जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
सेप्टेम्बर ७-१३
बाइबलमा पाइने अनमोल धन | प्रस्थान २३-२४
“मानिसहरूको लहलहैमा नलाग्नुहोस्”
it-1-E पृ. ११ अनु. ३
हारुन
हारुन इस्राएलीहरूको कुरा सुनेर तीन पटक तर्किए तापनि तीनै पटक गल्ती गर्ने मुख्य व्यक्ति तिनी थिएनन्। बरु तिनी परिस्थितिको वशमा परेकोले वा अरूको बहकाउमा परेकोले सत्यनिष्ठाको बाटोबाट तर्किएका थिए जस्तो देखिन्छ। विशेषगरि पहिलो गल्ती गर्दा तिनी यो आज्ञा पालन गर्न चुके: “मानिसहरूको लहलहैमा लागेर खराब काम नगर्नू।” (प्रस्थ २३:२) तैपनि पछि तिनको नाम बाइबलमा आदरपूर्ण तरिकामा प्रयोग गरिएको छ अनि परमेश्वरको छोराले पनि आफू पृथ्वीमा हुँदा हारुनको पुजारीगिरी वैधानिक थियो भनेर प्रस्ट पार्नुभयो।—भज ११५:१०, १२; ११८:३; १३३:१, २; १३५:१९; मत्ति ५:१७-१९; ८:४.
it-1-E पृ. ३४३ अनु. ५
अन्धोपन
भ्रष्टाचार गरेर न्याय बिगार्नुलाई अन्धोपनसित तुलना गरिन्थ्यो। व्यवस्थाको धेरैजसो नियममा घुस नलिनू, उपहार नलिनू वा पक्षपात नगर्नू भनी आज्ञा दिइएको थियो किनभने ती कुराहरूले न्यायलाई बङ्गाउन सक्थ्यो अनि निष्पक्ष भई मुद्दामामिला छिनोफानो गर्न बाधा पुऱ्याउन सक्थ्यो। “घुसले इमानदार मानिसलाई समेत अन्धो बनाउँछ।” (प्रस्थ २३:८) “घुसले बुद्धिमान् मानिसलाई पनि अन्धो बनाइदिन्छ।” (व्य १६:१९) कुनै पनि न्यायकर्ता जतिसुकै इमानदार र समझदार भए तापनि तिनले मुद्दामामिलामा मुछिएकाहरूबाट उपहार लिँदा जानीबुझी होस् या अनजानमा, ठीकसित न्याय गर्न चुक्न सक्थे। उपहार स्विकारेर मात्र होइन तर भावनामा बहेर पनि न्याय नबिगार्न परमेश्वरको नियममा यस्तो उल्लेख गरिएको छ: “तिमीहरूले गरिबलाई पक्षपात नगर्नू अनि धनीको पक्ष नलिनू।” (लेवी १९:१५) त्यसैले भावनामा बहेर होस् वा बहुमतको पक्षमा लागेर, एक जना न्यायकर्ताले कुनै व्यक्ति केवल धनी भएकोले मात्र गरिबको पक्ष लिएर फैसला सुनाउनु हुँदैनथ्यो।—प्रस्थ २३:२, ३.
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ३९३
माइकल
१. बाइबलमा गब्रिएलपछि उल्लेख गरिएको अर्को एक पवित्र स्वर्गदूतको नाम अनि तिनलाई मात्र “प्रधान-स्वर्गदूत” भनिएको छ। (यहु ९) यो नाम दानिएल अध्याय १० मा पहिलो चोटि उल्लेख गरिएको छ, जहाँ माइकललाई “प्रमुख राजकुमारहरूमध्ये एक” भनेर वर्णन गरिएको छ। तिनी “फारस राज्यका राजकुमार”-ले विरोध गरेको निम्न दर्जाको स्वर्गदूतलाई मदत गर्न आएका थिए। माइकललाई “[दानिएलका] राजकुमार” र “[दानिएलका] मानिसहरूका पक्ष लिने . . . महान् राजकुमार” भनिएको छ। (दा १०:१३, २०, २१; १२:१) यसले माइकल नै इस्राएलीहरूलाई निर्जनभूमिमा डोऱ्याउने स्वर्गदूत थिए भनेर सङ्केत गर्छ। (प्रस्थ २३:२०, २१, २३; ३२:३४; ३३:२) यस्तो निष्कर्षमा पुग्न सकिने अर्को आधार भनेको “प्रधान-स्वर्गदूत माइकल”-को “मोसाको शरीरबारे दियाबलसित वादविवाद” भएको घटना हो।—यहु ९.
सेप्टेम्बर १४-२०
बाइबलमा पाइने अनमोल धन | प्रस्थान २५-२६
“वासस्थानको सबैभन्दा महत्त्वपूर्ण सामान”
it-1-E पृ. १६५
करारको सन्दुक
ढाँचा र डिजाइन। यहोवाले मोसालाई वासस्थान बनाउने निर्देशन दिनुहुँदा सुरुमा सन्दुकको ढाँचा र डिजाइन दिनुभयो किनकि सन्दुक वासस्थान र इस्राएलको पूरै छाउनीको सबैभन्दा महत्त्वपूर्ण वस्तु थियो। बाकसको लम्बाइ साढे दुई हात, चौडाइ साढे एक हात र उचाइ साढे एक हात थियो (क. १११ × ६७ × ६७ से.मि.; ४४ × २६ × २६ इ.)। त्यो बबुलको काठले बनिएको थियो अनि भित्र र बाहिर दुवैतिर निखुर सुनले मोहोरिएको थियो। “त्यसको चारैतिर सुनको बिट” थियो र त्यो बिट बुट्टेदार थियो। सन्दुकको अर्को भाग अर्थात् त्यसको ढकनी काठलाई सुनले मोहोरिएर बनाइएको थिएन बरु पूरै ढकनी नै निखुर सुनको थियो। त्यसको लम्बाइ र चौडाइ बाकसको जत्रै थियो। सुनलाई घनले पिटेर ढकनीको दुई छेउमा दुई वटा करूब बनाइएको थियो। तिनीहरू एकअर्काको आमनेसामने थिए र ढकनीतिर झुकेका थिए। तिनीहरूले सन्दुकलाई छाया पार्नेगरि आफ्ना दुवै पखेटा मास्तिर फैलाएका थिए। (प्रस्थ २५:१०, ११, १७-२२; ३७:६-९) यो ढकनी “प्रायश्चितको ढकनी” वा “प्रायश्चितको ठाउँ” भनेर चिनिन्थ्यो।—हिब्रू ९:५; फु.; प्रायश्चितको ढकनी हेर्नुहोस्।
it-1-E पृ. १६६ अनु. २
करारको सन्दुक
सन्दुक साक्षीपाटी वा सम्झौटाहरू सुरक्षितसाथ राखिने पवित्र बाकस थियो, जसमा राखिएको मुख्य वस्तु ढुङ्गाका दुई वटा साक्षीपाटी अर्थात् दस आज्ञा थियो। (प्रस्थ २५:१६) सन्दुकमा “मन्न भएको सुनको भाँडो [र] कोपिला लागेको हारुनको लौरो” पनि राखियो तर सुलेमानको मन्दिर बनाइनुभन्दा केही समयअघि ती हटाइए। (हिब्रू ९:४; प्रस्थ १६:३२-३४; गन १७:१०; १रा ८:९; २इ ५:१०) आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि मोसाले लेवी पुजारीहरूलाई ‘व्यवस्थाको पुस्तकको’ एक प्रति दिए अनि त्यसलाई सन्दुकभित्र नभई “यहोवा परमेश्वरको करारको सन्दुकसँगै राख्न” निर्देशन दिए। तिनले यसो पनि भने: “यो तिमीहरूविरुद्ध साक्षीको रूपमा त्यहाँ रहोस्।”—व्य ३१:२४-२६.
it-1-E पृ. १६६ अनु. ३
करारको सन्दुक
परमेश्वरको उपस्थितिसित सम्बन्धित। सन्दुकको अस्तित्व रहुन्जेल त्यो परमेश्वरको उपस्थितिसित सम्बन्धित थियो। यहोवाले यस्तो प्रतिज्ञा गर्नुभयो: “म सन्दुकको ढकनीमाथि तिमीकहाँ देखा पर्नेछु र त्यहाँबाट तिमीसित बोल्नेछु। साक्षीपाटी राखिएको त्यस सन्दुकमाथि भएका दुई वटा करूबको बीचबाट म तिमीसित कुरा गर्नेछु।” “म त्यस ढकनीमाथि बादलमा देखा पर्छु।” (प्रस्थ २५:२२; लेवी १६:२) समुएलले यहोवा “करूबहरूभन्दा माथि विराजमान” हुनुहुन्छ भनेर लेखे (१स ४:४); त्यसकारण करूबहरू यहोवाको “रथको प्रतीक” थिए। (१इ २८:१८) त्यसैले “मोसा परमेश्वरसित कुरा गर्न भेट हुने पालभित्र जाँदा तिनले साक्षीपाटी राखिएको सन्दुकको ढकनीमाथिबाट आवाज आएको सुन्थे; ढकनीमा भएको दुई वटा करूबको बीचबाट परमेश्वर तिनीसित कुरा गर्नुहुन्थ्यो।” (गन ७:८९) पछि यहोसु र प्रधानपुजारी पिनहास पनि यहोवाबाट निर्देशन पाउन सन्दुकअगाडि उपस्थित भए। (यहो ७:६-१०; न्या २०:२७, २८) तर वास्तवमा प्रधानपुजारी मात्र वर्षको एक चोटि महापवित्र कोठामा पस्थे र सन्दुक देख्थे। तिनी त्यहाँ यहोवासित कुरा गर्न नभई प्रायश्चित-दिनको विधि पूरा गर्न पस्थे।—लेवी १६:२, ३, १३, १५, १७; हिब्रू ९:७.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ४३२ अनु. १
करूब
निर्जनभूमिमा बनाइएको वासस्थानमा भएका विभिन्न सामग्रीहरूमा करूबहरूको चित्र थियो। सन्दुकको ढकनीमा छेउछेउमा भएका दुई वटा करूब सुनलाई घनले पिटेर बनाइएको थियो। तिनीहरू एकअर्काको आमनेसामने थिए र उपासना गरिरहेको जस्तैगरि ढकनीतिर झुकेका थिए। तिनीहरूले सन्दुकलाई सुरक्षा गरेजस्तै छाया पार्नेगरि आफ्ना दुवै पखेटा मास्तिर फैलाएका थिए। (प्रस्थ २५:१०-२१; ३७:७-९) साथै वासस्थानको पालको भित्री कपडा अनि पवित्र कोठा र महापवित्र कोठा छुट्टयाउने पर्दामा बुट्टा भरेर करूबहरूको चित्र बनाइएको थियो।—प्रस्थ २६:१, ३१; ३६:८, ३५.
it-2-E पृ. ९३६
भेटीको रोटी
वासस्थान वा मन्दिरको पवित्र कोठामा राखिएका बाह्र वटा रोटी अनि हरेक विश्रामदिनमा पुराना रोटीहरूको ठाउँमा ताजा रोटीहरू राखिन्थ्यो। (प्रस्थ ३५:१३; ३९:३६; १रा ७:४८; २इ १३:११; नहे १०:३२, ३३) भेटीको रोटीको शाब्दिक हिब्रू अर्थ “अनुहारको रोटी” हो। “अनुहार” शब्दले कहिलेकाहीँ उपस्थितिलाई जनाउँछ (२रा १३:२३), त्यसैले भेटीको रोटी यहोवाको अनुहारको सामुबाट कहिल्यै हटाइँदैन थियो। (प्रस्थ २५:३०) भेटीको रोटीलाई “चाङ लगाएर राखिने रोटी” (२इ २:४, फु.) अनि “परमेश्वरलाई चढाइएका रोटीहरू” (मर्कु २:२६) भनिन्छ।
सेप्टेम्बर २१-२७
बाइबलमा पाइने अनमोल धन | प्रस्थान २७-२८
“पुजारीहरूको पोसाकबाट हामी के सिक्न सक्छौँ?”
it-2-E पृ. ११४३
ऊरीम र तुम्मीम
बाइबलका थुप्रै टिप्पणीकारअनुसार उरीम र तुमीम गोला थिए। जेम्स मोफटको अनुवादको प्रस्थान २८:३० मा ऊरीम र तुमीमलाई “पवित्र गोला” भनिएको छ। कसै-कसैको विचारमा त्यसको तीन वटा टुक्रा हुन्थ्यो अनि हरेक टुक्रामा शब्द खोपिएको हुन्थ्यो। एउटामा “हुन्छ,” अर्कोमा “हुँदैन” अनि अन्तिमचाहिँ खाली हुन्थ्यो। कुनै प्रश्नको जवाफ पाउन तीमध्ये एउटा निकालिन्थ्यो। खाली टुक्रा पर्दा कुनै जवाफ छैन भनेर बुझिन्थ्यो। अरू कतिपयको विचारमा ती दुई चेप्टा ढुङ्गा थिए, जसको एकातिर सेतो भाग र अर्कोतिर कालो भाग थियो। त्यसलाई फ्याँक्दा दुवै ढुङ्गाको सेतो भाग माथि देखा पर्दा “हुन्छ,” कालो भाग माथि पर्दा “हुँदैन” अनि एउटाको सेतो र अर्कोको कालो भाग माथि पर्दा जवाफ छैन भन्ने बुझिन्थ्यो। एकपटक साउलले पलिस्तियालीहरूलाई फेरि आक्रमण गर्न जानेबारे पुजारीमार्फत परमेश्वरसँग सल्लाह मागे तर तिनले जवाफ पाएनन्। तिनलाई आफ्नो मानिसहरूमध्ये कसैले पाप गरेको जस्तो लागेकोले परमेश्वरसित यस्तो बिन्ती गरे: “हे इस्राएलका परमेश्वर! हामीलाई तुम्मीममार्फत जवाफ दिनुहोस्।” त्यहाँ उपस्थित भएकाहरूबाट साउल र जोनाथन छानिए अनि फेरि दुई जनाबीच गोला हालियो। हुनत यस विवरणमा “हामीलाई तुम्मीममार्फत जवाफ दिनुहोस्” भन्ने बिन्ती गोला हाल्नुसित सम्बन्धित थिएन जस्तो देखिए तापनि यसले उरिम र तुम्मीमबीच केही सम्बन्ध थियो भनेर देखाउँछ।—१स १४:३६-४२.
it-1-E पृ. ८४९ अनु. ३
निधार
इस्राएलको प्रधानपुजारी। इस्राएलको प्रधानपुजारीले निधारमा फेटा बाँध्थे। त्यस फेटामाथि सुनको एउटा पाता हुन्थ्यो, जुन “समर्पणको पवित्र चिन्ह” थियो अनि “त्यसमा यी शब्दहरू” कुँदिएका थिए: “यहोवा पवित्र हुनुहुन्छ।” (प्रस्थ २८:३६-३८; ३९:३०) इस्राएलमा यहोवाको उपासनामा नेतृत्व लिने मुख्य प्रतिनिधि प्रधानपुजारी भएकाले तिनले सेवामा प्रयोग गर्ने सबै थोक पवित्र राख्नुपर्थ्यो। यहोवाको सेवामा सधैँ पवित्र रहनुपर्ने आवश्यकतालाई जोड दिनको निम्ति कुँदिएका ती शब्दहरू सम्पूर्ण इस्राएलीहरूको लागि सम्झौटा हुने थियो। यसले महान् प्रधानपुजारी येसु ख्रिष्टलाई चित्रण गऱ्यो। साथै यसले यहोवा परमेश्वरको पवित्रतालाई उच्च पार्न उहाँलाई पुजारीको रूपमा सेवा गर्नको लागि परमेश्वरले अभिषेक गर्नुभएको कुरालाई पनि राम्ररी चित्रण गऱ्यो।—हिब्रू ७:२६.
बहुमूल्य रत्न खोजौँ
w१२-E ८/१ पृ. २६ अनु. १-३
के तपाईँलाई थाह थियो?
इस्राएलको प्रधानपुजारीको छातीपातामा भएका बहुमूल्य रत्नहरू कहाँबाट ल्याइएको हुन सक्छ?
इस्राएलीहरू मिश्रबाट निस्केर निर्जनभूमिमा प्रवेश गर्दा परमेश्वरले तिनीहरूलाई यो छातीपाता बनाउने आज्ञा दिनुभयो। (प्रस्थान २८:१५-२१) यो छातीपातामा माणिक, पुष्पराज, पन्ना, फिरोजा, नीलम, यशवमणि, लेसेम, अगेट, कलेजी स्फटिक, क्रिसोलाइट, ओनिक्स अनि हरितमणिजस्ता रत्नहरू थिए। के इस्राएलीहरूले यस्ता रत्नहरू सजिलै पाउन सक्थे?
बाइबलकालीन समयमा मानिसहरू बहुमूल्य रत्नहरूको मोल गर्थे अनि ती रत्नहरूको व्यापार पनि गर्थे। उदाहरणको लागि, प्राचीन मिश्रीहरू टाढा-टाढाबाट रत्नहरू मगाउँथे। तिनीहरूले रत्नहरू आधुनिक समयको इरान, अफगानिस्तान अनि सम्भवतः भारतबाट पनि झिकाउँथे। मिश्री खानीहरूमा विभिन्न किसिमका रत्नहरू पाइन्थ्यो। मिश्री शासकहरू आफ्नो इलाकामा भएका खानीहरूको एकलौटी हकदार थिए। कुलपिता अय्युबले तिनका समकालीन मानिसहरूले अनमोल धन खोज्न कसरी जमिनमुनि सुरुङ खन्छन् अनि खोपीहरू बनाउँछन् भनेर बताएका थिए। अय्युबले जमिन खनेर निकालिएका रत्नहरूमध्ये विशेषगरि नीलम र पुष्पराजको चर्चा गरे।—अय्युब २८:१-११, १९.
प्रस्थानको विवरणअनुसार इस्राएलीहरू मिश्रबाट निस्कँदा तिनीहरूले “मिश्रीहरूलाई लुटे” अर्थात् तिनीहरूको बहुमूल्य थोक लिए। (प्रस्थान १२:३५, ३६) त्यसैले प्रधानपुजारीको छातीपातामा भएका रत्नहरू इस्राएलीहरूले मिश्रबाट ल्याएका हुन सक्छन्।
it-1-E पृ. ११३० अनु. २
पवित्रता
जनावर र उत्पादन। पहिला जन्मेको बहर, भेडाको पाठो र बाख्राको पाठो यहोवाको लागि पवित्र थियो र ती जनावरहरूलाई मोल तिरेर छुटाउनु पर्दैनथ्यो। तिनीहरूको बलिदान चढाउनुपर्थ्यो अनि त्यसको एक भाग पवित्र पुजारीहरूको हुन्थ्यो। (गन १८:१७-१९) पहिलो फल र दशांश वासस्थानमा चढाइने सबै बलिदान र भेटीजस्तै पवित्र थिए। (प्रस्थ २८:३८) यहोवाको नजरमा सबै पवित्र कुरा चोखो थियो अनि ती कुराहरू लापरबाही वा अशुद्ध हुने तरिकामा अथवा सामान्य कामको लागि प्रयोग गर्न मिल्दैनथ्यो। यसको एउटा उदाहरण व्यवस्थामा दशांशसम्बन्धी दिइएको नियम थियो। यदि कुनै मानिसले दशांश दिनको लागि आफ्नो उब्जनीको, जस्तै: गहुँको एक भाग छुट्ट्यायो अनि उसले वा उसको परिवारको कुनै सदस्यले अनजानमै घरायसी प्रयोगको लागि अर्थात् पकाउनको लागि त्यसबाट चलायो भने त्यो मानिस पवित्र थोकहरूसम्बन्धी परमेश्वरले दिनुभएको नियम उल्लङ्घन गरेकोले दोषी हुन्थ्यो। व्यवस्थाअनुसार उसले वासस्थानको लागि क्षतिपूर्तिस्वरूप त्यति नै मोल र त्यसमा २० प्रतिशत थपेर तिर्नुका साथै आफ्नो बगालबाट एउटा निष्खोट थुमा बलिदान चढाउनुपर्थ्यो। त्यसैले यहोवालाई चढाइएको पवित्र थोकहरूलाई असाध्यै पवित्र ठानिन्थ्यो।—लेवी ५:१४-१६.
सेप्टेम्बर २८–अक्टोबर ४
बाइबलमा पाइने अनमोल धन | प्रस्थान २९-३०
“यहोवाको निम्ति अनुदान”
it-2-E पृ. ७६४-७६५
दर्ता
सिनैमा। यहोवाले मोसालाई इस्राएलीहरूको गणना लिन आज्ञा गर्नुभयो। त्यसैले तिनले इस्राएलीहरू मिश्रबाट निस्केर आएको दोस्रो वर्षको दोस्रो महिनामा सिनैमा पाल टाँगेर बसेको बेला पहिलो गणना लिए। यो काममा मोसाले आफूलाई मदत गर्न हरेक कुलबाट एक-एक जना नाइके रोजे र तिनीहरूलाई आफ्नो कुलको प्रत्येकको नाम दर्ता गर्ने कामको निरीक्षण गर्ने जिम्मा दिए। सेनामा जान सक्ने २० वर्ष वा सोभन्दा माथिका पुरुषहरूको नाम दर्ता गरिनुका साथै व्यवस्थाअनुसार दर्ता भएको प्रत्येकले वासस्थानको सेवाको लागि आधा शेकेल ($१.१०) कर तिर्नुपर्थ्यो। (प्रस्थ ३०:११-१६; गन १:१-१६, १८, १९) दर्ता भएका पुरुषहरू ६ लाख ३ हजार ५ सय ५० थिए। लेवीहरूको नाम अरू इस्राएलीहरूसँग दर्ता गरिएन किनभने तिनीहरूले पैतृक सम्पत्तिको रूपमा जग्गाजमिन पाउने थिएनन्। साथै तिनीहरूले वासस्थानको लागि कर तिर्नुपर्दैन थियो अनि सेनामा भर्ती पनि हुनुपर्दैन थियो।—गन १:४४-४७; २:३२, ३३; १८:२०, २४.
it-1-E पृ. ५०२
अनुदान
व्यवस्थामा उल्लेख गरिएको कतिपय अनुदान अनिवार्य दिनुपर्थ्यो। मोसाले इस्राएलीहरूको गणना लिँदा २० वर्ष र सोभन्दा माथिको हरेक पुरुषले आफ्नो ज्यानको लागि “पवित्र ठाउँको शेकेलअनुसार आधा शेकेल [सम्भवतः $१.१०]” चढाउनुपर्थ्यो। तिनीहरूले चढाउने “यहोवा परमेश्वरको लागि अनुदान” आफ्नो ज्यानको लागि तिरिने प्रायश्चितको मोल थियो अनि “त्यसलाई भेट हुने पालमा गरिने सेवाको निम्ति” चढाउनुपर्थ्यो। (प्रस्थ ३०:११-१६) यहुदी इतिहासकार जोसेफसका (द जियुइस वार, खण्ड ७, पृ. २१८ [अध्या. ६, अनु. ६]) अनुसार त्यसपछि यो “पवित्र कर” हरेक वर्ष तिर्न थालियो।—२इ २४:६-१०; मत्ति १७:२४; कर हेर्नुहोस्।
w११-E ११/१ पृ. १२ अनु. १-२
के तपाईँलाई थाह थियो?
यरुसलेममा भएको यहोवाको मन्दिरमा गरिने सेवाको लागि आवश्यक खर्च कसरी जुटाइन्थ्यो?
मन्दिरमा गरिने धेरैजसो सेवाको लागि चाहिने खर्च तिरोबाट उठाइन्थ्यो, खासगरि अनिवार्य दिनुपर्ने दशांशबाट। तर अरू किसिमको तिरोबाट पनि खर्च जुटाइन्थ्यो। उदाहरणको लागि, वासस्थान निर्माण गर्ने बेला यहोवाले मोसालाई दर्ता भएको हरेक इस्राएलीबाट आधा शेकेल “यहोवा परमेश्वरको लागि अनुदान”-को रूपमा उठाउन निर्देशन दिनुभएको थियो।—प्रस्थान ३०:१२-१६.
सायद तोकिएको यो रकम प्रत्येक यहुदीले मन्दिरको वार्षिक करको रूपमा तिर्न थाले। येसुले पत्रुसलाई माछाको मुखभित्र भेटिएको सिक्काले जुन कर तिर्ने निर्देशन दिनुभएको थियो, यो त्यही कर थियो।—मत्ति १७:२४-२७.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. १०२९ अनु. ४
हात
हात राख्नु। त्यसबाहेक विभिन्न उद्देश्यले कुनै व्यक्ति वा वस्तुमाथि हात राखिन्थ्यो। साधारणतया यसो गर्नुको अर्थ कुनै व्यक्ति वा वस्तुलाई कुनै कामको लागि विशेष तरिकामा रोज्नु थियो। पुजारी नियुक्त हुने बेला हारुन र तिनका छोराहरूले बहरको टाउकोमाथि हात राखे अनि दुई वटा थुमा बलि चढाइयो। यसले तिनीहरू यहोवा परमेश्वरको लागि पुजारी नियुक्त भएकाले तिनीहरूको लागि ती जनावरहरूको बलि चढाइएको हो भन्ने अर्थ राख्यो। (प्रस्थ २९:१०, १५, १९; लेवी ८:१४, १८, २२) परमेश्वरले मोसालाई तिनको ठाउँमा यहोसुलाई नियुक्त गर्ने आज्ञा दिनुभएको थियो। त्यसैले मोसाले यहोसुमाथि हात राखे अनि यहोसु “बुद्धिले भरिपूर्ण” भए, जसले गर्दा उनले इस्राएललाई राम्ररी डोऱ्याउन सके। (व्य ३४:९) मानिसहरूको शिरमा हात राखेर उनीहरूलाई आशिष् दिइन्थ्यो। (उत्प ४८:१४; मर्कु १०:१६) येसु ख्रिष्टले केही मानिसहरूलाई निको पार्न तिनीहरूलाई छुनुभयो वा तिनीहरूमाथि हात राख्नुभयो। (मत्ति ८:३; मर्कु ६:५; लुका १३:१३) कुनै-कुनै अवसरमा प्रेषितहरूले मानिसहरूमाथि आफ्नो हात राखे अनि तिनीहरूले पनि पवित्र शक्तिको वरदान पाए।—प्रे ८:१४-२०; १९:६.
it-1-E पृ. ११४ अनु. १
अभिषिक्त, अभिषेक
यहोवाले मोसालाई दिनुभएको व्यवस्थामा अभिषेक गर्ने तेल बनाउने तरिका उल्लेख गरिएको थियो। यो खासखास मसला मिसाएर तयार हुने विशेष किसिमको मिश्रण थियो। जस्तै: मर्र, दालचिनी, बोझो, क्यासिया अनि जैतुनको तेल। (प्रस्थ ३०:२२-२५) कसैले अभिषेक गर्ने तेल बनाउनु र त्यो साधारण कामको लागि वा अन्य उद्देश्यको लागि प्रयोग गर्नु मृत्युदण्ड पाउन योग्यको अपराध थियो। (प्रस्थ ३०:३१-३३) यसले लाक्षणिक अर्थमा त्यस पवित्र तेलले अभिषेक भएको मानिसले सम्हाल्ने जिम्मेवारी महत्त्वपूर्ण र पवित्र थियो भनेर प्रस्ट पार्थ्यो।