सोमबार, सेप्टेम्बर १
माथिबाट आउने यो करुणा बिहानीको उज्यालोजस्तै हुनेछ।—लुका १:७८.
यहोवाले येसुलाई मानिसजातिका सबै समस्या समाधान गर्ने शक्ति दिनुभएको छ। येसुले चमत्कारहरूमार्फत मानिसले कहिल्यै समाधान गर्न नसक्ने समस्याहरू हटाउन सक्नुहुन्छ भनेर देखाउनुभयो। जस्तै: उहाँसित मानिसजातिको सबै समस्याको मूल जड पाप अनि यसका असरहरू अर्थात् रोगबिमार र मृत्युलाई हटाउने शक्ति छ। (मत्ति ९:१-६; रोमी ५:१२, १८, १९) उहाँले चमत्कारहरूमार्फत मानिसहरूका “हरप्रकारका” रोगबिमारलाई निको पार्न र मरेकाहरूलाई समेत जीवित पार्न सक्नुहुन्छ भनेर देखाउनुभयो। (मत्ति ४:२३; युह. ११:४३, ४४) उहाँसित ठूलो आँधीलाई नियन्त्रणमा राख्ने र प्रेतहरूलाई धपाउने शक्ति पनि छ। (मर्कु. ४:३७-३९; लुका ८:२) यहोवाले आफ्नो छोरालाई यस्तो शक्ति दिनुभएको कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ! परमेश्वरले प्रतिज्ञा गर्नुभएका सबै असल कुरा उहाँको राज्यले पूरा गर्नेछ भनेर हामी विश्वस्त हुन सक्छौँ। येसुले गर्नुभएका चमत्कारहरूबाट नयाँ संसारमा उहाँले अझै व्यापक रूपमा चमत्कारहरू गर्नुहुनेछ भनेर बुझ्न सक्छौँ। w२३.०४ पृ. ३ अनु. ५-७
मङ्गलबार, सेप्टेम्बर २
पवित्र शक्तिले सबै कुरा, परमेश्वरका गहिरा कुराहरूसमेत खोजतलास गर्छ।—१ कोरि. २:१०.
यदि तपाईँ ठूलो मण्डलीमा हुनुहुन्छ अनि धेरै चोटि हात उठाए पनि मौका नपाउनुभएको महसुस हुँदा हात नउठाऔँ जस्तो लाग्न सक्छ। तर टिप्पणी दिने कोसिस गरिरहनुहोस्। प्रत्येक सभाको लागि एउटाभन्दा धेरै टिप्पणी तयार पार्नुहोस्। छलफलको सुरुतिर टिप्पणी दिने मौका पाउनुभएन भने बीचतिर वा अन्ततिर मौका पाउन सक्नुहुन्छ। प्रहरीधरहरा अध्ययनको लागि तयारी गर्दा प्रत्येक अनुच्छेद मूल विषयसित कसरी सम्बन्धित छ, विचार गर्नुहोस्। यसो गर्दा तपाईँले छलफलको अवधिभर कुनै न कुनै राम्रो टिप्पणी दिन सक्नुहुनेछ। साथै बाइबलका गहिरा कुराहरू छलफल गरिएका अनुच्छेदहरूबाट टिप्पणी तयारी गर्न सक्नुहुन्छ। किन? यस्ता अनुच्छेदहरूमा थोरै मात्र हात उठ्न सक्छन्। तर तपाईँले दुई/तीन वटा सभामा लगातार एक चोटि पनि मौका पाउनुभएन भने नि? तपाईँ सभाअघि सञ्चालकलाई भेटेर कुन अनुच्छेदमा जवाफ दिन चाहनुहुन्छ भनेर बताउन सक्नुहुन्छ। w२३.०४ पृ. २१-२२ अनु. ९-१०
बुधबार, सेप्टेम्बर ३
युसुफले . . . यहोवा परमेश्वरको स्वर्गदूतले भनेझैँ आफ्नी पत्नीलाई घरमा ल्याए।—मत्ति १:२४.
युसुफले राजीखुसीले यहोवाको निर्देशन पालन गरे, जसले तिनलाई असल पति हुन मदत गऱ्यो। तिनले परिवारको सन्दर्भमा परमेश्वरबाट निर्देशनहरू पाए। प्रत्येक चोटि ठूलै परिवर्तन गर्नुपरे तापनि तिनले तुरुन्तै ती निर्देशन पालन गरे। (मत्ति १:२०; २:१३-१५, १९-२१) परमेश्वरको निर्देशन पालन गर्दै युसुफले मरियमलाई सुरक्षा दिए, साथ दिए र उनको ख्याल राखे। युसुफको यस्तो मायालु व्यवहारले मरियमलाई आफ्नो पतिको अझ धेरै आदर गर्न र तिनलाई प्रेम गर्न मदत गरेको हुनुपर्छ। पतिहरू हो, परिवारको ख्याल राख्ने सन्दर्भमा बाइबलआधारित सल्लाह लागू गरेर युसुफको अनुकरण गर्नुहोस्। बाइबलको सल्लाह लागू गर्न ठूलो परिवर्तन गर्नुपर्ने हुन सक्छ। तर यसो गर्दा तपाईँले आफ्नी पत्नीलाई प्रेम गरिरहनुभएको हुनेछ र यसले तपाईँको वैवाहिक सम्बन्ध बलियो बनाउनेछ। विवाह गरेको २० वर्षभन्दा धेरै भइसकेको भानुआटुकी एक बहिनी यसो भन्छिन्: “मेरो श्रीमान्ले यहोवाको निर्देशन पालन गर्नुभएकोले मैले उहाँलाई अझ धेरै आदर गर्न सकेकी छु। म सुरक्षित महसुस गर्छु र उहाँले गर्नुभएका निर्णयहरूलाई मैले विश्वस्त भएर समर्थन गर्न सकेकी छु।” w२३.०५ पृ. २१ अनु. ५