ख्रीष्टियान सेवकहरूले प्रार्थना गर्नुपर्छ
१. हाम्रो सेवाको काम पूरा गर्न के अत्यावश्यक छ?
१ हामी आफ्नै बल-बर्कतमा सेवाको काम पूरा गर्न सक्दैनौं। यो काम पूरा गर्न यहोवा हामीलाई शक्ति दिनुहुन्छ। (फिलि. ४:१३) भेडाखाले नम्र व्यक्तिहरू भेट्टाउन हामीलाई मदत दिन उहाँ आफ्ना स्वर्गदूतहरू प्रयोग गर्नुहुन्छ। (प्रका. १४:६, ७) हामीले रोपेको र पानी हालेको सत्यको बीउ बढाउने यहोवा नै हुनुहुन्छ। (१ कोरि. ३:६, ९) प्रार्थनामार्फत स्वर्गमा बस्नुहुने हाम्रा पिता यहोवामा भर पर्नु ख्रीष्टियान सेवकहरूका लागि कत्ति महत्त्वपूर्ण छ!
२. हामीले के-कस्ता कुराका लागि प्रार्थना गर्नुपर्छ?
२ आफ्नै लागि: प्रचारमा जाँदा हरेक समय हामीले प्रार्थना गर्नुपर्छ। (एफि. ६:१८) हामीले के-कस्ता कुराका लागि प्रार्थना गर्नुपर्छ? इलाकाप्रति सकारात्मक प्रतिक्रिया देखाउन र निर्भयी हुन सकौं भनेर प्रार्थना गर्न सक्छौं। (प्रेरि. ४:२९) बाइबल अध्ययन सुरु गर्न सक्ने असल हृदय भएकाहरूतर्फ डोऱ्याउन यहोवालाई बिन्ती गर्न सक्छौं। घरधनीले प्रश्न सोध्दा ठीक जवाफ दिन सक्न मनमनै प्रार्थना गरेर यहोवासित मदत माग्न सक्छौं। (नहे. २:४, ५) प्रतिकूल परिस्थितिमाझ साक्षी कार्यमा भाग लिंदै गर्दा हामी विवेक र साहसको लागि प्रार्थना गर्न सक्छौं। (मत्ती १०:१६; प्रेरित ४:२९) सेवाको कामलाई पहिलो स्थानमा राख्न बुद्धिको निम्ति पनि प्रार्थना गर्न सक्छौं। (याकू. १:५) साथै, यहोवाको सेवक हुने विशेष सम्मान पाएकोमा कृतज्ञता व्यक्त गर्दा उहाँ खुसी हुनुहुन्छ।—कल. ३:१५.
३. अरूको लागि प्रार्थना गर्दा प्रचारकार्य कसरी अझ अघि बढ्छ?
३ अरूको लागि: उचित हुँदा सँगी सेवकहरूको नाम नै लिएरसमेत हामीले “एउटाले अर्कोको निम्ति प्रार्थना” गर्नुपर्छ। (याकू. ५:१६; प्रेरि. १२:५) बिग्रँदो स्वास्थ्यस्थितिको कारण के तपाईंले प्रचारकार्यमा त्यति भाग लिन सक्नुभएको छैन? त्यसोभए स्वस्थ अवस्थामा रहेका सँगी सेवकहरूका निम्ति प्रार्थना गर्नुहोस्। तिनीहरूका निम्ति तपाईंले गर्ने प्रार्थनाले धेरै ठूलो काम गर्न सक्छ भन्ने कुरालाई कहिल्यै हल्कासाथ नलिनुहोस्! अख्तियारवालाहरूले प्रचारकार्यप्रति सही मनोवृत्ति देखाउन सकून् भनेर उनीहरूका निम्ति प्रार्थना गर्नु पनि उचित हो जसले गर्दा हाम्रा भाइबहिनीहरूले “शान्ति र चैनको जीवन बिताउन” सक्छन्।—१ तिमो. २:१, २.
४. हामी किन प्रार्थनामा लागिरहनुपर्छ?
४ सारा पृथ्वीभरि सुसमाचार प्रचार गर्नु चानचुने काम होइन। ‘प्रार्थनामा लागिरह्यौं’ भने यहोवाको मदत पाएर हामीले यो काम पूरा गर्न सक्नेछौं।—रोमी १२:१२.