-
विवाह—मायालु परमेश्वरको वरदान“आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख”
-
-
अध्याय १०
विवाह—मायालु परमेश्वरको वरदान
“तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन।”—उपदेशक ४:१२.
१, २. (क) भर्खरै विवाह गरेकाहरूलाई हेर्दा कहिलेकाहीं हाम्रो मनमा कस्ता प्रश्न उठ्न सक्छन् र किन? (ख) यस अध्यायमा हामी कुन-कुन प्रश्न छलफल गर्नेछौं?
के तपाईंलाई कसैको विवाह समारोहमा जान मन पर्छ? यस्तो खुसीको बेला त्यहाँ जान कसलाई मन पर्दैन र! दुलहा-दुलहीको पहिरन अनि सिंगार मनमोहक हुन्छ। उनीहरूको मुहार खुसीले चम्किरहेको हुन्छ। उनीहरू जति हाँसे पनि थाक्दैनन्। यस्तो लाग्छ, भावी दिनहरू आशा-प्रत्याशाले भरिएका छन्।
२ तैपनि आजको संसारमा वैवाहिक सम्बन्धमा आँधीबेहरी आइरहेको छ भन्ने कुरा हामी नकार्नै सक्दैनौं। भर्खरै विवाह गरेकाहरूको सम्बन्ध सफल होस् भन्ने चाहना कसलाई पो हुँदैन र! तर कसै-कसैको विवाहबारे हाम्रो मनमा यस्तो प्रश्न उठ्न सक्छ: ‘के यिनीहरू दुवै खुसी रहलान्? यिनीहरूको सम्बन्ध कहिलेसम्म टिक्ला?’ विवाहबारे परमेश्वरले दिएको सल्लाहमा पति-पत्नी दुवैले भरोसा गर्छन् कि गर्दैनन् अनि त्यसलाई लागू गर्छन् कि गर्दैनन्, त्यसैमा यसको जवाफ निर्भर छ। (हितोपदेश ३:५, ६) परमेश्वरको प्रेम पाउन लायक भइरहनको लागि तिनीहरूले परमेश्वरको सल्लाह मान्नै पर्छ। विवाहसम्बन्धी चार प्रश्नको जवाफ बाइबलले कसरी दिएको छ, आउनुहोस् अब हामी बुझौं: (१) किन विवाह गर्ने? (२) यदि तपाईं विवाह गर्ने विचारमा हुनुहुन्छ भने तपाईंले कस्तो जीवनसाथी छान्नुपर्छ? (३) तपाईं विवाहको लागि कसरी तयारी गर्न सक्नुहुन्छ? (४) पति-पत्नीलाई आफ्नो वैवाहिक जीवन आनन्दित बनाइराख्न कुन कुराले मदत गर्न सक्छ?
किन विवाह गर्ने?
३. उचित कारण छैन भने विवाह गर्नु किन बुद्धिमानी होइन?
३ जिन्दगीमा खुसी रहने हो भने विवाह गर्नु जरुरी छ अनि कसैले विवाह गर्दैन भने उसको जिन्दगी अधूरै रहन्छ, ऊ खुसी रहन सक्दैन भनेर कोही-कोही विश्वास गर्छन्। तर यो कुरा सोह्रै आना गलत हो! येशूले कहिल्यै विवाह गर्नुभएन। विवाह नगरी बस्नु एउटा वरदान हो, सकिन्छ भने अविवाहित रहो भनेर येशूले सल्लाह दिनुभयो। (मत्ती १९:११, १२) अविवाहित रहँदा हुने फाइदाबारे प्रेषित पावलले पनि बताए। (१ कोरिन्थी ७:३२-३८) तर येशू अनि पावलले अविवाहित रहनुपर्छ भनेर नियम नै बनाएका त होइनन्। वास्तवमा “विवाह गर्न निषेध” गर्नु बाइबलअनुसार “दुष्ट स्वर्गदूतहरूका शिक्षाहरू” हुन्। (१ तिमोथी ४:१-३) तर कुनै व्यक्ति कुनै बाधा-अड्चनविना यहोवाको सेवा गर्न चाहन्छ भने उसको लागि अविवाहित रहनु एउटा वरदान साबित हुन सक्छ। त्यसैले उचित कारण छैन भने जस्तो कि साथीभाइले दबाब दिए भन्दैमा विवाह गर्नु बुद्धिमानी होइन।
४. सफल वैवाहिक जीवन छोराछोरी हुर्काउनको लागि कस्तो आधार हो?
४ के त्यसो भए विवाह गर्नुको उचित कारण छ त? छ। जसरी विवाह नगरी बस्नु एउटा वरदान हो त्यसैगरि विवाह गर्नु पनि हाम्रो मायालु परमेश्वरले दिएको एउटा वरदान हो। (उत्पत्ति २:१८) त्यसैले विवाहित हुँदा फाइदाहरू छन् अनि यसले आनन्द पनि दिन सक्छ। जस्तै: सफल वैवाहिक जीवन परिवार बसाउने सबैभन्दा मजबुत आधार हो। छोराछोरीको राम्रो पालनपोषण हुन आमाबाबु र छोराछोरीबीच बलियो सम्बन्ध हुनु जरुरी छ। त्यस्तो परिवारमा उनीहरूलाई माया गर्ने, अनुशासन दिने अनि सही बाटो देखाउने आमाबाबु हुनु पनि जरुरी छ। (भजन १२७:३; एफिसी ६:१-४) तर छोराछोरी हुर्काउन मात्र विवाह गर्नुचाहिं उचित होइन।
५, ६. (क) उपदेशक ४:९-१२ अनुसार नजिकको साथी हुनुमा के-के फाइदा छ? (ख) विवाह तीन सुताले बाटिएको डोरीजस्तै कसरी हुन सक्छ?
५ यस अध्यायको सुरुमा दिइएको मुख्य पद अनि त्यसको प्रसङ्गलाई ध्यान दिनुहोस्: “एकभन्दा दुई असल हो। तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्, किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्न सहायता गर्छ, तर लोट्ने र कोही उठाउने साथी नहुने विचरा! यदि दुई जना सँगै सुते तिनीहरू न्यानो हुन्छन्। तर एकलै ता कसरी न्यानो हुने? यदि मानिस एकलै छ भने कुनै आक्रमणकारीले त्यसलाई जित्नसक्छ, तर दुई जनाले ता रोक्नसक्छन्। औ तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन।”—उपदेशक ४:९-१२.
६ यी पदहरूमा खासगरि मित्रताको महत्त्व कति छ भन्ने कुरालाई बुझाउन खोजिएको छ। निश्चय पनि, पति-पत्नी एकअर्काका एकदमै नजिकका साथीहरू हुन्। उक्त पदले देखाएझैं यस्तो नजिकको नाताले गर्दा तिनीहरूले एकअर्कालाई मदत दिन सक्छन्, सान्त्वना दिन सक्छन् अनि सुरक्षा दिन सक्छन्। विवाह बलियो हुनको लागि पति-पत्नीबीचको सम्बन्धले मात्र पुग्दैन। माथिको बाइबल पदले देखाएअनुसार दुई सुताले बाटिएको डोरी चुँडिन सक्छ। तर यो डोरीमा तेस्रो सुता राखेर बाट्ने हो भने त्यसलाई चुँडाउन गाह्रै हुन्छ। त्यसैगरि यदि पति-पत्नीको सबैभन्दा ठूलो चिन्ता यहोवालाई खुसी पार्ने हो भने उनीहरूको सम्बन्ध तीन सुताले बाटिएको डोरीजस्तै हुन्छ। यहोवा विवाहको एउटा अभिन्न भाग हुनुहुन्छ, त्यसैले त्यो बन्धन एकदमै बलियो हुन्छ।
७, ८. (क) यौन चाहनालाई काबूमा राख्न सङ्घर्ष गरिरहेका अविवाहित ख्रीष्टियनहरूलाई पावलले कस्तो सल्लाह दिए? (ख) विवाहप्रति कस्तो व्यावहारिक दृष्टिकोण राख्न बाइबलले हामीलाई मदत गर्छ?
७ विवाह बन्धनभित्र मात्र यौन-इच्छा पूरा गर्नु सही हो। पति-पत्नी बीचको यौनसम्बन्धलाई मात्र बाइबलले खुसीको कारण हो भनेर बताएको छ। (हितोपदेश ५:१८) बाइबलले बताएको “बैंस”-मा अविवाहित केटा वा केटीको यौन इच्छा एकदमै प्रबल हुन्छ। तर बैंस पार गरिसकेपछि पनि यौन इच्छा वशमा राख्न तिनीहरूलाई गाह्रो हुन सक्छ। यस्तो हुँदा त्यसले अशुद्ध वा अनुचित आचरणतर्फ धकेल्न सक्छ। प्रेषित पावल अविवाहितहरूका लागि यो सल्लाह लेख्न उत्प्रेरित भए: “यदि तिनीहरूसित आत्मसंयम छैन भने विवाह गरून्, किनकि कामवासनाले जल्नुभन्दा विवाह गर्नु नै बेस हो।”—१ कोरिन्थी ७:९, ३६; याकूब १:१५.
८ जुनसुकै कारणले विवाह गर्ने भए तापनि विवाहित व्यक्ति व्यावहारिक हुनुपर्छ। पावलले लेखेझैं जसले विवाह गर्छ, “उसले शारीरिक दुःखकष्ट झेल्नेछ।” (१ कोरिन्थी ७:२८) अविवाहितहरूले सामना गर्नु नपर्ने चुनौतीहरू विवाहितहरूले सामना गर्नुपर्ने हुन्छ। तर यदि तपाईंले विवाह गर्ने छनौट गर्नुभएको छ भने आइपर्ने चुनौतीहरूलाई कसरी कम गर्न सक्नुहुन्छ र आशिष्हरूलाई कसरी बढाउन सक्नुहुन्छ? एउटा तरिका हो—बुद्धिमानीसाथ जीवनसाथी छानेर।
तपाईंको लागि उपयुक्त जीवनसाथी को हुनेछ?
९, १०. (क) अविश्वासीहरूसित घनिष्ठ सम्बन्ध गाँस्दा आइपर्ने खतराबारे बुझाउन पावलले कस्तो उदाहरण चलाए? (ख) अविश्वासीसित विवाह नगर्नू भनेर परमेश्वरले दिएको सल्लाहलाई बेवास्ता गर्दा परिणाम प्रायजसो कस्तो हुन्छ?
९ विवाह गर्नको लागि जीवनसाथी रोज्दा लागू गर्नुपर्ने एउटा महत्त्वपूर्ण सिद्धान्तबारे लेख्न पावल उत्प्रेरित भए: “विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ।” (२ कोरिन्थी ६:१४) यो उदाहरण कृषिसित सम्बन्धित एउटा वास्तविक कुरा हो। यदि एकदम बलियो र निर्धो वा एकदम अग्लो र होचो किसिमको जनावरलाई एउटै जुवामा नारेर जोत्ने हो भने दुवैले सास्ती भोग्छन्। त्यसैगरि यहोवामा विश्वास गर्ने र नगर्नेले आपसमा विवाह गरेर एउटै जुवामा नारिए भने तिनीहरूलाई पक्कै पनि गाह्रो हुन्छ। यदि पति-पत्नीमध्ये एक जना यहोवाको प्रेम पाउन लायक भइरहन चाहन्छन् अनि अर्कोले भने वास्तै गर्दैनन् भने तिनीहरूले जीवनमा राख्ने प्राथमिकताहरू मिल्दैनन् र धेरै तनाव आइपर्न सक्छ। त्यसैले पावलले ख्रीष्टियनहरूलाई “प्रभुको चेलासित मात्र” विवाह गर्न आग्रह गरे।—१ कोरिन्थी ७:३९.
१० कतिपय अवस्थामा अविवाहित ख्रीष्टियनहरू यस्तो निष्कर्षमा पुग्छन्, ‘विवाह नगरेर एक्लो महसुस गर्नुभन्दा त नमिल्ने व्यक्तिसित एउटै जुवामा नारिनु बेस।’ कोहीचाहिं बाइबलको सल्लाह बेवास्ता गर्छन् अनि यहोवाको सेवा नगर्ने व्यक्तिसित विवाह गर्छन्। तर परिणाम प्रायजसो दुःखदायी नै हुन्छ। यस्तो निर्णय गर्नेहरूले जीवनको सबैभन्दा महत्त्वपूर्ण विषयमा कुराकानी गर्न नसक्ने व्यक्तिसित विवाह गरिरहेका हुन्छन्। विवाह गर्नुअघि तिनीहरूले जुन एक्लोपना महसुस गरेका थिए त्योभन्दा चौगुणा एक्लोपन तिनीहरूले अब महसुस गर्नुपर्ने हुन्छ। तर खुसीको कुरा हजारौं अविवाहित ख्रीष्टियनहरूले परमेश्वरको सल्लाहमा भरोसा राखेका छन् र वफादार भई ती सल्लाह पालन गरेका छन्। (भजन ३२:८) कुनै न कुनै दिन विवाह हुने आशा राख्दै तिनीहरू यहोवा परमेश्वरको उपासना गर्ने जीवनसाथी नभेटेसम्म अविवाहित रहन्छन्।
११. बुद्धिमानीसाथ जीवनसाथी छान्न तपाईंलाई केले मदत गर्न सक्छ? (पृष्ठ १३० मा दिइएको पेटी पनि हेर्नुहोस्।)
११ यहोवाको सेवक हो भन्दैमा जो पनि योग्य जीवनसाथी हुन्छ भन्ने छैन। यदि तपाईं विवाह गर्ने विचारमा हुनुहुन्छ भने तपाईंसित मिल्ने खालको व्यक्तित्व भएको, तपाईंको जस्तै आध्यात्मिक लक्ष्य भएको अनि तपाईंले जस्तै परमेश्वरलाई प्रेम गर्ने व्यक्ति खोज्नुहोस्। यस विषयमा विश्वासी दास वर्गले हामीलाई पर्याप्त मात्रामा आध्यात्मिक भोजनको प्रबन्ध गरिदिएका छन्। यस्ता धर्मशास्त्रीय सल्लाहहरूबारे विचार गर्नुभयो र प्रार्थना गर्नुभयो भने बुद्धिमानी हुनेछ। यसो गर्दा तपाईंले यस्तो महत्त्वपूर्ण विषयमा निर्णय गर्न डोऱ्याइ पाउनुहुनेछ। a—भजन ११९:१०५.
१२. विवाह गर्ने सन्दर्भमा थुप्रै मुलुकमा कस्तो चलन छ? यस सन्दर्भमा बाइबलको उदाहरणले कस्तो डोऱ्याइ दिन्छ?
१२ थुप्रै मुलुकमा आमाबाबुले आफ्ना छोराछोरीको लागि जीवनसाथी रोजिदिने चलन छ। यस्तो चलन भएका मुलुकमा यस्तो महत्त्वपूर्ण छनौट गर्नको लागि आवश्यक बुद्धि अनि अनुभव आमाबाबुसँग धेरै हुन्छ भनेर सबैले मानिलिन्छन्। मागी विवाह प्रायः सफल नै हुन्छ। बाइबलकालीन मागी विवाह पनि सफल हुन्थ्यो। अब्राहामले आफ्नो छोरा इसहाकको लागि पत्नी खोज्न आफ्नो नोकरलाई पठाएका थिए। त्यस घटनाबाट आज सायद आफ्नो छोराछोरीको निम्ति जीवनसाथी खोजिरहेका आमाबाबुले डोऱ्याइ पाउँछन्। अब्राहामले पैसा अनि सामाजिक मान-मर्यादालाई ध्यान दिएनन्। बरु तिनले यहोवाको उपासना गर्नेहरू मध्येबाटै इसहाकको निम्ति एउटी पत्नी छान्न ठूलो प्रयास गरे। b—उत्पत्ति २४:३, ६७.
वैवाहिक जीवन सफल बनाउन तपाईं कसरी तयारी गर्न सक्नुहुन्छ?
१३-१५. (क) विवाह गर्ने विचार गरिरहेका युवकलाई हितोपदेश २४:२७ मा पाइने सिद्धान्तले कसरी मदत गर्न सक्छ? (ख) विवाह गर्ने विचार गरिरहेकी युवतीले कसरी तयारी गर्न सक्छिन्?
१३ यदि तपाईं विवाह गर्नेबारे गम्भीरतासाथ सोचिरहनुभएको छ भने आफैलाई यस्तो प्रश्न सोध्नुपर्छ: ‘के म साँच्चै तयार छु?’ यस प्रश्नको जवाफ पत्ता लगाउनको लागि तपाईंले प्रेम, यौन, जीवनसाथी अथवा बालबच्चा हुर्काउने सन्दर्भमा कस्तो महसुस गर्नुहुन्छ त्यसलाई मात्र केलाएर पुग्दैन। तर विवाह गर्न लागेका केटा वा केटीले केही खास लक्ष्यबारे सोच्नुपर्छ।
१४ विवाह गर्ने विचार गरिरहेका युवकले होसियार भएर यस सिद्धान्तलाई विचार गर्नुपर्छ: “सबैभन्दा पहिले घरका बाहिरका कुराहरू सम्हाल्। खेतमा सबै तयार गर्, त्यसपछि मात्र घरको प्रबन्ध मिला।” (हितोपदेश २४:२७) यसले भन्न खोजेको कुरा के हो? त्यतिबेलाको समयमा यदि कुनै पुरुषले आफ्नो “घरको प्रबन्ध” मिलाउन चाहेमा अर्थात् विवाह गरेर आफ्नो परिवार बसाल्न चाहेमा तिनले आफैलाई यस्तो प्रश्न सोध्नै पर्थ्यो: ‘के म आफ्नो पत्नी र छोराछोरीको हेरविचार गर्न वा तिनीहरूलाई साथ दिन सक्छु?’ तिनले पहिला काम गर्नुपर्थ्यो, आफ्नो खेतबारीको काम हेरचाह गर्नु पर्थ्यो। आज पनि यही सिद्धान्त लागू हुन्छ। विवाह गर्न चाहने पुरुष पछि आइपर्ने जिम्मेवारीहरू सँभाल्न तयार हुनै पर्छ। तिनले आफ्नो ज्यानले सकुन्जेल काम गर्नुपर्छ। यदि कुनै पुरुषले आफ्नो परिवारको शारीरिक, भावनात्मक र आध्यात्मिक आवश्यकता पूरा गर्दैन भने ऊ विश्वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ भनेर परमेश्वरको वचनले सङ्केत गरेको छ।—१ तिमोथी ५:८.
१५ त्यसैगरि विवाह गर्ने निर्णय गरेकी युवती पनि केही गम्भीर जिम्मेवारी स्वीकार्न तयार हुनुपर्छ। आफ्ना पति अनि घरानाको हेरविचार गर्नको लागि एउटी पत्नीमा हुनुपर्ने केही सीप अनि गुणहरूको बाइबलले प्रशंसा गरेको छ। (हितोपदेश ३१:१०-३१) आफ्नो जिम्मेवारी वहन गर्न तयार नभई विवाह गर्न हतार गर्ने पुरुष अनि स्त्री साँच्चै स्वार्थी भइरहेका हुन्छन्, तिनीहरूले आफ्नो हुनेवाला जीवनसाथीलाई के दिन सक्छु भनेर विचार पुऱ्याइरहेका हुँदैनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, विवाह गर्ने विचार गरिरहेकाहरू आफ्नो वैवाहिक जीवनमा परमेश्वरले दिएका सिद्धान्त लागू गर्न सक्षम हुनै पर्छ।
१६, १७. विवाह गर्न तयारी गरिरहेकाहरूले बाइबलको कुन-कुन सिद्धान्तमा मनन गर्नुपर्छ?
१६ वैवाहिक जीवनको लागि तयारी गर्दा पति र पत्नीका लागि परमेश्वरले के-कस्ता भूमिका दिनुभएको छ सो मनन गर्नुपर्छ। विवाह गर्ने विचार गरिरहेका पुरुषले ख्रीष्टियन परिवारको शिर हुनु भनेको के हो त्यो बुझ्नै पर्छ। शिर हुनु भनेको तानाशाही हुने लाइसेन्स होइन। बरु येशूले जुन तरिकामा शिरत्वको भूमिका निभाउनुहुन्छ तिनले त्यसको अनुकरण गर्नै पर्छ। (एफिसी ५:२३) त्यसैगरि विवाह गर्ने विचार राखेकी ख्रीष्टियन बहिनीले पनि पत्नीको मर्यादित भूमिका बुझ्नै पर्छ। के तिनी “पतिको व्यवस्था”-को अधीनमा बस्न इच्छुक छिन्? (रोमी ७:२) यहोवा र ख्रीष्टको व्यवस्थाको अधीनमा त तिनी पहिल्यैदेखि थिइन्। (गलाती ६:२) तर अब तिनी पतिको व्यवस्थाको अधीनमा पनि बस्नुपर्ने हुन्छ। के तिनी त्रुटिपूर्ण पुरुषको अख्तियारमा बसेर उनलाई साथ दिन र उनको अधीनमा बस्न तयार छिन्? यदि छैनन् भने विवाह नगर्नु नै जाती!
१७ साथै पति-पत्नी दुवै एकअर्काको खास आवश्यकताको ख्याल गर्न तयार हुनै पर्छ। (फिलिप्पी २:४) पावलले लेखे: “तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्।” परमेश्वरबाट प्रेरणा पाएर पावलले कुन कुरा बुझे भने पत्नीले पतिलाई कत्तिको आदर गर्छिन् भनेर पतिले महसुस गर्नै पर्छ। त्यसैगरि पत्नीले पनि आफ्ना पतिले आफूलाई कत्तिको माया गर्छन् भनेर महसुस गर्नै पर्छ।—एफिसी ५:२१-३३.
थुप्रै जोडी अरूलाई पनि साथमा राखेर विवाहअगाडिको भेटघाट गर्छन् र बुद्धि पुऱ्याउँछन्
१८. विवाहअगाडिको भेटघाटमा स्त्री-पुरुष दुवैले किन आत्मसंयम खेती गर्नुपर्छ?
१८ विवाहअगाडिको भेटघाट हाँसखेल गर्ने समय मात्र त होइन। विवाह गर्ने विचार गरिरहेका पुरुष तथा स्त्रीले एकअर्कासित कसरी उचित व्यवहार गर्ने यस्तो भेटघाटको बेला सिक्नुपर्छ। साथै उक्त व्यक्तिसित विवाह गर्नु ठीक हो कि होइन भनेर थाह पाउनुपर्छ। अनि आत्मसंयम खेती गर्ने समय पनि यही हो! यतिबेला दुवै जना शारीरिक तवरमा नजिक हुने इच्छा एकदमै जाग्न सक्छ। आखिर यस्तो आकर्षण स्वाभाविकै हो। तर एकअर्कालाई साँच्चै माया गर्नेहरूले आफ्नो जोडीले परमेश्वरसित जुन सम्बन्ध राखेका छन् त्यसलाई हानि पुग्ने कुनै काम गर्दैनन्। (१ थिस्सलोनिकी ४:६) त्यसैले यदि तपाईं विवाह गर्ने उद्देश्यले भेटघाट गर्दै हुनुहुन्छ भने आत्मसंयम खेती गर्नुहोस्। तपाईंले विवाह गरे पनि नगरे पनि त्यस गुणबाट जीवनभर लाभ उठाउनुहुनेछ।
आफ्नो वैवाहिक जीवनलाई तपाईं कसरी स्थिर बनाउन सक्नुहुन्छ?
१९, २०. संसारका थुप्रै मानिसले विवाहप्रति जुन दृष्टिकोण राख्छन् ख्रीष्टियनहरूको दृष्टिकोण कसरी त्यसभन्दा फरक हुनुपर्छ? उदाहरण दिनुहोस्।
१९ यदि विवाहित जोडीले आफ्नो वैवाहिक सम्बन्धलाई स्थिर बनाउने हो भने तिनीहरू दुवैले आपसमा जे वाचा गरेका थिए त्यसलाई हल्का रूपमा कदापि लिनुहुँदैन। उपन्यास र चलचित्रहरूमा वैवाहिक सम्बन्धलाई प्रायः सुखद क्षणको रूपमा टुङ्ग्याइन्छ। मानिसहरूले चाहने पनि त्यही हो। तर वास्तविक जीवनमा त्यसो हुँदैन। विवाह टुङ्गिने कुरा होइन, यो त सुरुवात हो। त्यस्तो सुरुवात, जुन यहोवाले पछिसम्मको लागि बनाउनुभयो। (उत्पत्ति २:२४) तर दुःखको कुरा आजको संसारमा मानिसहरू यस्तो दृष्टिकोण राख्दैनन्। कुनै-कुनै संस्कृतिमा मानिसहरूले विवाहलाई ‘एउटा बन्धन मात्र’ भन्ने गर्छन्। यसको अर्थ तिनीहरूलाई थाह नहुन सक्छ। तर विवाहलाई बन्धनमात्र भनेर तुलना गर्नुले आजकाल धेरैले विवाहप्रति कस्तो दृष्टिकोण राख्छन् भनेर छर्लङ्गै देखाउँछ। कसरी? मानिसहरू राम्रो बन्धन त्यसलाई भन्ने गर्छन् जसलाई कसेर बाँधिएको होस् तर आवश्यक पऱ्यो भने सजिलै फुकाउन पनि सकियोस्।
२० आजकाल थुप्रैले विवाहलाई अस्थायी बन्धनको रूपमा हेर्छन्। विवाह गर्दा आफ्ना आवश्यकताहरू पूरा हुन्छन् भन्ने विचार राखेर तिनीहरू झटपट विवाह गर्छन् अनि चुनौतीहरू देखिनेबित्तिकै यो बन्धनबाट फुत्किन सकिहालिन्छ नि भन्ने आशा गर्छन्। तर याद गर्नुहोस् बाइबलले वैवाहिक सम्बन्धलाई बुझाउन एउटा उदाहरण दिएको छ। त्यो हो, डोरीको उदाहरण। ठूलठूला जहाज अड्काउनको लागि बनाइएको डोरी एकदमै बलियो हुन्छ। जस्तोसुकै आँधीबेहरी आए तापनि त्यो डोरी चुँडिदैन अनि फुस्किंदैन। त्यसैगरि विवाह पनि नटुट्ने प्रकारले बनाइएको हो। येशूले के भन्नुभयो सम्झनुहोस्: “जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।” (मत्ती १९:६) यदि तपाईंले विवाह गर्नुभयो भने यस्तो दृष्टिकोण राख्नै पर्छ। के यसरी वचनबद्ध हुँदा वैवाहिक सम्बन्ध बोझिलो हुन्छ? अहँ, हुँदैन।
२१. पति-पत्नीले एकअर्काप्रति कस्तो मनोवृत्ति कायम राख्नै पर्छ? यस्तो मनोवृत्ति राख्न तिनीहरूलाई केले मदत गर्न सक्छ?
२१ पति-पत्नीले एकअर्काप्रति सही दृष्टिकोण राखिरहनै पर्छ। दुवैले एकअर्काको असल गुण अनि एकअर्काले गरेको कोसिसमा ध्यान दिने प्रयास गरेका छन् भने तिनीहरूको वैवाहिक जीवन आनन्दित र स्फूर्तिदायी हुन्छ। त्रुटिपूर्ण जीवनसाथीप्रति यस्तो सकारात्मक दृष्टिकोण राख्नु के अव्यावहारिक हो? यहोवा कहिल्यै अव्यावहारिक हुनुहुन्न, उहाँ हामीप्रति सकारात्मक दृष्टिकोण राख्नुहुन्छ भनेर हामी भरोसा गर्न सक्छौं। भजनहारले यस्तो प्रश्न सोधे: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खडा हुनसक्छ र?” (भजन १३०:३) पति-पत्नीले पनि एकअर्काप्रति यस्तो सकारात्मक दृष्टिकोण राख्नै पर्छ र क्षमा गरिरहनै पर्छ।—कलस्सी ३:१३.
२२, २३. आजका दम्पतीहरूका लागि अब्राहाम र साराले कस्तो राम्रो उदाहरण बसाले?
२२ विवाह जति लामो समयसम्म रहन्छ त्यति नै आनन्द र सन्तुष्टि प्राप्त हुन सक्छ। बाइबलले अब्राहाम र सारा बूढा-बूढी हुँदा तिनीहरूको वैवाहिक जीवन कस्तो थियो भनेर देखाएको छ। तिनीहरूको जीवनमा कठिनाइ अनि चुनौती आइपरेको थियो। कल्पना गर्नुहोस् त, ६० वर्ष नाघेकी सारालाई सम्पन्न सहर ऊरमा भएको आफ्नो सुविधाजनक घर छोडेर बाँकी जीवन पालमा बिताउनुपर्दा कस्तो भयो होला! तर तिनी आफ्नो पतिको अधीनमा बसिन्। तिनी अब्राहामको साँचो साथी अनि सहयोगी थिइन्। आफ्नो पतिको निर्णयलाई सफल बनाउन तिनले सक्दो सहयोग गरिन् किनभने तिनी अब्राहामको आदर गर्थिन्। तिनी देखावटी रूपमा मात्र अब्राहामको अधीनमा बसेकी थिइनन्। मनभित्र पनि तिनी आफ्नो पतिलाई प्रभु मान्थिन्। (उत्पत्ति १८:१२c; १ पत्रुस ३:६) हो, तिनी अब्राहामलाई मनदेखि नै आदर गर्थिन्।
२३ तर यसको मतलब अब्राहाम र सारा सबै कुरामा सहमत हुन्थे भन्ने होइन। साराले एक पटक एउटा सल्लाह दिंदा अब्राहामलाई “साह्रै नराम्रो लाग्यो”। तैपनि यहोवाको निर्देशन पाएपछि नम्र हुँदै अब्राहामले आफ्नी पत्नीको कुरा सुने। यसो गरेकोले तिनको परिवारले आशिष् पायो। (उत्पत्ति २१:९-१३) यी ईश्वरभक्त दम्पतीबाट आज पनि पति-पत्नीले धेरै कुरा सिक्न सक्छन्, चाहे तिनीहरूको विवाह भएको वर्षौं बितेको किन नहोस्!
२४. कस्तो किसिमको वैवाहिक जीवनले यहोवा परमेश्वरको आदर गर्छ र किन?
२४ ख्रीष्टियन मण्डलीका हजारौं दम्पतीको वैवाहिक जीवन आनन्दमय छ। पत्नी आफ्नो पतिको गहिरो आदर गर्छिन्, पति पनि आफ्नी पत्नीलाई माया गर्छन् अनि कदर पनि। तिनीहरू दुवै यहोवाको इच्छालाई प्राथमिकता दिन मिलेर काम गर्छन्। यदि तपाईंले विवाह गर्ने निर्णय गर्नुभएको छ भने बुद्धिमानीसाथ जीवनसाथी छान्नुहोस्, विवाहको लागि राम्ररी तयारी गर्नुहोस् अनि यहोवा परमेश्वरलाई आदर हुने किसिमले शान्त अनि मायालु तरिकामा वैवाहिक जीवन बिताउनुहोस्। यसो गर्नुभयो भने तपाईंको वैवाहिक जीवनले पक्कै पनि तपाईंलाई परमेश्वरको प्रेम पाउन लायक भइरहन मदत गर्नेछ।
b विश्वासी कुलपितामध्ये कसै-कसैले बहुविवाह गरेका थिए। कुलपिता अनि इस्राएलका सन्तानहरूलाई यहोवाले बहुविवाह गर्ने अनुमति मात्र दिनुभएको थियो। उहाँ आफैले यस्तो चलनको सुरुवात गर्नुभएको त थिएन। तर कसैले यसको नाजायज फाइदा नउठाओस् भनेर उहाँले यसको लागि नियमचाहिं तोकिदिनुभयो। अहिले भने यहोवाले आफ्ना उपासकहरूलाई बहुविवाह गर्ने अनुमति दिनुभएको छैन भनेर ख्रीष्टियनहरूले बुझेका छन्।—मत्ती १९:९; १ तिमोथी ३:२.
c नेपाली बाइबलको उत्पत्ति १८:१२ मा साराले अब्राहामलाई “मेरा पति” भनेकी छिन्। तर मूल भाषामा यसलाई “मेरा प्रभु” भनिएको छ।
-
-
‘विवाह आदरणीय होस्’“आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख”
-
-
अध्याय ११
‘विवाह आदरणीय होस्’
‘युवावस्थाकी पत्नीसित तँ सुखी हो।’—हितोपदेश ५:१८.
१, २. हामी कुन प्रश्न विचार गर्नेछौं र किन?
के तपाईं विवाहित हुनुहुन्छ? हुनुहुन्छ भने के तपाईं खुसी हुनुहुन्छ? कतै वैवाहिक जीवनमा गम्भीर समस्या पो भोग्दै हुनुहुन्छ कि? तपाईंहरूबीचको सम्बन्ध बिस्तारै चिसिंदैछ कि? वैवाहिक जीवनबाट आनन्द उठाउनुको साटो सहेर जेनतेन जीवन बिताइरहनुभएको छ कि? त्यसो हो भने पहिलाको न्यानो वैवाहिक सम्बन्ध चिसिएकोले तपाईं दुःखी हुनुहुन्छ होला। ख्रीष्टियन भएको कारण तपाईं आफ्नो वैवाहिक जीवनले आफूले माया गर्ने परमेश्वर यहोवाको महिमा गरोस् भन्ने अवश्य चाहनुहुन्छ। त्यसैले आफ्नो परिस्थितिले गर्दा तपाईं चिन्तित र दुःखित हुनुहुन्छ होला। तर तपाईंको परिस्थिति सुध्रँदै सुध्रँदैन भन्ने नठान्नुहोस्।
२ पहिला वैवाहिक सम्बन्ध टुक्रिनै लागेका तर अहिले राम्रो वैवाहिक जीवन बिताइरहेका ख्रीष्टियन दम्पतीहरू मण्डलीमा छन्। हो, तिनीहरूले आफ्नो सम्बन्ध बलियो पार्ने तरिका भेट्टाएका छन्। तपाईं पनि आफ्नो वैवाहिक जीवनबाट सन्तुष्टि पाउन सक्नुहुन्छ। कसरी?
परमेश्वर र आफ्नो जीवनसाथीसित नजिक हुनुहोस्
३, ४. दम्पतीहरूले परमेश्वरसित नजिक हुन प्रयास गरे भने आपसमा पनि नजिक हुनेछन्, कसरी? उदाहरण दिनुहोस्।
३ यदि तपाईंले परमेश्वरसित नजिक हुने प्रयास गर्नुभयो भने आफ्नो जीवनसाथीसित पनि नजिक हुनुहुनेछ। कसरी? यो कुरा बुझ्न एउटा उदाहरण विचार गर्नुहोस्: कल्पना गर्नुहोस्, एउटा चुच्चो पहाडको फेदमा एकापट्टि एक जना पुरुष र अर्कोपट्टी एउटी स्त्री उभिरहेका छन्। दुवै जना पहाड चढ्न थाल्छन्। फेददेखि केही माथिसम्म चढिसक्दा पनि तिनीहरू एकअर्काबाट निकै टाढा हुन्छन्। तर तिनीहरू जति-जति माथि चढ्दै जान्छन् त्यतिनै नजिक हुँदै जान्छन्। यस उदाहरणले तपाईंलाई कुन कुरामा आश्वस्त पार्न खोजेको हो के तपाईंले बुझ्नुभयो?
४ यहोवाको सेवा गर्न तपाईंले गरेको सक्दो प्रयासलाई पहाड चढ्न गरेको प्रयाससित तुलना गर्न सकिन्छ। प्रतीकात्मक अर्थमा भन्ने हो भने यहोवालाई माया गर्ने भएकोले तपाईं उहाँको सेवा गर्न धेरै प्रयास गर्दै हुनुहुन्छ। तपाईं र तपाईंको जीवनसाथीबीच दूरी बढेको छ भने त्यो तपाईंहरूले दुईतर्फबाट पहाड चढेको जस्तै हो। तर पहाड चढ्दै जानुभयो भने के हुन्छ? हो, सुरुमा त तपाईंहरू निकै टाढा हुनुहुन्छ। तर जति-जति चढ्दै जानुहुन्छ अर्थात् परमेश्वरको नजिक हुने जति प्रयास गर्नुहुन्छ त्यति नै तपाईं आफ्नो जीवनसाथीसित नजिकिनुहुनेछ। वास्तवमा परमेश्वरको नजिक हुँदा नै आफ्नो जीवनसाथीसित नजिक हुन सकिन्छ। तर तपाईं कसरी पहाड चढ्न अर्थात् परमेश्वरको नजिक हुन सक्नुहुन्छ?
बाइबलको ज्ञान व्यवहारमा उतार्दा तपाईंको वैवाहिक जीवन बलियो हुन्छ
५. (क) यहोवासित र आफ्नो जीवनसाथीसित नजिक हुने एउटा तरिका के हो? (ख) यहोवा विवाहलाई कसरी हेर्नुहुन्छ?
५ पहाड चढ्ने अर्थात् परमेश्वरसित नजिक हुने एउटा महत्त्वपूर्ण तरिका हो—तपाईं र तपाईंको जीवनसाथीले विवाहबारे परमेश्वरको वचनमा दिइएको सल्लाह पालन गर्नु। (भजन २५:४; यशैया ४८:१७, १८) त्यसैले प्रेषित पावलले दिएको खास सल्लाह विचार गर्नुहोस्। तिनले भने: “विवाह सबै मानिसहरूसामु आदरणीय होस्।” (हिब्रू १३:४) यसको अर्थ के हो? यहाँ चलाइएको “आदरणीय” शब्दले कुनै कुरा मर्यादित र अनमोल छ भन्ने बुझाउँछ। यहोवा विवाहलाई त्यसरी नै हेर्नुहुन्छ, मतलब उहाँ विवाहलाई मर्यादित र अनमोल ठान्नुहुन्छ।
तपाईंको प्रेरणा—यहोवाप्रतिको हार्दिक प्रेम
६. पावलले विवाहबारे दिएको सल्लाहको अगाडि र पछाडिका पदले के देखाउँछ? अनि त्यसलाई मनमा राख्नु किन महत्त्वपूर्ण छ?
६ हो, परमेश्वरको सेवक भएकोले तपाईं र तपाईंको जीवनसाथीले विवाह अनमोल मात्र होइन तर पवित्र कुरा पनि हो भनेर जानिसक्नुभएको छ। यहोवा स्वयम्ले विवाहको सुरुवात गर्नुभएको थियो। (मत्ती १९:४-६) तर अहिले आफ्नो वैवाहिक जीवनमा समस्या भोगिरहनुभएको छ भने तपाईंहरूलाई आपसमा प्रेम र आदरसाथ व्यवहार गर्न गाह्रो भइरहेको होला। यस्तो बेला आपसमा प्रेम र आदरसाथ व्यवहार गर्न आफ्नो मनलाई उत्प्रेरित गराउने हो भने तपाईंहरूले विवाह आदरणीय हुनुपर्छ भन्ने कुरा जानेर मात्र पुग्दैन। त्यसोभए के गर्नुपर्छ त? विवाहलाई आदर देखाउनेबारे पावलले के भने राम्ररी ध्यान दिनुहोस्। पावलले “विवाह आदरणीय हुन्छ” भनेनन् तर “विवाह . . . आदरणीय होस्” भने। पावलले आफूले जानेको कुरा मात्र भनिरहेका थिएनन्; अर्ती नै दिइरहेका थिए।a यस कुरालाई मनमा राख्दा तपाईं आफ्नो जीवनसाथीप्रति फेरि मर्यादा राख्न अझ उत्प्रेरित हुन सक्नुहुन्छ। कसरी?
७. (क) बाइबलमा दिइएका कस्ता आज्ञाहरू हामी पालन गर्छौं र किन? (ख) आज्ञाकारी भयौं भने कस्तो राम्रो नतिजा पाउन सकिन्छ?
७ एकछिनको लागि सोच्नुहोस्, तपाईं बाइबलको अरू आज्ञाहरू जस्तो कि चेला बनाउने आज्ञा अनि उपासनाको लागि एक ठाउँमा भेला हुने सल्लाहलाई कसरी लिनुहुन्छ? (मत्ती २८:१९; हिब्रू १०:२४, २५) हो, यी आज्ञा पालन गर्नु कहिलेकाहीं चुनौतीपूर्ण हुन सक्छ। तपाईंले प्रचार गरेको व्यक्तिले सायद नराम्रो प्रतिक्रिया देखाउला अथवा कामले लखतरान भएकोले ख्रीष्टियन सभाहरूमा जान तपाईंलाई हम्मेहम्मे परेको छ होला। तैपनि तपाईं प्रचार गर्न अनि सभाहरू जान छोड्नुहुन्न। हो, तपाईंलाई कसैले रोक्न सक्दैन, सैतानले पनि। किन? किनभने तपाईं यहोवालाई मनदेखि प्रेम गर्नुहुन्छ। त्यसैले उहाँका आज्ञाहरू पालन गर्न तपाईं उत्प्रेरित हुनुहुन्छ। (१ यूहन्ना ५:३) यसबाट कस्ता राम्रा नतिजा पाउन सकिन्छ? प्रचारकार्यमा भाग लिनुभयो अनि सभामा उपस्थित हुनुभयो भने तपाईंलाई भित्री शान्ति अनि आनन्द महसुस हुन्छ। किनभने आफूले परमेश्वरको इच्छाअनुसार गरिरहेको कुरा तपाईंलाई थाह छ। अनि यस्तो भावनाले तपाईंलाई ताजगी दिन्छ। (नहेम्याह ८:१०) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?
८, ९. (क) विवाहलाई आदरणीय बनाउने अर्ती पालन गर्न हामीलाई केले उत्प्रेरित गर्न सक्छ र किन? (ख) हामी अब कुन दुई बुँदा विचार गर्नेछौं?
८ बाधा-अवरोध आए तापनि परमेश्वरप्रतिको गहिरो प्रेमले गर्दा तपाईं प्रचार गर्ने अनि सभामा उपस्थित हुने आज्ञा पालन गर्न उत्प्रेरित हुनुहुन्छ। त्यसैगरि यहोवाप्रतिको प्रेमले गर्दा बाइबलमा दिइएको यो अर्ती गाह्रो जस्तो देखिंदा पनि पालन गर्न तपाईं उत्प्रेरित हुनुहुनेछ: “विवाह . . . आदरणीय होस्।” (हिब्रू १३:४; भजन १८:२९; उपदेशक ५:४) त्यतिमात्र होइन प्रचारमा भाग लिने अनि सभामा उपस्थित हुने प्रयास गर्दा तपाईंले परमेश्वरबाट थुप्रै आशिष् पाउनुहुनेछ। त्यसैगरि विवाहलाई आदरणीय बनाउन तपाईं जुन प्रयास गर्नुहुन्छ परमेश्वरले त्यो देख्नुहुन्छ र आशिष् दिनुहुन्छ।—१ थिस्सलोनिकी १:३; हिब्रू ६:१०.
९ त्यसो भए आफ्नो वैवाहिक जीवनलाई तपाईं कसरी आदरणीय बनाउन सक्नुहुन्छ? यसको लागि तपाईं वैवाहिक सम्बन्धमा हानि पुऱ्याउने व्यवहारदेखि अलग रहनै पर्छ। साथै तपाईंले वैवाहिक बन्धनलाई बलियो बनाउने कदमहरू पनि चाल्नै पर्छ।
वैवाहिक जीवनलाई अनादर गर्ने बोली र आचरणदेखि अलग्गै रहनुहोस्
१०, ११. (क) कस्तो आचरणले वैवाहिक जीवनको अनादर गर्छ? (ख) हामीले आफ्नो जीवनसाथीलाई कस्तो प्रश्न सोध्नुपर्छ?
१० एउटी ख्रीष्टियन बहिनीले केही समयअघि यसो भनिन्: “सहने शक्ति दिनुहोस् भनेर मैले यहोवालाई प्रार्थना गरें।” किन? तिनले भनिन्: “मेरो श्रीमान् घोच्ने बोली बोल्नुहुन्थ्यो। यसले मलाई कति चोट पुऱ्याएको छ त्यो त नदेखिएला। तर ‘तिमी त मेरो लागि बोझै भयौ!, ‘तिमी निकम्मा हौ’ जस्ता शब्दहरूले मेरो मुटु छियाछिया हुन्थ्यो।” यी बहिनीको कुराले एउटा गम्भीर चिन्ताको विषयलाई देखाउँछ। त्यो हो: वैवाहिक जीवनमा बोलिने दुर्वचन।
११ ख्रीष्टियन दम्पतीले एकअर्कालाई कठोर वचनले प्रहार गर्नु कत्ति दुःखको कुरा! यसले भावनात्मक चोट पुऱ्याउँछ र यो चोट सजिलै निको हुँदैन। कुरा स्पष्ट छ, कठोर बोली बोल्नेहरूको वैवाहिक सम्बन्ध आदरणीय हुँदैन। तपाईंको वैवाहिक सम्बन्ध कस्तो छ? त्यो पत्ता लगाउने एउटा तरिका आफ्नो जीवनसाथीलाई नम्रतापूर्वक यस्तो प्रश्न सोध्नु हो: “मेरो बोलीले तिमीलाई/तपाईंलाई कस्तो असर गरेको छ?” यदि तपाईंको बोलीले गर्दा तपाईंको जीवनसाथीलाई भावनात्मक चोट पुगेको छ भने परिस्थिति सुधार्न तपाईंले आफ्नो व्यवहार परिवर्तन गर्नै पर्छ।—गलाती ५:१५; एफिसी ४:३१.
१२. कुनै व्यक्तिले गरेको उपासना कसरी परमेश्वरको नजरमा व्यर्थको हुन सक्छ?
१२ तपाईं आफ्नो जीवनसाथीसित जुन तरिकामा बोल्नुहुन्छ त्यसले यहोवासितको तपाईंको सम्बन्धलाई असर गर्छ भन्ने कुरालाई याद गर्नुहोस्। बाइबल भन्छ: “यदि कुनै मानिसले आफूलाई परमेश्वरको उपासक सम्झन्छ तर आफ्नो जिब्रोमा लगाम लगाउँदैन र आफूलाई धोका दिन्छ भने त्यस मानिसको उपासना व्यर्थ हो।” (याकूब १:२६) तपाईंको बोली उपासनाको अभिन्न भाग हो। ‘परमेश्वरको सेवा गरिरहेकै छु नि, घरमा जस्तोसुकै व्यवहार गरे पनि त्यसले के फरक पार्छ र’ भन्ने धारणालाई बाइबलले समर्थन गर्दैन। आफैलाई धोका नदिनुहोस्। यो गम्भीर मामिला हो। (१ पत्रुस ३:७) तपाईंसित विभिन्न क्षमता र जोस हुन सक्छ। तर यदि जानाजानी घोच्ने बोली बोलेर आफ्नो जीवनसाथीको चित्त दुखाउनुहुन्छ भने तपाईंले वैवाहिक प्रबन्धलाई अनादर गरिरहेको हुनेछ र तपाईंले गरेको उपासनालाई परमेश्वरले सायद व्यर्थको ठान्नुहुनेछ।
१३. दम्पतीहरूले एकअर्कालाई कसरी भावनात्मक चोट पुऱ्याउन सक्छन्?
१३ दम्पतीहरू आफ्नो जीवनसाथीलाई अप्रत्यक्ष रूपमा भावनात्मक चोट पुऱ्याउनदेखि पनि होसियार हुनै पर्छ। दुइटा उदाहरण विचार गर्नुहोस्: एउटी एक्ली आमा मण्डलीका कुनै विवाहित भाइलाई बारम्बार फोन गर्छिन् र सल्लाह माग्छिन्। तिनीहरूको कुरा निकै लामो हुन्छ। अनि एक जना अविवाहित ख्रीष्टियान भाइ हरेक हप्ता एउटी विवाहित ख्रीष्टियन बहिनीसित प्रचारमा निकै समय बिताउँछन्। उदाहरणमा दिइएका विवाहित भाइ अनि बहिनीको कुनै नराम्रो उद्देश्य छैन होला। तैपनि तिनीहरूको आचरणले तिनीहरूको जीवनसाथीमा कस्तो असर पार्छ? यस्तै परिस्थिति सामना गरिरहेकी एउटी बहिनीले यसो भनिन्: “मेरो श्रीमान्ले मण्डलीको अरू नै बहिनीलाई धेरै समय अनि ध्यान दिएको देख्दा मेरो मन दुख्छ। यसले मलाई आफू बेकारको रहेछु भन्ने महसुस गराउँछ।”
१४. (क) उत्पत्ति २:२४ मा कस्तो वैवाहिक दायित्व प्रकाश पारिएको छ? (ख) हामीले आफैलाई कस्तो प्रश्न सोध्नुपर्छ?
१४ यी बहिनीले अनि यस्तै परिस्थितिमा भएका विवाहितहरूले किन चित्त दुखाउँछन् बुझ्न गाह्रो छैन। तिनीहरूको जीवनसाथीले विवाहसम्बन्धी परमेश्वरको यो मूल निर्देशनलाई बेवास्ता गरिरहेका हुन्छन्: “मानिसले आफ्ना आमा-बाबुलाई छोड्छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ।” (उत्पत्ति २:२४) हो, विवाह गरिसकेपछि पनि आफ्ना आमाबुबालाई आदर गर्नुपर्छ तर विवाह गरिसकेपछिको सबैभन्दा प्रमुख दायित्व आफ्नो जीवनसाथीप्रतिको जिम्मेवारी पूरा गर्नु हो, जुन परमेश्वर स्वयम्ले गरेको प्रबन्ध हो। त्यसैगरि ख्रीष्टियनहरू आफ्नो सँगी विश्वासीलाई एकदमै माया गर्छन्। तैपनि तिनीहरूको प्रमुख दायित्व भनेको आफ्नो जीवनसाथीको ख्याल राख्नु हो। त्यसैले विवाहित ख्रीष्टियनले आफ्नो सँगी विश्वासीहरूसित, त्यसमा पनि विशेषगरि विपरीत लिङ्गको व्यक्तिसित धेरै समय बिताइरहेको छ वा बढी नै हिमचिम बढाइरहेको छ भने तिनीहरूको वैवाहिक सम्बन्धमा तनाव उत्पन्न हुन्छ। तपाईंको वैवाहिक सम्बन्धमा पनि यस्तै तनाव आइपरेको छ कि? आफैलाई सोध्नुहोस्, ‘के मैले आफ्नो जीवनसाथीले पाउनुपर्ने समय, ध्यान र स्नेह दिइरहेको छु?’
१५. मत्ती ५:२८ अनुसार आफ्नो जीवनसाथीबाहेक विपरीत लिङ्गको अरू व्यक्तिलाई विवाहित ख्रीष्टियनहरूले किन अनुचित ध्यान दिनुहुँदैन?
१५ आफ्नो जीवनसाथीबाहेक विपरीत लिङ्गका अरू व्यक्तिहरूलाई अनुचित ध्यान दिने विवाहित ख्रीष्टियनहरूले आफूलाई खतरनाक परिस्थितिमा धकेलिरहेका हुन्छन् जुन बुद्धिमानी काम होइन। दुःखको कुरा कतिपय विवाहित ख्रीष्टियनहरूले बढी नै हिमचिम बढाएकाहरूसित रोमान्टिक भावना विकास गरेका छन्। (मत्ती ५:२८) त्यस्तो भावनाले गर्दा उनीहरू विवाहलाई झनै अनादर हुने काम गर्न पुगेका छन्। यसबारे प्रेषित पावलले के भने विचार गर्नुहोस्।
“वैवाहिक सम्बन्ध नबिटुलिओस्”
१६. विवाहको सन्दर्भमा पावलले कस्तो आज्ञा दिए?
१६ ‘विवाह आदरणीय होस्’ भन्ने अर्ती दिइसकेपछि पावलले तुरुन्तै यस्तो चेतावनी दिए: “तिमीहरूको वैवाहिक सम्बन्ध नबिटुलिओस्। किनकि अवैध यौनसम्बन्ध राख्ने अनि आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने मानिसहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ।” (हिब्रू १३:४) पावलले चलाएको “वैवाहिक सम्बन्ध” भन्ने अभिव्यक्तिले यौनसम्बन्धलाई बुझाउँछ। यदि यस्तो सम्बन्ध वैवाहिक बन्धनभित्र मात्र भएमा त्यो ‘बिटुलिंदैन’ अर्थात् नैतिक रूपमा शुद्ध हुन्छ। त्यसकारण ख्रीष्टियनहरूले यो प्रेरित वचन पालन गर्नुपर्छ: “तेरो युवावस्थाकी पत्नी . . . त्यहीसित तँ सुखी हो।”—हितोपदेश ५:१८.
१७. (क) आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नेबारे संसारले जुन दृष्टिकोण राख्छ त्यसले ख्रीष्टियनहरूलाई किन असर गर्नुहुँदैन? (ख) अय्यूबले बसालेको उदाहरण हामी कसरी पछ्याउन सक्छौं?
१७ आफ्नो जीवनसाथीबाहेक अरूसित यौनसम्बन्ध राख्ने व्यक्तिले परमेश्वरको नैतिक नियमको घोर अनादर गरिरहेको हुन्छ। हो, आजको संसारमा थुप्रैले आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नुलाई उचित ठान्छन्। अरू मानिसको सोचाइ जस्तोसुकै होस् त्यसले ख्रीष्टियनहरूलाई असर गर्नुहुँदैन। तिनीहरूलाई थाह छ कि “अवैध यौनसम्बन्ध राख्ने अनि आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने मानिसहरूलाई” अन्तको दिनमा मानिसले होइन तर “परमेश्वरले न्याय गर्नुहुनेछ।” (हिब्रू १०:३१; १२:२९) त्यसैले साँचो ख्रीष्टियनहरू यौनको विषयमा यहोवाको दृष्टिकोण अपनाउँछन्। (रोमी १२:९) कुलपिता अय्यूबले के भने याद गर्नुहोस्: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ सङ्कल्प गरें।” (अय्यूब ३१:१) हो, साँचो ख्रीष्टियनहरू आफ्नो आँखालाई वशमा राख्छन् अनि आफ्नो जीवनसाथीबाहेक विपरीत लिङ्गको कुनै व्यक्तिलाई नराम्रो दृष्टिले हेर्दैनन्। आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नतिर डोऱ्याउन सक्ने यस्तो बाटोमा तिनीहरू एक पाइला पनि चाल्न चाहँदैनन्।—अतिरिक्त लेख, पृष्ठ २५१-२५३ हेर्नुहोस्।
१८. (क) आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नुलाई यहोवा कत्तिको गम्भीर ठान्नुहुन्छ? (ख) आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नु र मूर्तिपूजा गर्नुबीच के समानता छ?
१८ आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नुलाई यहोवा कत्तिको गम्भीरतापूर्वक लिनुहुन्छ? यसबारे यहोवाको भावना बुझ्न हामीलाई मोशाको व्यवस्थाले मदत गर्छ। इस्राएल राष्ट्रमा आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नु र मूर्तिपूजा गर्नुलाई मृत्युदण्ड पाउन लायकको अपराध ठानिन्थ्यो। (लेवी २०:२, १०) यी दुई अपराधबीच के समानता छ, तपाईंले बुझ्नुभयो? मूर्तिपूजा गर्ने इस्राएलीले यहोवासितको करार भङ्ग गरिरहेका हुन्थे। त्यसैगरि आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने इस्राएलीले आफ्नो जीवनसाथीसितको करार भङ्ग गरिरहेका हुन्थे। ती दुवैले धोका दिइरहेका हुन्थे। (प्रस्थान १९:५, ६; व्यवस्था ५:९; मलाकी २:१४) त्यसैले ती दुवै व्यक्ति विश्वासी अनि भरपर्दो परमेश्वर यहोवाको नजरमा निन्दनीय हुन्थे।—भजन ३३:४.
१९. आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध नराख्ने सङ्कल्पलाई केले बलियो बनाउन सक्छ र किन?
१९ हो, ख्रीष्टियनहरू मोशाको व्यवस्थाको अधीनमा छैनन्। तैपनि प्राचीन इस्राएलमा आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नुलाई गम्भीर पाप ठानिन्थ्यो भन्ने कुरालाई याद गर्नुहोस्। यस कुरालाई ख्रीष्टियनहरूले याद गर्दा त्यस्तो कार्यमा संलग्न नहुने आफ्नो सङ्कल्पलाई अझै बलियो बनाउन सक्छन्। किन? यो तुलना विचार गर्नुहोस्: के तपाईंले मूर्तिको अगाडि घुँडा टेकेर कहिल्यै प्रार्थना गर्नुहुनेछ? ‘कहाँ गर्नु!’ भन्नुहुन्छ होला। तर धेरै पैसा दिन्छु भनेर कसैले लोभ देखायो भने के तपाईं त्यसो गर्न लोभिनुहुन्छ? ‘त्यो त म सोच्नै सक्दिनँ!’ भन्नुहुन्छ होला। कुनै मूर्तिलाई पूजेर यहोवालाई धोका दिने सोचाइलाई साँचो ख्रीष्टियनहरू घृणा गर्छन्। त्यसैगरि आफ्नो परमेश्वर यहोवा र जीवनसाथीलाई धोका दिने सोचाइलाई ख्रीष्टियनहरूले घृणा गर्नुपर्छ, चाहे त्यसो गर्न जतिसुकै प्रलोभन किन आइनपरोस्। (भजन ५१:१, ४; कलस्सी ३:५) शैतानलाई खुसी पार्ने तर यहोवा र वैवाहिक प्रबन्धको पवित्रतालाई घोर अनादर गर्ने कुनै काम हामी कहिल्यै गर्न चाहँदैनौं।
आफ्नो वैवाहिक बन्धन कसरी बलियो पार्ने?
२०. कसै-कसैको वैवाहिक जीवन कस्तो भएको छ? उदाहरण दिनुहोस्।
२० वैवाहिक जीवनलाई अनादर गर्ने आचरणदेखि अलग रहनुको अलावा तपाईं आफ्नो जीवनसाथीप्रति फेरि आदर देखाउन कस्तो कदम चाल्न सक्नुहुन्छ? जवाफको लागि आफ्नो वैवाहिक जीवनलाई एउटा घरसित तुलना गर्नुहोस्। आफ्नो दयालु बोली, विचारशील काम अनि दम्पतीले आपसमा देखाउने आदरका अन्य अभिव्यक्तिहरू घरलाई सुन्दर बनाउने सजावटका सामानजस्तै हुन्। यदि तपाईं पति-पत्नी एकअर्कासित नजिक भएको महसुस गर्नुहुन्छ भने त्यो रङ्गीन अनि न्यानो अनुभूति गराउने सजिसजाउ घर जस्तै हो। तर यदि तपाईंहरू बीचको स्नेह चिसिंदैछ भने ती सजावटका सामान बिस्तारै हट्दै जान्छ, भन्नुको मतलब तपाईंको वैवाहिक सम्बन्ध सजावटविनाको घर सरह हुन्छ। ‘विवाह आदरणीय होस्’ भन्ने परमेश्वरको आज्ञा तपाईं पालन गर्न चाहनुहुन्छ। त्यसैले आफ्नो परिस्थिति सुधार्न दिलोज्यान लगाउन चाहनुहुन्छ। हुन पनि यदि कुनै वस्तु अनमोल अनि आदरणीय छ तर कतै बिग्रेको छ भने त्यसलाई मर्मत गर्नु वा पहिलेकै अवस्थामा ल्याउनु व्यर्थको कुरा होइन। त्यसोभए तपाईं कसरी आफ्नो वैवाहिक सम्बन्धलाई सुधार्न वा पहिलेकै अवस्थामा ल्याउन सक्नुहुन्छ? परमेश्वरको वचन भन्छ: “बुद्धिले घर बनाउँछ, असल समझशक्तिले त्यसलाई सुरक्षित राख्छ। ज्ञानले कोठाहरू धन-सम्पत्तिले किन्न सक्ने सबै दामी-दामी र सुन्दर-सुन्दर थोकहरूद्वारा सुसज्जित पार्छ।” (हितोपदेश २४:३, ४) यी शब्दहरूलाई वैवाहिक जीवनमा कसरी लागू गर्न सकिन्छ विचार गर्नुहोस्।
२१. हामी आफ्नो वैवाहिक जीवनलाई कसरी बिस्तारै बलियो बनाउँदै लैजान सक्छौं? (पृष्ठ १४९ मा भएको पेटी पनि हेर्नुहोस्।)
२१ आनन्दले भरिएको घरलाई सजाउने ‘दामी-दामी थोकहरू’ साँचो माया, परमेश्वरको भय अनि दृढ विश्वास हुन्। (हितोपदेश १५:१६, १७; १ पत्रुस १:७) यी कुराले वैवाहिक जीवनलाई बलियो बनाउँछ। तर माथि उल्लेख गरिएको पदअनुसार कोठाहरू सुसज्जित पार्ने दामी थोक के हो याद गर्नुभयो? “ज्ञान” हो। बाइबलको ज्ञानलाई व्यवहारमा उताऱ्यो भने त्यसले मानिसको सोचाइ परिवर्तन गरिदिन सक्छ र एकअर्काप्रति प्रेम जगाउन उत्प्रेरित गर्न सक्छ। (रोमी १२:२; फिलिप्पी १:९) त्यसैले तपाईं अनि तपाईंको जीवनसाथी सँगै बसेर शान्त भएर बाइबल पढ्दा अथवा प्रहरीधरहरा र अरू प्रकाशनमा दिइएका विवाहसम्बन्धी बाइबल आधारित लेखहरू विचार गर्दा तपाईंले सजावटका सुन्दर सामानहरू जाँचिरहेसरह हुनेछ जसले तपाईंको घरलाई सुन्दर बनाउँछ। भर्खरै जाँचेका सल्लाहहरू आफ्नो वैवाहिक जीवनमा लागू गर्न यहोवाप्रतिको प्रेमले उत्प्रेरित हुनुभयो भने तपाईंले सजावटका सामानहरू आफ्नो “कोठाहरू”-मा सजाइरहेको हुनेछ। यसको परिणाम तपाईंको वैवाहिक जीवनमा पहिलाको जस्तै रङ्गीन वातावरण छाउनेछ र न्यानोपना फर्कनेछ।
२२. वैवाहिक जीवनलाई बलियो बनाउन आफ्नो तर्फबाट कोसिस गऱ्यौं भने हामी कस्तो सन्तुष्टि पाउन सक्छौं?
२२ सजावटका सामानहरूलाई ठीक-ठीक ठाउँमा राख्न निकै समय लाग्न सक्छ अनि प्रयास गर्नुपर्ने हुन सक्छ भन्ने कुरा हामी नकार्न सक्दैनौं। तैपनि यदि तपाईंले आफ्नो तर्फबाट कोसिस गर्नुभयो भने तपाईं भित्रैदेखि सन्तुष्ट हुनुहुनेछ। किनभने बाइबलमा दिइएको यो आज्ञा पालन गर्दैछु भनेर तपाईंलाई थाह हुनेछ: “एक-अर्काको आदर गर्नमा अगुवाइ लेओ।” (रोमी १२:१०; भजन १४७:११) सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईंले आफ्नो वैवाहिक जीवनलाई आदरणीय बनाउन जुन निष्कपट प्रयास गर्नुभएको छ त्यसले तपाईंलाई परमेश्वरको प्रेम पाउन लायकको भइरहन मदत गर्नेछ।
a अगाडि र पछाडिका पदले देखाएअनुसार विवाहबारे पावलले भनेको कुरा एकपछि अर्को गर्दै दिइएका अर्तीहरूमध्ये एउटा हो।—हिब्रू १३:१-५.
-