होसे
१ यहुदाका राजाहरू+ उज्जियाह,+ योताम,+ आहाज+ र हिजकियाहको+ शासनकालमा अनि इस्राएलका राजा योआसका+ छोरा यरोबामको शासनकालमा+ बिरिका छोरा होसेकहाँ* आएको यहोवा परमेश्वरको वचन। २ जब होसेमार्फत यहोवा परमेश्वरले आफ्नो वचन घोषणा गर्न थाल्नुभयो, तब यहोवाले होसेलाई भन्नुभयो: “जाऊ, गएर एउटी स्त्रीसित विवाह गर, जसले पछि वेश्यावृत्ति गर्नेछिन्* र वेश्यावृत्ति गरेरै सन्तान पनि जन्माउनेछिन्। किनभने यो देश वेश्यावृत्तिमा लागेर यहोवादेखि पूरै तर्केको छ।”+
३ तब गएर तिनले दिब्लैमकी छोरी गोमेरसित विवाह गरे र उनी गर्भवती भइन् अनि तिनीबाट एउटा छोरा जन्माइन्।
४ अनि यहोवा परमेश्वरले होसेलाई भन्नुभयो: “उसको नाम यिज्रेल* राख किनकि केही समयपछि म येहुको+ घरानाले मच्चाएको रक्तपातको बदला लिनेछु र इस्राएलको घरानाको शासनको अन्त गरिदिनेछु।+ ५ त्यस दिन म यिज्रेल बेँसीमा इस्राएलको धनु भाँचिदिनेछु।”
६ उनी फेरि गर्भवती भइन् र एउटी छोरी जन्माइन्। अनि परमेश्वरले होसेलाई भन्नुभयो: “उसको नाम लो-रुहामाह* राख किनकि इस्राएलको घरानालाई अब म फेरि कृपा देखाउनेछैनँ;+ म तिनीहरूलाई अवश्य धपाउनेछु।+ ७ तर यहुदाको घरानालाई म कृपा देखाउनेछु+ र तिनीहरूलाई म यहोवा तिनीहरूका परमेश्वरले बचाउनेछु;+ धनु, तरबार, लडाइँ, घोडा वा घोडचढीद्वारा होइन।”+
८ लो-रुहामाहलाई दूध छुटाएपछि गोमेर फेरि गर्भवती भइन् र एउटा छोरा जन्माइन्। ९ तब उहाँले भन्नुभयो, “उसको नाम लो-अमि* राख किनकि तिमीहरू मेरा मानिसहरू होइनौ र म तिमीहरूको परमेश्वर हुँदिनँ।
१० “अनि इस्राएलीहरूको सङ्ख्या समुद्रका बालुवासरी हुनेछ, जसलाई तौलन वा गन्न सकिँदैन।+ अनि जुन ठाउँमा तिनीहरूलाई ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ भनिएको थियो,+ त्यहाँ तिनीहरूलाई ‘जीवित परमेश्वरका छोराहरू’ भनिनेछ।+ ११ अनि यहुदा र इस्राएलका मानिसहरूलाई एकसाथ भेला गरिनेछ+ र तिनीहरूले आफ्नो लागि एक अगुवा छान्नेछन् र त्यस भूमिबाट निस्केर आउनेछन् किनकि त्यो दिन यिज्रेलको लागि विशेष दिन हुनेछ।+
२ “आफ्ना दाजुभाइलाई यसो भन, ‘मेरा मानिसहरू!’*+
अनि आफ्ना दिदीबहिनीलाई यसो भन, ‘हे कृपा पाएकी स्त्री!’*+
२ आफ्नी आमालाई दोषी ठहराओ, उसलाई दोषी ठहराओ
किनकि ऊ मेरी पत्नी होइन+ र म उसको पति होइनँ।
उसले वेश्यावृत्ति गर्न छोडोस्,
उसले व्यभिचार* नगरोस्।
३ नत्र त म उसलाई निर्वस्त्र पारिदिनेछु; जन्मेको बेलामा जस्तै नाङ्गै पारिदिनेछु।
म उसलाई उजाड भूमि बनाइदिनेछु,
उसलाई खडेरी परेको जमिन बनाइदिनेछु
अनि ऊ तिर्खाले प्याकप्याक भएर मर्नेछे।
४ उसका सन्तानलाई म कृपा देखाउनेछैनँ
किनकि तिनीहरू वेश्यावृत्तिबाट* जन्मेका सन्तान हुन्।
५ तिनीहरूकी आमा वेश्यावृत्तिमा लागेकी छे।+
तिनीहरूलाई गर्भधारण गर्ने तिनीहरूकी आमाले निर्लज्ज काम गरेकी छे+ किनकि उसले यसो भनेकी छे,
‘म मेरा कामुक प्रेमीहरूको पछिपछि जानेछु,+
जसले मलाई खानेकुरा र पानी दिए,
ऊन र मलमलको लुगा दिए अनि तेल र मद्य दिए।’
६ त्यसैले म काँडाको बार लगाएर उसको बाटो छेक्नेछु
अनि उसको अगाडि ढुङ्गाको पर्खाल खडा गर्नेछु
र उसले आफू जाने बाटो फेला पार्न सक्नेछैन।
७ ऊ आफ्ना कामुक प्रेमीहरूको पछिपछि दगुर्नेछे तर तिनीहरूलाई भेट्टाउन सक्नेछैन,+
उसले तिनीहरूलाई यताउता खोज्नेछे तर तिनीहरूलाई फेला पार्न सक्नेछैन।
अनि उसले यसो भन्नेछे, ‘म मेरो पहिलो पतिकहाँ नै फर्केर जान्छु+
किनकि मलाई अहिलेभन्दा त पहिला नै राम्रो थियो।’+
८ मैले नै उसलाई अन्न, नयाँ मद्य र तेल दिएको हुँ भनेर उसले मानिन+
उसलाई प्रशस्त चाँदी दिने पनि म नै हुँ
अनि सुन पनि, जुन तिनीहरूले बाआलको लागि चलाए।+
९ ‘त्यसैले म फर्केर आउनेछु र कटनीको समयमा अन्न खोस्नेछु
अनि अङ्गुर टिप्ने बेला नयाँ मद्य लैजानेछु।+
उसको लाज ढाक्ने मेरो ऊन र मेरो मलमल पनि ऊबाट खोस्नेछु।
१० उसका कामुक प्रेमीहरूको आँखाअगाडि नै म उसलाई निर्वस्त्र पारिदिनेछु।
अनि कुनै पनि मानिसले उसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।+
११ म उसको रमाहटको अन्त गरिदिनेछु,
उसका उत्सव, औँसी, विश्रामदिन* र चाडहरू+ सबै अन्त गरिदिनेछु।
१२ अनि म उसको अङ्गुरको बोट र अन्जिरको रूख नाश गरिदिनेछु, जसबारे उसले यसो भन्थी:
“यी मेरा कामुक प्रेमीहरूले दिएका ज्याला हुन्;”
अब म ती सबैलाई एउटा जङ्गलमा परिणत गर्नेछु
अनि जङ्गली जनावरहरूले ती खानेछन्।
१३ म ऊसित ती दिनहरूको बदला लिनेछु, जब उसले बाआलका मूर्तिहरूलाई बलि चढाउने गर्थी,+
जब ऊ कुण्डल र गरगहनाले सजिएर आफ्ना कामुक प्रेमीहरूको पछिपछि लाग्थी
तर मलाई भने उसले बिर्सिई,’+ यहोवा घोषणा गर्नुहुन्छ।
१४ ‘अब म उसलाई मनाउनेछु,
र उजाड भूमिमा ल्याउनेछु
अनि उसको मन जित्ने कुरा गर्नेछु।
१५ त्यसपछि म उसको अङ्गुर बगान उसलाई फिर्ता दिनेछु,+
अनि आकोर बेँसीचाहिँ+ आशाको द्वार हुनेछ।
जसरी जवानीमा उसले जवाफ दिने गर्थी, त्यसरी नै त्यहाँ उसले मलाई जवाफ दिनेछे,
मिश्रबाट* निस्केर आएको दिनमा जस्तैगरि।’+
१६ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यस दिन
तिमीले मलाई “मेरा पति” भन्नेछ्यौ, तिमीले त्यस उपरान्त मलाई “मेरा मालिक”* भन्नेछैनौ।
१७ बाआलका मूर्तिहरूको नाम म उसको मुखबाट हटाइदिनेछु,+
मेरा मानिसहरू त्यस उपरान्त ती नामले चिनिनेछैनन्।+
१८ त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्गली जनावरहरूसित,+
आकाशका चराचुरुङ्गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु;
म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+
अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+
१९ म तिमीसित सदाको लागि बन्धनमा बाँधिनेछु।
न्याय र धार्मिकतासहित*
अनि अटल प्रेम* र कृपा देखाउँदै म तिमीसित बन्धनमा बाँधिनेछु।+
२० म वफादार हुँदै तिमीसित बन्धनमा बाँधिनेछु
अनि तिमीले यहोवालाई निश्चय नै चिन्नेछ्यौ।’+
२१ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यस दिन म जवाफ दिनेछु।
म आकाशलाई जवाफ दिनेछु
र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;+
२२ पृथ्वीले अन्न, नयाँ मद्य र तेललाई जवाफ दिनेछ
अनि ती कुराहरूले यिज्रेललाई* जवाफ दिनेछन्।+
२३ म उसलाई मेरो निम्ति पृथ्वीमा बिउजस्तै छर्नेछु,+
कृपा नपाएकी* उसलाई म कृपा देखाउनेछु,
जो मेरा मानिसहरू होइनन्,* तिनीहरूलाई म यसो भन्नेछु: “तिमीहरू मेरा मानिसहरू हौ”+
अनि तिनीहरूले यसो भन्नेछन्: “तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।”’”+
३ तब यहोवा परमेश्वरले मलाई भन्नुभयो: “जाऊ, त्यस स्त्रीलाई फेरि प्रेम गर, जसले व्यभिचार गरेकी छे अनि जसलाई अर्कै पुरुषले प्रेम गर्छ।+ जसरी अरू देवताहरूको पछि लाग्ने+ र किसमिसको रोटी* मन पराउने इस्राएलका मानिसहरूलाई यहोवा प्रेम गर्नुहुन्छ,+ त्यसरी नै तिमीले पनि त्यस स्त्रीलाई प्रेम गर।”
२ अनि मैले १५ टुक्रा चाँदी र डेढ होमेर* जौ तिरेर त्यस स्त्रीलाई आफ्नो निम्ति किनेँ। ३ तब मैले भनेँ: “तिमी धेरै दिनसम्म मेरी हुनेछ्यौ। तिमी वेश्यावृत्तिमा नलाग्नू,* परपुरुषसित यौनसम्बन्ध नराख्नू अनि म पनि तिमीसित त्यस्तै व्यवहार गर्नेछु।”*
४ त्यसैगरि इस्राएलका मानिसहरू लामो समयसम्म कुनै राजा+ र भारदारविना रहनेछन् र तिनीहरूसित बलिदान, पवित्र थाम,* एपोद*+ र कुलदेवताका मूर्तिहरू* केही पनि हुनेछैन।+ ५ पछि इस्राएलका मानिसहरू फर्केर आउनेछन् अनि यहोवा तिनीहरूका परमेश्वर+ र तिनीहरूका राजा दाउदको खोजी गर्नेछन्।+ अन्तको दिनमा तिनीहरू थरथर काँप्दै यहोवाकहाँ आउनेछन् अनि उहाँले गर्नुहुने भलाइको खोजी गर्नेछन्।+
४ हे इस्राएलका मानिसहरू हो, यहोवा परमेश्वरको कुरा सुन,
यस देशका मानिसहरूसित यहोवाले मुद्दा लड्नुहुनेछ+
किनकि यस देशमा सत्यता, अटल प्रेम र परमेश्वरको ज्ञान छैन।+
अनि एकपछि अर्को हत्या भइरहेको छ।+
३ त्यसैले देशले शोक गर्नेछ+
अनि त्यसका सबै बासिन्दा सुकेर खङ्ग्रङ्ङ हुनेछन्;
जमिनका जङ्गली जनावरहरू र आकाशका पन्छीहरू
अनि समुद्रका माछाहरूसमेत नाश हुनेछन्।
४ “तैपनि कुनै मानिसले कसैको विरोध नगरोस् वा कसैलाई नसुधारोस्+
किनकि तिमीहरू पुजारीसित झगडा गर्ने मानिसहरूजस्ता छौ।+
५ तिमीहरूले रातमा जस्तै दिउँसै ठेस खानेछौ,
भविष्यवक्ताहरूले पनि तिमीहरूसँगसँगै ठेस खानेछन्।
अनि म तिमीहरूकी आमाको मुख बन्द गरिदिनेछु।*
६ मेरा मानिसहरूको मुख बन्द गराइनेछ* किनकि तिनीहरूले मलाई चिनेका छैनन्।
तिमीहरूले मलाई चिन्न इन्कार गरेका छौ,+
त्यसैले म पनि तिमीहरूलाई इन्कार गर्नेछु र मेरो पुजारी हुन दिनेछैनँ।
तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्था* बिर्सेका छौ,+
त्यसैले म पनि तिमीहरूका सन्तानलाई बिर्सनेछु।
७ मेरा मानिसहरू सङ्ख्यामा जति बढ्छन्, तिनीहरू मेरो विरुद्धमा त्यति नै धेरै पाप गर्छन्।+
म तिनीहरूको गौरवलाई लाजमा बदल्नेछु।*
८ तिनीहरू* मेरा मानिसहरूको पापद्वारा* पोसिन्छन्;
तिनीहरू मानिसहरूले पाप गरिरहून् भनी लालसा गर्छन्।
९ पुजारीहरूले जस्तो नतिजा भोग्नेछन्, मानिसहरूले पनि त्यस्तै नतिजा भोग्नेछन्।
म तिनीहरूको कामको लेखा लिनेछु
अनि तिनीहरूको कामको प्रतिफल तिनीहरूलाई दिनेछु।+
१० तिनीहरूले खान त खानेछन् तर तृप्त हुनेछैनन्।+
तिनीहरूले थुप्रैसित यौनसम्बन्ध राख्नेछन्* तर तिनीहरूको सङ्ख्या बढ्नेछैन+
किनकि तिनीहरूले यहोवाको आदर गरेका छैनन्।
११ वेश्यावृत्तिले,* पुरानो मद्यले र नयाँ मद्यले
सही काम गर्ने इच्छालाई कमजोर बनाउँछ।*+
१२ मेरा मानिसहरू काठको मूर्तिसित सल्लाह माग्छन्,
तिनीहरूको लौरोले* जे भन्छ, तिनीहरू त्यही गर्छन्
किनकि वेश्यावृत्ति गर्ने झुकावले तिनीहरूलाई बहकाउँछ
अनि आफ्ना परमेश्वरको अधीनमा बस्न इन्कार गर्दै तिनीहरू वेश्यावृत्तिमा लाग्छन्।
१३ तिनीहरू पहाडको टाकुरामा बलि चढाउँछन्+
अनि डाँडामा धुवाँ उठ्नेगरि बलि चढाउँछन्,
तिनीहरू फलाँट र जामुनको रूखमुनि त्यसो गर्छन्+
किनकि ती रूखहरूको छहारी तिनीहरूलाई मन पर्छ।
त्यसैले तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा लाग्छन्
अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन्।
१४ तिमीहरूका छोरीहरूले गरेको वेश्यावृत्तिको म लेखा लिनेछैनँ
अनि तिमीहरूका बुहारीहरूले गरेको व्यभिचारको पनि लेखा लिनेछैनँ।
किनकि पुरुषहरू वेश्याहरूसित लाग्छन्
अनि मन्दिरका वेश्याहरूसित बलि चढाउन जान्छन्;
यस्ता बेसमझ मानिसहरू+ नाश हुनेछन्।
१५ हे इस्राएल, तिमी वेश्यावृत्ति गर्दै छ्यौ+
तर हे यहुदा, तिमीचाहिँ त्यस्तो पाप नगर।+
तिमी गिलगाल+ र बेथ-आवेनमा+ नआऊ
अनि यसो पनि नभन, ‘जीवित परमेश्वर यहोवाको कसम!’+
१६ इस्राएल अटेरी गाईजस्तै भएकी छे।+
भेडाको पाठोलाई खुला मैदानमा* चराएझैँ के यहोवाले अझै पनि तिनीहरूको गोठालो गर्नुहुन्छ र?
१७ एप्रैम मूर्तिहरूमा समर्पित छ।+
ऊ त्यस्तै रहिरहोस्!
१८ जब तिनीहरूको रक्सी* सिद्धिन्छ,
तिनीहरू वेश्यावृत्तिमा लाग्छन्।
अनि एप्रैमका शासकहरूलाई* बेइज्जती असाध्यै मन पर्छ।+
१९ हुरीले आफ्नो पखेटामा तिनीहरूलाई बाँध्नेछ*
अनि तिनीहरू आफ्नो बलिदानले गर्दा लाजमा पर्नेछन्।”
ए इस्राएलका घराना हो, ध्यान देओ!
ए राजाका घराना हो, सुन!
तिमीहरूको न्याय गरिनेछ
किनकि तिमीहरू मिस्पाको लागि पासो हौ
अनि तबोरमा बिछ्याइएको जाल हौ।+
२ मबाट टाढिएकाहरू* रक्तपातमा डुबेका छन्,
म तिनीहरू सबैलाई चेतावनी* दिँदै छु।
३ म एप्रैमलाई चिन्छु
अनि इस्राएल मेरो नजरबाट लुकेको छैन।
ए एप्रैम, तिमी वेश्यावृत्तिमा लागेकी छ्यौ;
इस्राएलले आफूलाई बिटुलो पारेकी छे।+
४ आफ्ना कामहरूको कारण तिनीहरू आफ्ना परमेश्वरकहाँ फर्कन सक्दैनन्
किनकि तिनीहरूमा वेश्यावृत्ति गर्ने* झुकाव छ;+
तिनीहरू यहोवाको कदर गर्दैनन्।
५ इस्राएलको घमन्डले त्यसको विरुद्धमा गवाही दिएको छ+
पापको कारण इस्राएल र एप्रैम दुवैले ठेस खाएका छन्
अनि यहुदाले पनि तिनीहरूसितै ठेस खाएको छ।+
६ आफ्नो वस्तुभाउ लिएर तिनीहरू यहोवाको खोजी गर्न निस्के
तर तिनीहरूले उहाँलाई भेट्टाउन सकेनन्
किनकि उहाँ तिनीहरूदेखि टाढा हुनुभएको थियो।+
७ तिनीहरूले यहोवालाई धोका दिएका छन्+
किनकि तिनीहरू विदेशी बच्चाहरूका* बुबा बनेका छन्।
तर महिनादिनभित्रै तिनीहरू र तिनीहरूका खेतहरू पनि नाश हुनेछन्।
८ गिबाहमा सिङ फुक!+ रामामा बिगुल बजाओ!+
बेथ-आवेनमा युद्धको घोषणा गर।+ ए बिन्यामिन! हामी तिम्रो पछिपछि आउँछौँ।
९ ए एप्रैम, सजायको दिनमा तिमीलाई देखेर मानिसहरू डरले थरथर काँप्नेछन्।+
जुन कुरा इस्राएलका कुलहरूमाथि अवश्य आइपर्नेछ, त्यो मैले घोषणा गरिदिएको छु।
१० यहुदाका शासकहरू साँध-सिमाना सार्ने मानिसहरूजस्ता छन्।+
पानी खन्याएझैँ म तिनीहरूमाथि मेरो रिस खन्याउनेछु।
११ एप्रैममाथि अत्याचार आइपरेको छ, इन्साफले उसलाई कुल्चीमिल्ची गरेको छ
किनकि ऊ आफ्नो शत्रुलाई पछ्याउन लागिपरेको थियो।+
१२ त्यसैले म एप्रैमको लागि कपडा खाने किराजस्तै भएँ
अनि यहुदाको घरानाको लागि चाहिँ ढुसीजस्तै भएँ।
१३ जब एप्रैमले आफ्नो रोग देख्यो अनि यहुदाले आफ्नो घाउ देख्यो,
तब एप्रैमले अस्सेरियासित गुहार माग्यो+ र एउटा महान् राजाकहाँ आफ्ना दूतहरू पठायो।
तर तिनले तिमीहरूको रोग निको पार्न सकेनन्
अनि तिमीहरूको घाउ निको पार्न सकेनन्।
१४ एप्रैमको लागि म जवान सिंहजस्तै हुनेछु
अनि यहुदाको घरानाको लागि म बलियो सिंहजस्तै हुनेछु।
म आफैले तिनीहरूलाई टुक्राटुक्रा पार्नेछु र जानेछु;+
म तिनीहरूलाई उठाएर लैजानेछु र कसैले तिनीहरूलाई छुटाउन सक्नेछैन।+
१५ म आफ्नो ठाउँमा फर्केर जानेछु र तिनीहरूले आफ्नो गल्तीको नतिजा नभोगुन्जेल त्यहीँ रहनेछु।
अनि तिनीहरूले मेरो निगाह खोज्नेछन्।+
दुःख आइपर्दा तिनीहरूले मेरो खोजी गर्नेछन्।”+
६ “आऊ! हामी यहोवाकहाँ फर्कौँ,
उहाँले हामीलाई टुक्राटुक्रा पार्नुभएको छ+ तर पनि हामीलाई निको पार्नुहुनेछ।
उहाँले हामीलाई हिर्काउनुभएको छ तर हाम्रो घाउमा पट्टी बाँध्नुहुनेछ।
२ उहाँले हामीलाई दुई दिनपछि फेरि जीवित पार्नुहुनेछ।
तेस्रो दिनमा उहाँले हामीलाई खडा गर्नुहुनेछ
अनि हामी उहाँको सामुन्ने जिउनेछौँ।
३ हामी यहोवालाई चिन्नेछौँ, हामी उहाँलाई चिन्न हर प्रयास गर्नेछौँ।
जसरी सूर्योदय हुने कुरा निश्चित छ, त्यसरी नै उहाँ निश्चय आउनुहुनेछ;
उहाँ मुसलधारे पानीजस्तै गरी आउनुहुनेछ,
जमिनलाई भिजाउने वसन्तको पानी बर्सेझैँ आउनुहुनेछ।”
४ “ए एप्रैम, म तिमीलाई के गरूँ?
ए यहुदा, म तिमीलाई के गरूँ?
तिम्रो प्रेम* बिहानको बादलजस्तै छ,
बिलाइहाल्ने शीतजस्तै छ।
५ त्यसैले म तिमीहरूलाई भविष्यवक्ताहरूद्वारा काट्नेछु,+
म तिमीहरूलाई मेरो मुखका वचनले प्रहार गरेर मार्नेछु।+
अनि तिमीहरूले पाएको न्यायदण्ड ज्योतिजस्तै चम्कनेछ।+
६ म बलिदानमा होइन, कृपामा* खुसी हुन्छु,
अग्निभेटीमा* होइन, परमेश्वरको ज्ञानमा खुसी हुन्छु।+
७ तर मेरा मानिसहरूले पापी मानिसले जस्तै करार तोडेका छन्।+
त्यहाँ तिनीहरूले मलाई धोका दिएका छन्।
८ गिलाद दुष्टहरूको सहर हो,+
त्यो रक्तपातले भरिएको छ।+
९ पुजारीहरू कसैलाई ढुकेर बसेका डाँकुहरूका दलहरूजस्तै छन्।
तिनीहरू सकेमको बाटोमा हत्या गर्छन्,+
तिनीहरूको बेहोरा लाजमर्दो छ।
१० मैले इस्राएलको घरानामा घिनलाग्दो कुरा देखेको छु।
त्यहाँ एप्रैमले वेश्यावृत्ति गर्छे;+
इस्राएलले आफैलाई बिटुलो पारेकी छे।+
११ तर हे यहुदा, तिमीहरूको लागि कटनीको समय तोकिएको छ;
म आफ्ना मानिसहरूलाई कैदबाट छुटाएर ल्याउनेछु।”+
७ “मैले इस्राएललाई निको पार्दा
एप्रैमको गल्ती पनि उदाङ्ग हुन्छ+
अनि सामरियाको दुष्टताको भन्डाफोर हुन्छ+
किनकि तिनीहरू छल गरिरहन्छन्।+
चोरहरू घर फोरेर भित्र छिर्छन् र बाहिरचाहिँ डाँकाहरूले लुटपाट मच्चाउँछन्।+
२ तर तिनीहरूको सबै दुष्ट कामको म हेक्का राख्छु भनेर तिनीहरू विचार गर्दैनन्।+
तिनीहरूको दुष्कर्म तिनीहरूकै वरिपरि छ।
ती सबै मेरै आँखाअगाडि छन्।
३ आफ्नो दुष्ट कामले तिनीहरू राजालाई खुसी पार्छन्
अनि आफ्नो छलले भारदारहरूको मन जित्छन्।
४ तिनीहरू सबै व्यभिचारी* हुन्,
तिनीहरू रोटी पकाउनेले आगो बालेर रन्काएको तन्दुरजस्तै* छन्,
जसले पीठो मुछेपछि त्यो खमिरा नहोउन्जेल आगो चलाउँदैन।
५ हाम्रा राजाको उत्सवको दिनमा भारदारहरू बिरामी परे;
मद्यको नशाले तिनीहरूको रिस दन्कियो।+
राजाले आफ्नो हात गिल्ला गर्नेहरूतर्फ बढाएका छन्।
६ किनकि तिनीहरू रन्केको तन्दुरजस्तो मन लिएर आउँछन्।*
रोटी पकाउने मानिस रातभरि सुत्छ;
बिहान तन्दुर बलिरहेको आगोजस्तै रन्किन्छ।
७ तिनीहरू सबै रन्किएको तन्दुरजस्तै भएका छन्,
तिनीहरू आफ्ना शासकहरूलाई* खर्लप्पै निल्छन्।
तिनीहरूका सबै राजाको पतन भएको छ;+
तिनीहरूमध्ये कसैले पनि मलाई गुहार्दैन।+
८ एप्रैम राष्ट्रहरूसित मिसिएको छ।+
एप्रैम नफर्काइएको गोलो रोटीजस्तै छ।
९ परदेशीहरूले एप्रैमको बल सोसेका छन्+ तर उसलाई त्यसको पत्तै छैन।
उसको केश फुलेर सेतै भइसकेको छ तर उसले चालै पाएको छैन।
१० इस्राएलको घमन्डले त्यसको विरुद्धमा गवाही दिएको छ+
तर तिनीहरू आफ्ना परमेश्वर यहोवाकहाँ फर्केका छैनन्,+
यी सबै हुँदा पनि तिनीहरूले उहाँको खोजी गरेका छैनन्।
११ एप्रैम मूर्ख ढुकुरजस्तै छ, जससित समझ छैन।+
तिनीहरूले मिश्रसित गुहार मागेका छन्;+ तिनीहरू अस्सेरिया गएका छन्।+
१२ तिनीहरू जहाँ गए पनि म तिनीहरूमाथि आफ्नो जाल बिछ्याउनेछु।
आकाशका चराचुरुङ्गीलाई जस्तै म तिनीहरूलाई तल झार्नेछु।
मैले तिनीहरूको समुदायलाई दिएको चेतावनीअनुसारै म तिनीहरूलाई अनुशासन दिनेछु।+
१३ धिक्कार छ तिनीहरूलाई! किनकि तिनीहरू मदेखि भागेर हिँडेका छन्।
तिनीहरूमाथि विनाश आइपरोस् किनकि तिनीहरूले मविरुद्ध अपराध गरेका छन्!
म तिनीहरूलाई छुटकारा दिन तयार थिएँ तर तिनीहरूले मेरो विरुद्धमा झूट बोलेका छन्।+
१४ तिनीहरूले आफ्नो ओछ्यानमा रोइकराइ गरे
तर मदतको लागि मलाई मनैदेखि गुहारेनन्।+
तिनीहरू अन्न र नयाँ मद्यको लागि आफ्नो शरीरमा घाउ बनाउँछन्।
तिनीहरू मेरो विरुद्धमा लागेका छन्।
१५ मैले तिनीहरूलाई निर्देशन दिएँ र तिनीहरूको पाखुरा बलियो पारेँ
तर तिनीहरू मेरै विरुद्धमा लागेका छन्, तिनीहरू दुष्ट काम गर्ने षड्यन्त्र रच्छन्।
१६ तिनीहरूले आफ्नो मार्ग बदले तर सर्वोत्तम कुरातर्फ होइन;*
तिनीहरू ताँदो खुकुलो भएको धनुजस्तै भएका छन्, जसमाथि भर पर्न सकिँदैन।+
विद्रोही जिब्रोको कारण तिनीहरूका शासकहरू तरबारले काटिनेछन्।
मिश्रमा तिनीहरू हाँसोको पात्र हुनेछन्।”+
८ “सिङ फुक!+
एउटा शत्रु यहोवाको भवनलाई आक्रमण गर्न चीलझैँ आउँदै छ+
किनकि तिनीहरूले मेरो करार तोडेका छन्+ र मेरो व्यवस्थाविरुद्ध पाप गरेका छन्।+
२ तिनीहरू मलाई यसो भन्दै पुकार्छन्, ‘हे हाम्रा परमेश्वर, हामी इस्राएलीहरू तपाईँलाई चिन्छौँ।’+
३ इस्राएलले असल कुरा त्यागेको छ,+
एउटा शत्रुले त्यसलाई खेदोस्।
४ तिनीहरूले राजाहरू नियुक्त गरेका छन् तर मेरो अनुमतिविना;
तिनीहरूले भारदारहरू नियुक्त गरेका छन् तर मेरो मन्जुरीविना।
आफ्नो सुन र चाँदीबाट मूर्तिहरू बनाएर+
तिनीहरूले आफ्नै विनाश निम्त्याएका छन्।+
५ ए सामरिया, तिमीहरूको बाछोको मूर्तिलाई तिरस्कार गरिएको छ।+
तिनीहरूविरुद्ध मेरो रिस दन्किएको छ।+
तिनीहरूले कहिलेसम्म आफूलाई अशुद्ध राखिरहन्छन्?
६ किनकि यो इस्राएलबाट हो।
कारिगरले त्यो बाछो बनायो, त्यो साँचो परमेश्वर होइन;
सामरियाको बाछोलाई टुक्राटुक्रा पारिनेछ।
७ तिनीहरूले बतास छर्छन्
अनि आँधीको कटनी गर्नेछन्।+
बोटमा बाला निस्के पनि अन्न लाग्नेछैन।+
अन्न लागे पनि त्यसबाट पीठो बन्नेछैन।
अनि पीठो बनिहाल्यो भने पनि त्यसलाई विदेशीहरूले* निल्नेछन्।+
८ इस्राएललाई निलिनेछ।+
तिनीहरू जातिजातिका बीचमा+
काम नलाग्ने भाँडोजस्तो हुनेछन्।
९ एक्लै हिँड्ने जङ्गली गधाजस्तै तिनीहरू अस्सेरिया गएका छन्।+
एप्रैमले प्रेमीहरूलाई भाडामा लिएको छ।+
१० तिनीहरूले जातिजातिबाट प्रेमीहरूलाई भाडामा लिएको भए तापनि
अब म तिनीहरूलाई भेला गर्नेछु।
राजा र राजकुमारहरूले लदाएको बोझले गर्दा तिनीहरूले दुःख पाउनेछन्।+
११ एप्रैमले थुप्रै वेदी बनाएर पाप गरेको छ।+
ती वेदीहरू तिनीहरूको लागि पापको कारण बनेका छन्।+
१२ मैले तिनीहरूलाई मेरो व्यवस्थाका* थुप्रै कुरा लेखेर दिएँ
तर तिनीहरूले त्यसलाई बिरानो कुरालाई जस्तैगरि बेवास्ता गरे।+
१३ तिनीहरू मेरो निम्ति बलि चढाउँछन् र त्यसको मासु खान्छन्
तर यहोवा त्यसमा खुसी हुनुहुन्न।+
अब उहाँले तिनीहरूको गल्ती याद गर्नुहुनेछ र तिनीहरूका पापहरूका लागि सजाय दिनुहुनेछ।+
तिनीहरू फेरि मिश्र फर्केका छन्।*+
१४ इस्राएलले आफ्नो सृष्टिकर्तालाई बिर्सेको छ+ र मन्दिरहरू बनाएको छ+
अनि यहुदाले किल्ला भएका थुप्रै बलिया सहर बनाएको छ।+
तर म तिनीहरूको सहरमा आगो पठाउनेछु,
त्यसले सहरका किल्लाहरू भस्म पार्नेछ।”+
९ “ए इस्राएल, खुसी नहोऊ;+
जातिजातिका मानिसहरूले जस्तै हर्ष नमनाऊ
किनकि तिमीहरू वेश्यावृत्तिमा* लागेर परमेश्वरबाट तर्केका छौ।+
अन्नको प्रत्येक खलामा वेश्यावृत्तिको ज्याला लिन तिमीहरूलाई मन पर्छ।+
२ तर खला र अङ्गुर पेल्ने कोलले तिनीहरूलाई खुवाउनेछैन
अनि तिनीहरूले नयाँ मद्य पाउनेछैनन्।+
३ तिनीहरू यहोवाको भूमिमा बसिरहन पाउनेछैनन्+
बरु एप्रैम मिश्रमा फर्कनेछ
अनि अस्सेरियामा तिनीहरूले अशुद्ध थोक खानेछन्।+
४ तिनीहरूले फेरि कहिल्यै यहोवालाई मद्यभेटी* चढाउनेछैनन्;+
तिनीहरूले चढाएको बलिले उहाँलाई खुसी तुल्याउनेछैन।+
ती बलिहरू शोकको रोटीजस्तै छन्;
ती खाने सबैले आफूलाई अपवित्र पार्नेछन्।
किनकि तिनीहरूको रोटी तिनीहरूको लागि मात्र हो;
ती यहोवाको घरमा ल्याइनेछैनन्।
५ भेलाको दिनमा* तिमीहरू के गर्छौ?
यहोवाको चाडको दिनमा के गर्छौ?
६ किनकि हेर! विनाशको कारण तिनीहरू भाग्नुपर्नेछ।+
मिश्रले तिनीहरूलाई भेला गर्नेछ,+ मेम्फिसले तिनीहरूलाई गाड्नेछ।+
सिस्नुले तिनीहरूको चाँदीका बहुमूल्य थोकहरूलाई ढाक्नेछ
अनि तिनीहरूको पालमा काँडाको घारी उम्रनेछ।
७ लेखा लिने दिन आउनेछ,+
बदलाको दिन आउनेछ
अनि इस्राएलले त्यो थाह पाउनेछ।
तिनीहरूका भविष्यवक्ताहरू मूर्ख साबित हुनेछन्, प्रेरणा पाएको मानिस बौलाउनेछ।
तिमीहरूका अपराध अनगिन्ती भएका छन्, त्यसैले तिमीहरूविरुद्ध वैरभाव बढेको छ।”
८ एप्रैमको पहरेदार+ मेरा परमेश्वरको साथमा थियो।+
तर अहिले उसका भविष्यवक्ताका+ चालहरू चरा-सिकारीको पासोजस्तै छ।
उसका परमेश्वरको घरमा वैरभाव छ।
९ गिबाहको दिनमा जस्तै तिनीहरू विनाश निम्त्याउने काममा चुर्लुम्मै डुबेका छन्।+
उहाँले तिनीहरूको गल्ती याद गर्नुहुनेछ अनि तिनीहरूलाई पापको सजाय दिनुहुनेछ।+
१० “निर्जनभूमिमा अङ्गुर भेटिएझैँ मैले इस्राएललाई भेट्टाएँ।+
मैले तिमीहरूका पुर्खालाई हेर्दा तिनीहरू अन्जिरको रूखमा लागेको पहिलो फलजस्तै थिए।
तर तिनीहरू पोरको बाआलकहाँ गए;+
तिनीहरूले लाजमर्दो कुरामा* आफूलाई अर्पण गरे।+
तिनीहरू ती घिनलाग्दा थोकहरूजस्तै भए, जसलाई तिनीहरू प्रेम गर्थे।
११ एप्रैमको गौरव चराजस्तै उडिजान्छ;
तिनीहरूमध्ये कसैले पनि बच्चा जन्माउँदैन, कोही पनि गर्भवती हुँदैन अनि कसैले गर्भधारण गर्दैन।+
१२ तिनीहरूले छोराछोरी हुर्काए पनि
म एउटै बाँकी नरहनेगरि सबैलाई खोस्नेछु।+
हो, धिक्कार छ तिनीहरूलाई! किनकि म तिनीहरूलाई छोडेर जानेछु।+
१३ चरनमा रोपिएको एप्रैम मेरो लागि टायरजस्तै थियो;+
अब भने एप्रैमले आफ्ना छोराहरू मारिनलाई ल्याउनुपर्नेछ।”
१४ हे यहोवा, तिनीहरूलाई जे दिनुपर्ने हो, त्यो दिनुहोस्;
तुहिने गर्भ र सुकेका स्तनहरू।
१५ “तिनीहरूले सारा दुष्ट काम गिलगालमा गरे,+ त्यहाँ मैले तिनीहरूलाई घृणा गरेँ।
तिनीहरूको दुष्टताको कारण म तिनीहरूलाई मेरो घरबाट धपाइदिनेछु।+
म तिनीहरूलाई फेरि कहिल्यै माया गर्नेछैनँ;+
तिनीहरूका सबै भारदार अटेरी छन्।
१६ एप्रैमलाई ढालिनेछ।+
तिनीहरूको जरा सुक्नेछ अनि तिनीहरूले कुनै फल फलाउनेछैनन्।
तिनीहरूले बच्चा जन्माए भने पनि तिनीहरूलाई प्यारो लाग्ने तिनीहरूका सन्तानलाई म नाश गरिदिनेछु।”
१७ मेरा परमेश्वरले तिनीहरूलाई त्याग्नुहुनेछ
किनकि तिनीहरूले उहाँको कुरा सुनेनन्+
अनि तिनीहरू जातिजातिमाझ फिरन्ते हुनेछन्।+
१० “इस्राएल कुहिएको* अङ्गुरको बोट हो, जसमा फल त लागेको छ+
तर उसले जति धेरै फल फलाउँछ, त्यति नै धेरै वेदी बनाउँछ।+
उसको जमिनले जति राम्रो उब्जनी दिन्छ, उसका पवित्र थामहरू* पनि उति नै भव्य हुन्छन्।+
अब तिनीहरूको दोष प्रकट हुनेछ।
तिनीहरूका वेदीहरू भत्काउने र थामहरू नाश गर्ने एक जना छ।
३ अब तिनीहरूले भन्नेछन्, ‘हाम्रा राजा छैनन्+ किनकि हामीले यहोवाको डर मानेनौँ।
राजा भएका भए पनि उनले हाम्रो लागि के नै गर्न सक्थे र?’
४ तिनीहरू खोक्रा कुरा गर्छन्, झूटो शपथ खान्छन्+ र करार गर्छन्।
त्यसैले तिनीहरूले गर्ने न्याय खेतमा उम्रेको विषालु झारजस्तै छ।+
५ सामरियाका बासिन्दाहरूलाई बेथ-आवेनको बाछोको मूर्तिको पीर लाग्नेछ।+
त्यसको लागि तिनीहरूले शोक गर्नेछन्।
त्यहाँका विदेशी देवताका पुजारीहरू, जो त्यस मूर्ति र त्यसको गौरव देखेर रमाउँथे, तिनीहरूले पनि शोक गर्नेछन्
किनकि त्यो मूर्ति तिनीहरूदेखि टाढा निर्वासनमा जानेछ।
६ एउटा महान् राजालाई उपहारको रूपमा दिन त्यसलाई अस्सेरिया लगिनेछ।+
एप्रैम लज्जित हुनेछ
अनि इस्राएल आफूले मानेको सल्लाहले गर्दा लाजमा पर्नेछ।+
७ जसरी एउटा हाँगालाई भाँचेर पानीमा फालिन्छ,
त्यसरी नै सामरिया र त्यसको राजालाई पनि निश्चय नाश गरिनेछ।*+
८ इस्राएलको पापको+ अर्थात् बेथ-आवेनका अग्ला थानहरूको*+ नामोनिसान मेटाइनेछ।+
तिनीहरूका वेदीहरूमा काँडा र जङ्गली झार उम्रनेछन्।+
मानिसहरूले पहाडहरूलाई ‘हामीलाई छोप्!’ भन्नेछन्
अनि डाँडाहरूलाई ‘हामीमाथि खस्!’ भन्नेछन्।+
९ ए इस्राएल, गिबाहको दिनदेखि तिमीले पाप गर्दै आएका छौ।+
त्यहाँ तिनीहरूले पाप गर्न छोडेनन्।
दुष्टहरूलाई* गिबाहमा युद्धले नामेट पारेन।
१० म तिनीहरूलाई आफूले चाहेको बेला सजाय दिनेछु।
जब तिनीहरूको दुई वटा पापको बोझ तिनीहरूमाथि लदाइनेछ,*
तब जातिजातिका मानिसहरू तिनीहरूविरुद्ध भेला हुनेछन्।
११ एप्रैम तालिम पाएकी कोरलीजस्तै* थिई, जसलाई दाइँ गर्न मन पर्थ्यो;
त्यसैले मैले त्यसको सुन्दर गर्दनलाई केही गरिनँ।
तर अब म त्यसमाथि कसैलाई चढ्न* लगाउनेछु।+
यहुदाले हलो जोत्नेछ र याकुबले त्यसको लागि डल्ला फोर्नेछ।
१२ आफ्नो लागि धार्मिकताको बिउ छर अनि अटल प्रेमको कटनी गर।
यहोवालाई खोज्ने समय बाँकी छँदा नै+
उर्वर जमिनमा हलो जोत।+
अनि उहाँ आउनुहुनेछ र तिमीहरूलाई धार्मिकताको कुरा सिकाउनुहुनेछ।+
१३ तर तिमीहरूले दुष्टता जोत्यौ
अनि अन्यायको कटनी गऱ्यौ।+
तिमीहरूले आफ्नो छलको नतिजा* भोग्यौ
किनकि तिमीहरू आफ्नै मार्गमा भर पऱ्यौ,
आफ्ना थुप्रै योद्धामाथि तिमीहरू भर पऱ्यौ।
१४ तिमीहरूका मानिसहरूको विरुद्धमा ठूलो आवाज उठ्नेछ,
पर्खालले घेरिएका तिमीहरूका सबै सहर नाश हुनेछन्।+
अर्बेलको घरानाको साल्मनले मच्चाएको जस्तै विध्वंस तिमीहरूमाझ मच्चिनेछ,
जतिबेला लडाइँमा बच्चाहरूसँगसँगै आमाहरूलाई पनि पछारी-पछारी मारिएको थियो।
१५ ए बेथेल, तिमीमाथि यो आइपर्नेछ किनकि तिमीले घोर दुष्ट काम गरेका छौ।+
झिसमिसे उज्यालोमा इस्राएलका राजालाई निश्चय नै नाश गरिनेछ।”*+
११ “इस्राएल ठिटै छँदा मैले उसलाई माया गरेँ,+
मैले आफ्नो छोरालाई मिश्रबाट बोलाएँ।+
२ उनीहरूले* तिनीहरूलाई जति धेरै बोलाए,
तिनीहरू उनीहरूबाट त्यति नै टाढा गए।+
तिनीहरूले बाआलका मूर्तिहरूलाई बलि चढाउन छोडेनन्;+
खोपिएका मूर्तिहरूलाई पनि बलि चढाइरहे।+
३ तर एप्रैमलाई हिँड्न मैले नै सिकाएको थिएँ;+ मैले तिनीहरूलाई मेरो अङ्गालोमा लिएँ;+
तर मैले नै तिनीहरूलाई निको पारेको हुँ भनेर तिनीहरूले स्विकारेनन्।
४ मानिसको डोरीले* जस्तै मैले तिनीहरूलाई मायाको डोरीले मतर्फ खिचेँ;+
मैले तिनीहरूको गर्दनबाट जुवा उतारिदिएँ
अनि माया गरेर तिनीहरू हरेकलाई खानेकुरा दिएँ।
५ तिनीहरू मिश्र फर्कनेछैनन् तर अस्सेरिया तिनीहरूको राजा हुनेछ+
किनकि तिनीहरूले मलाई तिरस्कार गरे।+
६ अनि तिनीहरूका सहरहरूमा तरबार चल्नेछ;+
तिनीहरूले षड्यन्त्रहरू रचेकोले
तिनीहरूका सहरहरूका मूलढोकाका गजबारहरू भत्काइनेछन्
र सहरहरू नाश गरिनेछन्।+
७ मेरा मानिसहरूले मलाई विश्वासघात गर्ने मन बनाइसकेका छन्।+
उनीहरूले तिनीहरूलाई माथि बोलाए* तर कोही उठेनन्।
८ हे एप्रैम, म तिमीलाई कसरी त्याग्न सक्छु र?+
हे इस्राएल, म तिमीलाई कसरी शत्रुको हातमा सुम्पन सक्छु र?
म तिमीलाई कसरी अदमाहलाई जस्तो व्यवहार गर्न सक्छु र?
म तिमीलाई कसरी जेबोयिमजस्तो बनाउन सक्छु र?+
मैले आफ्नो मन परिवर्तन गरेको छु;
ममा दया पनि जागेको छ।+
९ म आफ्नो दन्केको रिस तिमीहरूमाथि खन्याउनेछैनँ।
म एप्रैमलाई फेरि नाश गर्नेछैनँ+
किनकि म परमेश्वर हुँ, मानिस होइनँ;
म तिमीहरूमाझ रहने पवित्र परमेश्वर हुँ
अनि म तिमीहरूविरुद्ध क्रोधका साथ आउनेछैनँ।
१० तिनीहरू यहोवा परमेश्वरको पछिपछि हिँड्नेछन् र उहाँ सिंहजस्तै गर्जनुहुनेछ;+
उहाँ गर्जनुहुँदा उहाँका सन्तान पश्चिमबाट थरथर काँप्दै आउनेछन्।+
११ तिनीहरू मिश्रबाट निस्केर आउँदा तर्सिएको चराजस्तै
र अस्सेरियाबाट निस्केर आउँदा तर्सिएको ढुकुरजस्तै काँप्नेछन्।+
अनि म तिनीहरूलाई तिनीहरूको आ-आफ्नो घरमा बसाल्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+
१२ “म एप्रैमको झूटले
र इस्राएलको छलले घेरिएको छु।+
तर यहुदाचाहिँ अझै पनि परमेश्वरसँगसँगै हिँड्छ
र ऊ महापवित्र परमेश्वरप्रति वफादार छ।”+
१२ “एप्रैम बतासले आफ्नो पेट भर्दै छ।
ऊ सारा दिन पूर्वी बतासलाई खेद्छ।
उसले झूट र हिंसा बढाउँछ।
तिनीहरू अस्सेरियासित करार गर्छन्+ अनि मिश्रमा तेल लैजान्छन्।+
२ यहुदाविरुद्ध यहोवाको मुद्दा छ;+
उहाँले याकुबसित उसको कामको लेखा लिनुहुनेछ
अनि उहाँले उसलाई उसको कामअनुसारकै दण्ड दिनुहुनेछ।+
३ उसले गर्भमा छँदा आफ्नो दाइको कुर्कुच्चो समात्यो;+
भएभरको बल लगाएर ऊ परमेश्वरसित लड्यो।+
४ उसले स्वर्गदूतसित कुस्ती खेल्यो अनि जित्यो।
उसले तिनको निगाह पाउन रोइकराइ गऱ्यो।”+
उहाँले* उसलाई बेथेलमा भेट्नुभयो अनि त्यहाँ उहाँले हामीसित कुरा गर्नुभयो,+
५ यहोवा सेनाहरूका परमेश्वर हुनुहुन्छ,+
यहोवा नामले उहाँलाई सम्झिइनेछ।+
६ “त्यसैले तिमीहरू आफ्ना परमेश्वरकहाँ फर्क,+
अटल प्रेम र न्याय कायम राख+
अनि सधैँ आफ्ना परमेश्वरमा आशा राख।
७ तर व्यापारीको हातमा छलको तराजु छ;
ठगी गर्न पाउँदा उसलाई साह्रै खुसी लाग्छ।+
८ एप्रैमले यसो भनिरहन्छ, ‘साँच्चै, म धनी भएको छु;+
मैले धनसम्पत्ति बटुलेको छु।+
मैले गरेको सबै कडा परिश्रममा तिनीहरूले कुनै गल्ती वा पाप भेट्टाउन सक्नेछैनन्।’
९ तर म मिश्रदेखि नै यहोवा तिमीहरूका परमेश्वर हुँ।+
जसरी तोकिएको समयमा* हुने गर्छ,
त्यसरी नै म तिमीहरूलाई फेरि पालमा बस्ने तुल्याउनेछु।
१० मैले भविष्यवक्ताहरूसित कुरा गरेँ,+
मैले तिनीहरूलाई थुप्रै दर्शन* दिएँ
अनि भविष्यवक्ताहरूमार्फत दृष्टान्तहरू बताएँ।
गिलगालमा तिनीहरूले बहरको बलि चढाए+
अनि तिनीहरूका वेदीहरू हलो जोतिएको खेतमा भएको ढुङ्गाको थुप्रोजस्तै छन्।+
१२ याकुब अरामको* इलाकामा भाग्यो;+
इस्राएलले+ पत्नी पाउन त्यहाँ काम गऱ्यो;+
उसले भेडाको हेरचाह गऱ्यो।+
१३ यहोवाले इस्राएललाई एक जना भविष्यवक्तामार्फत मिश्रबाट ल्याउनुभयो+
अनि उसलाई एक जना भविष्यवक्तामार्फत नै सुरक्षा दिनुभयो।+
१४ एप्रैमले परमेश्वरलाई असाध्यै रिस उठायो;+
ऊ अझै रक्तदोषी छ;
उसले आफ्ना प्रभुको अपमान गरेकोले उहाँले बदला लिनुहुनेछ।”+
१३ “एप्रैम बोल्दा मानिसहरू डरले काँप्थे;
ऊ इस्राएलमा सबैभन्दा ठूलो थियो।+
तर बाआललाई पुजेकोले ऊ दोषी ठहरियो+ र उसको मृत्यु भयो।
२ तिनीहरूले पापमाथि पाप गरिरहेका छन्।
तिनीहरू आफ्नो चाँदीबाट मूर्तिहरू* बनाउँछन्;+
तिनीहरूका कारिगरहरू सिपालु तरिकाले मूर्तिहरू बनाउँछन्।
तिनीहरू भन्छन्, ‘बलि चढाउनेहरूले बाछाका मूर्तिहरूलाई चुम्बन गरून्।’+
३ त्यसैले तिनीहरू बिहानको बादलजस्तै हुनेछन्,
बिलाइहाल्ने शीतजस्तै हुनेछन्,
खलाबाट हावाले उडाएको भुसजस्तै हुनेछन्
अनि चिम्नीबाट निस्किएको धुवाँजस्तै हुनेछन्।
४ तर म मिश्रदेखि नै यहोवा तिमीहरूका परमेश्वर हुँ।+
तिमीहरू मबाहेक अरू कुनै साँचो परमेश्वरलाई चिन्दैन थियौ
अनि मबाहेक उद्धार गर्ने अरू कोही पनि छैन।+
५ खडेरी परेको भूमिमा, निर्जनभूमिमा मैले तिमीहरूको हेरचाह गरेँ।+
६ तिनीहरू आफ्नो खर्कबाट सन्तुष्ट भए,+
तिनीहरू सन्तुष्ट भए र तिनीहरूको मन घमन्डले फुल्यो।
अनि तिनीहरूले मलाई बिर्सिए।+
७ तिनीहरूको लागि म जवान सिंहजस्तै हुनेछु,+
बाटोमा ढुकेर बसेको चितुवाजस्तै हुनेछु।
८ बच्चा हराएको भालुजस्तै म तिनीहरूमाथि जाइलाग्नेछु,
म तिनीहरूको छाती चिर्नेछु।
सिंहले जस्तै म तिनीहरूलाई निल्नेछु।
जङ्गली जनावरले तिनीहरूलाई फहराउनेछ।
९ ए इस्राएल, त्यसले तिमीलाई नाश गर्नेछ
किनकि तिमी मेरो विरुद्धमा, तिम्रा मदतगारको विरुद्धमा उठ्यौ।
१० तिमीहरूका सबै सहरमा तिमीहरूलाई बचाउने तिमीहरूका राजा खोइ?+
तिमीहरूका शासकहरू* खोइ, जसबारे तिमीहरू भन्थ्यौ,
‘हामीलाई राजा र भारदारहरू दिनुहोस्’?+
११ रिसले चूर हुँदै मैले तिमीहरूलाई एउटा राजा दिएँ;+
अब म क्रोधित हुँदै तिनलाई तिमीहरूबाट खोस्नेछु।+
१२ एप्रैमको गल्तीलाई पोको पारेर* राखिएको छ।
उसका पापहरूलाई जम्मा गरिएको छ।
१३ उसलाई बच्चा जन्माउने बेलामा जस्तै पीडा हुनेछ।
तर ऊ मूर्ख बालक हो;
आफू जन्मने बेला भइसक्दा पनि ऊ गर्भबाट बाहिर निस्कन मान्दैन।
१४ म तिनीहरूलाई चिहानको* हातबाट छुटाउनेछु;
म तिनीहरूलाई मृत्युबाट फिर्ता ल्याउनेछु।+
ए मृत्यु, तेरो खील खोइ?+
ए चिहान, नाश गर्ने तेरो शक्ति खोइ?+
म पटक्कै दया देखाउनेछैनँ।
१५ नर्कटहरूमाझ ऊ फस्टायो भने पनि
पूर्वीय बतास ऊमाथि चल्नेछ, यहोवाले पठाउनुभएको बतास।
त्यो मरुभूमिबाट उठ्नेछ र उसको इनार अनि पानीको मूल सुकाइदिनेछ।
उसले जम्मा गरेका सबै बहुमूल्य कुरा लुट्नलाई कोही आउनेछ।+
१६ सामरियालाई दोषी ठहराइनेछ+ किनकि उसले आफ्ना परमेश्वरको विरोध गरेकी छे।+
तिनीहरू तरबारले काटिनेछन्।+
तिनीहरूका छोराछोरीलाई पछारी-पछारी मारिनेछ।
अनि तिनीहरूमाझ भएका गर्भवती स्त्रीहरूको पेट चिरिनेछ।”
१४ “हे इस्राएल, तिमीहरू यहोवा तिमीहरूका परमेश्वरकहाँ फर्क+
किनकि तिमीहरूले आफ्ना गल्तीहरूका कारण ठेस खाएका छौ।
२ यहोवा परमेश्वरकहाँ फर्क र यसो भन,
‘हाम्रा सबै गल्ती क्षमा गरिदिनुहोस्+ र जे असल छ, त्यो स्विकार्नुहोस्
अनि बहर चढाएजस्तै हामी तपाईँलाई ओठको प्रशंसा चढाउनेछौँ।+
३ अस्सेरियाले हामीलाई बचाउनेछैन,+
हामी घोडामा सवार हुनेछैनौँ+
अनि हामी आफ्नै हातको कामलाई “हे हाम्रो देवता!” पनि भन्नेछैनौँ
किनकि तपाईँले मात्र अनाथहरूलाई* दया देखाउनुहुन्छ।’+
४ म तिनीहरूलाई निको पार्नेछु र तिनीहरू फेरि कहिल्यै विश्वासघाती हुनेछैनन्।+
म राजीखुसीले तिनीहरूलाई माया गर्नेछु+
किनकि तिनीहरूप्रतिको मेरो रिस शान्त भएको छ।+
५ म इस्राएलको लागि शीतजस्तै हुनेछु;
ऊ लिली फूलजस्तै फुल्नेछ
अनि लेबनानका रूखहरूले जस्तै उसले आफ्नो जरा जमिनको गहिराइसम्म फैलाउनेछ।
६ उसका हाँगाहरू फैलिनेछन्,
उसको वैभव जैतुनको रूखको जस्तै हुनेछ
अनि उसको सुगन्ध लेबनानको जस्तै हुनेछ।
७ तिनीहरू फेरि उहाँको छायामा रहनेछन्।
तिनीहरूले अनाज उब्जाउनेछन् अनि तिनीहरू अङ्गुरको बोटजस्तै फस्टाउनेछन्।+
अनि उसले लेबनानको मद्यको जस्तै नाम* कमाउनेछ।
८ एप्रैमले भन्नेछ, ‘अब मूर्तिहरूसित मेरो के सरोकार?’+
म उसलाई जवाफ दिनेछु र ऊमाथि नजर राख्नेछु।+
म हराभरा धुपीको रूखजस्तै हुनेछु।
मबाट नै तिमीहरूले फल पाउनेछौ।”
९ जो बुद्धिमान् छ, उसले यी कुराहरू बुझोस्।
जो विश्वासी छ, उसले यी कुराहरू जानोस्
किनकि यहोवाको मार्ग सही छ।+
अनि धर्मीहरू त्यसमा हिँड्नेछन्;
तर अपराधीहरूले त्यसमा ठक्कर खानेछन्।
होसायाहको नामको छोटो रूप, जसको अर्थ हो, “याहबाट बचाइएको; याहले बचाउनुभएको।”
वा “अवैध यौनसम्बन्ध राख्नेछिन्।”
यसको अर्थ हो, “परमेश्वरले बिउ छर्नुहुनेछ।”
यसको अर्थ हो, “कृपा नपाएकी।”
यसको अर्थ हो, “मेरा मानिसहरू होइनन्।”
होसे १:९ को फुटनोट हेर्नुहोस्।
होसे १:६ को फुटनोट हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “अवैध यौनसम्बन्धबाट।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
वा “इजिप्टबाट।”
वा “मेरा बाआल।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
यसको अर्थ हो, “परमेश्वरले बिउ छर्नुहुनेछ।”
होसे १:६ को फुटनोट हेर्नुहोस्।
होसे १:९ को फुटनोट हेर्नुहोस्।
यसले झूटो उपासनामा प्रयोग गरिने रोटीलाई जनाउँछ।
एक होमेर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “तिमीले अवैध यौनसम्बन्ध नराख्नू।”
वा “म पनि तिमीसित यौनसम्बन्ध राख्दिनँ।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “तिमीहरूकी आमालाई नाश गर्नेछु।”
वा “मेरा मानिसहरूलाई नाश गरिनेछ।”
वा “निर्देशन।”
वा सम्भवतः “तिनीहरूले मेरो गौरव बढाउनुको साटो मेरो अपमान गरेका छन्।”
अर्थात्, पुजारीहरू।
अर्थात्, तिनीहरूले चढाएको पापबलिद्वारा।
वा “यौन दुराचारमा लिप्त हुनेछन्।”
वा “अवैध यौनसम्बन्धले।”
शा., “मन बहकाउँछ।”
वा “जोखना हेर्नेको लट्ठीले।”
शा., “फराकिलो ठाउँमा।”
वा “गहुँबाट बनेको बियर।”
शा., “ढालहरूलाई।”
वा “हुरीले उसलाई उडाएर लैजानेछ।”
वा “विद्रोहीहरू।”
वा “अनुशासन।”
वा “अवैध यौनसम्बन्ध राख्ने।”
यसले विदेशी पत्नीहरूबाट जन्मिएकाले परमेश्वरबाट टाढिएका बच्चाहरूलाई जनाएको हुन सक्छ।
वा “अटल प्रेम।”
वा “अटल प्रेममा।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
रोटी पकाउन बनाइएको माटोको ठूलो चुलो।
वा सम्भवतः “तिनीहरू बिन्ती बिसाउन आउँदा तिनीहरूको मन तन्दुरजस्तो हुन्छ।”
शा., “न्यायकर्ताहरूलाई।”
अर्थात्, उच्च कोटीको उपासनातर्फ होइन।
वा “अपरिचित मानिसहरूले।”
वा “निर्देशन।”
वा सम्भवतः “फर्किनेछन्।”
वा “अवैध यौनसम्बन्धमा।”
शब्दावली हेर्नुहोस्।
वा “तिमीहरूको लागि तोकिएको चाडमा।”
वा “लाजमर्दो देवतामा।”
वा सम्भवतः “झाँगिएको।”
शब्दावली हेर्नुहोस्।
वा “मनले चिप्लो घस्छ।”
शा., “चुप लगाइनेछ।”
शब्दावली हेर्नुहोस्।
शा., “दुष्टताका छोराहरूलाई।”
अर्थात्, जब तिनीहरूले जुवा बोकेजस्तै आफ्नो सजायको भार बोक्छन्।
साँढे नलगाइएको गाई।
वा “काठी कस्न।”
शा., “फल।”
शा., “चुप लगाइनेछ।”
अर्थात्, इस्राएललाई सिकाउन पठाइएका भविष्यवक्ताहरू र अरू मानिसहरूले।
वा “दयाको डोरीले।” आमाबाबुले छोराछोरीलाई हिँड्न सिकाउँदा प्रयोग गर्ने डोरी।
अर्थात्, उच्च कोटीको उपासना गर्न बोलाए।
अर्थात्, परमेश्वरले।
वा सम्भवतः “चाडमा।”
शब्दावली हेर्नुहोस्।
वा “टुनामुना; रहस्यमय कुरा।”
वा “सिरियाको।”
वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”
शा., “न्यायकर्ताहरू।”
वा “साँचेर।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
वा “बुबा गुमाएका बच्चाहरूलाई।”
शा., “सम्झना।”