बुधबार, अगस्त २७
म आफ्नो शरीरमा बेग्लै खालको व्यवस्था पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग लडाइँ गर्छ। अनि मेरो शरीरमा बास गर्ने पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।—रोमी ७:२३.
पापी झुकावहरूले तपाईँलाई निराश बनाएको छ भने आफूले गरेको समर्पणको वाचा सम्झनुहोस्। यसो गर्नुभयो भने प्रलोभनहरूविरुद्ध लड्ने तपाईँको सङ्कल्प अझै बलियो हुनेछ। कसरी? यहोवालाई जीवन समर्पण गर्दा तपाईँले आफूलाई इन्कार गरिरहनुभएको हुन्छ। यसको अर्थ यहोवालाई दुःखी तुल्याउने इच्छा र लक्ष्यहरूलाई तिरस्कार गर्नु हो। (मत्ति १६:२४) त्यसैले कुनै परीक्षा आइपर्दा तपाईँ ‘के गर्ने कसो गर्ने’ भनेर अलमलिनुहुनेछैन। किनकि तपाईँले यहोवाप्रति वफादार रहने सङ्कल्प गरिसक्नुभएको छ। यहोवालाई खुसी तुल्याउने कुरामा तपाईँ अडिग रहनुहुनेछ। तपाईँ अय्युबजस्तै हुनुहुनेछ। तिनले एकदमै गाह्रा परीक्षाहरूको सामना गर्नुपर्दा समेत दृढ भई यसो भने: “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्नेछैनँ।”—अय्यु. २७:५. w२४.०३ पृ. ९ अनु. ६-७
बिहीबार, अगस्त २८
यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्, जसले साँचो हृदयले उहाँको पुकारा गर्छन्।—भज. १४५:१८.
‘प्रेमका परमेश्वर’ यहोवा हामीसित हुनुहुन्छ। (२ कोरि. १३:११) उहाँ हामी प्रत्येकमा चासो राख्नुहुन्छ। हामी “उहाँको अटल प्रेमले घेरिएका” छौँ। (भज. ३२:१०) उहाँको प्रेममा जत्ति धेरै मनन गर्छौँ, त्यत्ति नै उहाँ हामीलाई वास्तविक लाग्नेछ र उहाँसित अझ घनिष्ठ भएको महसुस हुनेछ। हामी उहाँलाई नहिचकिचाईकन प्रार्थना गर्न सक्छौँ र हामीलाई उहाँको प्रेम कत्ति आवश्यक छ भनेर बताउन सक्छौँ। उहाँ हाम्रो कुरा बुझ्नुहुन्छ र हामीलाई मदत गर्न तयार हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुँदै आफ्नो सबै चिन्ता-फिक्री उहाँमा बिसाउन सक्छौँ। (भज. १४५:१८, १९) मौसम चिसो भएको बेला हामी न्यानो आगोतर्फ खिचिन्छौँ। त्यसैगरि यहोवाको न्यानो मायाले हामीलाई उहाँतर्फ खिच्छ। हुनत यहोवाको प्रेम शक्तिशाली छ तर त्यो कोमल पनि छ। त्यसैले यहोवाले तपाईँलाई आफ्नो न्यानो अङ्गालोमा बाँध्न खोज्नुहुँदा तपाईँ पनि उहाँको अङ्गालोमा बाँधिनुहोस्। अनि उहाँलाई यसो भन्नुहोस्: ‘म तपाईँलाई प्रेम गर्छु’!—भज. ११६:१. w२४.०१ पृ. ३१ अनु. १९-२०
शुक्रबार, अगस्त २९
मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु।—युह. १७:२६.
येसुको समयका यहुदीहरूलाई परमेश्वरको नाम यहोवा हो भनेर थाह थियो। त्यसैले उहाँले तिनीहरूलाई परमेश्वरको नाम मात्र बताउनुभएन बरु परमेश्वरको विषयमा ‘वयान गर्नुभयो।’ (युह. १:१७, १८, संशोधित संस्करण) जस्तै: हिब्रू धर्मशास्त्रमा यहोवा कृपालु र दयालु हुनुहुन्छ भनिएको छ। (प्रस्थ. ३४:५-७) यस कुरालाई अझ स्पष्ट पार्न येसुले हराएको छोराको उदाहरण चलाउनुभयो। यस उदाहरणमा बुबाले आफ्नो पश्चात्तापी छोरालाई ‘टाढैबाट आउँदै गरेको देखेपछि’ दौडँदै गए र उसलाई अङ्गालो हाले अनि मनैदेखि क्षमा दिए। यसबाट यहोवा कत्ति दयालु र कृपालु हुनुहुन्छ भनेर छर्लङ्गै भयो। (लुका १५:११-३२) येसुले यहोवा कस्तो व्यक्ति हुनुहुन्छ भनेर बुझ्न मानिसहरूलाई मदत गर्नुभयो। w२४.०२ पृ. १० अनु. ८-९