विलाप
५ हे यहोवा, हामीमाथि के आइपरेको छ, सम्झनुहोस्।
हामीले कत्ति बेइज्जती भोग्नुपरेको छ, हेर्नुहोस्।+
२ हाम्रो पुर्ख्यौली सम्पत्ति पराईको अनि हाम्रो घर विदेशीको भएको छ।+
३ हामी बुबा नभएका टुहुराटुहुरीजस्तै भएका छौँ अनि हाम्रा आमाहरू विधवाजस्तै भएका छन्।+
४ हामीले आफ्नै पानी+ अनि आफ्नै दाउरासमेत दाम तिरेर किन्नुपरेको छ।
५ हामीलाई खेद्नेहरूले हाम्रो घिच्रो समाउनै आँटेका छन्;
हामी लखतरान भएका छौँ तैपनि हामीले विश्राम पाएका छैनौँ।+
६ पेट भर्नको लागि हामीले मिश्रीहरू+ र अस्सेरियालीहरूसामु+ हात फैलाउनुपरेको छ।
७ गल्ती गर्ने हाम्रा पुर्खाहरू अहिले छैनन् तर हामीले तिनीहरूको गल्तीको सजाय भोग्नुपरेको छ।
८ हाम्रा नोकरहरू हाम्रा शासक भएका छन्; हामीलाई तिनीहरूको पन्जाबाट छुटाउने कोही छैन।
९ निर्जनभूमिमा तरबार भिरेका शत्रुहरू छन्, त्यसैले हामीले आफ्नो ज्यानको खतरा मोलेर खानेकुरा ल्याउनुपरेको छ।+
१० हामी भोकले तड्पिएका छौँ र हाम्रो छाला आगोझैँ रन्केको छ।+
११ सियोनमा भएका हाम्रा पत्नीहरू अनि यहुदाका सहरहरूमा भएका हाम्रा कन्याहरूको इज्जत लुटिएको छ।+
१२ हाम्रा शासकहरूको हातलाई बाँधेर तिनीहरूलाई झुन्ड्याइयो+ अनि हाम्रा नाइकेहरूप्रति कुनै आदर देखाइएन।+
१३ युवकहरू जाँतो बोक्न बाध्य भएका छन् अनि ठिटाहरू दाउराको भारले थिचिएर ढुनमुनिँदै हिँड्छन्।
१४ नाइकेहरू सहरको मूलढोकामा बस्दैनन्+ अनि जवानहरूले बाजागाजा बजाउन छोडेका छन्।+
१५ हाम्रो मनबाट आनन्द हटेको छ; हाम्रो नाच शोकमा बदलिएको छ।+
१६ हाम्रो शिरको मुकुट खसेको छ। धिक्कार छ! किनकि हामीले पाप गरेका छौँ।
१७ त्यसैले हाम्रो मन दुर्बल भएको छ+
अनि हाम्रा आँखाहरू धमिला भएका छन्।+
१८ सियोन डाँडा उजाड भएकोले+ त्यहाँ अहिले फ्याउराहरू डुलिहिँड्छन्।
१९ हे यहोवा, तपाईँ सदासर्वदा आफ्नो सिंहासनमा विराजमान हुनुहुन्छ।
तपाईँको सिंहासन पुस्तौँपुस्तासम्म रहिरहन्छ।+
२० तपाईँ हामीलाई किन चटक्कै बिर्सनुहुन्छ? यत्ति लामो समयसम्म हामीलाई किन त्याग्नुहुन्छ?+
२१ हे यहोवा, हामीलाई फेरि तपाईँकहाँ ल्याउनुहोस्; हामी राजीखुसीले तपाईँकहाँ फर्कनेछौँ।+
हामीलाई पहिलाकै दिन फर्काइदिनुहोस्।+
२२ तर तपाईँले हामीलाई चटक्कै त्याग्नुभएको छ।
तपाईँ अझै पनि हामीसित साह्रै रिसाउनुभएको छ।+