडेका थियौं। यहाँ दिइएका प्रश्नमध्ये तपाईंलाई कुन चाहिंको जवाफ पाइदिए हुन्थ्यो जस्तो लाग्छ?”
६. जवाफ चाहनुहुन्छ? पर्चा किन प्रचारकार्यको लागि एउटा उपयोगी साधन हो?
६ जवाफ चाहनुहुन्छ? पर्चामा सत्यलाई सरल, स्पष्ट तरिकामा प्रस्तुत गरिएको छ। यो पर्चाले सबै धर्म र संस्कृतिका व्यक्तिहरूलाई आकर्षित गर्छ। यो प्रस्तुत गर्न सजिलो छ; केटाकेटी तथा नयाँ प्रकाशकले समेत यो पर्चा दिन सक्छन्। हरेक उपयुक्त अवसरमा के तपाईं यो पर्चा प्रयोग गर्दै हुनुहुन्छ?