आइतबार, अगस्त ३१
अन्तर्दृष्टि भएकाहरूले चाहिँ बुझ्नेछन्।—दानि. १२:१०.
बाइबलको भविष्यवाणी बुझ्न हामीलाई मदत चाहिन्छ। यो उदाहरण विचार गरौँ। तपाईँ पहिला कहिल्यै नगएको ठाउँमा घुम्न जाँदै हुनुहुन्छ। अनि तपाईँसँगै त्यस ठाउँबारे राम्रो ज्ञान भएको साथी पनि छन्। तपाईँहरू कहाँ हुनुहुन्छ र कुन बाटो कहाँ जान्छ भनेर तिनलाई थाह छ। तिनी तपाईँसँगै आउन राजी भएकोमा तपाईँ पक्कै खुसी हुनुहुन्छ। यहोवा पनि त्यस्तै साथी हुनुहुन्छ। उहाँलाई हामी कुन समयमा बाँचिरहेका छौँ र हाम्रो भविष्य कस्तो छ भनेर थाह छ। त्यसैले बाइबलको भविष्यवाणी बुझ्न हामीले नम्र भई यहोवासित मदत माग्नुपर्छ। (दानि. २:२८; २ पत्रु. १:१९, २०) असल आमाबुबाजस्तै यहोवा आफ्ना छोराछोरीको भविष्य उज्ज्वल भएको चाहनुहुन्छ। (यर्मि. २९:११) मानव आमाबुबाले छोराछोरीको भविष्य यस्तै हुन्छ भनेर बताउन सक्दैनन्। तर यहोवाले भने भविष्यबारे सही कुरा बताउन सक्नुहुन्छ। हामीले महत्त्वपूर्ण घटनाहरू पहिल्यै थाह पाउन सकौँ भनेर उहाँले आफ्नो वचनमा भविष्यवाणीहरू लेख्न लगाउनुभयो।—यसै. ४६:१०. w२३.०८ पृ. ८ अनु. ३-४
सोमबार, सेप्टेम्बर १
माथिबाट आउने यो करुणा बिहानीको उज्यालोजस्तै हुनेछ।—लुका १:७८.
यहोवाले येसुलाई मानिसजातिका सबै समस्या समाधान गर्ने शक्ति दिनुभएको छ। येसुले चमत्कारहरूमार्फत मानिसले कहिल्यै समाधान गर्न नसक्ने समस्याहरू हटाउन सक्नुहुन्छ भनेर देखाउनुभयो। जस्तै: उहाँसित मानिसजातिको सबै समस्याको मूल जड पाप अनि यसका असरहरू अर्थात् रोगबिमार र मृत्युलाई हटाउने शक्ति छ। (मत्ति ९:१-६; रोमी ५:१२, १८, १९) उहाँले चमत्कारहरूमार्फत मानिसहरूका “हरप्रकारका” रोगबिमारलाई निको पार्न र मरेकाहरूलाई समेत जीवित पार्न सक्नुहुन्छ भनेर देखाउनुभयो। (मत्ति ४:२३; युह. ११:४३, ४४) उहाँसित ठूलो आँधीलाई नियन्त्रणमा राख्ने र प्रेतहरूलाई धपाउने शक्ति पनि छ। (मर्कु. ४:३७-३९; लुका ८:२) यहोवाले आफ्नो छोरालाई यस्तो शक्ति दिनुभएको कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ! परमेश्वरले प्रतिज्ञा गर्नुभएका सबै असल कुरा उहाँको राज्यले पूरा गर्नेछ भनेर हामी विश्वस्त हुन सक्छौँ। येसुले गर्नुभएका चमत्कारहरूबाट नयाँ संसारमा उहाँले अझै व्यापक रूपमा चमत्कारहरू गर्नुहुनेछ भनेर बुझ्न सक्छौँ। w२३.०४ पृ. ३ अनु. ५-७
मङ्गलबार, सेप्टेम्बर २
पवित्र शक्तिले सबै कुरा, परमेश्वरका गहिरा कुराहरूसमेत खोजतलास गर्छ।—१ कोरि. २:१०.
यदि तपाईँ ठूलो मण्डलीमा हुनुहुन्छ अनि धेरै चोटि हात उठाए पनि मौका नपाउनुभएको महसुस हुँदा हात नउठाऔँ जस्तो लाग्न सक्छ। तर टिप्पणी दिने कोसिस गरिरहनुहोस्। प्रत्येक सभाको लागि एउटाभन्दा धेरै टिप्पणी तयार पार्नुहोस्। छलफलको सुरुतिर टिप्पणी दिने मौका पाउनुभएन भने बीचतिर वा अन्ततिर मौका पाउन सक्नुहुन्छ। प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्दा प्रत्येक अनुच्छेद मूल विषयसित कसरी सम्बन्धित छ, विचार गर्नुहोस्। यसो गर्दा तपाईँले छलफलको अवधिभर कुनै न कुनै राम्रो टिप्पणी दिन सक्नुहुनेछ। साथै बाइबलका गहिरा कुराहरू छलफल गरिएका अनुच्छेदहरूबाट टिप्पणी तयारी गर्न सक्नुहुन्छ। किन? यस्ता अनुच्छेदहरूमा थोरै मात्र हात उठ्न सक्छन्। तर तपाईँले दुई/तीन वटा सभामा लगातार एक चोटि पनि मौका पाउनुभएन भने नि? तपाईँ सभाअघि सञ्चालकलाई भेटेर कुन अनुच्छेदमा जवाफ दिन चाहनुहुन्छ भनेर बताउन सक्नुहुन्छ। w२३.०४ पृ. २१-२२ अनु. ९-१०