-
याकुबले ज्येष्ठ अधिकार पाएबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ १२
याकुबले ज्येष्ठ अधिकार पाए
इसहाक रिबेकासित विवाह गर्दा ४० वर्षका थिए। तिनी रिबेकालाई असाध्यै माया गर्थे। केही समयपछि तिनीहरूका जुम्ल्याहा छोरा भए।
जेठो छोराको नाम एसाव र कान्छोको नाम याकुब थियो। एसाव वनतिर डुलिहिँड्थे र तिनी सिकार खेल्न खप्पिस थिए। याकुबचाहिँ घरमै बस्न रुचाउँथे।
त्यतिबेला बुबाको मृत्युपछि जेठो छोराले बुबाको धेरैजसो जग्गाजमिन र धनसम्पत्ति पाउँथ्यो। त्यसलाई पैतृक सम्पत्ति भनिन्थ्यो। इसहाकको परिवारमा चाहिँ यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पनि पैतृक सम्पत्तिमा पर्थ्यो। एसावलाई त्यसको मतलब थिएन तर याकुबलाई भने त्यसको महत्त्व थाह थियो।
एकदिन एसाव सिकारबाट लखतरान भएर घर फर्कँदा तिनलाई याकुबले पकाइरहेको मीठो खानाको मगमग बास्ना आयो। अनि तिनले यसो भने: ‘झट्टै मलाई त्यो रातो सुरुवा अलिकता देऊ! म भोकले मर्नै लागिसकेँ!’ त्यसपछि याकुबले यसो भने: ‘म दिन्छु तर पहिला मलाई ज्येष्ठ अधिकार दिनुहोस्।’ एसावले यसो भने: ‘त्यो ज्येष्ठ अधिकारको मलाई के काम? त्यो तिमी नै लेऊ। मलाई त्यो सुरुवा देऊ।’ तिम्रो विचारमा एसावले जे गरे, के त्यो सही थियो? अहँ, थिएन। एसावले जाबो एक कचौरा सुरुवाको लागि एकदमै बहुमूल्य कुरा बेचे।
इसहाक धेरै बूढो भइसकेका थिए र आफ्नो जेठो छोरालाई आशिष् दिने समय भएको थियो। तर रिबेका आफ्नो कान्छो छोरा याकुबले आशिष् पाएको चाहन्थिन्, त्यसैले तिनले याकुबलाई मदत गरिन्। यो कुरा थाह पाएपछि एसाव धेरै रिसाए र तिनले आफ्नो जुम्ल्याहा भाइ याकुबलाई मार्ने योजना बनाए। इसहाक र रिबेका याकुबलाई बचाउन चाहन्थे। त्यसैले तिनीहरूले याकुबलाई यसो भने: ‘यहाँबाट भाग र एसावको रिस शान्त नभएसम्म हारानमा तिम्रो मामा लाबानको घरमा बस।’ याकुबले आफ्ना आमाबुबाको कुरा सुने र आफ्नो ज्यान जोगाउन भागे।
“कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र? साँच्चै, मानिसले आफ्नो ज्यानको सट्टामा के दिन सक्छ र?”—मर्कुस ८:३६, ३७
-
-
याकुब र एसावले शान्ति कायम गरेबाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
-
-
पाठ १३
याकुब र एसावले शान्ति कायम गरे
यहोवाले अब्राहाम र इसहाकलाई जस्तै याकुबलाई पनि रक्षा गर्नेछु भनेर प्रतिज्ञा गर्नुभयो। याकुब हारान भन्ने ठाउँमा बसोबास गर्न थाले र तिनले त्यहीँ विवाह गरे। त्यहाँ तिनको परिवार बढ्दै गयो र तिनले धेरै धनसम्पत्ति पनि कमाए।
पछि यहोवाले याकुबलाई यसो भन्नुभयो: ‘तिमी आफ्नै ठाउँमा फर्क।’ त्यसैले याकुब र तिनको परिवारले आफ्नो ठाउँमा फर्कन लामो यात्रा सुरु गरे। यात्राको दौडान याकुबका केही दासहरू तिनीकहाँ आएर यसो भने: ‘तपाईँका दाइ एसाव तपाईँलाई भेट्न ४०० जना मानिस लिएर यतैतिर आइरहनुभएको छ!’ एसावले तिनी र तिनको परिवारलाई हानि पुऱ्याउलान् भनेर याकुब असाध्यै डराए। अनि याकुबले यहोवालाई यसो भनेर प्रार्थना गरे: “बिन्ती छ, मलाई मेरो दाइ एसावको हातबाट बचाउनुहोस्।” भोलिपल्ट तिनले एसावलाई धेरै भेडा, बाख्रा, गाई, उँट र गधा कोसेली पठाए।
त्यस रात याकुब एक्लै हुँदा तिनले एक जना स्वर्गदूतलाई देखे। त्यस स्वर्गदूतले तिनीसित कुस्ती खेल्न थाले। तिनीहरूले बिहान उज्यालो नभएसम्म कुस्ती खेलिरहे। याकुब घाइते भए। तैपनि तिनले हार मानेनन्। स्वर्गदूतले तिनलाई भने: “मलाई जान देऊ।” तर याकुबले यस्तो जवाफ दिए: ‘अहँ! मलाई आशिष् नदिएसम्म म तपाईँलाई जान दिन्नँ।’
आखिरमा स्वर्गदूतले याकुबलाई आशिष् दिए। त्यसपछि याकुब यहोवाले तिनलाई एसावबाट जोगाउनुहुनेछ भनेर ढुक्क भए।
बिहान उज्यालो भएपछि याकुबले एसाव ४०० जना मानिस लिएर आइरहेको देखे। याकुब आफ्नो परिवारभन्दा अगाडि गए अनि आफ्नो दाइलाई सात चोटि दण्डवत् गरे। एसाव पनि दौडेर आफ्नो भाइ याकुबलाई भेट्न आए र दुवै दाजुभाइ अङ्गालो हालेर धुरुधुरु रोए। यसरी तिनीहरूले शान्ति कायम गरे। तिम्रो विचारमा याकुबले यस अवस्थालाई सम्हालेको तरिका देख्दा यहोवालाई कस्तो लाग्यो होला?
एसाव आफ्नो घर फर्के र याकुबले चाहिँ आफ्नो यात्रा जारी राखे। याकुबका १२ जना छोरा थिए। तिनीहरूको नाम यसप्रकार थियो: रुबेन, सिमियोन, लेवि, यहुदा, दान, नप्तालि, गाद, असेर, इस्साकार, जबुलुन, युसुफ र बिन्यामिन। आफ्ना मानिसहरूलाई बचाउन यहोवाले याकुबको एक जना छोरा युसुफलाई चलाउनुभयो। यहोवाले तिनलाई कसरी चलाउनुभयो, तिमीलाई थाह छ? अब थाह पाऔँ।
“आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो। यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्न सक्नेछौ।”—मत्ति ५:४४, ४५
-