प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ९/८ पृ. ५-११
  • लामो र उत्तम जीवन बिताउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लामो र उत्तम जीवन बिताउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अवरोधहरू चिन्‍ने
  • तपाईंको जीवनलाई असर गर्ने आनीबानीहरू
  • वातावरणले पनि फरक पार्छ
  • सस्तो अनि भरपर्दो उपचार उपलब्ध
  • क्षयरोगविरुद्ध नयाँ अभियान
    ब्यूँझनुहोस्‌!—१९९९
  • विजय तथा विपत्ति
    ब्यूँझनुहोस्‌!—१९९८
  • विश्‍वव्यापी समाधान-के यो सम्भव छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • युद्धले जत्तिकै ज्यान लिन्छ
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ९/८ पृ. ५-११

लामो र उत्तम जीवन बिताउनुहोस्‌

कल्पना गर्नुहोस्‌, मानिसको जीवन अवरोध नाघ्दै दौडनुपर्ने लामो दौड हो जुन दौडमा धावकहरूले अवरोधहरू नाघ्दै दौड्‌नुपर्छ। सबै धावकहरूले एकैचोटि दौड सुरु गर्छन्‌। तर तिनीहरूले कहिलेकाहीं अवरोध नाघ्दा ठोक्कर खान्छन्‌। त्यसो हुँदा धावकहरूको रफ्तार घट्‌दै जान्छ र थुप्रै धावकहरू दौडन छाड्‌छन्‌।

त्यस्तै गरी, मानव जीवनको पनि एउटा सुरुआत छ र बाटोमा ठूलठूला अवरोधहरू आइपर्छन्‌। मानिसले आफ्नो जीवनकालमा एकपछि अर्को अवरोधको सामना गर्दै जान्छ। हरेक पटक अवरोध नाघ्दा तिनी शिथिल हुँदै जान्छन्‌ र समयमा दौडनै छोड्‌छन्‌। अवरोधहरू जति अग्ला हुन्छन्‌ तिनी उति चाँडो थकित हुन्छन्‌ वा मर्छन्‌। विकसित देशको मानिस लगभग ७५ वर्षमा थाक्छन्‌। दौडमा सहभागी प्रायजसो धावकहरू दौडने यो दूरीलाई मानिसको औसतन आयुसित तुलना गरिएको छ।a (भजन ९०:१० तुलना गर्नुहोस्‌।) तथापि, कोही कोही मानिसहरू अलि लामो समयसम्म दौडन्छन्‌ र कतिपय भने अधिकतम आयु भनेर मानिलिएको उमेर अर्थात्‌ ११५ देखि १२० वर्षसम्म पनि बाँच्छन्‌। यति लामो सयमसम्म दौडनु कमालको कुरा हो र त्यो विश्‍वका अखबारहरूको मुख्य समाचार नै बन्छ।

अवरोधहरू चिन्‍ने

यस शताब्दीको सुरुमा मानिसहरू जति दौडन सक्थे, अहिले त्यसको दोबर दौडन सक्छन्‌। किन? यसको मुख्य कारण, मानिसले अवरोधहरू कम गर्न सकेका छन्‌। तर ती अवरोधहरू वास्तवमा के हुन्‌? अनि के त्यसलाई अझै कम गर्न सकिन्छ?

मानिसको जीवनकाललाई असर गर्ने केही मुख्य अवरोध वा कारकहरू बानी, वातावरण र स्वास्थ्यसेवा हुन्‌ भनी विश्‍व स्वास्थ्य संघका (डब्लु.एच.ओ.) जनस्वास्थ्य विशेषज्ञले बताए।b तसर्थ, तपाईंको राम्रो बानी बसेको छ, वातावरण स्वच्छ छ र राम्रो स्वास्थ्य सेवा पाउनुभएको छ भने अवरोधहरू त्यति ठूलो हुँदैन अनि तपाईं लामो समयसम्म बाँच्न सक्नुहुन्छ। मानिसका परिस्थितिहरू एकदमै भिन्‍नाभिन्‍नै भए तापनि प्रायजसो सबैले अर्थात्‌ सिड्‌नीका बैंक निर्देशकदेखि लिएर साऊ पाउलुका फुटपाथ पसलेले आफ्ना जीवनका अवरोधहरू कम गर्न सक्छन्‌। कसरी?

तपाईंको जीवनलाई असर गर्ने आनीबानीहरू

द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन-को रिपोर्टअनुसार, “असल बानी भएका मानिसहरू लामो समयसम्म बाँच्ने मात्र होइन तर तिनीहरू त्यति चाँडै अस्वस्थ हुँदैनन्‌ र लामो समयसम्म शारीरिक अस्वस्थताको सामना पनि गर्नु पर्दैन।” खाने, पिउने, सुत्ने, धूम्रपान गर्ने र व्यायाम गर्ने जस्ता आदतहरू परिवर्तन गरेर पहिलो अवरोधलाई कम गर्न सकिन्छ। उदाहरणका लागि, व्यायाम गर्ने आदतलाई लिनुहोस्‌।

शारीरिक व्यायाम गर्ने बानी। सन्तुलित शारीरिक व्यायाम निकै फाइदाजनक हुनसक्छ। (“कुन व्यायाम कति बेरसम्म गर्ने?” पेटी हेर्नुहोस्‌।) अध्ययनहरूले देखाएअनुसार घरमा हल्का व्यायाम गर्नाले ‘एकदमै वृद्धहरूका’ साथै बूढा-बूढीहरूले स्फूर्ति र जीवनशक्‍ति पाउनसक्छन्‌। उदाहरणका लागि, ७२ देखि ९८ वर्षका वृद्धहरूको एउटा समूहले दस हप्तासम्म भारत्तोलन व्यायाम गर्दा पनि छिट्‌छिटो हिंड्‌न र भऱ्‍याङ चढ्‌न त्यति गाह्रो नभएको अनुभव गरे। यो कुनै छक्कलाग्दो कुरा होइन! उक्‍त व्यायाम गर्नेहरूको मांसपेशी पहिलेभन्दा दोबर बलियो भएको कुरा व्यायाम गरेपछि लिइएको परीक्षणबाट थाह लागेको छ। त्यति हिंड्डुल नगर्ने ७० वर्ष र त्योभन्दा कम उमेरका आइमाईहरूको समूहले हप्तामा दुईपल्ट व्यायाम गरे। वर्ष दिनपछि तिनीहरूको मांसपेशी बढ्यो, बल बढ्यो, सन्तुलन राम्रो भयो तथा हड्डी पनि बलियो भयो। यो परीक्षण सञ्चालन गर्ने शरीरविज्ञानी मिरियम नेल्सनले यसो भनिन्‌: “व्यायाम गर्दा तिनीहरूको लिगामेन्ट, टेन्डन र मांसपेशीहरू च्यातिएला भनेर डराएका थियौं। तर ती आइमाईहरू त पहिलेभन्दा बलियो र स्वस्थ पो भए।”

बुढ्यौली र व्यायामबारे थुप्रै वैज्ञानिक अध्ययनहरूको परिणामको निचोड निकाल्दै एउटा पाठ्यपुस्तक यसो भन्छ: “व्यायाम गर्नाले चाँडै बूढाबूढी हुँदैन, आयु लामो हुन्छ र मृत्युअघि अरूमाथि निर्भर हुनुपर्ने समय पनि छोटो हुन्छ।”

मानसिक व्यायाम गर्ने बानी। “जति चलायो उति तीखो हुन्छ, नचलाए बोधो हुन्छ” भन्‍ने कहावत मांसपेशीको सन्दर्भमा मात्र नभई मनमा पनि लागू हुन्छ। सं.रा.-को बुढ्यौलीसम्बन्धी राष्ट्रिय संस्थाको अध्ययनअनुसार बूढाबूढी हुँदै गएपछि अलि अलि बिर्सने बानी लाग्छ तापनि तिनीहरूको मस्तिष्क भने चंखो नै हुन्छ। तसर्थ, स्नायु विज्ञानका प्राध्यापक डा. एन्टोनीओ आर. डामास्योको निष्कर्षअनुसार “वृद्धहरू एकदमै अर्थपूर्ण र स्वस्थ मानसिक जीवन बिताउन सक्षम हुन्छन्‌।” त्यसोभए, कुन कुराले गर्दा वृद्धहरूको मस्तिष्कमा अवस्थाअनुसार काम गर्ने क्षमता कायमै रहन्छ?

मस्तिष्कमा एक खरब कोषिका वा न्युरोनहरूबीच खरबौं सम्पर्कहरू हुन्छन्‌। यी सम्पर्कहरूले टेलिफोन लाइनको जस्तै काम गरेर न्युरोनहरूलाई एकअर्कासित “कुरा गर्न” सक्षम बनाउँछन्‌। यसले गर्दा अन्य कुरालगायत स्मरणशक्‍ति पनि उत्पन्‍न हुन्छ। जसै मस्तिष्क बूढो हुँदै जान्छ, न्युरोनहरूले पनि काम गर्न छाड्‌छन्‌। (“मस्तिष्कका कोषिकाहरूबारे नयाँ दृष्टिकोण” पेटी हेर्नुहोस्‌।) यद्यपि, वृद्धहरूको मस्तिष्कमा काम गर्न छाडेका न्युरोनहरूको ठाउँमा अरू न्युरोनहरूले काम गर्छन्‌। एउटा न्युरोनले काम गर्न छाड्यो भने त्यसको काम नजिकैका न्युरोनहरूले अरू न्युरोनहरूसँग सम्पर्क राखेर गर्छ। त्यसरी मस्तिष्कको विभिन्‍न भागले एउटै काम गरिरहेको हुन्छ। त्यसकारण, जवानहरूले गर्ने मानसिक काम थुप्रै वृद्धहरूले पनि गर्छन्‌ तर तिनीहरूको मस्तिष्कको अर्कै भागले त्यो काम गरिरहेको हुनसक्छ। कुनै कुनै अवस्थामा, उमेर खाएको टेनिस खेलाडीले फूर्तिसँग यताउता दौडन नसकेर आफूभन्दा कम उमेरका खेलाडीसित नभएको खुबी चलाए जस्तै वृद्धहरूको मस्तिष्कले पनि काम गर्छ। यद्यपि, आफूभन्दा कम उमेरका खेलाडीभन्दा भिन्‍नै खुबी चलाए तापनि बूढो खेलाडीले अंक प्राप्त गर्छ।

उमेर खाएको खेलाडीले अंक प्राप्त गरिरहन के गर्नसक्छन्‌? सत्तरीदेखि असी वर्षका १,००० भन्दा बढी मानिसहरूको अध्ययन गरेपछि वृद्धावस्थासम्बन्धी अनुसन्धानकर्ता डा. मेरलिन अल्बर्टले पत्ता लगाएअनुसार वृद्ध व्यक्‍तिको बौद्धिक क्षमता छ कि छैन भन्‍ने कुरा तिनीहरूले मानसिक व्यायाम कतिको गर्छन्‌ त्यसमा पनि भर पर्छ। (“मस्तिष्कलाई अवस्थाअनुसार काम गर्न सक्ने बनाउने” पेटी हेर्नुहोस्‌।) मानसिक व्यायामले मस्तिष्कको ‘टेलिफोन सम्पर्क’ कायमै राख्छ। अर्कोतर्फ “मानिसहरूले काममा अवकाश पाएपछि कामकुरालाई हल्का रूपमा लिने र संसारका गतिविधिहरूबारे चासो छैन भन्‍न थाल्छन्‌” तब तिनीहरू मानसिक तवरमा कमजोर हुँदै जान्छन्‌ भन्‍ने विशेषज्ञहरूको भनाइ छ।—मस्तिष्क भित्र।

यसकारण खुसीको कुरा के हो भने, वृद्धत्वशास्त्री डा. ज्याक रोअनुसार “कठिनाइरहित वृद्धावस्था बिताउनमा हामीले नियन्त्रण वा हेरफेर गर्नसक्ने पक्षहरू पनि भर पर्छन्‌।” यसबाहेक, तपाईंले अहिलेदेखि नै राम्रा बानीहरू बसाल्न सक्नुहुन्छ। एक जना अनुसन्धानकर्ता यसो भन्छन्‌, “जिन्दगीभरि तपाईंको खराब आनीबानी थियो र पछि परिवर्तन गर्नुभयो भने पनि तपाईंले स्वस्थ जीवनका केही न केही इनामहरू अवश्‍य पाउनुहुनेछ।”

वातावरणले पनि फरक पार्छ

यो जमानामा लण्डनमा जन्मेकी केटी मध्य युगको लण्डनमा जन्मने हो भने तिनको आयु अहिलेको भन्दा आधा पनि हुने थिएन। यसो हुनुको कारण त्यस केटीको शारीरिक बनौटमा परिवर्तन भएर त होइन तर दुइटा अवरोधहरूमा आमूल परिवर्तन भएर हो। ती हुन्‌, वातावरण र चिकित्सा उपचार। पहिला वातावरणलाई विचार गर्नुहोस्‌।

आफू वरपरका वातावरण। पहिले मानिसको स्वास्थ्यलाई असाध्यै असर गर्ने अन्य कुराहरू मध्ये तिनको घरको अवस्था पनि हो। तथापि, हालैका दशकहरूमा आफू वरपरका वातावरणले हुने खतराहरू कम भएको छ। राम्रो सरसफाइ, स्वच्छ पानी र घरमा उडुस, उपियाँजस्ता हानिकारक कीराहरू कम भएकोले मानिसको वातावरणमा सुधार आएको छ, स्वास्थ्य राम्रो भएको छ तथा आयु पनि लामो भएको छ। फलस्वरूप, विश्‍वका थुप्रै ठाउँहरूमा मानिसको आयु लामो भएको छ।c तथापि, यस अवरोधलाई पार लाउन सक्ने बनाउन घरमा धाराको व्यवस्था मिलाएर मात्र पुग्दैन। स्वस्थ सामाजिक र धार्मिक वातावरण कायम राख्नु पनि आवश्‍यक छ।

सामाजिक वातावरण। तपाईंको सामाजिक वातावरण भन्‍नु नै तपाईंसितै बस्ने, काम गर्ने, खाने, उपासना गर्ने र खेल्ने मानिसहरू हुन्‌। तपाईंसित स्वच्छ पिउने पानीको सुविधा छ भने तपाईंको शारीरिक वातावरण राम्रो हुन्छ। त्यस्तै गरी, तपाईंको सामाजिक वातावरणमा राम्रो बनाउने एउटा मुख्य पक्ष मूल्यवान संगति हो। अरू मानिसहरूसित तपाईंको खुसी र दुःख, आशा र निराशा व्यक्‍त गर्न पाउँदा वातावरणीय अवरोध पार गर्न सक्नुका साथै तपाईंको आयु लामो बनाउनमा पनि मदत गर्छ।

तथापि, यसको ठीक विपरीत परिस्थिति पनि हुन्छ। संगतिको अभावले एक्लो महसुस हुनुका साथै समाजमा एकलकाँटे हुनसक्छ। तपाईंले आफू वरपरका मानिसहरूबाट मायाको आभास पाउनुभएन भने तपाईं ओइलाउन धेरैबेर लाग्दैन। वृद्धाश्रममा बस्ने एउटी आइमाईले आफ्नो चिनेको व्यक्‍तिलाई यस्तो पत्र लेखिन्‌: “म ८२ वर्षकी भएँ र म यस आश्रममा बसेको १६ वर्ष भयो। हुन त, तिनीहरूले हाम्रो रेखदेख राम्ररी गर्छन्‌ तैपनि कहिलेकाहीं एक्लो महसुस हुँदा असह्‍य हुन्छ।” दुःखको कुरा, यस आइमाईको परिस्थिति विशेष गरी पश्‍चिमी मुलुकका अरू थुप्रै वृद्धहरूको जस्तै छ। समाजमा तिनीहरूको गुनासो त गरिंदैन तर मूल्यांकन पनि गरिंदैन। बुढ्यौलीको अन्तरराष्ट्रिय संस्थाका कार्यकर्ता जेम्स कायेचा भन्छन्‌, “सम्पन्‍न देशका वृद्धहरूको हितलाई खतरामा पार्ने एउटा मुख्य पक्ष एक्लोपन हो।”

हुन त हो, तपाईंले नचाहँदा नचाहँदै अवकाश प्राप्त गर्नु, चलहल गर्ने शक्‍ति कम हुनु, पुरानो साथी गुमाउनु अथवा आफ्नो पति वा पत्नीको मृत्यु हुनुजस्ता एक्लो महसुस गराउने परिस्थितिलाई हटाउन सक्नुहुन्‍न। तैपनि तपाईंले केही कदमहरू चालेर ती अवरोधहरूलाई सक्दो कम गर्नसक्नुहुन्छ। सबैभन्दा पहिला नबिर्सनुहोस्‌, बूढेसकालमा मात्र एक्लो महसुस हुने होइन। केही जवानहरू पनि एक्लो महसुस गर्छन्‌। एक्लोपनको कारण बुढ्यौली नभई समाजमा एक्लो भएर हो। एक्लोपन महसुस नगर्न तपाईं के गर्न सक्नुहुन्छ?

एउटी वृद्धा विधवा भन्छिन्‌, “मानिसहरूसँग रमाइलो गर्नुहोस्‌। ठुस्स पर्ने मानिससित कसैलाई संगत गर्न मन लाग्दैन। हँसिलो हुन तपाईंले नै प्रयास गर्नुपर्छ। हुन त त्यसो गर्न सजिलो छैन तैपनि तपाईंको कोसिस त्यसै खेर जाँदैन। अरूलाई दया गर्नुभयो भने तपाईंले पनि अरूबाट दया पाउनुहुनेछ।” तिनी अझ यसो भन्छिन्‌: “मैले भेटेका सबै मानिसहरू अर्थात्‌ जवान वा वृद्धहरूले रुचाउने विषयमा कुराकानी गर्न सकूँ भनेर जानकारीमूलकपत्रिका तथा समाचारहरू हेरेर म ताजा जानकारी लिने गर्छु।”

निम्न केही सुझाउहरू छन्‌: अरूको रुचिप्रति चासो राख्न सिक्नुहोस्‌। प्रश्‍नहरू सोध्नुहोस्‌। सकेसम्म उदारचित्तको हुनुहोस्‌। तपाईंसँग भौतिक कुराहरूको कमी छ भने, कुनै काम गर्न अग्रसर हुनुहोस्‌। अरूलाई केही दिंदा आनन्द प्राप्त हुन्छ। पत्राचार गर्नुहोस्‌। सोखराख्नुहोस्‌। अरूलाई आफ्नो घरमा बोलाउनुहोस्‌ वा कतै रमाइलो गर्न जाने निमन्त्रणा स्वीकार्नुहोस्‌। तपाईंको घरको वातावरण रमाइलो तथा पाहुनाहरूलाई आऊँ आऊँ लाग्ने खाले बनाउनुहोस्‌। खाँचोमा परेकाहरूलाई मदत गर्न अग्रसर हुनुहोस्‌।

धार्मिक वातावरण। धार्मिक क्रियाकलापहरूले वृद्धहरूलाई “जीवनको अर्थ र सार्थकता” प्राप्त गर्न अनि “खुसी” हुन “आफूलाई उपयोगी ठान्‍न,” “सन्तुष्ट जीवन बिताउन” तथा “साम्प्रदायिक र स्वस्थ महसुस गर्न” मदत गर्छ भनेर थुप्रै प्रमाणहरूले देखाएको छ। किन? बुढेसकाल—वृद्धावस्थाका वास्तविकताहरू भन्‍ने पुस्तक यसो भन्छ: “धार्मिक विश्‍वासले मानिसहरूलाई आफू वरपरका गतिविधिहरू बुझ्न मदत गर्ने जीवनको धारणा, मनोवृत्ति, मूल्य तथा मान्यता र विश्‍वास दिन्छ।” यसबाहेक, धार्मिक क्रियाकलापहरूमा सहभागी हुँदा वृद्ध मानिसहरूले अरूसित घुलमिल हुने मौका पाउँछन्‌ र तिनीहरू “समाजबाट अलग र एक्लो हुने सम्भावना कम हुन्छ।”

लुइज र एभलिन, दुवै असी वर्षीया विधवाहरू यहोवाका साक्षीहरूको मण्डलीका सदस्यहरू हुन्‌। तिनीहरूसित गरिएको निम्न अन्तरवार्ताले तिनीहरू दुवैले दशकौंदेखि थाह पाएका कुरा पुष्टि गर्छ। लुइज भन्छिन्‌, “हाम्रो राज्यभवनकाd वृद्ध तथा जवानहरूसँग कुरा गर्दा मलाई रमाइलो लाग्छ। सभाहरू शिक्षाप्रद हुन्छन्‌। सभाहरू सिद्धिएपछि हामी एकअर्कासँग ठट्टा पनि गर्छौं। एकदमै रमाइलो हुन्छ।” एभलिनले पनि धार्मिक क्रियाकलापहरूबाट फाइदाहरू उठाउँछिन्‌। तिनी भन्छिन्‌, “बाइबलबारे कुराकानी गर्न छिमेकीहरूकहाँ जाँदा मलाई एक्लो महसुस हुँदैन। तर त्योभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, बाइबलबारे कुरा गर्दा मलाई आनन्द लाग्छ। अरूलाई जीवनको साँचो अर्थ बुझ्ने मदत दिनु सन्तोषजनक काम हो।”

स्पष्टतः लुइज र एभलिनको जीवनको उद्देश्‍य छ। तिनीहरूले अनुभव गरेका सुस्वास्थ्यले गर्दा दोस्रो अवरोध अर्थात्‌ वातावरणको अवरोध पार गर्न सकिन्छ अनि सही मार्गमा दौड दौडन र थकित नहुन तिनीहरूलाई मदत गर्छ।—भजनसंग्रह ९२:१३, १४ तुलना गर्नुहोस्‌।

सस्तो अनि भरपर्दो उपचार उपलब्ध

यस शताब्दीमा चिकित्सा विज्ञानमा भएको प्रगतिले तेस्रो अवरोध अर्थात्‌ औषधोपचारलाई सजिलो बनाएको छ। तर विश्‍वव्यापी रूपमा यसो हुन सकेको छैन। विश्‍व स्वास्थ्य प्रतिवेदन १९९८ अनुसार, थुप्रै गरिब देशहरूमा १९७५-१९९५ मा मानिसहरूको आयु घट्यो।” डब्लू एच ओ-को महाप्रबन्धकअनुसार, “आज अल्प विकसित देशहरूमा ४ जनामध्ये ३ जना व्यक्‍तिहरू ५० वर्ष नपुगी अर्थात्‌ आजभन्दा आधा शताब्दीअघिका संसारभरिका मानिसहरूको उमेरजति बाँचेर मरिरहेका छन्‌।”

यद्यपि, गरिब देशहरूका थुप्रै वृद्ध तथा जवानहरूले उपलब्ध सुलभ औषधोपचारको सदुपयोग गरेर यो अवरोध कम गरी रहेका छन्‌। उदाहरणका लागि, क्षयरोगको (टिबी) नयाँ उपचारलाई लिनुहोस्‌।

विश्‍वव्यापी रूपमा हेर्ने हो भने एड्‌स, औलो र उष्ण प्रदेशहरूमा हुने रोगहरूले मर्नेहरूको कुल संख्याभन्दा बढी अर्थात्‌ प्रत्येक दिन ८,००० मानिसहरू क्षयरोगको कारणले मरिरहेका छन्‌। टिबीले ग्रसित १०० बिरामीहरूमध्ये ९५ जना विकासोन्मुख देशहरूमा बसोबास गर्छन्‌। हाल लगभग दुई करोड मानिसहरू पुनः देखापरिरहेको टिबीले पीडित छन्‌ भने अबको दस वर्षभित्रमा यस रोगबाट लगभग तीन करोड अर्थात्‌ बोलिभिया, कम्बोडिया र मलावीको कुल जनसंख्या जति मानिसहरू मर्नसक्छन्‌।

सन्‌ १९९७ मा विश्‍व स्वास्थ्य संघले बिरामीलाई अस्पतालमा भर्ना नगरीकन वा अत्याधुनिक स्वास्थ्य प्राविधि प्रयोग नगरीकन छ महिनाभित्रमा टिबी उपचार गर्ने योजना खुसीसाथ घोषणा गऱ्‍यो। विश्‍व स्वास्थ्य संधको टबी उपचार अन्वेषक पत्रिकाले यसो भन्यो, “विश्‍वले पहिलो पटक सम्पन्‍न देशहरूमा मात्र होइन तर एकदमै गरिब देशहरूमा पनि टिबीको महामारी हटाउने तरिका र योजना तयार गरेको छ।” कसै कसैले “यस दशकमा स्वास्थ्यको क्षेत्रमा भएको सबैभन्दा ठूलो प्रगति” भनेर उल्लेख गरेको यो योजनालाई डट्‌स भनिन्छ।e

टिबीका अन्य पहिलादेखि गरिंदै आएको उपचारहरू भन्दा यो निकै कम खर्चिलो भए तापनि खास गरी विकासोन्मुख देशहरूका मानिसहरूका लागि यसका परिणामहरू उत्साहजनक छन्‌। विश्‍वव्यापी टिबी निराकरण अभियानसम्बन्धी डब्लू एच ओ-को निर्देशक डा. अराता कोची यसो भन्छन्‌, “अरू कुनै पनि टिबी नियन्त्रण विधिद्वारा यतिको राम्रो उपचार हुन सकेको छैन। डट्‌स-द्वारा यति राम्रो उपचार हुन्छ कि एकदमै गरिब देशहरूमा समेत ९५ प्रतिशत रोग निराकरण गर्न सकिन्छ।” सन्‌ १९९७ को अन्तसम्ममा ८९ देशहरूले डट्‌स योजना अपनाइसकेका थिए। अहिले यो योजना अपनाउने देशहरूको संख्या वृद्धि भएर ९६ पुगेको छ। यो विधि अल्प विकसित देशहरूका अरू करोडौं मानिसहरूका लागि पनि उपलब्ध हुनेछ र तिनीहरूले जीवनको दौडमा तेस्रो अवरोध पार लाउने मदत पाउनेछन्‌ भनी डब्लू एच ओ-ले आशा राखेको छ।

आदत परिवर्तन गरेर, वातावरण सुधार गरेर अनि राम्रो औषधोपचार गरेर मानिस आफ्नो औसतन आयु र जीवनकाल बढाउन सक्षम भएको छ। त्यसकारण प्रश्‍न उठ्‌छ, के मानिसले एक दिन मानिसजातिको अधिकतम आयु बढाउन सक्नेछन्‌ अर्थात्‌ कहिल्यै अन्त नहुने जीवन प्रदान गर्नसक्छ?

[फुटनोटहरू]

a “जीवनकाल” र “औसत आयु” उस्ता उस्तै अर्थमा प्रयोग गरिए तापनि यी दुई शब्दमा भिन्‍नता छ। “जीवनकाल” शब्दले कुनै एक व्यक्‍तिले बाँच्ने आशा गर्नसक्ने समयावधिलाई बुझाउँछ भने “औसत आयु[ले]” मानिसहरू बाँच्नसक्ने खास समयावधिलाई बुझाउँछ। तसर्थ, औसत आयुको आधारमा मानिसको जीवनकाल अनुमान लगाइन्छ।

b हेरफेर गर्न सकिने यी पक्षहरूका साथै मानिसको अपरिवर्तनशील वंशानुगत आनुवंशिक बनौटले पनि स्वास्थ्य र आयुलाई असर गर्छ। यसबारे अर्को लेखमा छलफल गरिनेछ।

c साधारण उपायहरू अपनाएर घरको वातावरण सुधार्नेबारे थप जानकारीको लागि सेप्टेम्बर २२, १९८८ (अंग्रेजी) र अप्रिल ८, १९९५ ब्यूँझनुहोस्‌!-को “सफा रहनुको चुनौतीहरूको सामना गर्ने” र कुन कुराले तपाईंको स्वास्थ्य निर्धारण गर्छ—तपाईं के गर्न सक्नुहुन्छ” भन्‍ने लेखहरू हेर्नुहोस्‌।

d यहोवाका साक्षीहरूको साप्ताहिक सभाहरू सञ्चालन हुने स्थानलाई राज्यभवन भनिन्छ। ती सभाहरू सबैको लागि खुला छ अनि प्रवेश निश्‍शुल्क हुन्छ।

e डट्‌स भनेको प्रत्यक्ष निगरानी उपचार विधिको छोटो रूप हो। डट्‌स विधिबारे थप जानकारीका लागि जून ८, १९९९ ब्यूँझनुहोस्‌!-को “क्षयरोग विरुद्ध नयाँ अभियान” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

कुन व्यायाम कति बेरसम्म गर्ने?

“हरेक दिन ३० मिनेट हल्का व्यायाम गर्नु राम्रो लक्ष्य हो” भनी बुढ्यौलीका राष्ट्रिय संस्था (एन आइ ए) बताउँछ। तर तपाईंले ३० मिनेटसम्म लगातार व्यायाम गरेको गरेकै गर्नुपर्छ भन्‍ने छैन। लगातार ३० मिनेटसम्म व्यायाम गर्दा जति फाइदाहरू हुन्छन्‌, १०/१० मिनेट गरेर तीनपल्ट व्यायाम गर्दा पनि त्यति नै हुन्छन्‌। तपाईंले कस्तो व्यायाम गर्न सक्नुहुन्छ? एन आइ ए-द्वारा प्रकाशित व्यायामलाई हल्कासित नलिनुहोस्‌! भन्‍ने पुस्तिका यस्तो सुझाउ दिन्छ: “दिनहुँ ३० मिनेट व्यायाम गर्नुबाहेक लिफ्ट प्रयोग गर्नुको सट्टा भऱ्‍याङ चढ्‌ने वा मोटरगाडी चढ्‌नुको सट्टा हिंड्‌ने जस्ता हल्काफुल्का क्रियाकलाप गर्न सकिन्छ। झारपात उखेल्नु, केटाकेटीहरूसँग खेल्नु, बगैंचाको स्याहारसुसार गर्नु अनि घरधन्दा गर्नु पनि एक प्रकारको व्यायाम नै हो।” निस्सन्देह, कुनै पनि प्रकारको व्यायाम गर्न थाल्नुअघि डाक्टरसँग राय लिनु बुद्धिमानी हुनेछ।

[चित्र]

सन्तुलित शारीरिक व्यायामले वृद्धहरूलाई बलियो हुन र आफ्ना जीवन शक्‍ति बढाउन मदत गर्नसक्छ

मस्तिष्कलाई अवस्थाअनुसार काम गर्न सक्ने बनाउने

हजारौं वृद्धहरूबारे गरिएको वैज्ञानिक अध्ययनद्वारा वृद्धहरूको मनलाई लचकदार राख्न मदत गर्ने थुप्रै पक्षहरू पत्ता लागेका छन्‌। ती पक्षहरूमा “पढ्‌ने, यात्रा गर्ने, सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने, शिक्षा हासिल गर्ने, संगठनहरूको सदस्य हुने र पेशेवर मानिसहरूसित सरसंगत गर्ने” समावेश छ। “यथासम्भव विभिन्‍न प्रकारका कामकुराहरू गर्नुहोस्‌।” “काम गरिरहनुहोस्‌। अवकाश नलिनुहोस्‌।” “टिभी बन्द गर्नुहोस्‌।” “कुनै विषय सिक्नुहोस्‌।” यस्ता गतिविधिहरूले मनोबल बढाउने मात्र होइन तर मस्तिष्कमा नयाँ सञ्चार कायम गर्छन्‌।

[चित्र]

मानसिक व्यायामले मस्तिष्कलाई अवस्थाअनुसार काम गर्न मदत गर्छ

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

वृद्धावस्थामा स्वस्थ रहन आवश्‍यक सुझाउहरू

सं.रा.-को स्वास्थ्य तथा मानव सेवा विभागका सह-विभागका वृद्धावस्थासम्बन्धी राष्ट्रिय संस्थाअनुसार, समझदार सुझाउहरू व्यवहारमा उतार्नाले “सुस्वास्थ लाभ गर्न र धेरै समयसम्म बाँच्न सकिन्छ।” ती सुझाउहरूमध्ये केही यसप्रकार छन्‌:

● फलफूल र सागसब्जी समावेश गरिएको सन्तुलित भोजन खानुहोस्‌।

● मद्यपान गर्नुहुन्छ भने सीमित मात्रामा मात्र पिउनुहोस्‌।

● धूम्रपान नगर्नुहोस्‌। धूम्रपान छोड्‌न अझै ढिला भएको छैन।

● नियमित तवरमा व्यायाम गर्नुहोस्‌। व्यायाम गर्न थाल्नुअघि डाक्टरको राय लिनुहोस्‌।

● परिवार तथा साथीभाइहरूबाट अलग नहुनुहोस्‌।

● काम गरेर, खेलेर अनि सामाजिक क्रियाकलापमा भाग लिएर सक्रिय रहनुहोस्‌।

● जीवनप्रति सकारात्मक दृष्टिकोण राख्नुहोस्‌।

● आफूलाई रमाइलो लाग्ने कामहरू गर्नुहोस्‌।

● नियमित तवरमा स्वास्थ्य परीक्षण गर्नुहोस्‌।

[पृष्ठ -मा भएको पेटी]

मस्तिष्क कोषिकाहरूबारे नयाँ दृष्टिकोण

मनोचिकित्सा तथा स्नायुशास्त्रका प्राध्यापक डा. मेरिलिन अल्बर्ट यसो भन्छन्‌: “मस्तिष्कको प्रत्येक भागका कोषिकाहरू दिनहुँ नष्ट हुन्छन्‌ भनेर हामीले सोच्ने गर्थ्यौं। तर त्यसो होइन। वृद्ध हुँदै गएपछि तपाईंको केही कोषिकाहरू अवश्‍यै नष्ट हुन्छ तर त्यस्तो मस्तिष्कको सबै भागमा नभई केही भागहरूमा मात्र नष्ट हुन्छन्‌।” यसबाहेक, हालै पत्ता लागेको कुराअनुसार मानिसहरूले नयाँ न्युरोनहरू उत्पन्‍न गर्न सक्दैनन्‌ भनेर लामो समयदेखि विश्‍वास गरिंदै आएको कुरा “निराधार” हो भनेर नोभेम्बर १९९८ को साइन्टिफिक अमेरिकन-ले रिपोर्ट गऱ्‍यो। स्नायु विशेषज्ञहरूले भनेअनुसार वृद्ध मानिसहरूले समेत “सयौं न्युरोनहरू उत्पन्‍न गर्न सक्छन्‌” भन्‍ने कुरा तिनीहरूले प्रमाणित गरेका छन्‌।

[पृष्ठ -मा भएको पेटी]

उमेर खाएको अनि पाको?

“उमेर ढल्केकोसँग बुद्धि हुन्छ र दीर्घ-जीविमा समझ हुन्छ” भनेर बाइबलले भनेको कुरा के सही होइन र? (अय्यूब १२:१२) यसको जवाफ के हो? अनुसन्धानकर्ताहरूले वृद्धहरूको अध्ययन गरेर “तिनीहरूको अन्तरदृष्टि, सही निर्णय गर्ने क्षमता, विरोधाभाषपूर्ण कुराहरूप्रति दृष्टिकोण राखेर त्यसको सामना गर्ने क्षमता तथा समस्या समाधान गर्ने कार्यकुशलता” जस्ता गुणहरू जाँचे। यु.एस. न्यूज एण्ड वर्ल्ड रिपोर्ट अनुसार उक्‍त अध्ययनले “कम उमेरका मानिसहरूको भन्दा पनि वृद्धहरूको बुद्धिमा सोचनीय र जटिल सुझाउ दिने क्षमता बढी भएको” देखाउँछ। अध्ययनहरूले यसो पनि भन्छ “निर्णय गर्नु पर्दा वृद्धहरूले जवान व्यक्‍तिहरू भन्दा धेरै समय लिए तापनि तिनीहरूको निर्णय बेस हुन्छ।” तसर्थ, बाइबलमा अय्यूबको पुस्तकले बताएअनुसार वृद्धहरू नै बुद्धिमान हुन्छन्‌।

[पृष्ठ ५-मा भएको चित्र]

मानिसको जीवन अवरोधै अवरोध भएको दौड जस्तो हो

[पृष्ठ ९-मा भएको चित्र]

एउटी विधवा भन्छिन्‌, “मानिसहरूसँग रमाइलो गर्नुहोस्‌”

[पृष्ठ १०-मा भएको चित्र]

“अरूलाई जीवनको साँचो अर्थ बुझ्ने मदत दिनु सन्तुष्टकर काम हो।”—एभलिन

[पृष्ठ १०-मा भएको चित्र]

“हाम्रो राज्यभवनमा वृद्ध तथा जवानहरूसँग कुरा गर्दा मलाई रमाइलो लाग्छ।” —लुइज

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने