जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2024 Watch Tower Bible and Tract Society of Pennsylvania
मार्च १०-१६
बाइबलमा पाइने अनमोल धन हितोपदेश ४
“आफ्नो हृदयलाई सुरक्षित राख”
w१२-E ५/१ पृ. ३२ अनु. २
“आफ्नो हृदयलाई सुरक्षित राख!”
हामीले किन आफ्नो लाक्षणिक हृदयलाई सुरक्षित राख्नुपर्छ? यहोवाले राजा सुलेमानलाई यस्तो लेख्न उत्प्रेरित गर्नुभयो: अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख किनकि त्यो सारा जीवनको मूल हो। (हितोपदेश ४:२३) हामीले अहिले बिताउने जीवनको गुणस्तर र भविष्यमा पाउने आशिष्, हाम्रो लाक्षणिक हृदयको अवस्थामा निर्भर हुन्छ। किन? किनभने परमेश्वर हाम्रो हृदय हेर्नुहुन्छ। (१ समुएल १६:७) यसले हाम्रो भित्री व्यक्तित्वलाई बुझाउँछ। हाम्रो “हृदयको सिँगार”-ले यहोवा हामीप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भन्ने कुरा निर्धारण गर्छ।—१ पत्रुस ३:४.
मार्च २४-३०
बाइबलमा पाइने अनमोल धन हितोपदेश ६
हामी कमिलाबाट के सिक्न सक्छौँ?
it-1-E पृ. ११५ अनु. १-२
कमिला
“सहज ज्ञान।” कमिलामा भएको “बुद्धि” तिनीहरू आफैले सोचविचार गरेर आएको होइन बरु सृष्टिकर्ताले तिनीहरूमा राखिदिनुभएको समझ हो। बाइबलमा कमिलाले ‘ग्रीष्म ऋतुमा खानेकुरा जम्मा गर्छ र कटनीको समयमा अन्न भण्डार गर्छ’ भनिएको छ। (हित ६:८) प्यालेस्टाइनमा पाइने विभिन्न प्रजातिका कमिलामध्ये धेरैजसो पाइने प्रजाति कटनी गर्ने कमिलाहरू हुन्। ती कमिलाहरूले वसन्त र ग्रीष्म ऋतुमा प्रशस्त खानेकुरा सञ्चय गर्छन् र पछि जाडो लगायत प्रतिकूल मौसममा खाने गर्छन्। यस प्रजातिका कमिलाहरू अक्सर खलाको वरपर पाइन्छन्, जहाँ प्रशस्त मात्रामा अन्न हुन्छ। साथै सञ्चय गरिएका अन्नहरू वर्षाले गर्दा ओसिलो भएमा ती कमिलाहरूले पछि अन्नलाई घाममा सुकाउने पनि गर्छन्। ती कमिलाहरूले सञ्चय गरेको खानेकुरा नबिग्रोस् भनेर किरा लागेको भागलाई टोकेर फ्याँक्ने पनि गर्छन्। तिनीहरू आवतजावत गर्ने बाटो पछ्याएर हामी ती कमिलाहरू बस्ने ठाउँ पत्ता लगाउन सक्छौँ। साथै तिनीहरूले आफू बस्ने ठाउँको प्रवेशद्वारमा केही भुस राख्ने भएकोले पनि हामीलाई तिनीहरूको ठाउँ पत्ता लगाउन सजिलो हुन्छ।
उदाहरणीय गुण। कमिलाबारे राम्ररी सिक्यौँ भने बाइबलमा दिइएको यो सल्लाह अझ राम्ररी बुझ्न सक्छौँ: “ए अल्छी, कमिलाकहाँ जाऊ; त्यसबाट सिक र बुद्धिमान् होऊ।” (हित ६:६) कमिलामा भएको सहज ज्ञानले तिनीहरूलाई भविष्यको लागि राम्ररी तयारी गर्न मदत गर्नुका साथै मेहनती र लगनशील हुन पनि मदत गर्छ। तिनीहरू यत्ति बलिया हुन्छन् कि आफ्नो वजनभन्दा पनि दुई गुणा बढी भार बोक्न सक्छन्। तिनीहरू आफ्नो काम पूरा गर्न कुनै कसर बाँकी छोड्दैनन्। चाहे तिनीहरू लड्न, चिप्लिन वा ओरालोबाट गुल्टिन नै किन नपरोस्। तिनीहरूको मिलेर काम गर्ने क्षमता पनि उल्लेखनीय छ। तिनीहरू आफू बस्ने ठाउँ एकदमै सफा राख्छन् अनि सङ्गी कमिलाको ख्याल राख्नुका साथै घाइते वा बिरामी कमिलालाई तिनीहरू बस्ने ठाउँसम्म पुऱ्याउन पनि मदत गर्छन्।
अप्रिल २१-२७
बाइबलमा पाइने अनमोल धन हितोपदेश १०
मानिसलाई केले धनी बनाउँछ?
it-1-E पृ. ३४०
आशिष्
यहोवा आफ्ना जनहरूलाई आशिष् दिनुहुन्छ। “यहोवाको आशिष्ले मानिसलाई धनी बनाउँछ; उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्न।” (हित १०:२२) आफ्नो अनुमोदन पाएकाहरूलाई यहोवा आशिष् दिनुहुन्छ। उहाँ तिनीहरूलाई जोगाउनुहुन्छ, फलिफाप गराउनुहुन्छ, डोऱ्याउनुहुन्छ, सफल तुल्याउनुहुन्छ र तिनीहरूको आवश्यकता पूरा गरिदिनुहुन्छ, जसले गर्दा तिनीहरूकै फाइदा हुन्छ।