परिचालक निकायको पत्र
प्यारा दाजुभाइ दिदीबहिनीहरू,
‘हाम्रा प्रार्थनाहरूमा तपाईंहरूलाई सम्झँदा हामी परमेश्वरलाई सधैं धन्यवाद चढाउँछौं, किनकि तपाईंहरूले आफ्नो विश्वासको कारण गरेका कामहरू, प्रेमपूर्वक गरेको परिश्रम र तपाईंहरूले हाम्रा प्रभु येशू ख्रीष्टमा आशा राखेको हुनाले देखाएको सहनशीलता हाम्रा परमेश्वर र बुबासामु हामी हरबखत सम्झिरहन्छौं।’ (१ थिस्स. १:२, ३) हामी तपाईंहरूबारे पनि यस्तै महसुस गर्छौं। हामी तपाईंहरू र तपाईंहरूले गरिरहनुभएको असल कामहरूको लागि यहोवालाई धन्यवाद चढाउँछौं। किन?
गत वर्ष तपाईंहरू राज्य गतिविधिसित सम्बन्धित ‘विश्वासका कामहरू’ गर्न र ‘प्रेमपूर्वक परिश्रम’ गर्न व्यस्त हुनुभयो। तपाईंहरूमध्ये धेरैले आफ्नो सेवाको काम विस्तार गर्नुभयो। कोही-कोहीचाहिं राज्य प्रचारकहरूको आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न बसाइँ सर्नुभयो, कतिपय त विदेशमा समेत बसाइँ सर्नुभयो। कतिले चाहिं सार्वजनिक साक्षीकार्यमा भाग लिएर सेवाको काम विस्तार गर्नुभयो। थुप्रैले स्मरणार्थको समयमा, क्षेत्रीय निरीक्षकको भ्रमणको महिनामा वा अगस्त २०१४ मा भएको विशेष अभियानको बेला सहायक अग्रगामी सेवा गर्नुभयो। परिस्थिति फरक-फरक भए तापनि तपाईंहरू यहोवाको सेवामा तनमनले लाग्दै हुनुहुन्छ भनेर हामीले देखेका छौं र हामी तपाईंहरूको प्रशंसा गर्छौं। (कल. ३:२३, २४) तपाईंहरूको ‘विश्वासका कामहरूको’ लागि हामी यहोवा परमेश्वरलाई धन्यवाद नदिई बस्नै सक्दैनौं!
तपाईंहरूले संसारभरि नै यहोवाको सेवासित सम्बन्धित भवनहरू बनाउन ‘प्रेमपूर्वक परिश्रम’ गर्नुभयो। यसको लागि हामी तपाईंहरूको गहिरो कदर गर्छौं। यहोवाका सेवकहरूको सङ्ख्या बढ्दै गइरहेकोले हामीलाई यस्ता भवनहरूको तड्कारो आवश्यकता परेको छ। (यशै. ६०:२२) गत वर्ष प्रकाशकहरूको शिखर सङ्ख्या ८२,०१,५४५ थियो भने प्रत्येक महिना बाइबल अध्ययन गर्नेहरूको सङ्ख्या औसतमा ९४,९९,९३३ थियो। यस्तो वृद्धिको कारण थुप्रै शाखा कार्यालयलाई विस्तार गर्नुपरेको वा मर्मत गर्नुपरेको छ। अनि हामीलाई अझ धेरै राज्यभवन पनि चाहिएको छ! साथै संसारको थुप्रै ठाउँमा स-साना अनुवाद कार्यालयहरू पनि चाहिएको छ। यसले गर्दा जुन भाषामा अनुवाद गरिन्छ, त्यही भाषा बोल्ने इलाकामा बसेर हाम्रा अनुवादकहरूले अनुवाद गर्न सक्छन्।
हामी आफैलाई यस्तो प्रश्न सोध्न सक्छौं, ‘यी भवनहरूको निर्माणमा साथ दिन म के गर्न सक्छु?’ हामीमध्ये कतिले निर्माणकार्यमा स्वयम्सेवा गर्न सक्छौं। हामीसित निर्माणसम्बन्धी सीप होस् या नहोस्, यी महत्त्वपूर्ण निर्माण परियोजनामा आफ्नो धनसम्पत्ति प्रयोग गर्न सक्ने सुअवसर भने हामी सबैले पाएका छौं। (हितो. ३:९, १०) बासस्थान निर्माण गर्ने समयमा इस्राएलीहरूले निर्माणकार्यको लागि यत्ति धेरै भेटी ल्याए, ‘अब नल्याउनुहोस्, पुग्यो’ भनेर घोषणा गर्नुपऱ्यो। (प्रस्थ. ३६:५-७) बाइबलमा पाइने यस्तो उदाहरणले पक्कै पनि हाम्रो मन छुन्छ र हामीलाई पनि केही गर्न उत्प्रेरित गर्छ। तपाईंहरूले पवित्र सेवाका यी महत्त्वपूर्ण पक्षहरूमा ‘प्रेमपूर्वक परिश्रम’ गर्नुभएकोमा हामी यहोवा परमेश्वरलाई धन्यवाद चढाउँछौं।
हाम्रा दाजुभाइ दिदीबहिनीले कहिल्यै नडगमगाई धैर्य देखाएकोमा पनि हामी अत्यन्तै खुसी छौं। उदाहरणको लागि, दक्षिण कोरियाका हाम्रा दाजुभाइहरूलाई विचार गर्नुहोस्। सन् १९५० देखि त्यहाँका हाम्रा युवाहरूले परमेश्वरको स्तरसित सम्झौता नगरेकोले भिन्नाभिन्नै समयावधिको लागि झ्यालखानामा दिन बिताउनुपरेको छ। हाम्रा दाजुभाइहरूले लामो समयदेखि यस्तो अवस्था सामना गर्दै छन्, तैपनि उनीहरू धरमराएका छैनन्। उनीहरूको धैर्य देख्दा हाम्रो विश्वास बलियो हुन्छ!
एरिट्रियामा हाम्रा तीन जना भाइले २० वर्षभन्दा लामो समयदेखि झ्यालखानामा जीवन बिताउँदै छन्। हाम्रा दिदीबहिनीहरू र उनीहरूका बालबच्चाहरूले समेत केही समयको लागि झ्यालखानामा जीवन बिताउनुपरेको छ। उनीहरूलाई झ्यालखानाबाट छुटाउन थुप्रै प्रयास गरिएको छ, तर तीमध्ये कुनै पनि प्रयास सफल भएको छैन। हाम्रा दाजुभाइहरूले सम्झौता गरेका छैनन्। असाध्यै कठिन अवस्थामा समेत उनीहरू आफ्नो सत्यनिष्ठामा अडिग भएका छन्। यस्ता वफादार दाजुभाइहरूलाई हामी सधैं प्रार्थनामा समावेश गर्छौं।— रोमी १:८, ९.
हुन त तपाईंहरूमध्ये धेरैजसो आफ्नो धार्मिक आस्थाको कारण झ्यालखानामा पर्नुभएको छैन। तर तपाईंहरूमध्ये धेरैले बुढ्यौली, दीर्घकालीन स्वास्थ्य समस्या, बेग्लै धर्म मान्ने जीवनसाथी वा आफन्तको विरोध वा तपाईंलाई मात्र थाह भएको अन्य व्यक्तिगत समस्याहरूको सामना गर्दै हुनुहुन्छ। तैपनि तपाईंहरूले वफादार भई यहोवाको सेवा गरिरहनुभएको छ। (याकू. १:१२) हामी तपाईंहरूको प्रशंसा गर्छौं। तपाईंहरूले वफादार भई धैर्य गरिरहनुभएकोमा हामी यहोवा परमेश्वरलाई धन्यवाद चढाउँछौं।
तपाईंहरूले विश्वासका कामहरू गर्नुभएकोमा, प्रेमपूर्वक परिश्रम गर्नुभएकोमा र धैर्य देखाउनुभएकोमा हामी ‘यहोवालाई धन्यवाद चढाउँछौं किनकि उहाँ भला हुनुहुन्छ।’ (भज. १०६:१) हामी तपाईंहरू सबैलाई धेरै माया गर्छौं र तपाईंहरूले सधैंभरि यहोवाको सेवा गरिरहन सकोस् भनेर उहाँले तपाईंहरूलाई बलियो पारून्, साथ देऊन् र आशिष् देऊन् भनेर प्रार्थना गर्छौं।
तपाईंका भाइहरू,
यहोवाका साक्षीहरूको परिचालक निकाय