सोमबार, अगस्त १८
परमेश्वरले तिनीसित प्रतिज्ञा गर्नुभएको हुनाले . . . तिनको विश्वासले गर्दा तिनी बलियो भए।—रोमी ४:२०.
यहोवा हामीलाई एल्डरहरूमार्फत पनि बल दिनुहुन्छ। (यसै. ३२:१, २) त्यसैले चिन्ताफिक्रीले सताउँदा आफ्ना भावनाहरू कुनै एल्डरलाई बताउनुहोस्। तिनले मदत दिँदा कृतज्ञ भई स्विकार्नुहोस्। एल्डरहरूमार्फत यहोवा तपाईँलाई बलियो पार्न सक्नुहुन्छ। चाहे हाम्रो आशा पृथ्वीमा सधैँभरि बाँच्ने होस् वा स्वर्गमा, त्यसले हामीलाई बल दिन सक्छ। (रोमी ४:३, १८, १९) यस आशाले हामीलाई परीक्षाहरू सहन, साक्षीकार्यमा लागिरहन र मण्डलीमा विभिन्न असाइनमेन्ट पूरा गर्न बल दिन्छ। (१ थिस्स. १:३) प्रेषित पावललाई पनि यही आशाले बल दिएको थियो। तिनी “थिचिएका,” “अन्योलमा परेका” र ‘पछारिएका’ थिए। तिनको “खेदो गरिएको” थियो अनि तिनको ज्यानसमेत खतरामा परेको थियो। (२ कोरि. ४:८-१०) पावलले आफ्नो आशामा ध्यान केन्द्रित गर्दा सहने बल पाए। (२ कोरि. ४:१६-१८) पावलले स्वर्गमा अमर जीवन पाउने आशामा ध्यान केन्द्रित गरे। त्यस आशामा मनन गरेकोले तिनले आफ्नो भित्री व्यक्तित्व “दिनदिनै नयाँ हुँदै गइरहेको” महसुस गरे। w२३.१० पृ. १५-१६ अनु. १४-१७
मङ्गलबार, अगस्त १९
यहोवाले आफ्ना मानिसहरूलाई बल दिनुहुनेछ, यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ।—भज. २९:११.
प्रार्थना गर्दा ‘के यहोवाले मेरो प्रार्थनाको जवाफ दिने समय आइसक्यो?’ भनेर विचार गर्नुहोस्। हामीलाई आफ्नो प्रार्थनाको जवाफ तुरुन्तै पाउनुपर्छ जस्तो लाग्न सक्छ। तर हामीलाई मदत गर्ने सबैभन्दा उचित समय यहोवालाई थाह छ। (हिब्रू ४:१६) आफूले मागेको कुरा तुरुन्तै नपाउँदा यहोवाले जवाफ दिनुभएन जस्तो लाग्न सक्छ। तर उहाँको तर्फबाट जवाफ यस्तो पनि हुन सक्छ: ‘अहिले अलि बेला भएको छैन।’ जस्तै: गम्भीर रोग लागेका भाइले निको होस भनेर प्रार्थना गरे तर तिनको स्वास्थ्यमा कुनै सुधार आएन। यहोवाले तिनलाई चमत्कारपूर्ण ढङ्गमा निको पार्नुभएको भए सैतानले उहाँलाई यसो भन्न सक्थ्यो: ‘तपाईँले निको पार्नुभएकोले मात्र उसले तपाईँको सेवा गरिरहेको हो।’ (अय्यु. १:९-११; २:४) यसबाहेक यहोवाले सबै रोगबिमार निको पार्ने समय तोकिसक्नुभएको छ। (यसै. ३३:२४; प्रका. २१:३, ४) त्यो समय नआएसम्म हामी चमत्कारपूर्ण ढङ्गमा निको हुने आशा गर्न सक्दैनौँ। त्यसैले ती भाइले यहोवासित आफ्नो रोगसित लड्न र वफादार भई उहाँको सेवा गरिरहन बल र मनोशान्ति माग्नु उचित हुन्थ्यो। w२३.११ पृ. २३ अनु. १३
बुधबार, अगस्त २०
उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।—भज. १०३:१०.
सिमसोनले गम्भीर गल्ती गरेका थिए। तैपनि तिनले यहोवाको सेवा गर्न छोडेनन्। तिनले पलिस्तियालीहरूसित युद्ध लड्ने मौका खोजिरहे किनभने त्यो जिम्मेवारी परमेश्वरले तिनलाई दिनुभएको थियो। (न्याय. १६:२८-३०) सिमसोनले यहोवा परमेश्वरलाई यसरी पुकारे: “यी पलिस्तियालीहरूसित . . . बदला लिन सकूँ।” साँचो परमेश्वरले सिमसोनको बिन्ती सुन्नुभयो र तिनलाई फेरि शक्ति दिनुभयो। नतिजास्वरूप तिनले आफ्नो जीवनभर जति जनालाई मारेका थिए, त्योभन्दा धेरैलाई आफ्नो मृत्युको दिनमा मारे। हुनत सिमसोनले आफ्नो गल्तीको कारण दुःखदायी नतिजा भोग्नुपऱ्यो तर तिनी यहोवाको इच्छाअनुसार चल्न छोडेनन्। हामीले पनि गल्ती गरेकोले सुधार पायौँ वा कुनै सुअवसर गुमायौँ भने यहोवाको इच्छाअनुसार चल्न छोड्नु हुँदैन। नबिर्सनुहोस्, यहोवा हामीलाई क्षमा दिन तयार हुनुहुन्छ। (भज. १०३:८, ९) गल्तीहरू गरे तापनि सिमसोनलाई जस्तै यहोवाले हामीलाई पनि उहाँको इच्छाअनुसार चल्न बल दिनुहुनेछ। w२३.०९ पृ. ६ अनु. १५-१६