जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
नोभेम्बर २-८
बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३९-४०
“मोसाले होसियारीपूर्वक निर्देशनहरू पालन गरे”
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ८८४ अनु. ३
सिलको छाला
इस्राएलीहरूको लागि पाउन कत्तिको सहज थियो? बाइबलमा उल्लेख गरिएको तछाश शब्दले एक किसिमको सिललाई बुझाउँछ भने इस्राएलीहरूले सिलको छाला कसरी पाउन सके भन्ने प्रश्न उठ्छ। साधारणतया सिलहरू आर्कटिक र अनटार्कटिक क्षेत्रमा पाइन्छन् तर केही सिलहरू भने न्यानो मौसम भएको ठाउँमा पाइन्छन्। अहिले केही मङ्क सिलहरू भूमध्य सागरको केही भागमा अनि अरू न्यानो जलाशयहरूमा पनि पाइन्छन्। शताब्दियौँको दौडान मानिसहरूले सिकार गरेकोले सिलहरूको सङ्ख्यामा निकै कमी आएको छ। बाइबलकालीन समयमा सायद सिलहरू भूमध्य सागर र लाल समुद्रमा प्रशस्तै पाइन्थे। सन् १८३२ मा काल्मेट्को डिक्सनरी अफ दी होलि बाइबल अङ्ग्रेजी संस्करणमा (पृ. १३९) यस्तो लेखिएको छ: “सिलहरू सिनै प्रायद्वीपवरपर लाल समुद्रका थुप्रै टापुमा पाइन्छन्।”—ए.जे. पोलकद्वारा लिखित दी टेबर्नेकलस् टिपिकल टिचिङ लन्डनको पृष्ठ ४७ पनि हेर्नुहोस्।
नोभेम्बर ९-१५
बाइबलमा पाइने अनमोल धन | लेवी १-३
“भेटीहरूको उद्देश्य”
it-2-E पृ. ५२५
भेटीहरू
अग्निभेटी। अग्निभेटीको रूपमा बलिदान दिइने जनावरको सम्पूर्ण भाग परमेश्वरलाई चढाइन्थ्यो; त्यसको कुनै पनि भाग बलिदान ल्याउने व्यक्तिले आफ्नो लागि राख्दैनथे। (न्या ११:३०, ३१, ३९, ४० तुलना गर्नुहोस्।) कहिलेकाहीँ तिनीहरूले अग्निभेटीसँगै आफूले गरेको पापको निम्ति पापभेटी चढाउँदा त्यो स्विकार्न वा स्वीकार्य भएको सङ्केत दिन यहोवा परमेश्वरलाई बिन्ती गर्थे। येसु ख्रिष्टले “अग्निभेटी”-को रूपमा आफूलाई पूर्णतया अर्पण गर्नुभयो।
it-2-E पृ. ५२८ अनु. ४
भेटीहरू
अन्नभेटी। अन्नभेटी मेलबलि, अग्निभेटी र पापभेटीसित चढाइन्थ्यो। साथै यो भेटी पहिलो फलको रूपमा पनि चढाइन्थ्यो भने कहिलेकाहीँ छुट्टै पनि चढाइन्थ्यो। (प्रस्थ २९:४०-४२; लेवी २३:१०-१३, १५-१८; गन १५:८, ९, २२-२४; २८:९, १०, २०, २६-२८; अध्या २९) परमेश्वरले प्रशस्तगरि आशिष् दिनुभएको र संवृद्धि गराउनुभएकोले यो भेटी चढाइन्थ्यो। अक्सर यो भेटीसितै तेल र सेतो धूप पनि चढाइन्थ्यो। अन्नभेटी मसिनो पीठो, भुटेको अन्न, सेल आकारको रोटी वा पापडीको रूपमा तावा वा ताप्केमा पकाइन्थ्यो अनि चढाइन्थ्यो। अन्नभेटीको केही भाग अग्निभेटीको वेदीमा राखिन्थ्यो भने त्यसको बाँकी भाग पुजारीहरूले खान्थे अनि मेलबलि भने बलिदान ल्याउने व्यक्तिले खान्थे। (लेवी ६:१४-२३; ७:११-१३; गन १८:८-११) वेदीमा चढाइने कुनै पनि अन्नभेटीमा खमिर वा “मह” (यसले अन्जिरको बाक्लो झोल वा फलफूलको रसलाई बुझाएको हुन सक्छ) मिसाउनु हुँदैनथ्यो किनभने त्यसले खमिर उठाउन सक्थ्यो।—लेवी २:१-१६.
it-2-E पृ. ५२६ अनु. १
भेटीहरू
मेलबलि (वा शान्तिबलि)। यहोवालाई स्वीकार्य मेलबलिले उहाँसित शान्तिमय सम्बन्ध भएको देखाउँथ्यो। बलिदान ल्याउने व्यक्ति र उसको परिवारले त्यो खान्थे (वासस्थानको चोकमा; परम्पराअनुसार चोकलाई घेरेको पर्दाभित्र झूप्रोहरू बनाइएका हुन्थे; मन्दिरमा भोजनकक्षहरू बनाइएका हुन्थे)। त्यसको एक भाग बलि चढाउने पुजारीले पाउँथे र अर्को भाग चाहिँ मन्दिरमा सेवा गरिरहेका पुजारीहरूले पाउँथे। यहोवाले बोसोको मीठो बास्ना लिनुहुन्थ्यो। जीवनलाई सङ्केत गर्ने रगत यहोवालाई अर्पण गरिन्थ्यो। यसरी पुजारीहरू र बलिदान ल्याउने व्यक्तिहरूले यहोवासँगै बसेर खाएको जस्तो हुन्थ्यो अनि त्यसले यहोवासित तिनीहरूको शान्तिमय सम्बन्ध कायम भएको कुरालाई सङ्केत गर्थ्यो। कुनै व्यक्तिले आफू अशुद्ध हुँदा (व्यवस्थाअनुसार कुनै पनि अशुद्ध व्यक्ति) भाग लिएमा वा तोकिएको समय नाघिसकेपछि (गर्मी मौसममा त्यो बिग्रन थालिसकेको हुन्थ्यो) मासु खाएमा उसलाई समुदायबाट हटाउनुपर्थ्यो। त्यो व्यक्ति अशुद्ध भएकोले वा यहोवा परमेश्वरको नजरमा घिनलाग्दो खानेकुरा खाएकोले उसले भोजनको अनादर गरिरहेको हुन्थ्यो र पवित्र थोकहरूलाई अपवित्र पारिरहेको हुन्थ्यो।—लेवी ७:१६-२१; १९:५-८.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ८१३
बोसो
यो व्यवस्था दिइनुको कारण। व्यवस्थाको करारअनुसार रगत र बोसो यहोवालाई मात्र चढाइन्थ्यो। रगतमा जीवन हुने भएकोले त्यो यहोवाको मात्र हो किनभने उहाँले मात्र जीवन दिन सक्नुहुन्छ। (लेवी १७:११, १४) बोसोलाई कुनै पनि जनावरको सबैभन्दा उत्तम भाग ठानिन्थ्यो। जनावरको बोसोको बलिदान चढाइँदा त्यसले सबैभन्दा उत्तम भाग यहोवाकै हो भन्ने देखिन्थ्यो। यहोवाले नै प्रशस्तगरि दिनुहुने भएकोले बलिदान चढाउने व्यक्तिले उहाँलाई सबैभन्दा उत्तम कुरा दिन चाहेको देखिन्थ्यो। यसले इस्राएलीहरूले यहोवालाई उत्तम कुरा दिएर उहाँको भक्ति गरेको सङ्केत गर्ने भएकोले त्यसलाई वेदीमा उहाँको लागि “भोजन” र “मन पर्ने बास्ना”-को रूपमा जलाइन्थ्यो। (लेवी ३:११, १६) त्यसकारण बोसो खानु भनेको यहोवाले पवित्र ठान्नुभएको कुरा हडप्नु जस्तो हुन्थ्यो। बोसो खाने व्यक्तिले यहोवाको अधिकार खोसिरहेको हुन्थ्यो र उसले मृत्युदण्ड पाउँथ्यो। रगत कुनै पनि कामको लागि प्रयोग गर्न सकिँदैनथ्यो तर मरेको जनावरको बोसो वा अरू जनावरले मारेको जनावरको बोसोलाई अन्य कामको लागि भने चलाउन सकिन्थ्यो।—लेवी ७:२३-२५.
ख्रिष्टियन जीवन
nwtsty लुका २१:४ को अध्ययन नोट
आफ्नो जीविका चलाउने सबै पैसा: लुका २१:२ को अध्ययन नोटअनुसार ती विधवाले दानपात्रमा खसालेको सिक्का “दुई लेप्टा” थियो। त्यो एक दिनको ज्यालाको १/६४ भाग हुन्थ्यो। त्यसबेला इस्राएलमा प्रयोग गरिने सबैभन्दा सानो सिक्का लेप्टन थियो। मत्ति १०:२९ अनुसार एक असारियन सिक्काले (यसको मोल आठ लेप्टाबराबर हुन्थ्यो) दुई वटा भँगेरा किन्न सकिन्थ्यो, जुन खानको लागि प्रयोग गरिने चराहरूमध्ये सबैभन्दा सस्तो थियो। त्यसैले ती विधवासित एउटा भँगेरा किन्न चाहिने आधा पैसा मात्र थियो, जुन एक छाक खान पनि पुग्दैनथ्यो।
नोभेम्बर १६-२२
बाइबलमा पाइने अनमोल धन | लेवी ४-५
“यहोवालाई आफ्नो उत्तम कुरा दिनुहोस्”
it-2-E पृ. ५२७ अनु. ९
भेटीहरू
दोषभेटी। जुनसुकै पाप गरे पनि स्वतः दोषी ठहरिने भएकोले पाप गरेपछि दोषभेटी पनि चढाइन्थ्यो। कुनै विशेष किसिमको पाप गरेर दोषी भएकोले यो भेटी चढाइन्थ्यो। गुमाएको अधिकार पुनः फिर्ता पाउन यो भेटी चढाइने भएकोले यो भेटी अन्य पापभेटीभन्दा केही हदसम्म फरक थियो। यहोवाको वा उहाँको पवित्र राष्ट्रको अधिकार हनन गरेकोले यो भेटी चढाइन्थ्यो। पाप गरेर अधिकार गुमाएका पश्चात्तापी व्यक्तिले यहोवालाई खुसी बनाउन वा करार भङ्ग गरेपछि गुमाउने अधिकार पुनः फिर्ता पाउन अनि पापको सजायबाट बच्न दोषभेटी चढाइन्थ्यो।—यसै ५३:१० तुलना गर्नुहोस्।
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ११३० अनु. २
पवित्रता
जनावर र उत्पादन। पहिला जन्मेको बहर, भेडाको पाठो र बाख्राको पाठो यहोवाको लागि पवित्र थियो र ती जनावरहरूलाई मोल तिरेर छुटाउनु पर्दैनथ्यो। तिनीहरूको बलिदान चढाउनुपर्थ्यो अनि त्यसको एक भाग पवित्र पुजारीहरूको हुन्थ्यो। (गन १८:१७-१९) पहिलो फल र दशांश वासस्थानमा चढाइने सबै बलिदान र भेटीजस्तै पवित्र थिए। (प्रस्थ २८:३८) यहोवाको नजरमा सबै पवित्र कुरा चोखो थियो अनि ती कुराहरू लापरबाही वा अशुद्ध हुने तरिकामा अथवा सामान्य कामको लागि प्रयोग गर्न मिल्दैनथ्यो। यसको एउटा उदाहरण व्यवस्थामा दशांशसम्बन्धी दिइएको नियम हो। यदि कुनै मानिसले दशांश दिनको लागि आफ्नो उब्जनीको, जस्तै: गहुँको एक भाग छुट्ट्यायो अनि उसले वा उसको परिवारको कुनै सदस्यले अनजानमै घरायसी प्रयोगको लागि अर्थात् पकाउनको लागि त्यसबाट चलायो भने त्यो मानिस पवित्र थोकहरूसम्बन्धी परमेश्वरले दिनुभएको नियम उल्लङ्घन गरेकोले दोषी हुन्थ्यो। व्यवस्थाअनुसार उसले वासस्थानको लागि क्षतिपूर्तिस्वरूप त्यति नै मोल र त्यसमा २० प्रतिशत थपेर तिर्नुका साथै आफ्नो बगालबाट एउटा निष्खोट थुमा बलिदान चढाउनुपर्थ्यो। त्यसैले यहोवालाई चढाइएका पवित्र थोकहरूलाई असाध्यै पवित्र ठानिन्थ्यो।—लेवी ५:१४-१६.
नोभेम्बर २३-२९
बाइबलमा पाइने अनमोल धन | लेवी ६-७
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ८३३ अनु. १
आगो
वासस्थान र मन्दिरसित सम्बन्धित। वासस्थानमा उपासना गर्दा आगो बालिन्थ्यो अनि पछि मन्दिरमा उपासना गर्दा पनि आगो बालिन्थ्यो। प्रत्येक बिहान र दुई साँझको बीचमा प्रधानपुजारीले धूप बाल्ने वेदीमा धूप बाल्नुपर्थ्यो। (प्रस्थ ३०:७, ८; फु.) परमेश्वरको व्यवस्थाअनुसार अग्निभेटीको वेदीको आगो बलिरहनुपर्थ्यो। (लेवी ६:१२, १३) वेदीको आगो सुरुमा परमेश्वरले चमत्कारपूर्ण ढङ्गमा बालिदिनुभएको थियो भनेर यहुदीहरू विश्वास गर्छन्। हुनत धेरैले यो विश्वास गर्छन् तर धर्मशास्त्रमा यसको कुनै प्रमाण पाइँदैन। यहोवाले मोसालाई सुरुमा दिनुभएका निर्देशनहरूअनुसार हारुनका छोराहरूले वेदीमा बलि राख्नुअघि ‘वेदीमा आगो बाल्नुपर्थ्यो र आगोमा दाउरा मिलाएर राख्नुपर्थ्यो।’ (लेवी १:७, ८) पुजारीको रूपमा हारुन र उनका छोराहरूको नियुक्तिपछि अनि बलिदानहरू चढाइसकेपछि यहोवाले आगो पठाउनुभएको थियो। त्यो आगो सम्भवतः वासस्थानमाथिको बादलबाट आएको थियो र त्यसले वेदीको भेटी भस्म पारिदियो। चमत्कारपूर्ण ढङ्गमा प्रकट भएको आगोले वेदीको दाउराहरू जलाउने कुरा नभई “वेदीमाथि भएको अग्निभेटी र बोसोलाई भस्म” पारिदिएको कुरा प्रकट गऱ्यो। त्यसपछि वेदीमा बलिरहेको आगो वेदीमा पहिल्यैदेखि बलिरहेको आगो र परमेश्वरले पठाउनुभएको आगो मिलेर बनेको थियो। (लेवी ८:१४–९:२४) साथै सुलेमानले मन्दिरको समर्पणको लागि प्रार्थना गरेर सिध्याउनेबित्तिकै यहोवाले आगो पठाउनुभयो र त्यसले बलिदानहरू भस्म पाऱ्यो।—२इ ७:१; यहोवाले आफ्ना सेवकहरूले चढाएको भेटी ग्रहण गर्न आगो पठाउनुभएको अरू विवरणहरू पनि हेर्नुहोस्: न्या ६:२१; १रा १८:२१-३९; १इ २१:२६.
si-E पृ. २७ अनु. १५
बाइबलको तेस्रो किताब—लेवी
१५ (३) अन्जानमा गरेको पापको प्रायश्चित गर्न पापभेटी चढाउनुपर्थ्यो। पापभेटीको लागि चढाइने जनावर प्रायश्चित गर्ने व्यक्तिको औकात वा परिस्थितिअनुसार फरक पर्थ्यो। पुजारी, पूरै समुदाय, कुलनायक वा सर्वसाधारणको प्रायश्चितअनुसार फरक-फरक जनावर चढाइन्थ्यो। स्वेच्छाले चढाइने अग्निभेटी र मेलबलिजस्तो नभई पापभेटी चढाउनै पर्ने भेटी थियो।—४:१-३५; ६:२४-३०.
नोभेम्बर ३०–डिसेम्बर ६
बाइबलमा पाइने अनमोल धन | लेवी ८-९
“यहोवाको आशिष्को प्रमाण”
it-1-E पृ. १२०७
पुजारीको नियुक्ति
मोसाले हारुन र तिनका छोराहरू नादाब, अबिहु, एलियाजार र इथामारलाई चोकमा रहेको तामाको बाटामा नुहाइदिए (वा तिनीहरूलाई नुहाउने आज्ञा दिए) अनि हारुनलाई प्रधानपुजारीको महिमित पोसाक लगाइदिए। (गन ३:२, ३) हारुनले लगाएको सुन्दर पोसाकले प्रधानपुजारीको गुणहरू र तिनले पूरा गर्नुपर्ने जिम्मेवारीहरूलाई चित्रण गर्थ्यो। त्यसपछि मोसाले वासस्थान र त्यसमा भएका सबै सरसामान र भाँडाहरू, अग्निभेटीको वेदी अनि बाटा र त्यससित सम्बन्धित भाँडाहरू अभिषेक गरे। यसरी तिनले ती कुराहरूलाई पवित्र पारे र परमेश्वरको सेवाको लागि मात्र प्रयोग गर्न छुट्ट्याए। अन्तमा मोसाले हारुनको शिरमा तेल खन्याएर तिनलाई अभिषेक गरे।—लेवी ८:६-१२; प्रस्थ ३०:२२-३३; भज १३३:२.
it-1-E पृ. १२०८ अनु. ८
पुजारीको नियुक्ति
पुजारीको रूपमा सेवा गर्न पूर्णतया तयार भएका पुजारीहरूले (मोसाको मदत विना) आठौँ दिनमा पहिलो पटक इस्राएल राष्ट्रको लागि प्रायश्चित गरे। जन्मजातै पापी भएकोले अनि केही समयअघि सुनको बाछो बनाएर परमेश्वरप्रति अनाज्ञाकारी भई उहाँलाई रिस उठाएकोले शुद्ध हुनको लागि इस्राएल राष्ट्रको निम्ति प्रायश्चित गर्नु आवश्यक थियो। (लेवी ९:१-७; प्रस्थ ३२:१-१०) भर्खरै नियुक्त भएका पुजारीहरूले पहिलो पटक भेटी चढाएपछि यहोवाले चमत्कारपूर्ण ढङ्गमा आगो पठाउनुभएर तिनीहरूलाई अनुमोदन दिनुभएको र तिनीहरूलाई पुजारीको रूपमा स्विकार्नुभएको देखाउनुभयो। सम्भवतः त्यो आगो वासस्थानमाथि रहेको बादलको खामोबाट आएको थियो र त्यसले वेदीमा बाँकी रहेको भेटी भस्म परिदियो।—लेवी ९:२३, २४.
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ४३७ अनु. ३
मोसा
यहोवाले मोसालाई इस्राएलीहरूसित गरिएको व्यवस्थाको करारको मध्यस्थकर्ता बनाउनुभयो। यहोवासित यस्तो घनिष्ठ सम्बन्ध नयाँ करारका मध्यस्थकर्ता येसु ख्रिष्टबाहेक अरू कसैको छैन। मोसाले बलि चढाइएको जनावरहरूको रगत करारको पुस्तकमाथि र मानिसहरूमाथि (पक्कै पनि प्रतिनिधिको रूपमा छानिएका बूढापाकाहरू) छर्के अनि यसले यहोवा एउटा “पक्ष” हुनुभएको र मानिसहरू अर्को “पक्ष” भएको सङ्केत गऱ्यो। मोसाले मानिसहरूको सामने करारको पुस्तक पढे अनि तिनीहरूले यस्तो जवाफ दिए, “यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा मान्न हामी तयार छौँ र हामी आज्ञाकारी हुनेछौँ।” (प्रस्थ २४:३-८; हिब्रू ९:१९) मध्यस्थकर्ताको जिम्मेवारी पूरा गर्दा मोसाले परमेश्वरले तिनलाई दिनुभएको नमुनाअनुसारै वासस्थान निर्माण गर्ने, त्यसका भाँडाहरू बनाउने कामको निरीक्षण गर्ने सुअवसर पाए। साथै तिनले पुजारीहरू नियुक्त गर्ने, विशेष मसलाहरू मिसाएर बनाइएको तेलले वासस्थान र प्रधानपुजारी हारुनलाई अभिषेक गर्ने सुअवसर पनि पाए। त्यसपछि तिनले भर्खरै नियुक्त भएका पुजारीहरूले पहिलो पटक भेटी चढाउँदा त्यसको निरीक्षण पनि गरे।—प्रस्थ अध्या २५-२९; लेवी अध्या ८, ९.