बुधबार, अगस्त १३
म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।—उत्प. १२:२.
यहोवाले अब्राहाम ७५ वर्षको हुँदा यो प्रतिज्ञा गर्नुभएको थियो। त्यतिबेला तिनको कुनै सन्तान थिएन। के अब्राहामले त्यो प्रतिज्ञा पूरा भएको देखे? पूर्ण रूपमा त देखेनन्। युफ्रेटिस नदी पार गरेर २५ वर्ष पर्खेपछि अब्राहामले आशै नगरेको कुरा भयो। तिनले आफ्नो छोरा इसहाक जन्मेको अनि त्यसको ६० वर्षपछि नातिहरू एसाव र याकुब जन्मेको देखे। (हिब्रू ६:१५) तर अब्राहामले आफ्ना सन्तानहरू एउटा ठूलो जाति भएको र तिनीहरूले प्रतिज्ञा गरिएको देशमा बसोबास गरेको भने कहिल्यै देखेनन्। तैपनि यी वफादार पुरुषले आफ्नो सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध गाँसे। (याकु. २:२३) अब्राहामले विश्वास र धीरज देखाएकोले सबै राष्ट्रका मानिसहरूले आशिष् पाए। (उत्प. २२:१८) तिनी फेरि जीवित भएपछि यो कुरा थाह पाउँदा कत्ति खुसी हुन्छन् होला! यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले यहोवाका सबै प्रतिज्ञा पूरा भएको आफ्नै आँखाले नदेखौँला। तर अब्राहामजस्तै धीरजी भयौँ भने हामी यस कुरामा ढुक्क हुन सक्छौँ: यहोवाले हामीलाई अहिल्यै इनाम दिनुहुनेछ र नयाँ संसारमा अझ धेरै आशिष् दिनुहुनेछ।—मर्कु. १०:२९, ३०. w२३.०८ पृ. २४ अनु. १४
बिहीबार, अगस्त १४
तिनले साँचो परमेश्वर यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो।—२ इति. २६:५.
जवान छँदा राजा उज्जियाह नम्र थिए। तिनले “साँचो परमेश्वरको भय मान्न” सिकेका थिए। तिनी ६८ वर्षसम्म बाँचे र तिनले यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो। (२ इति. २६:१-४) उज्जियाहले थुप्रै शत्रु राष्ट्रलाई हराए र यरुसलेमको सुरक्षा प्रणालीलाई बलियो बनाए। (२ इति. २६:६-१५) उज्जियाहले गरेका विभिन्न काममा परमेश्वरले मदत दिनुभएकोले तिनी पक्कै खुसी थिए। (उप. ३:१२, १३) राजा उज्जियाह अरूलाई विभिन्न सल्लाह-सुझाव दिने गर्थे। त्यसैले तिनलाई आफूले यहोवाका आज्ञाहरू पालन गर्नुपर्दैन भन्ने लागेको हुन सक्छ। एकदिन उज्जियाह यहोवाको मन्दिरभित्र गए र अहङ्कारी हुँदै धूप बाल्ने वेदीमा धूप बाल्न खोजे, जुन काम गर्न राजाहरूलाई निषेध गरिएको थियो। (२ इति. २६:१६-१८) प्रधानपुजारी अजर्याहले तिनलाई रोक्न खोजे तर तिनी रिसले चूर भए। दुःखको कुरा, उज्जियाह यहोवाप्रति अवफादार भए र उहाँले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो। (२ इति. २६:१९-२१) तिनी नम्र भइरहेका भए तिनको जीवन कत्ति राम्रो हुने थियो! w२३.०९ पृ. १० अनु. ९-१०
शुक्रबार, अगस्त १५
‘तिनी खतना भएका मानिसहरूसित डराएर अन्यजातिका मानिसहरूदेखि पन्छिए।’—गला. २:१२.
प्रेषित पत्रुस अभिषिक्त ख्रिष्टियन भइसके तापनि तिनले आफ्ना कमीकमजोरीहरूसित अझै सङ्घर्ष गर्नुपऱ्यो। इस्वी संवत् ३६ मा परमेश्वरले पत्रुसलाई अन्यजातिका कर्निलियसकहाँ पठाउनुभयो र त्यहाँ परमेश्वरले कर्निलियसलाई पवित्र शक्तिद्वारा अभिषेक गर्नुभयो। यसबाट “परमेश्वर पक्षपाती हुनुहुन्न” र अन्यजातिका मानिसहरू पनि ख्रिष्टियन मण्डलीको भाग बन्न सक्छन् भन्ने कुरा प्रस्ट भयो। (प्रेषि. १०:३४, ४४, ४५) त्यसपछि पत्रुसले अन्यजातिका मानिसहरूसँगै बसेर खान थाले, जुन तिनले पहिला कहिल्यै गरेका थिएनन्। तर केही यहुदी ख्रिष्टियनलाई अन्यजातिका मानिसहरूसँगै बसेर खानु अनुचित लाग्थ्यो। त्यसैले यस्तो विचारधारा राख्ने केही यहुदी ख्रिष्टियन एन्टिओक आउँदा पत्रुसले अन्यजातिका भाइहरूसँगै बसेर खान छोडिदिए। सायद तिनलाई यहुदी ख्रिष्टियनहरूले के भन्लान् भनेर डर लागेको थियो। प्रेषित पावलले पत्रुसको यस्तो देखावटी व्यवहार याद गरे र तिनलाई सबैको सामुन्ने सच्याए। (गला. २:१३, १४) तर यस्तो गल्तीको बाबजुद पत्रुसले परमेश्वरको सेवा गर्न छोडेनन्। w२३.०९ पृ. २२ अनु. ८